Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
कागेश्वरी मनोहरा नगर अस्पताल

नगर अस्पतालमा शनिबार, मोतियाबिन्दुको निःशुल्क उपचार

नगर अस्पतालमा शनिबार, मोतियाबिन्दुको निःशुल्क उपचार

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ तेजविनायक गोठाटारकी ९३ वर्षीया मानकुमारी हुमागाईलाई चिकित्सकहरुले मोतियाबिन्दुको अपरेशन गर्न केही वर्षअघि नै सल्लाह दिनुभएको थियो । परिवारका सदस्यहरुले तिलगंगा आँखा अस्पतालमा गरौं भनेर भनिरहँदा उहाँ हिच्किच्याइरहनुभएको थियो । वास्तवमा त्यो हिच्किचाहट भन्दा बढी डर थियो । शल्यक्रियादेखिको डर ।

आज मुलपानीस्थित कागेश्वरी मनोहरा नगर अस्पतालमा नातिनी शान्ता चौहानसँग भेटिनुभएकी हुमागाईले भन्नुभयो, 'अब घर नजिकै नगर अस्पतालमा पनि मोतिबिन्दुको अपरेशन हुन्छ भनेपछि अलि ढुक्क पनि भयो, अनि आँट बटुलेर अप्रेशन गर्न आएँ ।' फेरि हिजो भन्दा आज आँखा कमजोर हुँदै गएपछि उहाँलाई शल्यक्रिया नगरी हुँदैन भन्ने लागेर ल न त नगर अस्पतालमै गरौं भन्ने लाग्यो । अनि आज उहाँको सफल शल्यक्रिया पनि सम्पन्न भयो । हर्षित हुँदै उहाँ घर जानुभयो ।

यसरी विविध कारणले मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने थुप्रैले आज नगर अस्पतालबाट दोस्रो हप्ता यो सेवा लिनुभएको छ । अपरान्ह १ बजेतिर धिप्री डटकम अस्पताल पुग्दा शल्यक्रिया गराउने र गराएर फर्कर्नेहरुको भीड थियो । हामी करिब ३ बजेतिर निस्कदाँ पनि भीड नै थियो । 

DSC08010_11zon.jpg
undefined

मोतियाबिन्दुका हजारौं विरामीको सफल अपरेशन गराइसक्नुभएका डा.अर्जुन श्रेष्ठ नेतृत्वको स्वास्थ्यकर्मीको टोली बिहान ९ बजेदेखि नै तयारीमा व्यस्त थियो । करिब १० बजेतिर अप्रेशन सुरु भएको अस्पताल प्रशासनकी प्रज्ञा पाण्डेले धिप्री डटकमलाई जानकारी गराउनुभयो । 'आज पनि बेलुकी ६ बजेसम्म अप्रेशन हुन्छ होला । नगरपालिकाले वडास्तरीय चलाएको स्वास्थ्य शिविरबाट रिफर गरिएकाहरु अप्रेशनका लागि आउनुहुने भएपनि पछिल्लो पटक मिडियामा प्रचारप्रचार भएसँगै अन्य पनि आउन लाग्नुभएको छ । आउनुहुनेहरुलाई सकेसम्म गराएरै पठाउने नीति अनुरुप आज पनि साँझै पर्छ होला, सर'  पाण्डे भन्दै हुनुहुन्थ्यो । अब बुधबार पनि मोतियाबिन्दुको शल्यक्रिया गर्ने तयारी भैरहेको प्रशासनले जनाएको छ ।

DSC08027-min_11zon.jpg
undefined

६० वर्षदेखि माथिका सबै ज्येष्ठ नागरिकहरु मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सेवाबाट लाभान्वित हुनसक्ने व्यवस्था कागेश्वरी मनोहरा नगरपालिकाले मिलाएको छ । सेवा सुरुवात गरेको पहिलो दिनमै गरिएको  ५१ शल्यक्रियामध्ये केवल दुई जनाले स:शुल्क गराउनुभएको थियो भने बाँकी सबै ज्येष्ठ नागरिक भएकाले निःशुल्क सेवा लिनुभएको थियो । 

'पहिला यहाँ मोतियाबिन्दुको शल्यक्रिया सुविधा नहुँदा नेपाल आँखा अस्पताल वा अन्यत्र जानुपर्दथ्यो.' अस्पताल प्रशासनकी प्रज्ञा पाण्डेले भन्नुभयो. 'एकचोटि अपरेशन गर्न तीन पटक अस्पताल पुग्नुपर्दथ्यो । तर, कागेश्वरी मनोहरा नगर अपस्तालमै यो सेवा शुरु भएसँगै स्थानीय बिरामीहरुलाई निक्कै सहज भएको छ । यो उहाँहरुले नै हामीहरुलाई सुनाउनुहुन्छ ।' अस्पताल प्रशासनका अनुसार  अहिले एकै दिनमा सबै परिक्षण सम्पन्न गरेर शल्यक्रिया हुने गरेको छ । सामान्यतया एक घन्टामा करिब १२ जनाको शल्यक्रिया सम्पन्न हुने गरेको पाण्डेले जानकारी गराउनुभयो ।

DSC07737_11zon.jpg
undefined

अस्पतालले यही जेठ ३१ गतेबाट मोतियाबिन्दुको शल्यक्रिया सेवा सुरु गरेको हो । दैनिक १० घन्टा ओपीडी (बहिरंग) सेवा, स्याटलाइट ओपिडी, २४ सै घण्टा आकस्मिक सेवा, प्रसूति सेवा, खोप र पोषण परामर्श सेवा लगायत सञ्चालन गर्दै आएको अस्पतालले आफ्नो सक्षमता विस्तार गर्दै मोतियाबिन्दु शल्यक्रिया समेत सुरुआत गरेको हो ।

DSC07777_11zon.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार