‘नेपाल जस्तो भौगोलिक विविधतासहितको बहुसांस्कृतिक, बहुधार्मिक र बहुभाषिक मुलुकलाई समृद्ध बनाउने दीर्घकालीन सोच सहितको सरकार अबको निर्वाचनपछि आउनुपर्छ । त्यो सरकार सबैलाई स्वीटेवल समाजवाद सृजना गर्न मार्गनिर्देशन गर्ने खालको बन्नुपर्छ ।’
जेनजी आन्दोलनको नाममा देशभर ध्वंसात्मक गतिविधि भड्किएर भएको विनाश नेपाली सेनाको अग्रसरतामा साम्य हुँदै गएपछि भदौ २७ गते दिउँसो पशुपतिनाथ मन्दिर परिसरमा भेटिनुभएका राजन सुवेदी निकासको लागि सुझाव राख्दै हुनुहुन्थ्यो ।
संयोगले २७ गते विश्व सम्पदा सूचीमा सुचीकृत स्थलमा भेटिनुभएका २७ वर्षीया जेनजी सुवेदीले श्रव्यदृश्यको माध्यमबाट बोल्न अस्विकार गर्नुभयो । तर, भन्नुभयो, ‘टेक्स्टमा कुरा राख्न म तयार छु ।’ त्यसपछि अघि बढ्यो कुराकानी ।
दोलखा मकैबारी, कल्कुधुनीका २७ वर्षीय सुवेदीले जेनजी आन्दोलनबारे राख्नुभयो, ‘आन्दोलन आवश्यक थियो । एउटा विप्लप जरुरी थियो । इन्डोनेसियाबाट शुरु भएको थियो यो ट्रेन्ड । तर, यसको उद्देश्य सरकार ढाल्नु थिएन, सत्ता परिवर्तन थिएन । आँधीबेहरी ल्याउनु जलाउनु, भत्काउनु, विध्वंस मच्चाउनु जेनजी आन्दोलनको उद्देश्य छँदै थिएन । त्यही भएर सरकार गठनमा केही ढिलाइ पनि भयो । भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध दवाब सिर्जना मात्रै यसको उद्देश्य थियो । तर, दुर्भाग्यवश आन्दोलन अन्तै मोडियो । शासकहरुको अहंकार हठ, गैरजिम्मेवारीपनाले दुर्घटना निम्तियो । २३ गतेको नरसंहारको विद्रोह २४ गते देखियो । प्रत्येक नेपालीको मनमा वितृष्णा पैदा भयो । तर, अब शान्त हुनुपर्छ । अब सम्हालिनुपर्छ ।’
सुवेदी भन्नुहुन्छ, ‘युद्धबाट जापान उठेको छ । दक्षिण कोरिया, जर्मनी, दक्षिण अफ्रिका, रुवाण्डा लगायतका अफ्रिकी मुलुकहरु उठेका छन्, प्राकृतिक विपत्तिहरुबाट सम्हालिएरका प्रशस्त उदाहरणहरु हामीसँग छन् । हामीले तिनलाई हेर्ने, बुझ्ने सिक्ने र सप्रिने हो ।’
सुवेदी सबै मिले जलेभत्केका सम्पदा र सम्पत्तिहरु पुनर्जिवित गराउन दुई चार वर्ष मात्रै लाग्ने विश्वास राख्नुहुन्छ । ‘पहिलाकै तरिकाले काम गर्ने हो भने त दश वर्ष पनि बढी लाग्छ तर नयाँ तरिका, नयाँ सोच र नयाँ ढंगले उत्साहजनक जनसहभागितासहित अघि बढ्ने हो भने चाँडै सम्भव हुन्छ । विश्व उदाहरणहरु छन् । हामीलाई उत्प्रेरित गर्ने तिनबाट शिक्षा लिएर अघि बढ्नुपर्छ, ’सुवेदी विश्वस्त देखिनुहुन्थ्यो ।
युवा भएका कारण पनि सुवेदी अब नीति निर्माण तहमा आफ्नो जस्तो उमेर समूहको बाक्लो सहभागिता जरुरी ठान्नुहुन्छ । ‘चुनावपछि युवाहरु आउनुपर्छ ,त्यसको लागि माहोल सृजना हुनुपर्छ, ’उहाँले भन्नुभयो, ‘र यो आन्दोलनले त्यो माहोल सिर्जना गर्ने काम गरेको छ । अब विदेशिन खोज्ने युवाहरुमा आशा जागृत हुन्छ । अहिले भनेको नेपालमा केही गरेर केही सकारात्मक परिवर्तन हुन्छ भन्ने नलागेरै युवाहरु विदेशिएका हुन् । तर, जब युवाहरुको सहभागिता धेरै हुन्छ र बेदाग अनुभवी पनि सामेल हुन्छन् तब त्यो सम्मिश्रणले मुलुकले कोल्टे फेर्छ ।’
उहाँले मुलुकले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी वा राष्ट्रपति खोजेको बताउनुभयो । त्यसले सुशासन, जिम्मेवारी, जवाफदेहिता, पारदर्शिता र इमानदारी विकासमा सघाउ पुर्याउने उहाँको ठम्याइ छ ।
पार्टटाइम कर्मकाण्ड, फुलटाइम अडिट फर्म
गुहेश्वरीमा परिवारसँग बस्दै आउनुभएका अविवाहित सुवेदी अडिट फर्म सञ्चालन गर्नुहुन्छ । तर, उहाँको पार्टटाइम मेलो कर्मकाण्ड हो । असहज अवस्थामा फर्म बन्द रहेकोले उहाँ पशुपतिनाथ मन्दिर परिसरमा यजमान पर्खदै हुनुहुन्थ्यो । ‘एउटा श्राद्ध गराउनु छ, ’सुवेदीले भन्नुभयो, ‘उहाँहरु केही बेरमै आउँदै हुनुहुन्छ ।’
व्यावहारिक भएर हेर्ने हो भने काठमाडौं जस्तो ठाउँमा एउटै मात्र पेशा वा रोजगारीको माध्यमले जीवन चलाउन सहज हुँदैन त्यसैले दुवै काम सँगसँगै लगेको सुवेदी बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘वसुन्धरामा अडिट फर्म छ । रजिष्टर्ड अडिटर राखेर व्यवसाय गरेको छु । करिब २५ वटा फाइल छन् । पार्ट टाइमको रुपमा कर्मकाण्ड गर्छु ।’
पितापुर्खाबाटै गर्दै आएको कर्मकाण्ड शुरुमा बाध्यता भएपनि बिस्तारै उहाँको रुचि बन्यो । ‘एक हिसाबले भन्ने हो भने पुख्र्यौली कामलाई निरन्तरता दिन पनि मन लाग्यो, ’ उहाँले भन्नुभयो, ‘ त्यसमाथि रस बसेपछि त झन् छोड्ने कुरै भएन ।’
नेपाल कमर्श क्याम्पस मीनभवनबाट एमबीएस (फाइनान्स) गर्नुभएका सुवेदीले बिगत सम्झिनुभयो, ‘करिब ९ वर्षको थिएँ होला, बुबाले श्राद्ध गराउँदा पोको बोकेर हिड्न थालेँ । बिस्तारै केही विधिहरु सिकेँ, घरको वातावरण पनि त्यही भएपछि सिक्दै, बुझ्दै र जान्दै गएँ । करिब १८ वर्ष भयो यसबारे जान्न थालेको । आफैले गर्न थालेको पनि १४ वर्ष जति त भयो ।’
सानो उमेरमा जानेको सिकेको, अनि बुबाको देहावसानपछि घर परिस्थिति सम्हाल्न पनि गर्नै पर्ने बाध्यता सुवेदीलाई थियो किनकि त्यसबेला उहाँले जानेको काम यही थियो । ‘जिम्मेवारी सरेर आयो । यजमानहरु हुनुहुन्थ्यो, बुबाको निधनपछि उहाँहरुको अपेक्षा ममा सर्यो’ उहाँले भन्नुभयो, ‘फेरि अर्को भनेको रस पनि बस्यो । रस र रुचि नभएको भए अर्कै पेशा पनि खोजिन्थ्यो होला तर अन्र्तमनको आनन्द मिल्यो ।’
कर्मकाण्ड उहाँको स्वाध्याय हो । कर्मकाण्ड लगभग सबै गर्नुहुन्छ । सामान्य कथा प्रवचनहरु (सत्यनारायण, रामकथा, पुरुषोत्तम महात्म्य, गरुड पुराण आदि) पनि गर्नुहुन्छ । उपवाचक सम्म उहाँ पनि बस्नुहुन्छ । वृन्दावनबाट भागवताचार्य पूरा गर्नुभएका उहाँका भाइ पण्डित पुष्पराज सुवेदी बाट पनि धेरै सिक्नुभयो । ‘समय र परिबन्धले नमिलेपछि औपचारिक अध्ययन गर्न सकिन, उहाँले बताउनुभयो, ‘यद्यपि, सिद्धान्त ज्योतिषमा वाल्मिकी विद्यापीठबाट दुई वर्ष पढेँ, प्रवीणता प्रमाणपत्र तहसम्मको । तिलगंगा नजिक ज्योतिष अफिस पनि खोलेँ । तर, लगत्तै कोभिडका कारण बन्द भयो ।’
कुरा घुमाइफिराइ, कमाइसम्म पुगिहाल्यो । प्रश्न पस्किएँ । सुवेदीको उत्तर आयो, ‘कमाइ ठीक छ । कमाइलाई अंकमा मात्र मापन गर्ने कि आनन्दमा महशूस गर्ने ? मूल कुरा त्यो हो । अनि तुलनाले पनि तनाब निम्त्याउँछ । असन्तुष्टिले तनाव जन्माउँछ । असन्तुष्टि भयो भने जति भएपनि पुग्दैन । परिवार पालिएको छ । काठमाडौंमा छिः भन्ने हिसाबले बसिएको छैन । मुख्य कुरा मन आनन्द छ ।’ सुवेदीले थप्नुभयो, ‘मध्यम जीवन जीउन समस्या छैन । कता हो कता विलासी जीवन खोज्न अधिकांशलाई कठिन छ तर धेरै कुरा आफूमा पनि भर पर्छ । क्षमता, सीप, साधना र सयममा पनि धेरै कुरा नीहित हुन्छ । के, कति र कसरी गर्ने भन्ने पनि हुन्छ ।’
कर्मकाण्डसँगै अध्यात्ममा पनि उहाँको रुचि छ । भन्नुहुन्छ, ‘अध्यात्म जीवनबोध हो । जीवन दर्शन हो । जीवन चिन्तन हो । अनि, अध्यात्म अनुशासन हो ।’ जीवन बुझुने सिलसिलामा कर्मकाण्डसँगै उहाँले अध्यात्ममा आत्मिक आनन्द पाउन थाल्नुभयो ।
‘नैतिक अनुशासन, वित्तीय अनुशासन, सामाजिक अनि सांस्कृतिक अनुशासन । असीमित चाहना, लोभ, क्रोध, मोह, इष्र्या आदिलाई वशीभूत गर्ने माध्यम हो अध्यात्म । त्यसैले यसलाई अँगाल्दा आनन्द हुन्छ । अल्पतामा पनि आराम मिल्छ । महत्वाकांक्षाले मन र मस्तिष्तकमा महल ठड्याउँदैन । त्यही भएर जीवनमा टेको लिने ठाउँ भनेको अध्यात्म जस्तो लाग्छ । केवल कर्मकाण्ड मात्र होइन, अध्यात्ममा म रुचि राख्छु’ सुवेदीले सुनाउनुभयो ।
आफूजस्तै जेनजीहरुलाई सुझाव
जेनजी सुवेदीको अरु जेन्जीहरुलाई सुझाव छ, ‘युवाहरु अध्यात्ममा लाग्दा जीवनले गति लिन्छ । अध्यात्मको चुरो कुराले युवाहरुलाई दिग्भ्रमित हुनबाट जोगाउँछ । आफू पनि युवानै भएकाले मेरो भोगाइ, बुझाइ र सिकाइले यही भन्छ ।’
मनलाई शान्त राख्न अध्यात्मले धेरै ठूलो सहयोग गर्ने उहाँको तर्क छ । ‘अनित्य संसार, सबैले एकदिन जानुपर्छ, अरुलाई सहयोग गर्नु आफैंलाई आनन्द महशूस गराउनु हो भन्ने बुझ्न सहयोग गर्छ अध्यात्मले, ’सुवेदीले भन्नुभयो, ‘अध्यात्म, ध्यान, साधना भनेको अरुलाई देखाउन भन्दा पनि आफूलाई खोज्न, बुझ्न र जान्न सहयोग गर्ने विषय हो ।’
श्रव्यदृश्य भन्दा पनि अदृश्य शक्तिहरु, आत्मा आदिसँग सम्बन्धित कुराहरुको ज्ञान र तत्वदर्शन भएपछि अनित्य शरीर वा भौतिक कुराहरुदेखि लोभ नहुने सुवेदी बताउनुहुन्छ । अनि, अध्यात्मप्रतिको लगावको प्रतिविम्ब अडिटफर्ममा पनि पाइने सुवेदी बताउनुहुन्छ । ‘व्यवसायको धर्म, निष्ठा, मुल्य र मान्यताबाट अविचलित रहन अध्यात्मले सहयोग गरेको छ, ’उहाँ भन्नुहुन्छ, ‘अडिटफर्मबाट अनैतिक काम गर्दैनौं । सबभन्दा ठूलो कुरा त्यही हो ।’
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com