Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

मार्चमा भित्रिए १ लाख २० हजार बढी पर्यटक

मार्चमा भित्रिए १ लाख २० हजार बढी पर्यटक

काठमाडौं । मार्च महिनामा १ लाख २० हजार ५ सय १६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मार्च २०२६ मा दक्षिण एसियाली र अन्य एसियाली देशबाट आउने पर्यटक संख्यामा उल्लेख्य वृद्धि देखिएको छ ।

तथ्यांक अनुसार मार्चमा सार्क मुलुकबाट मात्रै ४२ हजार ६ सय ६८ पर्यटक आएका छन् । जुन कुल आगमनको करिब ३५।४ प्रतिशत हो । यसमध्ये भारतबाट सबैभन्दा धेरै २५ हजार ७ सय २८ आएका छन् । श्रीलंकाबाट १० हजार ७ सय ५९ र बंगलादेशबाट ४ हजार ६ सय ७६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । भारत पहिलो स्थानमा छ ।

त्यस्तै चीनबाट ११ हजार २ सय २०, म्यानमार ६ हजार २० र थाइल्यान्डबाट ३ हजार ८ सय ९७ पर्यटक आएका छन् । जापान, मलेसिया र दक्षिण कोरियाबाट समेत उल्लेख्य आगमन भएको छ ।

समग्रमा ‘अन्य एसिया’ क्षेत्रबाट ३३ हजार ४ सय ३६ पर्यटक भित्रिएका छन्, जुन कुल आगमनको करिब २७।७ प्रतिशत हो । युरोपेली र अमेरिकी बजारबाट आउने पर्यटक संख्या स्थिर देखिन्छ ।

पश्चिम एसियामा जारी युद्धको प्रभावका कारण युरोप र अमेरिकाबाट पर्यटक आगमन वृद्धिमा असर परेको बोर्डले जनाएको छ । 

मार्च २०२५ मा १ लाख २१ हजार ६ सय ८७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । कोभिड–१९ सुरु हुनुअघि भने सोही महिनामा १ लाख २७ हजार ३ सय ५१ आगमन भएको थियो । फेब्रुअरी २०२६ मा १ लाख ५ हजार ४ सय ४१ पर्यटक आएका थिए ।

मार्च–अप्रिललाई मौसम, ट्रेकिङ सिजन लगायतले आगमन वृद्धि हुने महिनाका रूपमा हेरिन्छ । तर, यस वर्षको मुख्य सिजनमा नै पश्चिम एसियामा चर्किएको युद्धले अन्तर्राष्ट्रिय उडान प्रभावित हुनुका साथै सम्बन्धित मुलुकले जारी गरेको ‘ट्राभल एडभाइजरी’ ले गर्दा उल्लेख्य वृद्धि हुन सकेको छैन ।

विशेषगरी यो सिजनमा अरू महिनाको तुलनामा हिमाल आरोहण, ट्रेकिङ, साहसिक पर्यटन र सांस्कृतिक भ्रमणका लागि नेपाल आउने पर्यटकको संख्या बढ्ने गर्दछ ।



प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार