Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
जेठ २ देखि ४ गतेसम्म

सगरमाथा संवादको तयारी पूरा

सगरमाथा संवादको तयारी पूरा

काठमाडौं । नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणको तयारी पूरा भएको छ । अन्तर्राष्ट्रिय मञ्चका रूपमा स्थापित गर्ने उद्देश्यसहित जेठ २ देखि ४ गतेसम्म राजधानीको सोल्टी होटेलमा कार्यक्रम आयोजनाको तयारी भएको हो । पहिलो संस्करणको कार्यक्रममा जलवायु परिवर्तन, हिमाल र मानवीय भविष्यका विषयवस्तु तय गरिएको छ । स्वदेशी र विदेशी विशिष्ट पाहुनासहित ३५० जनाको प्रत्यक्ष सहभागिता रहने कार्यक्रमको पहिलो दिन उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी भारत र चीनबाट उच्च नेतृत्व, कोप–२९ का अध्यक्ष, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको भिडियो सन्देशसहितका सम्बोधन हुनेछ । 

चीनको १४ औँ राष्ट्रिय कंग्रेसको कमिटीका उपाध्यक्ष सियाओ ची, भारतका वातावरण, वन तथा जलवायुमन्त्री भूपेन्दर यादव, कोप–२९ का अध्यक्ष तथा अजरबैजानका पारिस्थितिक तथा प्राकृतिक स्रोतमन्त्री बाबायभ, बङ्गलादेशका महिला तथा बालबालिकामन्त्री सरमिन सोनिया मुरसिद, भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङ, माल्दिभ्सका पर्यटन तथा वातावरणमन्त्री थोरिक इब्राहिम, जापानका उपविदेशमन्त्री इकुइना अकिको नेपाल आउनुहुने भएको छ । त्यस्तै संयुक्त अरब इमिरेट्सका सहायक विदेशमन्त्री अब्दुल्लाह बलाला, कतारका उपविदेशमन्त्री बदर ओमार अल दफा, कीर्गिस्तान राष्ट्रपतिका विशेष प्रतिनिधि दिनारा केमलोभा, बिम्स्टेकका महासचिव इन्द्रमणि पाण्डे, सार्कका महासचिव गोलाम सरवरसहित विभिन्न देशका राजदूत, संयुक्त राष्ट्रसङ्घका उच्च प्रतिनिधि, विकास साझेदार संस्थाका प्रतिनिधिको सहभागिता रहने जनाइएको छ । 

सगरमाथा संवाद व्यवस्थापन समितिले हिजो पत्रकार सम्मेलन आयोजना गरेर तयारी पूरा भएको जानकारी दिएको हो । समितिका संयोजक परराष्ट्रमन्त्री डा. आरजु राणाले संवादमार्फत नेपाललाई तटस्थ, संवादप्रेमी कूटनीतिको नेतृत्वदायी भूमिकामा स्थापित गर्न सकिने प्रस्ट पार्नुभयो । विश्वव्यापी मुद्दामा नेपालको प्रतिबद्धतालाई उजागर गर्दै सहयोग र साझेदारी विकास गरी राष्ट्रिय आत्मविश्वास बढाएर नेपालको विश्वव्यापी छविलाई उचित रूपमा स्थापित गर्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो संवाद नेपालको विश्वव्यापी मञ्च हो, नेपालका लागि मात्र नभई सबैका लागि सामूहिक मञ्च एवं एक महत्वपूर्ण अवसर पनि हो ।”  संवादमा विभिन्न १२ मुलुकका विदेशी उच्च प्रतिनिधिको सहभागिता सुनिश्चित गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार