Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

पत्रकार राजेन्द्र गौतमलाई 'सीतादेवी ढकाल स्मृति पुरस्कार'

पत्रकार राजेन्द्र गौतमलाई 'सीतादेवी ढकाल स्मृति पुरस्कार'

वेद प्रकाश दवाडी, इटहरी, वैशाख ११। इटहरीबाट प्रकाशन हुँदै आएको ‘पूर्वी हटलाइन’ राष्ट्रिय दैनिकको तेह्रौँ वार्षिकोत्सव तथा लोकतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा झापाका पत्रकार राजेन्द्र गौतम सम्मानित हुनुभएको छ।

पत्रकार गौतमलाई ‘सीतादेवी ढकाल स्मृति पत्रकारिता पुरस्कार–२०८३’ प्रदान गरिएको हो। उहाँले विगत करिब तीन दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पुर्याउनुभएको योगदानको कदरस्वरूप पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

झापालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहनुभएका गौतमलेको इमानदारी, पेसागत निष्ठा र सामाजिक उत्तरदायित्व प्रशंसनीय रहेको कार्यक्रममा उल्लेख गरिएको थियो।

प्रा. डा. भीम खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ‘पूर्वी हटलाइन’का प्रधान सम्पादक शालिग्राम पाण्डे, पुरस्कारदाता मोहनप्रसाद ढकाललगायतले गौतमलाई सम्मानपत्रसहित पुरस्कार प्रदान गर्नुभएको थियो।

सोही कार्यक्रममा पत्रकारितामार्फत समाज परिवर्तनमा उल्लेखनीय भूमिका निर्वाह गर्ने पत्रकारहरू नवीन गड्तौला, ललिता भट्टराई (मोरङ), भगीरथ भण्डारी (इलाम) तथा रञ्जना पौडेल (सुनसरी) लाई विभिन्न शीर्षकमा पुरस्कृत गरिएको थियो। यसैगरी समाजसेवी विश्व रिजाल, व्यवसायी खुमानन्द चापागाईं, सञ्चार क्षेत्रका सर्वाधिक रक्तदाता केबी सम्राटलगायतलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि खतिवडाले क्षेत्रीय पत्रकारिताको विकास तथा जनचेतनामूलक समाचार सम्प्रेषणमा ‘पूर्वी हटलाइन’ले खेलेको भूमिका उल्लेखनीय रहेको बताउनुभयो।

तेह्र वर्षको यात्रा पूरा गरेको ‘पूर्वी हटलाइन’ राष्ट्रिय दैनिकले आगामी दिनमा पनि निष्पक्ष, विश्वसनीय र जनउत्तरदायी पत्रकारितालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार