काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले यही असोजको पहिलो साता राजीनामा दिनुभएको हो ।
‘मैले पारिवारिक र स्वास्थ्यको कारणले राजीनामा गरेको हुँ, अधिकारीले धिप्री डटकमसँग भन्नुभयो, ‘पछिल्लो समय लामो बिरामी भएयता सक्रियतापूर्वक काम गर्न पनि सकेको छैन । परिवारले पनि त्यही किसिमको सल्लाह दिएकाले राजीनामा गरेको हुँ ।’
स्वास्थ्य र पारिवारिक कारणले आफूले असारमै राजीनामा गर्न खोजेपनि साथीहरुको आग्रहले बसेको उहाँले बताउनुभयो । ‘अब भने बारम्बार ओहोरदोहार गर्न पनि असहज भएको र परिवारको पनि सुझाव ग्रहण गर्दै पद त्याग गर्ने निर्णयमा पुगेको हुँ, ’ उहाँले भन्नुभयो ।
सञ्चालक समिति र त्यसमा पनि खासगरी पदाधिकारी तहमा केही मनमुटावको विषय त होइन ? भन्ने धिप्रीको प्रश्नमा उहाँले भन्नुभयो, ‘त्यस्तो केही होइन ।’ अन्य कानूनी जटिलताको विषयमा सोध्न खोज्दा पनि उहाँले अरु केही कारण नभई विशुद्ध शारिरिक एवम् पारिवारिक कारण मात्रै बताउनुभयो । यद्यपि, नेफ्स्कून सञ्चालक समितिका अधिकारीहरु भने केही बाध्यात्मक स्थितिका कारण उहाँको राजीनामा आएको जिकिर गर्छन् ।
नेफ्स्कूनकी कार्यवाहक अध्यक्ष शान्ति अधिकारीले बरिष्ठ उपाध्यक्षको राजीनामा आएको बताउनुभयो । यस्तै, नेफ्स्कूनका प्रवक्ता एवम् महासचिव घनश्याम अधिकारीले पनि स्वीकार्दै प्रक्रियामा अघि बढेको बताउनुभयो । प्रवक्ता अधिकारीले यही असोज १६ गते चितवनमा बस्ने सञ्चालक समितिको बैठकमा त्यस सम्बन्धमा थप छलफल हुने बताउनुभयो । यसैगरी, अर्का एक सञ्चालकले पनि बरिष्ठ उपाध्यक्षले राजीनामा गरेको आफूले अलिक पछि मात्रै जानकारी पाएको बताउनुभयो ।
अधिकारीको राजीनामासँगै नेफ्स्कून सञ्चालक समितिमा अब ५ पद रिक्त भएका छन् । बरिष्ठ उपाध्यक्ष र ४ सञ्चालक । यसैगरी, लेखा सुपरिवेक्षण समिति संयोजकको पद पनि विगत लामो समयदेखि नै रिक्त छ ।
नेफ्स्कूनबाट बरिष्ठ उपाध्यक्ष अधिकारीसँगै सञ्चालक समितिमा रहेका ज्ञानु पौड्याल, कमलादेवि गिरि, देव कुमार श्रेष्ठ र लक्ष्मी सापकोटा बाहिरिनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि पौड्यालले राजीनामा गर्नुभएको थियो भने राष्ट्रिय सहकारी बैंकको सञ्चालक निर्वाचित भएपछि गिरिको राजीनामा आएको थियो । सापकोटाले भने बोर्डसँगको असहमतिको लामो फेहरिस्तसहित काम गर्न नसक्ने परिस्थितिका कारण राजीनामा गर्नुभएको थियो । उहाँले सामाजिक सञ्जालमार्फत पनि आफ्ना असहमतिहरु व्यक्त गर्दै आउनुभएको छ । यस्तै, देवकुमार श्रेष्ठले व्यक्तिगत कारण देखाई दिनुभएको राजीनामा स्वीकृत गरिएको छ । लेसूस संयोजक इन्द्रराज ज्योति पौडेलले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिनुभएको थियो । सञ्चालक समितिमा मनमुटाव हुने र काम गर्न सक्ने परिस्थिति प्रतिकूल बनेपछि राजीनामाको सहज एक्स्क्यूज ‘स्वास्थ्य’ बन्ने गरेको पाइएको छ ।
बरिष्ठ उपाध्यक्ष अधिकारीको राजीनामा भर्खरै आएकाले नेफ्स्कूनले वेबसाइटमा अपडेट गरेको छैन । बाँकी ४ सञ्चालक र लेसुस संयोजक हटेको विवरण अपडेटेड छ ।
सञ्चालक समिति रित्तिदै गएपछि, नेफ्स्कून अब आगामी पुसमा हुने वार्षिक साधारणसभामा पछिल्लो नियामकीय प्रबन्धअनुसार संशोधित विनियमको अधिनस्थ रही निर्वाचन गर्ने तयारीमा रहेको छ । भलै यस विषयमा बोर्डमा मतैक्यता छैन । केही सञ्चालकहरु पूरै कार्यकाल काम गर्न पाउनुपर्ने अडानमा छन् भने अध्यक्ष चन्द्र प्रसाद ढकाल लगायत केही फ्रेस म्यान्डेटको पक्षमा छन् ।
४ वर्ष पूरै काम गर्न पाउनुपर्ने अडानमा रहेका एक सञ्चालकले भने, ‘हिजोसम्म हामी अवधि पूरा गर्नुपर्छ भन्नेमै थियौं । हामीले केही विराएका छैनौं, गलत निर्णय गरेका छैनौं, हिजोकाले गरेको गल्तीको दोष हामीले किन भोग्ने, साधारणसभाले ४ वर्ष काम गर भनेर म्यान्डेट दिएकाले पूरै अवधि काम गर्न पाएपछि मात्र सदस्यहरुको पनि मतको न्याय हुन्छ र हामी पनि मूल्याङ्कनको कसीमा तौलिन पाउँछौं भन्ने थियो । तर, पछिल्लो समय सबै साथीहरु छोड्दै जान थालेपछि र धेरैको धारणा अब बदलिएको कानूनी प्रबन्ध अनुरुप निर्वाचनमै जानुपर्छ भन्नेतर्फ मोडिएकाले सल्लाह गरेर जान तयार छौं । यस विषयमा पनि असोज १६ को चितवन बोर्ड बैठकमा महत्वपूर्ण निर्णय आउने अपेक्षा गरेका छौं ।’
२०८० पुसमा सम्पन्न नेफ्स्कूनको ३२औं वार्षिक साधारणसभाबाट चन्द्रप्रसाद ढकालको अध्यक्षतामा १९ सदस्यीय सञ्चालक समिति तथा इन्द्रराज ज्योति पौडेलको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित भएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com