Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

एक लाख ७० हजार विपद् सूचक समूह गठन गर्दै सशस्त्र प्रहरी

एक लाख ७० हजार विपद् सूचक समूह गठन गर्दै सशस्त्र प्रहरी

काठमाडौं । सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा देशभर एक लाख ७० हजार विपद् सूचकको व्यवस्था गर्न लागेको छ। समुदायस्तरमा विपद् सम्बन्धी सूचना प्राप्तिमा सहकार्य, परिचालनमा सहजीकरण र उद्धारमा समन्वयात्मक रुपमा कार्य गर्ने उद्देश्यले विपद् सूचकको व्यवस्था गर्न लागिएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी गराउनुभयो ।

यसका लागि सबै बाहिनी मुख्यालयले जेठ मसान्तसम्म आफ्नो जिम्मेवारी क्षेत्रमा पर्ने सबै वडामा २५ जनाका दरले विपद् सूचक समूह निर्माण गर्नुपर्ने हुन्छ। जसअनुसार देशभरका ६ हजार ७ सय ४५ वडामा २५ जनाका दरले १ लाख ६८ हजार ५ सय ७५ जना विपद् सूचक तयार गरिनेछ।

यसबाट विपद् सम्बन्धी सूचना तत्काल प्राप्त हुने र सोहीअनुसार आफ्ना सुरक्षाकर्मी परिचालन र उद्धारमा सहजता हुने विश्वास मुख्यालयको छ। विपद् सूचक समूह तयार भएपछि उनीहरूलाई विपद् सचेतनामूलक प्रशिक्षण प्रदान गर्ने विपद् सिमुलेसन अभ्यासमा सहभागी गराउने योजनासमेत सशस्त्र प्रहरी बलको छ।

यसैबीच सशस्त्र प्रहरी बलले समुदायमा विपद् उद्धार पनि तयार गर्दै छ। गत जेठ ७ गते सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालित गोताखोर तालिम समापनको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले यसैवर्ष सातवटै प्रदेशमा एक हजार समुदाय विपद् उद्धारक तयार गर्ने योजना सार्वजनिक गर्नुभएको थियो ।

जसअनुसार मुख्यालयले यसको तयारीस्वरुप मातहत कार्यालयमा विपद् उद्धारक स्वयंसेवक तालिम पनि थालेको छ। समुदाय विपद् स्वयंसेवक उत्पादनका लागि १८ दिनको तालिम दिइनेछ। त्यसमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त दक्ष सुरक्षाकर्मीले तालिम प्रदान गर्नेछन्।

प्रदेशस्थित सशस्त्र प्रहरी बलका मुख्यालय तथा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानले यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी तत्काल १८ वटा तालिम संचालन गर्नेछन् भने अन्य एक सय ४७ वटा तालिम आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरिनेछ। यस प्रकारका तालिमले समुदायस्तरमा विपद्बाट बच्न पूर्वतयारीका साथै विपद्का समयमा उद्धार तथा राहतको कार्यमा सहजतासमेत हुनेछ।

सशस्त्र प्रहरी बल नेपाल नं. २३ मनकामना गण तनहुँबाट समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ। स्थानीय सरकार तथा सरोकारवाला निकायसँगको समन्वयमा गणले ५८ जनाका लागि तालिम सञ्चालन गरेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार