Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

विपद् व्यवस्थापन सीप सिकाउँदै सिवाईसी साकोस, सहकारीको यो काम अनुकरणीय भएको प्रजिअ गुरुङको भनाइ

विपद् व्यवस्थापन सीप सिकाउँदै सिवाईसी साकोस, सहकारीको यो काम अनुकरणीय भएको प्रजिअ गुरुङको भनाइ

काठमाडौं । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि., बागलुङको आयोजना र चारतारे युवा क्लब सिवाईसी नेपालको सहकार्यमा शनिवार बागलुङ बजारमा विपद् व्यवस्थापन सिप विकास तालिम सम्पन्न भएको छ ।
 
विपद् आउनुअघिको पूर्वतयारी, विपद्को समयमा तत्कालीन प्रतिकार्य र विपद् पछि पुनःस्थापना प्रक्रियामा सहभागीहरूलाई सक्रिय र सक्षम बनाउने तथा विपदको समयमा तुरुन्तै आवश्यक कदम चाल्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो । तालिममा सिवाईसी साकोसद्धारा केन्द्रीय कार्यालयमा गठित विपद् व्यवस्थापन उपसमिति र सेवाकेन्द्र स्तरमा गठित विपद् व्यवस्थापन कार्यदलका १३२ जनाको सहभागिता रहेको थियो ।
 
IMG_73911.jpg
 
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि तथा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विपद् व्यवस्थापनको प्रभावकारी तयारीका लागि स्थानीय तह, समुदाय र संस्थाहरूबीचको समन्वय अत्यावश्यक रहेको बताउनु भयो ।
 
उहाँले विपद् आउने बेलामा मात्र होइन, त्यसको पूर्वतयारी र जोखिम न्यूनीकरणमा सबैको सक्रिय भूमिका हुनु पर्ने उल्लेख गर्दै सहकारी संस्थाहरूले सामाजिक उत्तरदायित्वका रूपमा यस्ता तालिम आयोजना गर्नु सकारात्मक पहल भएको बताउनु भयो ।
 
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङका उपसभापति सीता शर्मा, उद्योग वाणिज्य संघ बागलुङका द्धितीय उपाध्यक्ष केशवप्रसाद वझा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
IMG_7350 (1).jpg
 
तालिममा सहभागीहरूलाई प्राथमिक उपचार, उद्धार कार्य, सुरक्षित स्थल व्यवस्थापन, जनचेतना अभिवृद्धि, र समुदायस्तरमा समन्वयात्मक कार्यको अभ्यास गराइयो । तालिमबाट सहकारी संस्था मातहत रहेका कार्यदलहरूलाई विपद्का सम्भावित जोखिमहरूका बारेमा सजग गराउनुका साथै व्यावहारिक समाधानका उपायहरू समेत सिकाइएको थियो ।
 
तालिमको सहजिकरण सशस्त्र प्रहरी वल आश्रीत गुल्मका प्रहरी नायव उपरीक्षक दिलवहादुर रायमाझि, श्री कालिजंग गण घोडाबाँधेका सहायक सेनानी खगेन्द्र चन्द, बागलुङ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत विष्णुप्रसाद शर्माले गर्नुभएको थियो ।
 
कार्यक्रमका क्रममा सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले संस्थाले गठन गरेको विपद् व्यवस्थापन कार्यदलको उद्देश्य, जिम्मेवारी र अधिकारबारे सहभागीहरूलाई जानकारी गराउनु भयो ।
 
उहाँले विपद् व्यवस्थापन कार्यदल गठन गर्नुको मुख्य उद्देश्य आपत्कालीन परिस्थितिमा तत्काल राहत, उद्धार र समन्वयको कामलाई प्रभावकारी बनाउनु रहेको बताउनु भयो । पौडेलले सेवा केन्द्र स्तरमै कार्यदल गठन गरी संरचनात्मक रूपमा जिम्मेवारी बाँडफाँट गरेकाले यो संरचनाले समुदायमा विपद् प्रतिकार्य क्षमतामा सुधार ल्याउने अपेक्षा राखिएको बताउनु भयो । कार्यक्रम सस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, उपाध्यक्ष सीता सापकोटाको स्वागत र सह–सचिव सुवास आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
 
कार्यक्रमको समापन सत्रमा विपद व्यवस्थापन उपसमितिका केन्द्रिय संयोजक भोलानाथ आचार्य, सहभागिहरुको तर्फबाट मंगल सदस्य सेवाकेन्द्रका कोषाध्यक्ष सरस्वती शर्मा र मालिका सदस्य सेवाकेन्द्रका संयोजक बलराम सापकोटाले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको समापन धन्यवाद सहित सिवाईसी नेपालका सचिव विरवहादुर किसानले गर्नुभएको थियो ।
 
यसैबीच, सिवाईसी साकोसका अध्यक्ष पौडेलले नेपालमै सहकारी मार्फत विपद् व्यवस्थापन उपसमिति र सबै सेवा केन्द्रहरुमा कार्यदल गठन गरी विपत्तिका समयमा स्वयंसेवी भावका साथ आकस्मिक सेवा, उद्दार तथा राहतमा खटिने अभ्यास पहिलो भएको दाबी गर्नुभयो । साथै उहाँले सिवाईसी साकोसका सदस्यहरुलाई कुनै पनि प्रकारका विपत्तिका समयमा गर्जो टार्न समस्या नहोस् भनेर कम्तिममा ६ महिनालाई खान पुग्ने गरी बचत गर्नुपर्छ भनेर आकस्मिक एवम् आपतकालीन बचत समेत शुरु गरिएको जानकारी पौडेलले गराउनुभयो । हाल सम्म उक्त बचतमा  ५५ सय सदस्यहरुको १ करोड ४० लाख रुपैयाँ बचत संकलन भैसकेको र यो क्रम बढ्दो रहेको उहाँले उल्लेख गर्नुभयो ।
 
धवलागिरी क्षेत्रका ३ जिल्लामा २५ वटा सदस्य सेवाकेन्द्र मार्फत वित्तीय तथा गैरवित्तीय सेवा प्रवाह गर्दै आईरहेको संस्थामा २६ हजार ८ सय सेयर सदस्य, ६ हजार ४ सउ बाल बचतकर्ता, ५ हजार ७ सय ऋणी सदस्य, ३९ करोड ४१ लाख सेयर पुँजी, १ अर्व ५५ करोड बचत, १ अर्व ३६ करोड लगानीमा वाँकी रहेको ऋण, २० करोड कोष र २ अर्व ३६ करोड कुल सम्पत्ती रहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार