Sep 18 2026 | २०८३, असोज २ गते

Sep 18 2026 | २०८३, असोज २ गते

Follow us

आज हामी यो संकल्प गर्छौं..............

आज हामी यो संकल्प गर्छौं..............

हामीलाई भौतिक शान्ति, दैविक शान्ति र आध्यात्मिक शान्तिको आवश्यकता रहेको छ । र, त्यसको प्राप्तिका लागि योगको महत्व छ । योगका बारेमा हामीले धेरै बुझेका छौं, अभ्यासरस पनि छौं तर समाजको एउटा ठूलो तप्काले अझैं योगको महत्व बुझेको छैन । उनीहरुलाई बुझाउनुपर्ने छ । योग नबुझेको समाजलाई योगप्रति जागृत गर्नुपर्ने हाम्रो कर्तव्य र दायित्व पनि हो । कागेश्वरी मनोहरा नगरपालिकामा एकातिर योगाभ्यास गर्ने प्रचलन बढेको छ, ठाउँ ठाउँमा उत्साहजनक रुपमा योगका गतिविधि हुने गरेको छ तरपनि यही समाजको अझ एउटा ठूलो तप्का योगको शिक्षा र चेतनाभावकाकारण यसको लाभबाट बञ्चित रहेको छ । उनीहरुलाई सहभागी गराउने काम बाँकी रहेको छ । त्यसैकारण अन्तराष्ट्रिय योग दिवसका दिन हामी आज एउटा संकल्प गर्नका लागि पनि यो कार्यक्रम आयोजना गरेका हौं ।

सबैका लागि योग र सिङ्गो पृथ्वीका लागि योग भन्ने नाराका साथ योग दिवस मनाइरहँदा अब कागेश्वरी नगरपालिकाभित्र पनि सबैका लागि योग बुझ्ने, सहभागी हुने र यसलाई अगाडि बढाउने वातावरण बनाउने संकल्प गर्दछौं । यसका लागि पनि आज हामीले यो कार्यक्रम गरेका हौं । कागेश्वरी मनोहरा नगरपालिका, तपाईहरुको स्थानीय सरकार आज यो प्रतिबद्धता व्यक्त गर्दछ ।

हामी अहिले ठीक्क नयाँ आर्थिक वर्षको लागि नीति, योजना, कार्यक्रम तथा बजेट निर्माणको प्रक्रियामा पनि छौं । अब साउन १ गतेदेखि लागू हुने नीति, योजना र कार्यक्रममा योगले प्रमुख प्राथमिकता पाउनेछ । यहाँका विद्यालयदेखि हरेक टोलटोलमा र समाजका हरेक अवयवमा योगलाई प्रवर्धन गर्ने नीति तथा कार्यक्रमहरु हामी ल्याउनेछौं । जसअन्तर्गत दुई तीनवटा मुलभूत कुराहरु गर्ने प्रतिबद्धता म यहाँ राख्न चाहन्छु ।

हरेक विद्यालयमा योगलाई अनिवार्य सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ । टोलटोलमा योगका बारेमा प्रचारप्रसार र योग गर्ने वातावरण निर्माण गरिनेछ । योग गर्नका लागि स्थानको अभाव भैरहेको भन्ने मैले सुनिरहेको छु, अब त्यसो हुनेछैन । योग गर्नेहरुले स्थानीय स्कुल वा सार्वजनिक भवनमा गएर वा कोही व्यक्तिको घरमा गएर योगसाधना गरिहनुभएको छ । कतिपय ठाउँमा सार्वजनकि भवनहरु योगका लागि प्रयोग गर्न यदाकदा तपाईहरुले अफ्ठेरो महशुस गर्नुभएको पनि हामीले फिल गरेका छौं । कागेश्वरी मनोहरा नगरपालिका आगामी वर्षको नीति, कार्यक्रम तथा योजनामार्फत हाम्रा सबै सार्वजनिक भवनहरुलाई बिहानको समयमा योग गर्नका लागि खुला राख्ने नीति लिनेछ ।

हाम्रो जीवन सफल पार्नका लागि शान्ति आवश्यक छ र शान्तिका लागि योग सशक्त माध्यम हो । हाम्रो पुर्वीय दर्शन, धर्म र संस्कृतिको संरक्षण र सम्वर्द्धन गरौं । त्यसमा भएको वैज्ञानिक पाटोलाई जीवनोपयोगी बनाएर लिएर जाने वातावरण बनाऔं । हाम्रा बालबालिकाहरुलाई सुसंस्कृत बनाऔं, त्यस्तो वातावरण निर्माण गरौं । हाम्रा बालबालिकाहरुमा संस्कारसँगै पुर्वीय दर्शन र सिद्धान्तले मानेको योगको अभ्यासलाई अनुसरण गरौं । यसो गर्नेहरु सुखी, शान्ति र स्वस्थ्य रहनेछन् । त्यसैले योगको प्रवर्धन हाम्रो प्राथमिकता भएको कुरा म यहाँ राख्न चाहन्छु । कागेश्वरी मनोहरा नगरपालिकाको तर्फबाट यो संकल्प गर्न चाहन्छौं ।

(११औं अन्तराष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आज २०८२ असार ७ गते शनिबार आयोजना गरेको कार्यक्रममा नगर प्रमुख उपेन्द्र कार्कीले व्यक्त गर्नुभएको विचारको सम्पादित अंश) 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार