काठमाडौं । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘भानुभक्तीय रामायण वाचन प्रतियोगिता’ मा काठमाडौंको गौरीघाटस्थित वाग् गुरुकुलमा कक्षा ९ मा अध्ययनरत छात्रा आँचल बसेल प्रथम हुनुभएको छ ।
१ सय ५० पूर्णाङ्कमा १ सय ३१ अंक प्राप्त गरी प्रथम हुनुभएकी उहाँले १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ । केही समयअघि जयतु संस्कृतम् संस्थाद्वारा आयोजित राष्ट्रव्यापी संस्कृत सम्भाषण प्रतियोगितामा पनि उहाँ प्रथम हुनुभएको थियो ।
आजको प्रतियोगितामा प्रसिद्ध रेग्मी द्धितिय तथा युवराज न्यौपाने तृतीय हुनुभएको छ । यसैगरी, राधा न्यौपाने, प्रविज्ञ रेग्मी तथा कृशु पौडेलेले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ । द्धितीय र तृतीय हुने रेग्मी तथा न्यौपानेले क्रमशः १० हजार रुपैयाँ नगद तथा ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ भने सान्त्वना पुरस्कार प्राप्त गर्ने न्यौपाने, रेग्मी र पौडेलले जनही २५ सय रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
पुरस्कृतहरुलाई कार्यक्रमका प्रमुख अतिथि भानु प्रतिष्ठानका अध्यक्ष डीपी अर्याल तथा आयोजक संस्था बत्तीसपुतलीस्थित श्रीरामचन्द्रमन्दिर जीर्णोद्धार एवम् संवर्द्धन समितिका अध्यक्ष एवम् कार्यक्रमका सभापति डा.गोविन्द टन्डन तथा पदाधिकारीहरुले सम्मानित गर्नुभएको थियो । प्रतियोगितामा विभिन्न विद्यालयका माध्यमिक तहसम्मका ४१ जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगिताका निर्णायकहरुमा रुद्रलोचन आचार्य, शोभा चापागाईं बराल तथा रामचन्द्र न्यौपाने रहनुभएको थियो ।
काठमाडौंको बत्तीसपुतलीस्थित श्रीरामचन्द्रमन्दिर जीर्णोद्धार एवं संवर्द्धन समितिले यस प्रकारको कार्यक्रम पहिलो पटक आयोजना गरिएको भन्दै अब भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई निरन्तरता मात्रै होइन भव्य र व्यापकसमेत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
कार्यक्रमका अध्यक्ष संस्कृतिविद् डा.गोविन्द टण्डनले भविष्यका कर्णधारहरुलाई भानुभक्त बुझाउने प्रयासको थालनी भएको भन्दै भाषामार्फत मुलुकको एकीकरणमा महत्वपूर्ण योगदान दिने भानुभक्तलाई भावी पुस्तामाझ लोकप्रिय बनाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । टण्डनले भन्नुभयो, ‘भानुभक्तलाई जति सम्मान दिएपनि कम हुन्छ । खासगरी भानुभक्तीय रामायणभित्र लुकेको धर्म, संस्कृति, साहित्य, अध्यात्म र जीवनदर्शनका पाटाहरु अथाह भएको भन्दै तिनका सम्बन्धमा खोज, अध्ययन र अनुसन्धान गर्न चाहनेलाई विद्धतवृत्ति प्रदान गर्ने घोषणा पनि गर्नुभयो ।
उहाँले आजको प्रतियोगिताले भाषिक एकताको सन्देशसमेत बलियोसँग प्रवाह गरेको बताउनुभयो । ‘आज यहाँ बाहुनले मात्र होइन सबै जातजातिका भाइबहिनीहरुले भानुभक्तको रामायणका श्लोकहरु कति मिठासपूर्ण तरिकाले वाचन गरेर भाषिक एकताको सन्देश दिनुभएको छ । यो वास्तवमै स्तुत्य छ । हामीले त्यो विषयलाई पनि ध्यान दिएर पुरस्कार दिन सकेको भए अझ राम्रो हुन्थ्यो भन्ने मलाई लाग्यो, ’टण्डनले भन्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि भानु प्रतिष्ठानका अध्यक्ष अर्यालले भानुभक्तको व्यक्तित्व, कृतित्व र जीवनका आयामहरुले हरेक व्यक्तिलाई प्रेरणा दिने भन्दै उहाँको योगदानलाई व्यापक बनाउने प्रयासमा प्रतिष्ठान लागिपरेको बताउनुभयो । नेपालसँगै विभिन्न मुलुकका भानु जयन्ती भव्य रुपमा मनाइने गरेको भन्दै उहाँले भन्नुभयो, ‘हाम्रा हरेक घरमा भानुभक्तको रामायण हुनु आवश्यक छ ।’ उहाँले विद्यालयहरुलाई पनि भानुभक्तको व्यक्तित्व र कृतित्वबारे यथेष्ठ जानकारी गराउन आग्रह गर्नुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com