काठमाडौं । करिब १७ वर्षअघि आफ्नो प्रारम्भिक संस्था धादिङको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षबाट स्वेच्छिक बिदा भई नेतृत्व हस्तान्तरण गरेका मिनराज कडेल आज फेरि त्यहीं संस्थाको त्यहीं भूमिकामा फर्किएका छन् ।
मिनराजलाई मैले सुरुमै प्रश्न गरेँ, ‘किन फेरि आफ्नै गाउँ (जनकल्याण साकोस) फर्किनुभयो त यतिका वर्षपछि ?’ शुरुमा उनले रमाइलो गरे, ‘आफ्नो गाउँ नफर्केर भयो त ? आफ्नो गाउँ भनेको आफ्नै गाउँ हो नि । अपरिमिति प्रेम हुन्छ आफू जन्मे हुर्केको गाउँ ।’
धादिङको बेनिघाट रोराङ–३ मलेखु रिचोकटार स्थित जनकल्याण साकोसको २९औं वार्षिक साधारणसभाले २०८२ पुस १५ गते कडेलको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति तथा विदुर कुमार त्रिपाठीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गर्यो ।
‘झण्डै १७ वर्षपछि प्रारम्भिक संस्थाको अध्यक्षमा फेरि सर्वसम्मत भएँ, ’मिनराजले भने, ‘म अध्यक्ष बस्छु भनेको होइन, सोचेको पनि थिइन, तर परिस्थिति यस्तो सिर्जना भयो कि बस्न बाध्य भएँ । धरै पाइन ।’
कस्तो परिस्थिति ?
जब यो पटक जनकल्याण साकोसमा निर्वाचन हुँदै थियो, तब संस्थामा स्वयंसेवी योगदान गरेकाहरु स्वाभाविक रुपमा सञ्चालक समितिका विभिन्न पदमा आकांक्षा देखिए । जतिजति निर्वाचनको दिन नजिकिदो थियो, आंकाक्षीहरु थपिदै गए । एक हिसाबको मन्थनहरु हुन थाले ।
अनि एकछिन पछि मिनराजले गाँठी कुरा खोले, ‘मलाई लागेको थिएन, हामी सहमति भन्दा पर जान्छौं भनेर । साथीहरुबीच सहमति कायम गरेर निर्वाचन बिनानै सहज नेतृत्व हस्तान्तरण गर्न सकिन्छ भन्ने मलाई लागेको थियो । तर, अवस्था बिस्तारै असहज बन्दै गयो ।’
मिनराजले नढाँटी भने, ‘पहिचान बनाएको र समुदायमा भिजेको संस्थामा बसेर काम गर्ने नेतृत्व लिने पदासीन हुन खोज्नेहरु धेरै हुनुभयो । त्यसैले निर्वाचनको माहोल केही बिथोलिन खोजेको थियो । सहमतिको प्रयासले सार्थकता पाउन सकेन ।’
चुनावै गर्ने र त्यो पनि अलिक भिन्न परिस्थिति सिर्जना हुने भएपछि शान्तिपूर्ण मध्यस्थताको प्रयास केही साथीहरुबाट भएको उनले बताए । तर, अन्तिम सम्मको प्रयासले केही नलागेको र अब अबस्था झनै बिग्रन दिन नहुने भएपछि उपाय खोज्दा सबैले तपाईं बस्ने भए हामी सर्वसम्मत छोड्छौं अन्यथा हुँदैन भनेपछि र उहाँहरुले मेरो नेतृत्वमा नयाँ सञ्चालक समितिमा अटाउने साथीहरुको नामनै वाचन गरेपछि मैले आफ्नो कुरै राख्न पाइन ।’
निर्वाचनका लागि अध्यक्षमा तीन जना, उपाध्यक्षमा २ जना, सचिवमा ३ जना, कोषाध्यक्षमा २ जना ९ सदस्यीय ३० जना चुनावी मैदानमा उत्रिएका थिए । अवस्था अनपेक्षित र अस्वाभाविक हुँदै गयो । उनले भने, ‘मैले पख्नुस् म मेरा कुरा राख्छु भन्दै थिए तर अहँ बोल्न पाइन, मेरो केही लागेन । भएको यस्तो हो । एक हिसाबले भन्ने हो भने परिबन्धमा म परेँ र यो परिबन्ध भनेको नकारात्मक हिसाबले होइन ।’
हुन पनि हो । समुदायमा आधारित सदस्य केन्द्रीत तथा विभिन्न समयमा सम्मानित भैसकेको गाउँ ठाउँको बलियो सहकारी संस्थाको सञ्चालक समितिमा निर्वाचित भएर काम गर्न पाउनु स्थानीयहरुका लागि अवसर पनि हो, अधिकार पनि हो । त्यहीं भएर आकांक्षीहरु आ-आफ्नै अडानमा कायम रहे ।
पुस १९ गते निर्वाचन कार्यक्रम राखिएको थियो । ठूलो बैचारिक व्यायाम पछि, १५ गते नै सर्वसम्मतको प्रयास सफल भयो । र, पुस २२ गते साधारण सभाले त्यसलाई वैधानिकता प्रदान गर्यो ।
यसलाई उनले संस्था र सहकारी अभियानप्रतिको आफ्नो लगावको प्रतिफलको रुपमा स्वीकार पनि गरेका छन् । भन्छन्, ‘१७ वर्षपछि पनि तपाईंनै बस्नुपर्छ, संस्थालाई अझ अघि बढाउनुपर्छ, नेतृत्व गर्नुपर्छ भनेर सबैले भन्नु भनेको एक हिसाबले आफूले अभियानप्रति गरेको योगदानको कदर पनि त हो नि ।’
साँच्चै भन्ने हो भने नेतृत्वका आकांक्षीहरुले मिनराज नै खोजेको उनको भनाइबाट स्पष्ट हुन्थ्यो । र, अन्ततोगत्वा भयो पनि त्यही ।
जनकल्याणः आफ्नो प्यारो सन्तान
जनकल्याण साकोसलाई मिनराज आफ्नो सन्तान मान्छन् । ‘त्यो त भन्नै पर्दैन, ‘उक्त संस्थाका संस्थापक अध्यक्ष मिनराजले भने, ‘मेरो प्यारो सन्तान नै हो । म जस्तै सबै संस्थापक तथा सदस्यहरुको वात्सल्यप्रेम हो ।’ अनि उनले बारम्बार भन्दै आएका छन् र सम्भवतः अबका दिनमा त झनै भन्नेछन्, ‘सहकारी अभियन्ताहरुले सबैभन्दा पहिले आफ्नो प्रारम्भिक संस्था बलियो बनाउनुपर्छ ।
अयिभानमा स्वयंसेवी भूमिकामा समर्पित हुने जो कोहीले यो सबैभन्दा महत्वपूर्ण विषयलाई ध्यान दिनुपर्छ । आफूले सहकारी अभियानका बारेमा केही बोल्दा हेर त यसको प्रारम्भिक संस्थाको हालत कस्तो छ ? अरुलाई उपदेश दिन्छ भनेर खिसिट्यूरी गर्ने अवस्था आउनुभनेको सबैभन्दा नरमाइलो कुरा हो ।’
त्यही भएर उनले साथीहरुको साथ र सहयोगको बलमा जनकल्याणमा पसिना बगाए । संस्था गर्व गर्न लायक बनाए । नीति, विधि र प्रविधिमा अब्बल बनाए । राम्रो टिम पाए अनि बनाए पनि । व्यवस्थापन पनि चुस्त छ । सदस्यहरु सहकारी साक्षर छन् । प्रविधि साक्षर छन् । वित्तीय साक्षरताको स्तर राम्रो छ । ‘संस्था लोभलाग्दो भएकै कारण नेतृत्वमा आकांक्षीहरु धेरै हुनुभएको हो, ’ मिनराजले बताए ।
दोस्रो इनिङ्स
मिनराजको अबको जनकल्याण साकोसको कार्यकाललाई प्रारम्भिक संस्थाको दोस्रो इनिङ्सका रुपमा लिन सकिन्छ । १७ वर्षका बीचमा धेरै परिवर्तनहरु भएका छन् । उनको सहकारी भूमिकाले देश देशान्तर यात्रा गरिसकेको छ । जिल्ला सहकारी संघ धादिङका संस्थापक अध्यक्ष, नेफ्स्कूनका अध्यक्ष, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मात्रै होइन अक्कूका द्धितीय र प्रथम उपाध्यक्ष भइ भरपूर अनुभव बोकेका छन् । र अब अवसर पनि छ, प्रारम्भिक संस्थालाई साँच्चै सबल र सुदृढ बनाउँदै देख्यौं त अभियन्ताको संस्था यस्तो हुन्छ भनेर देखाउने ।
अबको उनको कार्यकालमा जनकल्याण साकोसले साँच्चिकै ३६० डिग्री परिवर्तन खोजेको पनि छ । उनले दक्ष व्यवस्थापनलाई हातमा लिएर नेतृत्व गरे भने असम्भव पनि छैन । हिजो लगालग एशिया स्तरको एक्सेस ब्राण्ड (२०७५ सालमा एक्सेस ब्रोञ्ज र २०७६ अनि २०७७ मा सिल्भर ब्राण्ड) पाएको जनकल्याणलाई फेरि पनि त्यस्तै ब्राण्डहरु दिलाउने र धेरै भन्दा धेरै सदस्यहरुको जीवन रुपान्तरणको अगुवाई गर्ने गहन जिम्मेवारी उनको काँधमा आएको छ ।
अबको चुनौती
उनले भने समय व्यवस्थापन मुख्य चुनौती हो । त्यो चुनौती व्यवस्थापन मेरो मुख्य चुनौती हो । निर्वाचनको तयारीमा पक्ष विपक्ष भएर होमिन तयार भएका सबै साथीभाइले उनलाई सहयोगको प्रतिबद्धता व्यक्त गरेकाले सहज हुने ठानेका छन् । सबैलाई मिलाएर संस्थालाई फेरि अर्को उचाइमा लाने प्रारम्भिक योजना मिनराजले धिप्री डटकमलाई सुनाए । र, अर्को भनेको सहकारीप्रति सदस्य र सरोकारवालाहरुको विश्वास पुनर्जागृत गर्न प्रारम्भिक संस्थालाई मुलुककै उदाहरणीय बनाउने । सदस्यहरुको विश्वासको पहिलो संस्था बनाउने ।
आन्तरिक रुपमा भन्नुपर्दा तरलता व्यवस्थापन र लगानीहरु उठाउने चुनौती छन् । खासगरी कोभिड १९ पछिको तरल विश्व अर्थतन्त्रको प्रभाव नेपालमा परेको र त्यसबाट सहकारीहरु पनि अछुत हुन नसकेको कारण छ । पछिल्लो समय झन् तरंगित बनेको राजीनितक अवस्थाले सहकारीहरुलाई लगानीमा रहेको ऋण उठाउने चुनौती थपिएको छ । सहकारी अभियानको यो साझा चुनौती अहिले जनकल्याणको पनि चुनौती भएको कडेलले स्वीकारे ।
साँच्चै, समय व्यवस्थापनको विषयमा कुरा गर्दा, उनको घर पनि जनकल्याण साकोसको आडमै छ । प्रत्येक हप्ता जस्तो उनी धादिङ झरिरहन्थे । अब त उनलाई धादिङ गइरहनुपर्ने अवस्था झनै बढेको छ । कडेलका दुबै ‘परिवार’ अब धादिङमै भए । एउटा व्यक्तिगत परिवार अनि अर्को जनकल्याण साकोस परिवार । हुनत् जनकल्याण साकोस परिवारभन्दा पर पुगेर गाउँ अनि समुदायनै बनिसकेको छ । जनसंख्या बढ्दो छ । चहलपहलको घनत्व पनि त्यस्तै छ । सोही कारण उनी अब काठमाडौं भन्दा धादिङमा बढी भेटिनेछन् ।
मूलतः शिक्षण, राजनीति र सहकारीका परिचित व्यक्तित्व मिनराजले शिक्षणलाई धेरै अघि बिश्राम दिए, राजनीतिबाट पनि पछिल्लो पटक नेकपा एमालेको ११औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा पराजित भएसँगै अब उनले उक्त भूमिकालाई पनि साइड लगाएर मात्र सहकारीमा खट्ने र आफ्नो सतप्रतिशत दिने हो भने धेरै गर्न सक्छन् भन्ने विश्वास धादिङको र जनकल्याणको मात्र होइन, मुलुकको समग्र सहकारी अभियानको छ । र, सहकारीप्रति जनविश्वास पातलिदैं गएको समयममा मिनराजबाट यो भूमिका अपेक्षित पनि छ ।
ऐन कानून र प्रावधानहरु कसिलो हुँदै सहकारीका सुशासन, इमानदारी र पारदर्शीतामाथि अनेकन प्रश्नहरु उब्जिरहेको समयममा उनले बलियो प्रारम्भिक संस्थालाई परिवर्तित नियामकीय प्रबन्ध र अपेक्षा अनुकूल सदस्यहरुको बढ्दो अपेक्षाको सम्बोधन गर्ने दिशामा के कस्ता रणनीतिक उद्देश्य, योजना र नीतिगत कामहरुको अगुवाई गर्नेछन् त्यो चासोको विषय हुनेछ । अनुभवले खारिएका ६५ वर्षमा यात्रारत जनकल्याण साकोसको सदस्य नं १ रहेका मिनराजले आगामी ४ वर्षमा जनकल्याणलाई कहाँ पुर्याउँनेछन् त्यसका लागि हामी भने केवल ‘वेट एण्ड वाच्’ मात्र गर्न सक्छौं ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com