सहकारीमा युवा सहभागिता वृद्धि आजको आवश्यकता हो । सहकारी क्षेत्रमा लागेर अब यो भन्दा अन्त नसोच्ने युवाहरुको संख्या न्युन छ । तर, जति छ, सहकारीप्रति दृढ छ किनकि सानो भएपनि त्यो युवा समूह सुशासित संस्थासँग आवद्ध छ । यस्तै, मध्येका एक हुन् गण्डकी प्रदेशको कास्की जिल्लास्थित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको दुलेगौंडा शाखा प्रमुख सरस्वती भुजेल । प्रस्तुत छ, सहकारीप्रति प्रतिबद्ध भुजेलसँगको धिप्री सम्वादको सम्पादित अंशः
सहकारी क्षेत्र नै किन र कसरी रोज्नुभयो ?
हामी मध्ययम वर्गका मानिसहरुलाई अध्ययनसँगै रोजगारी पनि गर्नुपर्छ भन्ने मनमा भइरहन्छ । र, त्यसमा पनि व्यवस्थापन अध्ययन गर्ने व्यक्तिले प्रायः सहकारी वा बैंकमा जागिर गर्नु पर्छ भन्ने स्वाभाविक रुपमा लाग्छ । मलाई पनि त्यस्तै नै थियो । सोही अनुसार सहकारीको जागिर रोज्न पुगेँ । यथार्थमा भन्नुपर्दा सुरुमा सहकारी बुझेरै र जानेरै रोजेको होइन तर यहाँको काम गर्ने वातावरणले सहकारी नै प्राथमिक रोजाइ भयो ।
पोखरा रोयलसँग कसरी जोडिनुभयो ? सहकारीको पहिलो जागिर नै यही हो की ?
पोखरा रोयलसँग जोडिनु पूर्व मैले अरु २ वटा सहकारीमा काम गरिसकेको थिएँ । मैले सहकारीमा मार्केटिङ्ग बाट काम सुरु गरेकी थिएँ । छोटो समयमा नै सदस्य सहायता कक्ष, टेलर हुदै १ वर्ष व्यबस्थापकको रुपमा पनि कार्य गरेँ । त्यति बेलासम्म पनि सहकारी क्षेत्रलाई नै करियर बनाउँछु भन्ने सोचमा थिइनँ । पहिले सहकारीमा काम गर्ने क्रममा पोखरा रोयल सहकारीमा अवलोकनको अवसर प्राप्त भएको थियो । त्यसबेला भने सहकारीहरु यस्तो पनि हुने रैछन, यो संस्थामा जागिर खान पाए हुन्थ्यो भन्ने लाग्यो ।
र, यदि अवसर अवसर प्राप्त भयो भने अवश्य गर्छु भन्ने लाग्यो । त्यसपछि मैले पोखरा रोयल सहकारीका हरेक गतिविधिहरु फलो गर्न लागेँ । त्यसको केही महिनापछि पोखरा रोयल सहकारीको सेवाकेन्द्र प्रमुख माग भएको रहेछ त्यसमा मैले आवेदन दिएँ र छनौट पनि भएँ ।
पोखरा रोयलमा काम गरेको कति वर्ष भयो ?
म २०७६/०४/०१ देखि पोखरा रोयलमा आवद्ध छु । भर्खर ५ वर्ष ९ महिना पुरा भयो । सेवाकेन्द्र प्रमुखकको रुपमा नियुक्त भएको थिएँ । र हाल सम्म सोही पदमा कार्यरत छु ।
युवाहरुले किन सहकारी क्षेत्र रोज्न सक्छन वा सहकारीलाइ करियर बनाउन सक्छन ? सहकारीमा थप युवाहरुलाइ रोजगार बनाउन के गर्न सकिन्छ ?
राम्रा सहकारी संस्थाले सदस्यसँग गर्ने व्यवहार र सहकारी संस्थाको पारिवारिक वातावरण देख्यो भने युवाहरु सहकारी भन्दा बाहिर रहनै सक्दैनन् । तसर्थ, एक पटक राम्रा सहकारी संस्थामा रोजगारी गरेर हेर्न म युवाहरुलाई आव्हान गर्दछु ।
एउटा महिलाले सेवाकेन्द्र प्रमुख भएर काम गर्न कतिको गारो सजिलो छ ?
हाम्रो संस्थामा लिङ्गिय, जातिय, धार्मिक लगायत कुनै पनि विभेद छैन । एउटा सिस्टममा चलेको संस्था हो र आफुसँग पनि आँट, भरोसा, क्षमता हुनु पर्छ कुनै गाह्रो हुदैन र मलाई पनि कुनै गाह्रो भएको छैन ।
कार्यालयमा सिनियर र जुनियरहरुबाट कत्तिको सहयोग पाउनुभएको छ ?
एउटै घरको परिवार जस्तो हुनुहुन्छ सबैजना । एकदम सहयोगी हुनुहुन्छ । शब्दमा बयान गर्न नसकिने सहयोग सिनियर सर मेडम र जुनियर सवैजना बाट प्राप्त भएको छ । म आभारी पनि छु ।
तपाई अब सहकारी छोडेर कुनै अर्को क्षेत्र जानुहुन्छ कि ?
सहकारी छोडेर अर्को क्षेत्र मैले अब रोज्दिनँ मेरो अन्तिम रोजगारी पनि सहकारी नै हो ।
सहकारी क्षेत्रले र खासमा पोखरा रोयलले तपाईलाई के दियो ?
सहकारी क्षेत्रले मेरो व्यक्तिगत जीवन र व्यावसायिक जीवनमा धेरै सिकाएको छ । अझ भनौं पोखरा रोयल सहकारीले मलाई ‘म’ बनाएको छ । पोखरा रोयल सहकारीलाई मेरो तेस्रो घर भन्न रुचाउँछु । म यहाँ प्रवेश गर्दा काँचो माटो थिएँ पोखरा रोयलले मलाई मुर्तिको आकार दिएको छ ।
सहकारी क्षेत्रमा राम्रो काम गर्न के कस्ता गुण र ज्ञान आवश्यक पर्छ ?
संगठित व्यक्तित्व, समस्या समाधानकर्ता, छिटो सिक्ने, नेतृत्व, कुशल संचारकर्ता, सहकार्यको भावना, इमान्दारी, प्राविधिक ज्ञान, सहकारी कानुनहरुको ज्ञान साथै समय अनुसार अध्यावधिक हुनु पर्छ ।
परिवारको साथ कत्तिको पाउनुभएकोे छ ? सहकारी क्षेत्र काम गर्नका लागि ठिकै हो वा यो क्षेत्र भन्दा अन्यत्र जानुपर्छ केहि सुझाव वा दवाव केहि छ की ?
म जहाँ जे छु त्यो मेरो परिवारको योगदान हो । परिवारको दरिलो साथ पाएकी छु । सुरु सुरुमा सरकारी जागिर नै खानुपर्छ भन्ने मेरो परिवार अहिले तिमीले सहकारीको जागिर छोड्नु हुदैन भन्नुहुन्छ ।
सहकारी क्षेत्रलाई सम्मानित पेशाको क्षेत्र बनाउन थप के गर्नुपर्छ ?
सहकारी क्षेत्रलाइ सम्मानित पेशाको क्षेत्र बनाउन सहकारीका मुल्य, मान्यता अनुसार सुशासन कायम गर्दै नीति विधि र प्रविधिलाई आत्मसात गर्दै संस्था सञ्चालन गर्नुपर्दछ ।
सहकारी क्षेत्रमा लागेपछि के कस्ता तालिमहरु लिनुभयो ?
सहकारी क्षेत्रमा लागेपछि भन्नु भन्दा पनि पोखरा रोयल सहकारी संस्थामा प्रवेश गरेपछि प्रशिक्षक प्रशिक्षण, नेतृत्व विकास, लेखा, ऋण, पल्र्स लगायतका थुप्रै २ दर्जन भन्दा बढी तालिमहरु लिएकी छु ।
तपाइसँग कम्प्युटर वा प्रविधिको ज्ञान कति छ ? सहकारी क्षेत्रमा काम गरेर उच्च व्यवस्थापनमा पुग्न प्रविधिको ज्ञान कति आवश्यक छ ?
मलाइ पुर्ण ज्ञान छ त भन्दिन सिक्न धेरै बाँकी छ, सिक्दै सिकाउँदै छु । यस क्षेत्रमा काम गरेर उच्च व्यवस्थापनमा पुग्न प्रविधिको ज्ञान एकदम आवश्यक छ किनकि अहिले जमाना नै प्रविधिको छ । प्रविधिको ज्ञान नै सबैभन्दा महत्वपूर्ण लाग्छ । सिस्टम अपडेट झै आफुलाई पनि अपडेट गराउँदै लानुपर्छ नत्र पछि परिहालिन्छ नि !
रोजगारीका अन्य क्षेत्रभन्दा सहकारीको बेग्लै सुन्दरता के हो जस्तो लाग्छ तपाइलाई ?
सहकारीको अन्य क्षेत्रमा भन्दा बेग्लै सुन्दरता छ । गाँउ देखि शहर सम्म अनि धनीदेखि गरिबसम्म सबैको मर्म बुझेर काम गर्ने संस्था हो सहकारी । यहा तेरो–मेरो ठुलो–सानो, धनी–गरिब, जात –धर्म सबै समान हुन्छ ।
काम गर्दा कहिले एकदमै आनन्द आउँछ तपाइलाई ?
सहकारी सदस्यहरुमा नै केन्द्रित रहेर काम गर्ने संस्था भएको र आफुले काम गरेको संस्थाबाट सदस्यहरुको आर्थिक सामाजिक विकास भएको कथा सुन्दा एकदमै आनन्द लाग्छ ।
सहकारी सम्बन्धमा पछिल्लो समय नकरात्मक समाचार वा सहकारीहरु संकटमा परेको वा सदस्यको बचत दुरुपयोग भएको भन्ने समाचारहरु आइरहदा भने आफु पनि सहकारी क्षेत्रमा काम गर्ने व्यक्ति भएकाले तपाइको मनमा कस्तो लाग्छ ?
विशेषतः नियत सफा हुनु पर्छ सबै राम्रो हुन्छ । जति संस्थाहरु समस्यामा परे भन्ने समाचार आइरहेको छ तिनीहरुको नियत नै सफा थिएन । शुसासन सहकारीको सुन्दर आभुषण हो । हाम्रो संस्था पूर्णरुपमा सुशासित भएकोले म दाबासाथ भन्न सक्छु हाम्रो संस्थामा कहिल्यै पनि समस्या आउदैन । तसर्थ ढुक्कसँग काम गर्न मन लाग्छ र अहिलेको यो अवस्थामा पनि हाम्रो संस्थाले नियमित रुपमा सफलता हासिल गरेको हुँदा मनमा त्यस्तो केही आउँदैन ।
विश्वमा विभिन्न देशका नागरिकहरु जोडिएको सहकारी अभ्यास दिगो भरपर्दो र सफल छ । नेपालमा केही नियत खराब भएको व्यक्तिहरुले सहकारीमा गरेका बदमासीका कारण आज देशभरका सुशासनमा चलेको सहकारीहरुलाई पनि हेर्ने दृष्टिकोण फरक परेको छ । ‘कहाँ काम गर्छौ ?’ भन्ने प्रश्नमा ‘सहकारीमा काम गर्छु’ भन्दा नाक खुम्च्याउनेको कमी छैन । तर, पोखरा रोयलमा काम गर्छु भन्दा 'ओहो, त्यो त राम्रो छ' नि भन्दा आनन्द लाग्छ । तसर्थ म ढुक्क र गर्वका साथ ‘सहकारीमा नै काम गर्छु’ भन्न सक्ने ट्याग दिएको छ मेरो कर्म थलोले । मनमा एउटै मात्र प्रश्न भनौ या जिज्ञासा 'यस्तो समय कहिले सम्म रहला ?' अध्यारो पछि नै उज्यालो हुने झै एकदिन कसो राम्रो समाचारहरु नआउला र ?
सहकारी क्षेत्रमार्फत समाज वा सदस्यहरुको जीवनमा के परिवर्तन ल्याउन सकिन्छ होला ?
सहकारी क्षेत्र मार्फत सदस्यहरुको जिविकोपार्जन, व्यावसायिकता, आर्थिक प्रगति एवं एक आपसमा आत्मियता बढाउने कार्य गर्न सकिन्छ ।
तपाईको सन्तानले पनि ठुलो भएर सहकारी क्षेत्र रोजे भने तपाईलाइ कस्तो लाग्नेछ वा म सहकारी क्षेत्रमा काम गरु भनेर सोधे वा सल्लाह सुझाव मागे भने तपाइ के भन्नुहुन्छ ?
आफै सहकारी क्षेत्रमा काम गरेको हुनाले अवश्य गर्व नै लाग्छ । मैले सहकारीमा काम सुरु गर्दा सहकारी के हो राम्रोसँग बुझेकी थिइनँ । अब त सल्लाह सुझाव सहित काम गर्न अभिप्रेरित गर्छु ।
अध्ययन कहाँ सम्म गर्नुभयो ?
स्नातकोत्तर MBS (Finance) पुरा गरेकी छु ।
विवाह कति वर्षमा भयो ?
हा हा, रमाइलो प्रश्न । मेरो विवाह अलिक छिटो नै भएको हो । विवाह हुँदा म जम्मा २० वर्षकी थिएँ ।
तपाईको सन्तान ?
हाम्रो एक मात्र छोरा ३ वर्ष पुरा भयो ।
घर र अफिस कसरी व्यवस्थापन गर्नुहुन्छ ?
कार्यालय र मेरो घर नजिक पनि छ, त्यो भन्दा मेरो श्रीमान् बुबा आमाले पुर्णरुपमा साथ दिनु भएकोले मलाई घर एवं अफिसको व्यवस्थापन गर्न कुनै कठिनाई भएको छैन ।
तपाइको जन्म कहाँ कहिले र कति सालमा भएको हो ?
तनहुँ जिल्लाको साविक भिमाद गा.वि.स-७ हाल भिमाद नगरपालिका-८ सिम्लेमा २०५० सालमा भएको हो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com