Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

१७ औँ राष्ट्रिय बाल नाटक महोत्सव–२०८२ काठमाडौंमा शुरु

१७ औँ राष्ट्रिय बाल नाटक महोत्सव–२०८२ काठमाडौंमा शुरु

काठमाडौं । १७ औँ राष्ट्रिय बाल नाटक महोत्सव–२०८२ माघ २६ गतेदेखि काठमाडौंमा शुरु भएको छ । नेपाल र रुसबीच सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठको अवसरमा आयोजित महोत्सवमा १६ वटा नाटक मञ्चन गरिनेछ । रुसी सदन र शैली थिएटर नेपालद्वारा आयोजित महोत्सवमा कुल १६ वटा प्रतियोगी नाटकहरु मञ्चन गरिनेछ । फागुन २ गतेसम्म आयोजना हुने महोत्सव कमलपोखरीस्थित रुसी सदनमा सञ्चालन भइरहेको छ । 

महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहित्यकार एवम् कविडाँडा समाजका अध्यक्ष एलबी क्षेत्रीले नाटक समाज, संस्कृति र राष्ट्रिय पहिचानको सशक्त माध्यम भएको बताउनुभयो । नाटककर्मीहरूले विभिन्न कठिनाइका बाबजुद निरन्तर सिर्जनशीलता र समर्पणका साथ योगदान दिँदै आएकोमा उहाँले प्रशंसा समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘यस्ता कार्यक्रमहरूले युवा पुस्तालाई प्रेरणा दिई नेपाली कला–संस्कृतिको प्रवर्धनमा सहयोग पुग्नेछ ।’ राष्ट्रिय बाल नाटक महोत्सव आयोजना गरेकोमा आयोजकलाई बधाई दिँदै महोत्सवको निरन्तरताको पनि कामना गर्नुभयो ।

DSC07064_11zon.jpg
undefined

रुसी सदनकी निर्देशक अनास्तासिया खोक्लोभाले रुसी सदनले नेपाल–रूस सांस्कृतिक सहकाय प्रवद्र्धन गर्दै आएको र रङ्गमञ्च सांस्कृतिक आदान–प्रदानको सशक्त माध्यम भएको बताउनुभयो । उहाँले बाल नाटक महोत्सवले बालबालिकाको आत्मविश्वास, सिर्जनशीलता र अभिनय क्षमताको विकास गर्दै दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई प्राथमिक तहबाटै सुदृढ बनाएको उल्लेख गर्नुभयो । उहाँले आयोजक, कलाकार लगायतलाई धन्यवाद दिदैं भविष्यमा पनि यस्ता कार्यक्रममा रुसी सदनको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शैली थिएटरका सल्लाहकार, लेखक तथा समालोचक महेश पौड्यालले बाल नाटक केवल अभिनय मात्र नभई बालबालिकाको आत्मविश्वास, सिर्जनशीलता, संवेदना र सामाजिक चेतनाको विकास गर्ने सशक्त माध्यम भएको बताउनुभयो । उहाँले शिक्षा, संस्कृति र सामाजिक विषयहरूलाई समेट्दै जिम्मेवार र सचेत नागरिक निर्माणमा बाल नाटकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सहकार्य, निरन्तरता र नवीनतामार्फत बाल नाटकलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

DSC07057_11zon.jpg
undefined

कार्यक्रममा बरिष्ठ बाल साहित्यकार रामबाबु सुवेदीलाई सम्मान गरिएको थियो । हिजो पहिलो दिन अप्रतियोगी बाल नाटक ‘पार्वती’ प्रदर्शन गरिएको थियो । महोत्सवको अन्तिम दिन फागुन २ गते पुरस्कार वितरण गरिने आयोजकहरुले जनाएका छन् ।  महोत्सवका निर्णायकमा रङ्गकर्मी आशान्त शर्मा, केदार श्रेष्ठ रहनुभएको छ ।

C0028T01_11zon.jpg
बाल नाटक ‘पार्वती’का कलाकारहरु र निर्देशक

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार