Aug 01 2026 | २०८३, साउन १६ गते

Aug 01 2026 | २०८३, साउन १६ गते

Follow us

'न्यायिक  छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर'

'न्यायिक  छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर'

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका वडा नं ३ कप्तानगन्ज मा  फरक समुदायबीच भएको विवादका सन्दर्भमा सुरक्षाकर्मीले गोली चलाउँदा १ जनाको मृत्यु भएको र झन्डै दुई दर्जन घाइते भएको घटनाले स्तब्ध एवं मर्माहत भएको जनाएको छ । सोही स्थानमा केही साता अघि उत्पन्न विवाद निरूपण हुन नसक्दा २०८३ साउन १० गते राती सो घटना घटेको शान्ति समाजले जनाएको छ । शान्ति समाजले सुनसरी स्थित सदस्यहरूबाट प्राप्त विवरणका आधारमा मध्यरातमा स्थिति नियन्त्रणका लागि विभिन्न उपायहरू अवलम्बन गर्ने विकल्प छँदाछँदै आवेगमा आएर सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको जनाएको छ । 

समाजका तर्फबाट अध्यक्ष रेनुका पौडेलले राज्य, सरकारको प्रमुख दायित्व नागरिकको जीवन रक्षा गर्नु भएको बताउँदै नागरिक कै जीवन हरण हुने गरी भएको यो गोली काण्डको निन्दा गर्दै घटनाको स्वतन्त्र एवं निष्पक्ष  छानबिनका लागि शीघ्र उच्च स्तरीय न्यायिक छानबिन आयोग गठन गर्न पुनः आग्रह गर्नुभएको छ । यसै गरी दोषीलाई कारबाही, पीडितलाई न्याय  र घाइतेहरूको उपचार लगायत राहतको व्यवस्था सुनिश्चित गर्न पनि समाजले आग्रह गरेको छ ।

शान्ति समाजले समुदायबीच सुमधुर सम्बन्ध, सद्भाव प्रवर्द्धनका लागि सदैव व्यापक साझेदारी र सहकार्य मा जोड दिँदै  देशमा कुनै पनि समूह, समुदायले अन्याय, असुरक्षा अनुभूत गर्नु नपरोस्, अहिंसा, शान्ति, सद्‌भाव र सहिष्णुता  सदैव जीवन धारा बनोस् भन्नका  खातिर  सबै क्षेत्रबाट  इमानदार पहल र योगदान अहिलेको आवश्यकता भएको जनाएको छ । तसर्थ बलको अत्यधिक प्रयोग वाट  समस्या समाधान हुन्छ भन्ने आत्मघाती एवं रुखो  व्यवहार त्यागेर संवाद, सह‌मति र सहकार्यको मार्ग अवलम्बन गर्न सरकार लाई  शान्ति समाज आग्रह गर्दछ ।

यसै गरी घरमा आगो लागेको  वेला त्यस्तो आगो निभाउन परिवारका सबै सदस्यको कर्तव्य भएकोले सद्भाव,सहिष्णुता  र भाइचारा प्रवर्द्धनका लागि आआफ्नो क्षेत्रबाट विशेष योगदान गर्न राजनीतिक  समाज ,नागरिक  समाज, सञ्चार जगत् सबै नागरिक लाई  शान्ति समाजले आह्वान गरेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार