काठमाडौं । बरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य (मह जोडी) ले समाजलाई भलो हुने काममा आफूहरुलाई सधैं सक्दो प्रयोग गर्न आग्रह गर्नुभएको छ । रक्तदान, नेत्रदान, छालादान आदि समाज र मानव कल्याणका यावत् अभियान सञ्चालन गरिरहेकाहरुप्रति इंगित गर्दै उहाँहरुले त्यस्ता पवित्र काममा आफूहरु संलग्न हुन सधैं इच्छुक रहेको धारणा राख्नुभयो ।
विगत २५ वर्षदेखि सामाजिक कार्यमा क्रियाशील तेरापन्थ युवक परिषद्, काठमाडौंले बरिष्ठ कलाकार मह जोडीलाई आफ्नो ‘बाँचुन्जेल रक्तदान, मरणोपरान्त नेत्रदान’ अभियानको सद्भावना दूत घोषणा गर्न आज आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँहरुले यस्तो पवित्र कार्यमा संलग्न हुन पाउनु गर्वको विषय भएको बताउनुभयो ।
कार्यक्रममा हरिवंश आचार्यले भन्नुभयो, ‘यस्तो पवित्र काममा हामीलाई सँगसँगै लिएर हिड्नुहोस्, यस्ता कामले हाम्रो जीवननै सार्थक बनेको छ ।’ उहाँले भन्नुभयो, ‘हामीलाई काम अह्राउनुहोस्, हामी हाम्रो आवाजबाट, हाम्रो अनुहारबाट तपाईंहरुले अह्राउनुभएको पवित्र काम गर्न सदा तयार रहन्छौं ।’
यस्तै, मदनकृष्ण श्रेष्ठले भन्नुभयो, ‘यस्तो पवित्र काममा हामीलाई लगाइदिनुभएकोमा कृतज्ञता ज्ञापन गर्दछु । भगवानलाई धन्यवाद दिन चाहन्छु । सामाजिक सेवाका काममा हामीहरु धेरै पहिलेदेखि जोडिदै आएका हौं र अब त झन् यस्ता काममा सधैं जोडिन इच्छुक हुन्छौं ।’ राम्रा राम्रा काममा पाइला टेक्न पाइएको भन्दै श्रेष्ठले खुसी व्यक्त गर्नुभयो ।
‘तेरापन्थ युवा परिषद्ले गर्नुभएको काममा हामीलाई पत्याएर सद्भावना दूत बनाउनुभयो, आचार्यले भन्नुभयो, ‘ यो काममा तपाईंहरुले हामीलाई जोड्नुभयो, विश्वास गर्नुभयो, त्यसका लागि आभार प्रकट गर्दछौं ।’
परिषद्ले रक्तदान तथा मरणोपरान्त नेत्रदानलाई जनआन्दोलनका रुपमा विस्तार गर्ने उद्देश्यका साथ आफ्ना कार्यक्रमहरु अघि बढाउँदै आएको जनाएको छ । परिषद्ले २५ वर्षे अवधिमा २ सय ५० बढी रक्तदान शिविर सञ्चालन गर्नुका साथै १४ जनाको मरणोपरान्त नेत्रदान तथा ३ बालबालिकाको कर्निया प्रत्यारोपण उपचार तथा शल्यक्रियामा आर्थिक सहयोग गरेको जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो ।
पशुपतिनाथ मन्दिर पसिरमा दैनिक रक्तदान शिविर तथा बौद्धनाथ परिसरमा प्रत्येक शनिबार रक्तादन शिविर सञ्चालन गर्दै आएको छ । यसैगरी, अस्पताल, रक्तसञ्चार केन्द्र, व्यावसायिक प्रतिष्ठान, धार्मिक सामाजिक संस्था तथा स्वयंसेवी समूहहरुसँगको सहकार्यमा यस्ता शिविर सञ्चालन गर्दै आएको परिषद्ले जनाएको छ ।
परिषद्ले नेपालमा धर्मसंघको युवाशक्तिलाई संगठित बनाउनुका साथै धार्मिक, सामाजिक, सांस्कृतिक र मानवीय सेवाका क्षेत्रमा निरन्तर योगदान गर्दै आएको पनि जनाएको छ ।
परिषद्ले काठमाडौं जैन समाज र विभिन्न सरकारी, गैरसरकारी, स्वास्थ्य र समाजिक संघ संस्थाहरुसँगको सहकार्यमा सेवाका कार्यक्रमहरुालई समुदायबाहिर पनि बिस्तार गरेको दाबी गरेको छ ।
आगामी राष्ट्रिय अभियान
यसैबीच, परिषद्ले यही अगष्ट २५ देखि सेप्टेम्बर ८ सम्म काठमाडौंसहित देशका विभिन्न स्थानमा नेत्रदान संकल्प,परिवार परामर्श, विद्यालय क्याम्पस तथा समुदायस्तरीय अन्तरक्रिया, डिजिटल जनसचेतना, विशेषज्ञ संवाद र नेत्रदानी परिवार सम्मान लगायतका गतिविधि सञ्चालन गर्ने घोषणा गरेको छ । त्यसैगरी, १७ सेप्टेम्बरदेखि २३ सेप्टेम्बरसम्म मेगा ब्लड डोनेसन अभियान अन्तर्गत सञ्चालन हुने रक्तनाद कर्तव्यम् २०२६ म परिषद्ले व्यापक सहभागिता जनाउने जानकारी आजको पत्रकार सम्मेलनमा गराइएको थियो ।
अभियानले प्रत्येक स्वस्थ्य नागरिकलाई नियमित स्वेच्छिक रक्तदान गर्न, प्रत्येक परिवारलाई मरणोपरान्त नेत्रदान गर्न अभिप्रेरित गर्न रक्तदान शिविर तथा नेत्रदान जनचेतना कार्यक्रममा सहकार्यका लागि समेत अपिल गरेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com