Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधामा भारी कटौती

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधामा भारी कटौती

काठमाडौं । सरकारले  विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीलाई दिँदै आएको इन्धन सुविधामा कटौती गरेको छ । 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, आपूर्ति असन्तुलन र अपेक्षित राजस्व सङ्कलन हुन नसकेको भन्दै यस्तो निर्णय लिनु परेको अर्थ मन्त्रालयको भनाइ छ । यसले सार्वजनिक खर्च नियन्त्रण र बढ्दो आर्थिक चुनौती व्यवस्थापनमा सहयोग पुग्ने विश्वास अर्थको छ । अर्थमन्त्री डा.स्वार्णिम वाग्लेले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन गर्दै इन्धन सुविधा पुनः निर्धारण गर्नुभएको हो ।

नयाँ व्यवस्थाअनुसार अब सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीले मासिक १२५ लिटरको सट्टा ७० लिटर मात्र इन्धन पाउनेछन् भने सहसचिवस्तरका पदाधिकारीको सुविधा १०० लिटरबाट घटाएर ५० लिटर कायम गरिएको छ । 

मन्त्री तथा संवैधानिक पदाधिकारीको सुविधा भने यथावत राखिएको छ । त्यस्तै, केन्द्रीयस्तरका सरकारी कार्यालयका गाडीका लागि दिंदै आएको इन्धन पनि घटाइएको छ । 

३० देखि ५० जनासम्म कर्मचारी भएका कार्यालयले अब ३५ लिटर पेट्रोल र ५० लिटर डिजेल मात्र पाउनेछन्, जुन पहिलेको भन्दा झण्डै आधाले कम हो । थप हरेक १०० कर्मचारी भएका कार्यालयका लागि पनि यही अनुपातमा इन्धन उपलब्ध गराइने व्यवस्था गरिएको छ । 

दुईपाङ्ग्रे गाडीका लागि दिइने पेट्रोल सुविधा पनि घटाइएको छ, जसअनुसार अब मासिक १२ लिटरको सट्टा ८ लिटर मात्र उपलब्ध हुनेछ । यो निर्णयले मितव्ययिता कायम गर्न, सार्वजनिक खर्च घटाउन र वर्तमान आर्थिक दबाब व्यवस्थापनमा सहयोग पुग्ने सरकारको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार