काठमाडौं । फिलिपिन्सले अक्टोबर महिनालाई 'राष्ट्रिय सहकारी महिना' का रुपमा एक महिनाभर विविध कार्यक्रमका साथ मनाउँदै आएको छ । फिलिपिनी रिपब्लिक एक्टको दफा ११५०२ को व्यवस्था अनुसार सन् २००३ देखि हरेक वर्षको अक्टोबर महिनालाई सहकारी महिना (Buwan ng Kooperatiba) को रूपमा मनाइन थालिएको हो । यो वर्ष पनि अक्टोबर १ मा शुरु भएको अभियान अक्टोबर ३१ सम्म चल्ने छ । फिलिपिन्सको सहकारी अभियान, सरकार र सरोकारवालाहरुले संयुक्त रुपमा यो अक्टोबर महिना सहकारीप्रति सकारात्मक धारणा, जनचेतना, सहकारीको योगदान, सफलताका कथाहरु सुन्ने सुनाउने, सहकरीका सम्भावना र चुनौतीहरु केलाएर भावी रणनीति तय गर्ने, सरोकारवालाहरुसँग सहकार्य अभिवृद्धि गर्ने आदि दिशामा विभिन्न कार्यक्रमहरु गरी सहकारी सिद्धान्त, बहस र विचारलाई बलियो बनाउन खर्चने छन् । फिलिपिन्सको सहकारी अभियान र प्रदेश सरकार र सरोकारवालाहरुको सहभागितामा एक महिना लामो कार्यक्रम तय गरिन्छ ।
सहकारिताको माध्यमबाट राष्ट्र निर्माणमा समाजका हरेक क्षेत्रको सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सन् २००३ मा घोषणापत्र नम्बर ४९३ Proclamation No. 493 अन्तर्गत यो वार्षिक उत्सवको सुरुवात गरिएको थियो। सहकारी महिनाको राष्ट्रव्यापी कार्यक्रमले स्थानीय समुदायहरूमा सहकारीप्रति सकारात्मक धारणा विकासमा ठूलो भूमिका खेल्दै आएको छ ।
यो वर्ष अर्थात् सन् २०२६ का लागि राष्ट्रिय सहकारी महिनाको नारा 'सुदृढ सहकारी: शान्ति र विकासका लागि एकताबद्ध समुदाय' तय गरिएको छ। यस नाराले शान्ति र दिगो विकास प्राप्तिका लागि सहकारीहरूबीचको आपसी सद्भाव र सहकार्यको महत्त्वलाई थप बलियो बनाउने विश्वास त्यहाँको सहकारी विकास प्राधिकरणले जनाएको छ । सहकारी विकास प्राधिकरण फिलिपिन्सको सबैभन्दा उपल्लो सहकारीसम्बन्धी सरकारी निकाय हो ।
यसैबीच, फिलिपिन्सको ला युनियन प्रान्तले आफ्नो महिनाव्यापी 'सहकारी महिना' (Buwan ng Kooperatiba) उत्सवको औपचारिक सुरुवात गरेको छ। प्रान्तभरका विभिन्न सहकारीका प्रतिनिधि तथा सदस्यहरूको उत्साहजनक उपस्थितिमा अरिङ्गेको बराङ्गे समारामा आयोजित विशेष कार्यक्रमहरूका साथ यस उत्सवको शुभारम्भ गरिएको थियो । कार्यक्रमले सहकारी आन्दोलनको मूल मर्म-सहकार्य, एकता, सामुदायिक सेवा र सामाजिक उत्तरदायित्वलाई उजागर गर्दै समावेशी वृद्धि र दिगो विकासमा सहकारीको महत्त्वपूर्ण भूमिकालाई जोड दिएको छ।
उद्घाटन समारोहमा सहकारी समितिका अध्यक्ष तथा साङ्गुनियाङ पन्लालाविगनका सदस्य माननीय जेफर्सन फर्नान्डो, माननीय गभर्नर मारियो ओर्टेगाका प्रतिनिधि डेन्भर बाडुआ, अरिङ्गे नगरपालिकाका मेयर माननीय बेन्जामिन सी. सिबुमा र उपमेयर माननीय चारितो एस. यु लगायत सहकारीका नेता, पदाधिकारी, सदस्य र साझेदार निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यस वर्षको उत्सवको एक मुख्य आकर्षणका रूपमा नरिवलको बिरुवा रोप्ने कार्यक्रम आयोजना गरिएको थियो । फिलिपिन्सको नरिवल प्राधिकरणसँगको साझेदारीमा सञ्चालित उक्त अभियानले वातावरण संरक्षण, कृषि विकास र दिगोपनको महत्त्वलाई जोड दिएको थियो भने उक्त पहलले हरियाली र लचिलो समुदाय निर्माणका लागि सहकारी र सम्बद्ध संस्थाहरूको प्रतिबद्धतालाई स्पष्ट पारेको जनाइएको छ ।
यसैगरी, सदस्यहरूबीच भाइचारा र स्वास्थ्य चेतना जगाउन कार्यक्रममा उत्साहजनक जुम्बा नृत्य पनि आयोजना गरिएको थियो । यसका साथै प्रान्तीय स्वास्थ्य कार्यालयको अगुवाइमा एक वृहत् चिकित्सा तथा दन्त शिविर सञ्चालन गरिएको थियो जसमार्फत स्थानीय समुदायलाई निःशुल्क भिटामिन, औषधि, रक्तसञ्चार परीक्षण (ब्लड सुगर टेस्ट) लगायतका आधारभूत स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो । यस्तै, समारा प्राथमिक विद्यालयका विद्यार्थीहरूका लागि एक विशेष राहत तथा प्रोत्साहन कार्यक्रम आयोजना गरिएको थियो । ला युनियन प्रान्तीय सरकारी कर्मचारी बहुउद्देश्यीय सहकारीको प्रायोजनमा विद्यार्थीहरूलाई खाजा, खाना र शैक्षिक सामग्रीहरू वितरण गरिएको थियो ।
फिलिपिन्सले अघिल्लो वर्ष (सन् २०२५) को राष्ट्रिय सहकारी महिनाको नारा 'सहकारीहरू: उद्देश्य र कार्यमा एकताबद्ध, समृद्धिको बाँडफाँडमार्फत राम्रो संसारको निर्माण' तय गरेको थियो ।यसबाहेक अमेरिकाले पनि अक्टोबरलाई नै नेशनल कोअपरेटिभ मन्थ भनेर मनाउँदै आएको छ भने छिमेकी भारतले जुन अन्त्य अथवा नोभेम्बरमा कोअपरेटिभ विक भनेर सप्ताहव्यापी कार्यक्रम गर्दै आएको छ । यस्तै, केही अफ्रिकी मुलुकहरुको सहकारी अभियानले पनि सहकारी फेस्टिबल भनेर शिक्षा र जनचेतनासँगै मनोरञ्जनात्मक कार्यक्रमहरु गरेर पर्वका रुपमा मनाउँदै आएका छन् ।
एशियाली, अमेरिकी र अफ्रिकी मुलुकमा यसरी सहकारी महिना भनेर राष्ट्रव्यापी कार्यक्रमहरु गरिरहँदा नेपालमा भने कहिले यस्तो होला भन्ने प्रश्न पनि स्वाभाविक रुपमा जन्मिन्छ । नेपालमा भने चैत २० लाई राष्ट्रिय सहकारी दिवसका रुपमा एक दिनको कार्यक्रम गरि मनाइन्छ । केही सहकारीहरुले व्यक्तिगत तवरमा साताव्यापी कार्यक्रमसम्म आयोजना गर्ने गरेका छन् भने त्यो भन्दा पर सरकारी र सरोकारवाला निकायहरुले सहकारी दिवसलाई विशेष महत्व दिने र तयो भन्दा पर यस अभियानलाई लाने हिसाबले रणनीतिक योजना तर्जुमा गरेको पाइदैन ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com