Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सपनाको गोलचक्कर

सपनाको गोलचक्कर

 

बा भन्नु हुन्थ्यो 

उ रोयो रे 

हिक्का छोडेर रोयो रे 

पुग नपुग दश वर्ष मै

छातिमा लात ठोकेर 

मारिएको सन्तानको निम्ती 

धेरै रोयो रे 

कोकोहोलो नसुन्ने 

खै को थिए होला र !

बा भन्दै जानु हुन्थ्यो 

दन्त्य कथा झैं लाग्ने 

तथ्य-कथाहरु ।

 

म सुन्दै जान्थे 

उसले भोगेका यातनाहरु 

बुट/बन्दुक/जेलनेल

लान्छना र तिरस्कारहरु

भोगाई भित्रको 

यौटा रोमान्चक कथा ।

 

त्यस पछि 

बा भन्नुहुन्थ्यो 

उसले फलाम चपाउन सिक्यो रे

आधी रोक्न सिक्यो रे 

पर्खाल भत्काउन 

र, पहाड फोर्न सिक्यो रे 

बियोगका पिडाहरु

चटक्क भुलेर

यौटा अर्को सन्तानको निम्ति 

सुहागरातमा जुट्यो रे ।

 

अनि बा ! सन्तान जन्मियो त ?

म सोध्दथे 

बिचरा जन्मदै कुपोषण लिएर 

जन्मियो रे 

र फेरि मर्यो रे 

बाह्र बर्ष मै ।

 

बा !

यौटा खुल्दुली छ - 

कतै सुक्रकिट अपरिपक्क थियो कि ?

अथवा डिम्ब नै पो सङ्क्रमित थियो कि ?

थोरै त सोच्नु पर्थ्यो कि त

बंशानुगत गुणका कुरा ।

खै नानी !

यो पल्ट ता 

दस दस बर्ष लगाएर

भ्रुण प्रत्यारोपण गरेको थियो रे दिल्लितिर 

जेनतेन हुर्कदै थियो रे,

अटेरी र बाचाल भए पनी 

हलक्क बढेको थियो रे  । 

तर के गर्नु र नानी 

फेरि दस बर्ष नकट्दै 

सत्ताईस घन्टा कोमामा बसेर 

स्वर्गबासी भएछ त्यो पनि । 

 

बा, 

अब के हुन्छ त ?

हठात उकालो लाग्छन्

मेरा लामा-लामा आखिभौंहरु

बिजोक पो हुने हो कि ?

हुदैन ।

बा फुस्फुसाउनु भो 

चिन्ता नगर्नु 

आजभोली 

लिभिङ्ग टुगेदरमा छ उ 

सबै बिकल्पहरु खुल्ला राखेर ।

                                                               

me.bimil@gmail.com

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार