Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नेफ्स्कूनको शुल्क र सेवामा गुनासो बढेपछि जन्मेको 'आईपीडीएस'

नेफ्स्कूनको शुल्क र सेवामा गुनासो बढेपछि जन्मेको 'आईपीडीएस'

काठमाडौं । आफ्ना सदस्य साकोस (बचत तथा ऋण सहकारी संस्था) हरुको जोखिम विश्लेषण गरी विभिन्न सूचकहरुको आधारमा उनीहरुको गुणस्तर सुनिश्चितता मापन गर्ने स्तरीकरण तथा जोखिम सुपरिवेक्षण कार्यक्रममा नेफ्स्कूनको हिजोको आधिपत्य बिस्तारै कमजोर हुँदै गएको छ । नेफ्स्कूनकै 'स्कुलिङ'को आधारमा बागमती प्रदेश बचत संघ (बागमती प्रोस्कून) ले २०७८ सालबाट समानान्तर स्तरीकरण कार्यक्रम कोशिस सञ्चालन गर्दै आएको छ भने अब जिल्ला संघहरु पनि यही बाटोमा हिड्न थालेका छन् । यसको पछिल्लो उदाहरण हो-जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङले हालै लागू गरेको सुपरिवेक्षणसम्बन्धी संस्था प्रवर्द्धन, विकास र सुरक्षा कार्यक्रम-आईपीडीएस अर्थात्  Institution Promotion, Development and Security Program (IPDS).

यसले प्रदेश र जिल्ला बचत संघहरुको दुबै ‘विजनेश’ (व्यवसाय र सदस्य सेवा) लाई सहयोग पुगे पनि विषयगत केन्द्रीय संघको दुबै विजनेशलाई कमजोर बनाउने अभियानकर्मीहरुको भनाइ छ । सदस्य संस्थाहरुको प्राविधिक सक्षमता, व्यावसायिकता एवम् संस्थागत सुदृढीकरणका खातिर विकास गरिएका यस्ता कार्यक्रम एकद्धार प्रणालीमार्फत अघि बढाइनुपर्नेमा त्यसो हुन नसकेकोमा उनीहरुले चिन्ता व्यक्त गरेका छन् । यसले केन्द्रीय संघको साखमा असर गर्ने भन्दै अभियानकर्मीहरुले गहिरो चासो देखाएका छन् ।  

नेफ्स्कूनको स्तरीकरण कार्यक्रमको शुल्क र सेवामा प्रारम्भिक संस्थाहरुले चित्त नबुझाएका कारण तल्ला तहका संघहरु विकल्पको खोजीमा लागेका हुन् । नेफ्स्कूनको तर्फबाट समयमै आवश्यक पहलकदमी नभएका कारण आईपीडीएस जन्मेको दुबै तर्फका कर्मचारीहरु बताउँछन् । नेफ्स्कूनका कार्यक्रमको चर्को शुल्क र त्यस अनुपातमा प्रभावकारी हुन नसकेको सेवासँगै आफ्नो अभिभावकीय दायित्व पूरा गर्ने अवसर अनि विजनेश दुबै हुने हिसाबले तल्ला तहका संघहरु आफ्नै पहिचान बनाउने गरी कार्यक्रम विकास गर्न लागिपरेका छन् ।

के हो आईपीडीएस कार्यक्रम ?
२०८२ कार्तिक २९ गते शनिबार सम्पन्न जिल्ला बचत संघको ३२औं वार्षिक साधारणसभाबाट पारित अनि कोशी प्रदेश रजिष्टार तथा सहकारी प्रशिक्षण कार्यालयबाट स्वीकृत कार्यक्रम हो आईपीडीएस । बचत संघले आईपीडीएस सञ्चालन कार्यविधि २०८२ तयार गरेर सञ्चालक समितिको बैठकले पास गरेपछि साधारणसभा मार्फत अनुमोदित गरेको हो ।

आईपीडीएस कार्यक्रम संयोजक एवम् बचत संघका बरिष्ठ उपाध्यक्ष एकराज निरौलाले भने, ‘इतिहास बोकेको बचत संघले आफ्ना सदस्य संस्थाहरुको सक्षमता अभिवृद्धिका लागि नियमित रुपमा तालिम, शिक्षा, गोष्ठी, कार्यक्रम तथा भेटघाट गर्दै आएको सर्वविदितै छ । तर, बदलिदो परिस्थितिमा यी सबै कामलाई संस्थागत, वैज्ञानिक र व्यवस्थित गर्दै एउटा स्तरीकरण कार्यक्रमकै रुपमा अघि बढाउनुपर्छ भन्ने सल्लाह बमोजिम लागू गरिएको हो ।’ 

22ad0595-a70c-4d27-87f8-78c3e4adea27.jpg
आईपीडीएसको उद्देश्यहरु

उनका अनुसार आईपीडीएस कार्यक्रम लागू गर्नुपूर्व जिल्लाका सबै संस्थाका जिम्मेवार प्रतिनिधिहरुसँग लामो छलफल गरिएको थियो । उनीहरुका राय सल्लाह र सुझावहरु समेतलाई समेटेर कार्यक्रम तयार पारिएको हो । निरौलाले भने, ‘यसले गर्दा सदस्य संस्थाहरुको प्रतिनिधित्व बढ्ने विश्वास हामीले लिएका छौं । फेरि बचत संघका सदस्यहरु सबै नेफ्स्कूनका सदस्य छैनन् उनीहरुलाई पनि त केही न केही कार्यक्रम चाहियो ।’

बचत संघका कार्यक्रम अधिकृत रामकुमार दाहालका अनुसार पर्ल्स, पुँजी पर्याप्तता, सदस्य केन्द्रीयताका केही र सुशासनका ५० समावेश गरेर इन्डिेकटरहरु तयार गरिएको छ । ‘फाइनल अडिटमा ६० प्रतिशत बढी ल्याउनेलाई सफलताको प्रमाणपत्र प्रदान गर्दछौं, ’ दाहालले भने, ‘आईपीडीएसमा आवद्ध संस्थाहरुमा वर्षमा ५ पटक अनसाइट अनुगमन गरिन्छ । वित्तीय सूचकांकहरुका सम्बन्धमा मासिक अफसाइट सुपरभिजन पनि गरिन्छ ।’

9cd7c437-1e41-4cd8-a0cc-a45c51ce74d3 (1).jpg
आईपीडीएसका कार्यहरु

आईपीडीएसः अपनत्वको आधार
आईपीडीएस जिल्लास्तरीय स्तरीय कार्यक्रम भएकाले यसलाई मोरङका बचत ऋण सहकारीहरुले अपनत्व लिने आधारहरु प्रशस्त छन् । एक त स्थानीय कार्यक्रम भएकाले नजिकका साकोसहरुको घरदैलोको कार्यक्रम भयो । टाढा जानुपरेन । त्यसमाथि लागत पनि कम । ‘पुँजीगत हिसाबले संस्थाहरुलाई आईपीडीएस सरल पर्छ, बरिष्ठ उपाध्यक्ष निरौलाले भने, ‘फेरि हामीले कुल लागतको ५० प्रतिशत बचत संघले बेहोर्ने भनेका छौं । 

त्यस्तै, सुझाव तथा गुनासो गर्न संस्थाहरुलाई सहज, सरल र पहुँचयोग्य हुने भयो । स्थानीय अनुगमनकर्ताहरुको नियमित रेखदेख हुनेभयो । सोही कारण भटाभट संस्थाहरु आवद्ध हुने क्रम बढेको निरौलाले जनाए । उनले भने, ‘संस्थाहरुबाट रेस्पोन्स राम्रो आएको छ ।’

बरिष्ठ उपाध्यक्ष निरौलाले भने, ‘विराटनगरको एउटा साकोस त नेफ्स्कूनको प्रोबेसन छोडेर आईपीडीएसमा आवद्ध भएको छ । अर्को एउटा साकोस पनि त्यसै गर्न खोजिरहेको छ । हामीले जर्बजस्ती गरेको होइन, संस्थाहरु नै अब नेफ्स्कूनको स्तरीकरण भन्दा घरगाउँको स्तरीकरण भन्दैछन् ।’

आईपीडीएस ल्याउदै गर्दा यसबारे नेफ्स्कून अध्यक्षले चासो राखेको बताउँदै निरौलाले भने, ‘केन्द्रीय संघको अध्यक्षज्यूले चासो व्यक्त गर्दै असर त गर्दैन भनेर सोध्नुभएको थियो तर हामीले साना तथा मझौला साकोसहरुलाई लक्षित गरी यो कार्यक्रम विकास गरेका हौं भन्यौं ।’

निरौलाले भने, ‘आईपीडीएसले गर्दा संस्थाहरुलाई तालिमको लागत पनि कम भयो । सबै जसो तालिम यसबाट उपलब्ध हुन्छ । केही बाहिरका मात्र संस्थाहरुले गर्दा भयो । यिनै प्रभाकारिताका कारण उहाँहरु आफै आउनुभएको हो ।‘ 

उनले भने, ‘सामान्यतया सञ्जाल सहकार्य एउटै हो । यद्यपि, जिल्ला बचत संघ नेफ्स्कूनको शाखा नभई स्वायत्त निकाय हो । जिल्लाका साना संस्थाहरुको संवद्र्धनका लागि हो आईपीडीएस । तर हामी नेफ्स्कूनसँग साझेदारीमै छौं । तोडेका छैनौं ।’ 

bf1a2643-f386-4f07-a99d-e2a34affec3c.jpg
आईपीडीएस: दायित्व, जिम्मेवारी र कार्यहरु

नेफ्स्कून साक्षी बसेको आईपीडीएस कार्यक्रम
नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सञ्चालक लक्ष्मी सापकोटा र पूर्व सञ्चालक गोमा नेपाललाई साक्षी राखेर केन्द्रीय संघको झैं अनुगमन एवम् सुपरिवेक्षणसम्बन्धी समानान्तर कार्यक्रम बचत संघले लागू गरेको हो । 

आईपीडीएस कार्यक्रम सञ्चालन सम्बन्धी बचत संघको सञ्चालक समितिको बैठकबाट अनुमोदित प्रस्ताव सर्वसम्मत पारित गर्ने संघको ३२औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा नेफ्स्कून वर्तमान सञ्चालक समितिका अध्यक्ष ढकाल र सदस्य सापकोटा सहभागी थिए । अनि, संघकी पूर्व सञ्चालक गोमा नेपाल । ढकाल प्रमुख अतिथि थिए भने सापकोटा अतिथि । अनि, पूर्व सञ्चालक नेपाललाई सहकारी व्यक्तित्व सम्मान प्रदान गरिएको थियो । उनी बचत संघको सल्लाहकार छिन् । 

केन्द्रीय संघको जस्तो समानान्तर कार्यक्रम ल्याएर प्रतिस्पर्धी जस्तो देखिन नहुने धारणा नेफ्स्कून अध्यक्ष ढकाल र सञ्चालक सापकोटाको छ । जिल्ला संघको दृष्टिकोणबाट कम शुल्कमा सदस्यलाई सेवा दिने विषयलाई नराम्रो भन्न नसकिने सापकोटाले बताए । ‘तर, हामी एक भएर जानै पर्छ । यसले गर्दा सबैलाई राम्रो हुन्छ ।’

यद्यपि, बचत संघका बरिष्ठ उपाध्यक्ष निरौला भन्छन्, ‘हामीले जिल्लाका मझौला र साना साकोसहरुलाई लक्षित गरेर यो कार्यक्रम शुरु गरेका हौं । नेफ्स्कूनको स्तरीकरण कार्यक्रमको क्राइटेरियामा अटाउन नसक्नेहरु यसमा आवद्ध गर्दै उनीहरुको पनि सक्षमता विकास गर्ने उद्देश्यले आईपीडीएस कार्यक्रम ल्याइएको हो ।’

निरौलाले नेफ्स्कूनलाई नचिढ्याउन घुमाउरो भाषा प्रयोग गरेपनि वास्तविकता यति मात्रै होइन भन्ने बुझ्न सकिन्छ । आईपीडीएस नेफ्स्कूनको स्तरीकरण कार्यक्रम विरुद्धको समानान्तर कार्यक्रम हो । जसरी बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) ले स्तरीकरणसम्बन्धी कोशिस कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

नेफ्स्कून अध्यक्ष ढकाल भने आफू बचत संघको साधारणसभामा सहभागी भएको तर आईपीडीएस कार्यक्रमका सम्बन्धमा व्यवस्थापन बढी जानकार रहेको भन्दै पन्छिए । अध्यक्ष ढकालले भने, 'हामीले त उहाँहरुसँग सञ्जाल साझेदारी अन्तर्गत निरन्तर काम गरिरहेका छौं । त्यस्तो केही समस्या छैन । यस विषयमा म थप बुझ्छु ।'

तर, पूर्वका नेफ्स्कून सञ्चालक लक्ष्मी सापकोटा भन्छन्, ‘हाम्रो लबिङ नपुगेकै हो ।’ यस्तो समानान्तर कार्यक्रमले नेफ्स्कूनलाई असर गर्छ । जिल्ला संघको भूमिका र बिजनेश दुबै हिसाबले राम्रो भएपनि केन्द्रीय संघका लागि भने आईपीडीएसले असर गर्ने उनी बताउँछन् । उनले भने, ‘संस्थाहरुको जोखिम सुपरिवेक्षण, प्रवर्धन, विकास र स्तरीकरण सम्बन्धी 'वन डोर सिष्टम' भएन भने अन्योल र समस्या हुन्छ ।’ नेतृत्व गर्ने अगुवा खासगरी पदाधिकारी तहबाटै आवश्यक लबिङ नपुगेको उनी बताउँछन् । 

581007071_1970689636995893_5587563752739283506_n.jpg
आईडीपीएस लागू गरिएको बचत संघको साधारण सभाको उद्घाटन कार्यक्रम

जहाँसम्म नेफ्स्कून साक्षी बसेको भन्ने विषय छ त्यसमा जिल्ला संघले उक्त कार्यक्रम शुरुवात गरेको दिन अतिथि रहेका सापकोटाले भने, ‘कुनै कार्यक्रममा गएर अतिथि बन्दैमा त्यसमा गरिएका सबै निर्णयको जिम्मा लिनुपर्छ भन्ने हुँदैन ।’

नेफ्स्कूनका एक कार्यक्रम अधिकृत भन्छन्, ‘साना संस्थाको हकमा आईपीडीएस एकदम ठीक छ । जिल्ला संघले साना संस्थाहरुलाई पनि प्रवर्धन गर्नुपर्छ त्यो अभिभावकीय भूमिका निर्वाह गर्न आईपीडीएस प्रभावकारी हुन्छ तर सबै हिसाबले ठूला संस्थाहरुको प्राविधिक सहजीकरणमा जिल्ला संघको सक्षमताले अहिलेनै भ्याउँदैन ।’

580522702_1970688396996017_1496793129226184598_n.jpg
आईडीपीएस लागू गरिएको कार्यक्रम


कानूनी अधिकारको प्रयोग
दर्ताको हिसाबले भन्ने हो भने जिल्ला बचत संघ मोरङ विषयगत केन्द्रीय संघ नेफ्स्कून भन्दा मात्र एक वर्ष कान्छो हो । जिल्लास्तरीय बचत तथा ऋण सहकारीहरुको पहिलो र नजिकको अभिभावक हो । उसले पनि आफ्ना सन्तानको रेखदेख गर्न पाउने कानूनी अधिकार हो । त्यहीं प्रयोग गरेर लामो इतिहास बोकेको पूर्वको जिल्ला बचत संघले केन्द्रीय संघको जस्तै समानान्तर कार्यक्रम ल्यायो आईपीडीएस । नेफ्स्कून, बागमती प्रोस्कून र बचत संघ सबैले सहकारी ऐन २०७४ को दफा ९९ लाई टेकेर यो कार्यक्रम ल्याएका हुन् । आ-आफ्नो अधिकारको प्रयोग गरेका हुन् । 

नेफ्स्कूनको स्तरीकरण कार्यक्रमः शुल्क र सेवामा समस्या
नेफ्स्कूनको स्तरीकरण कार्यक्रमहरुको शुल्क पनि महंगो र सेवा पनि गुणस्तरीय र प्रभावकारी नहुँदा साकोसहरुको गुनासो चुलिदो थियो । त्यसैको परिणामस्वरुप जिल्लास्तरीय अभिभावक संघको पहलकद्मीले आईपीडीएस जन्मिएको हो ।

बचत संघका बरिष्ठ उपाध्यक्ष निरौलाले भने, ‘नेफ्स्कूनका कार्यक्रमहरु महंगा पनि भए । तालिमहरु पनि त्यस्तै भए । त्यही भएर पनि संस्थाहरु उपयुक्त विकल्पको खोजीमा थिए । हामीले जहिले पनि नेफ्स्कूनलाई तालिम, स्तरीकरण आदिका शुल्कहरु चर्को भयो भनेर भन्दै आएको विषय हो । यसबारे मैले अध्यक्षलाई पनि र विभागीय प्रमुख दुर्गा प्रसाद ढकाललाई पनि भनेको छु ।’ नेफ्स्कूनकै केही सञ्चालकहरु पनि संघको कार्यक्रमहरुको शुल्क चर्को भएको स्वीकार्छन् । स्थानीय कार्यक्रमहरुको तुलनामा संघको कार्यक्रम महंगो हुनु स्वाभाविकै पनि हो । यद्यपि, क्वालिटीको विषय पनि हेर्नुपर्ने उनीहरु सुझाउँछन् ।

बचत संघले आईपीडीएसका लागि पन्ध्र करोड भन्दा कम वासलात भएकाहरुलाई वार्षिक ४० हजार शुल्क तोकेको छ जसध्ये आधा बचत संघले बेहोर्छ भने पन्ध्र करोड माथि वासलात भएका संस्थाहरुलाई ५० हजार तोकिएको छ । त्यसको पनि आधा बचत संघले नै बेहोर्ने गरी । उता नेफ्स्कूनको स्क्यान कार्यक्रमको हकमा भने १० देखि २५ करोड कुल सम्पत्ति भएका संस्थाहरुको हकमा करिब ५० हजार (क्यूरी सहभागिता समेत गरी) छ र त्यो संस्थाले नै बेहोर्नुपर्ने हुन्छ । 

शुल्कसँगै समस्या सेवामा पनि रहेको छ । प्रभावकारी अनसाइट र अफसाइट मनिटरिङ नभएको र पैसा पनि चर्को तिर्नुपर्ने बाध्यतामा संस्थाहरु रहेको प्रारम्भिक संस्थाहरुको भनाइ छ ।

Scan Rate.jpeg
स्क्यानको शुल्क
fb3f95b8-861d-4cc7-93ff-17a8684df3aa.jpg
आईपीडीएसको शुल्क

कर्ब्समा किचकिच
नेफ्स्कूनले विकास गरेको सञ्जाल साझेदारी कार्यक्रम अन्तर्गत कर्ब्स कार्यक्रम जिल्ला संघले चलाउने भनिएको छ । तर, यसमा जिल्ला संघहरुले तातो देखाएका थिएनन् । सञ्जाल साझेदारी भनिएपनि परिपालना भएको थिएन । 

‘सञ्जाल साझेदारी होइन यो त जञ्जाल साझेदारी जस्तो भएको छ’ एक जिल्ला बचत संघका अध्यक्षले टिप्पणी गरे । फेरि कर्ब्सको अन्तिम अडिट पनि हुने गरेको छैन । साँच्चै भन्ने हो भने कर्ब्र्सको विकल्प आईपीडीएस जस्तो देखिएको छ । आज नेफ्स्कूनको सञ्जाल साझेदारी कार्यक्रम ‘कता हरायो ? भन कता हरायो ?’ जस्तो भएको छ । 

फेरि, बचत संघलाई थाहै नदिइ नेफ्स्कूनका केही अधिकृतहरु संस्थामा गएर र पाम वर्कशपमा पनि कर्ब्स छोडेर प्रोबेसनमा आउन आग्रह गरेको बचत संघको गुनासो छ । ‘यो कर्ब्स छोड्दिनुहोस्, अब प्रोवेशनमा आउनुहोस् भन्ने गरेको पाइयो , हामीलाई थाहै नदिइ यसो गर्न त भएन नि, ’ बरिष्ठ उपाध्यक्ष निरौलाले भने, ‘यो ग्याप भयो । यो रोग कसरी लाग्यो थाहा भएन । यसमा नेफ्स्कूनकातर्फबाट केही कमजोरी भएका छन् ।’

आईपीडीएस सञ्चालनको तयारीबीच नेफ्स्कूनले पत्राचार गरी साझेदारी कार्यक्रम अन्तर्गत मोरङ जिल्ला संघलाई थप सुविधा उपलब्ध गराउँदा पनि टेरपुच्छर नलागएको भनाइ नेफ्स्कूनको छ ।

नेफ्स्कूनका एक उच्च कर्मचारीले सुनाए, ‘दुई जना मिलेर झगडा गर्ने हो भने एउटा सिङ त अवश्य भाँच्चिन्छ नै । तर, त्यसो हुन दिनु हुँदैन । हामी सहमति मै जानुपर्छ ।'

नेफ्स्कूनको पछिल्लो कार्यक्रम स्क्यानः नयाँ बोतलमा......
नेफ्स्कूनले २०६८ देखि एशिया प्रशान्त स्तरको स्तरीकरण कार्यक्रम एक्सेस,  २०६९ सालबाट साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी घरेलु कार्यक्रम प्रोवेशन (ब्राण्डिङ भने आर्थिक वर्ष २०७१/७२ बाट शुरु गरेको) र २०७५ सालदेखि जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्स सञ्चालन गर्दै आएको छ । यद्यपि, यिनका सम्बन्धमा सदस्य र सरोकारवालाहरुको गुनासो बढ्दै गएपछि हाल सबैलाई समेटेर ‘स्क्यान’ भन्ने डालो संघले बनाएको छ ।

धेरैको बुझाइ छ-नेफ्स्कूनले रिब्राण्डिङ गरेर पछिल्लो समयमा स्क्यान ल्याएको हो । आखिर यो नौलो कार्यक्रम होइन । एक्सेसलाई विदेशी आरोप लाग्दै आएको छ भने प्रोबेसनमा सहकारी विभागले हात झिेकेपछि स्तरमा शंकाहरु पैदा भएका छन् । अब प्रदेश र जिल्ला बचत संघहरु चलायमान हुँदै गएपछि उपायको खोजी स्वरुप नेफ्स्कूनले पुरानै बोतलमा नयाँ........को रुपमा स्क्यान सार्वजनिक गरेको हो । नेफ्स्कूनका एक सञ्चालकले केही समय अघि सुनाए, ‘केही न केही नयाँ त गर्नुपर्यो । नत्र संस्थाहरुले अब नेफ्स्कूनलाई पत्याउन छोडे त्यहीं भएर दुर्गा ढकालले सोचेको नयाँ कार्यक्रम हो स्क्यान । अब केही समय स्क्यान भनेर हल्लाखल्ला त हुन्छ नि !’

उनले भनेझैं हल्लाखल्ला भएको छ । मोरङमा मात्र हालसम्म २४ साकोस स्क्यानमा आवद्ध भएको संघका कार्यक्रम अधिकृत मुकेश दाहालले जानकारी गराए । नेफ्स्कूनमा हाल मोरङका करिब १ सय साकोस सदस्य छन् । 

बचत संघको ध्यान आवश्यक
आखिर जे भएपनि, सञ्चालनमा आइसकेको आईपीडीएसमा अनसाइट अफसाइट मनिटरिङका लागि प्राविधिक दक्षताको विकास र विस्तारलाई भने जिल्ला बचत संघले धान्न सक्छ सक्दैन भन्ने महत्वपूर्ण प्रश्न छ । भोलि संस्थाहरु थपिदैं जाँदा र अनसाइट अफसाइटको भार बढ्दै जाँदा हिजोको नेफ्स्कूनलाई अहिले गरेको जस्तो गुनासो बचत संघसँग नहोला भन्न सकिन्न । त्यसको लागि बचत संघको ध्यान बेलैमा जानु आवश्यक छ । अनि, स्तरीकरणमा एकछत्र राज गरेको नेफ्स्कूनको लागि पनि यो सिकाइ हो र सुधारको अवसर पनि हो ।



प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार