काठमाडौं । श्रीकृष्णाष्टमीको पावन अवसरमा पशुपतिनाथ परिसरस्थित शङ्कराचार्य मठमा आध्यात्मिक काव्यार्चना तथा दार्शनिक प्रवचन कार्यक्रम आयोजना गरिएको छ। महेश छात्र परिषद्को आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा कवितामार्फत भगवत्तत्त्वको आराधना गर्दै साहित्य, दर्शन, अध्यात्म र भक्तिको अन्तर्सम्बन्धमाथि विमर्श गरिएको हो।
सत्सङ्कल्पकर्ता तथा सभाध्यक्षका रूपमा श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजको रहनुभएको कार्यक्रममा साहित्य र दर्शन एकअर्काका विरोधी नभई सहयात्री रहेको चर्चा गर्दै साहित्यबाट प्राप्त हुने आह्लादलाई ‘ब्रह्मानन्द सहोदर’का रूपमा बुझिने धारणा प्रस्तुत गरिएको थियो। ज्ञान केवल ग्रन्थमा सीमित नरही जीवन र अनुभूतिमा खोजिनुपर्ने तथा सत्सङ्ग र विद्वत्सपर्याबाट जीवनलाई सार्थक बनाउन सकिनेमा वक्ताहरूको जोड थियो । साहित्य र अध्यात्म–दर्शनको समन्वयबाट मानवीय चेतना अभिवृद्धि गर्न सकिने धारणा अघि सारिएको थियो ।
कार्यक्रममा प्रस्तुत कविताहरूमा अध्यात्म–दर्शन, भक्ति, प्रेम, अस्तित्व, आत्मा, ईश्वर, साधना, प्राकृतिक प्रकोप, सामाजिक विषय तथा जीवनदर्शनजस्ता विविध विषय समेटिएका थिए। कविहरूले समकालीन जीवनका अनुभूति र सामाजिक सरोकारलाई आध्यात्मिक चिन्तनसँग जोड्दै कविता प्रस्तुत गरेका थिए।
यस्तै, वक्ताहरूले कविता अध्यात्मसँग जोडिँदा शब्द केवल अभिव्यक्तिको माध्यममा सीमित नरही साधना र अनुभूतिका रूपमा विकसित हुने धारणा व्यक्त गरे। उनीहरूले श्रीकृष्णलाई केवल पूजा–पाठको विषयका रूपमा नभई प्रेम, कर्म, ज्ञान, भक्ति र आत्मबोधको जीवन्त दर्शनका रूपमा बुझ्नुपर्नेमा जोड दिए।
कार्यक्रममा कृष्णतत्त्वको खोजी गर्नु आफ्नै स्वरूपको अनुसन्धान गर्नु हो भन्ने भावसमेत प्रस्तुत गरिएको थियो। राधातत्त्वलाई प्रेम, समर्पण र भक्तिको पराकाष्ठाका रूपमा व्याख्या गर्दै मानिसले आफूभित्र विद्यमान आसुरी प्रवृत्तिमाथि विजय प्राप्त गर्नु नै आत्मविजयको पहिलो खुड्किलो भएको बताइएको थियो।
उक्त काव्य सन्ध्या कविता, भक्ति र दर्शनको सुन्दर त्रिवेणी बनेको सहभागीहरूको निष्कर्ष थियो। कार्यक्रमले कृष्णलाई मन्दिरमा मात्र नभई आफ्नै चित्त र हृदयगुफाभित्र अन्वेषण गर्नुपर्ने सन्देश प्रवाह गरेको थियो। शब्दमा कविता, हृदयमा भक्ति, चिन्तनमा दर्शन र जीवनमा कृष्णचेतना विकास गर्नु नै आध्यात्मिक काव्यार्चनाको सार रहेको आयोजकहरूले बताएका छन्।
कार्यक्रममा प्राध्यापक दुर्गाप्रसाद दाहाल, प्रा. कोषराज न्यौपाने, प्रा. डा. देवी नेपाल, प्रह्लाद पोख्रेल, प्रभा भट्टराई, बलराम दाहाल, दुर्गा रिजाल, ज्ञानु विद्रोही, भैरवी भूगोल ढुङ्गानालगायत विशिष्ट कवि तथा साहित्यकारको उपस्थिति थियो। त्यस्तै अञ्जन ढुङ्गेल, अर्जुन खतिवडा, मनीष गौतम, रवि सुवेदी, प्रवीण काफ्ले, श्रीजय शाक्य, टेकराज रिजाल, ब्रह्मचारी सुदर्शन, शिवराम दुवाडी, पुरुषोत्तम पाण्डे, सदाशय गौतम, मधुसूदन पराजुली, पुरुषोत्तम घिमिरे, प्रदीप नेपाललगायत युवा कविहरूले समेत कार्यक्रममा सहभागिता जनाएका थिए।
कार्यक्रममा श्रीकृष्णको दार्शनिक तथा आध्यात्मिक पक्षमाथि केन्द्रित विभिन्न प्रवचन प्रस्तुत गरिएको थियो । प्राध्यापक भवानीप्रसाद खतिवडाले ‘कृष्णतत्त्वको आविर्भावको प्रयोजन तथा रहस्य’ विषयमा प्रवचन दिनुभयो। त्यसैगरी प्राध्यापक दुर्गा दाहालले ‘राधातत्त्वको रहस्य’ विषयमा आफ्ना धारणा प्रस्तुत गर्नुभयो भने स्वामी रमणानन्द गिरिले ‘भगवत्तत्त्वको दार्शनिक अद्वैतपरक प्रवचन’ दिनुभयो।
समारोहको समग्र समीक्षा प्राध्यापक कोषराज न्यौपानेले गर्नुभएको थियो भने प्रा. डा. देवी नेपालले ‘समारोहको कवितात्मक टिप्पणी’ प्रस्तुत गर्नुभएको थियो।कार्यक्रमको सहजीकरण महेश छात्र परिषदका संस्थापक अध्यक्ष समेत रहनुभएका डा.उमेशप्रसाद घिमिरेले गर्नुभएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com