पत्रकारितामा ‘प्रिन्सिपल अफ प्रोक्जिमीटी’ भन्ने एउटा सिद्धान्त छ । यसले पत्रकारिताका पाठक अनि अचेल न्यू मिडियाका श्रोता दर्शकलाई आफ्नो भूगोल नजिकका घटनाहरुमा बढी चासो हुन्छ र त्यस्ता निकटताका न्यूज र स्टोरीहरु उनीहरु बढी अभिरुचिका साथ खोजीखोजी पढ्छन् वा सुन्छन् (हेर्छन्) भन्ने मान्यता बोक्दछ ।
हामी सञ्चारमाध्यमको हकमा पनि ठीक त्यही हो । हाम्रो भौगोलिक अवस्थितिका दृष्टिकोणले निकटताका समाचारजन्य गतिविधिहरुको ‘वर्दिनेश’ र ‘रेलिभेन्स’ हाम्रा लागि बढी नै हुन्छ । त्यही भएर सञ्चालनमा आएको डेढ महिनाबढी समयपछि आज पहिलो पटक धिप्री डटकम स्थानीय सिंहदरबार अर्थात् कागेश्वरी मनोहरा नगरपालिका प्रवेश गर्यो ।
धिप्री डटकमको व्यवसाय दर्ता भएको स्थानीय तह हो– काठमाडौंको उत्तरपूर्वी भेगमा अवस्थित कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ थली । स्थानीय तहसँगको सम्बन्ध स्थापित गर्ने र आफ्नो सञ्चारमाध्यमसँग सेतु स्थापित गर्ने उद्देश्यका साथ आज पहिलो पटक नगरपालिका पुग्ने मौका जुर्यो ।
नगरप्रमुख उपेन्द्र कार्की बाहिर रहनुभएका कारण त्यसपछिको मेरो पहिलो रोजाइ सहकारी शाखा पर्यो । सहकारीका समाचारलाई प्राथमिकता पस्कने भएकाले धिप्री डटकमको सम्पादकको नाताले सहकारी शाखाको गतिविधिबारे जानकारी लिन बिहानी ११ बजेतिर पुगेँ ।
एकै छिनको पर्खाइपछि शाखा प्रमुख विश्वास ज्ञवालीजी आइपुग्नुभयो । त्यसअघि उहाँलाई नै पर्खेर बस्नुभएका राष्ट्रिय सहकारी बैंक जोरपाटी शाखा प्रमुख आर्दश धमलाजीसँग पनि सुखद संयोगसहितको भेट भयो । शाखाका अन्य दुई मित्रहरुसँग पनि औपचारिकता साटियो । त्यतिन्जेल शाखा प्रमुख ज्ञवालीजी आउनुभयो । आर्दशजी र म उहाँसँग गफिन लाग्यौं ।
ज्ञवालीले जानकारी गराउनुभयो नगरपालिकाले उहाँ प्रमुख रहेको शाखालाई नाम दिएको रहेछ ‘सहकारी तथा उद्यम विकास शाखा’ । ३ जनाको जनशक्ति । ज्ञवालीजी कागेश्वरी नगरपालिका आउनुभएको करिब डेढ वर्ष भएछ । आफू आउँदा सहकारी हेर्न शाखा छुटटै भएपनि त्यसलाई व्यवस्थित गर्ने काममा सक्रियतापूर्वक लागेको दाबी उहाँले गर्नुभयो ।
प्रदेश तथा संघ अन्तर्गत दर्ता भएर नगरपालिकामा सेवा प्रदान गर्दै आएकाहरुको अभिलेखीकरणको काम भैरहेको ज्ञवालीले जानकारी गराउनुभयो । प्रदेश अन्तर्गत दर्ता भएका २२ वटाले कागेश्वरी मनोहरा नगरपालिकाभित्र शाखा खोली कारोबार गर्दै आएका छन् उहाँले भन्नुभयो, ‘अन्यका हकमा पनि अभिलेखीकरणको काम गर्दैछौं । उहाँहरुले १० हजार रुपैयाँ तिरेर हामीकहाँ आउनुपर्यो ।’
नगरपालिका अन्तर्गत हाल करिब ७० वटा सहकारीहरु दर्ता भएको प्रमाण छ । यद्यपि, केही सहकारीहरु निस्क्रिय छन् । गत वर्षको माघ २ गते सहकारी शाखाले वार्षिक लेखा परिक्षण तथा साधारण सभा नगरेका १६ वटा सहकारीलाई स्पष्टीकरण नै सोधेको थियो । त्यसबाहेक केही समयअघि सहकारीका सदस्य बचतकर्ताहरुले आफूले बचत गरेको रकम फिर्ता नपाएको गुनासो गरेपछि क्वीन बचत तथा ऋण सहकारी संस्थामा तालाबन्दी नै गरेको थियो ।
अन्यका हकमा भने राम्रैसँग चलिरहेको उहाँले बताउनुभयो । समयसमयमा अनुगमनमा जाँदा पनि राम्रैसँग हेर्ने र सुझावहरु उपलब्ध गराउने गरेको ज्ञवालीले बताउनुभयो । ‘करिब ५४ वटा जति सक्रिय रुपमा सञ्चालनमा छन्, ’उहाँले भन्नुभयो, ‘सिक्न चाहनेहरुलाई हामीले राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहजीकरणमा तालिमहरु पनि सञ्चालन गरेका छौं ।’
धमलाजी भन्दै हुनुहुन्थ्यो, ‘हामीले कागेश्वरी मनोहरा नगरपालिकासँग स्थानीय सहकारीहरुको प्रोफाइल तयार गर्न सम्झौता गरी काम गर्यौ । पहिलो चरणमा ३० वटाको प्रोफाइल तयार गरी हस्तान्तरण गर्यौं । बाँकीको अर्को चरणमा आगामी वर्ष प्रोफाइल तयार गर्ने योजना छ । राष्ट्रिय सहकारी बैंकको उद्देश्य स्थानीय तहका सहकारीहरुको सबलीकरण हो त्यो कार्यमा हामी स्थानी तहहरुसँग साझेदारी र समन्वयमा काम गर्छौं ।’ नगरपालिकाले २०७५ मा सहकारी ऐन बनाएपनि नियमावली भने अझै निर्माण नगरेको ज्ञवालीले जानकारी गराउनुभयो ।
ज्ञवालीले गर्वानुभूतिका साथ एउटा सफलताको स्टोरी सुनाउनुभयो, ‘२०७७ सालमा दर्ता भएको गहना भन्ने सहकारीका अध्यक्ष सदस्हरुको करिब १ करोड रुपैयाँ अपचलन गरेर २०७९ सालमा दुबही पुग्नुभयो । सदस्यहरुको गुनासो र उजुरीपछि २०८१ सालमा इन्टरपोलको सहयोगमा हामीले उहाँलाई नेपाल झिकाउन सफल भयौं र ४८ लाख फिर्ता गरायौं । ३ दिन जेलमा राखेपछि शाखाकै रोहवरमा समन्वय गरी रकम फिर्ता गराएको र अब साउन सम्ममा बाँकी रकम पनि फिर्ता गराउने कागज गरायौं । हामीले गर्ने यही हो । सहकारी सिकाउने, राम्रोसँग चलाउन सहजीकरण गर्ने र सदस्यहरुको बचत सुरक्षण सुनिश्चित गर्ने ।’
सोही सिलसिलामा ऋण नउठेर समस्यामा परेका सहकारीहरुलाई पनि पालिकाले सहयोग र सहजीकरण गर्दै आएको ज्ञवालीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ऋणी सदस्यहरु र सञ्चालक तथा व्यवस्थापनका व्यक्तिहरुलाई पालिकामा बोलाउने र सहमति गराउने, इस्यूहरु रिजल्भ गराउन सहयोग गर्ने प्रशस्त काम हामीले गरेका छौं ।’
ठीकै त्यसै बेला दुई वटा सहकारीका केही सदस्यहरु बचत फिर्ता नपाएको गुनासो लिएर आइपुग्नुभयो । उहाँहरुको गुनासो सुन्ने, सञ्चालकहरुलाई बोलाउने, सकेसम्म मिलापत्र गराउने र नभए कानुनी उपचारमा जाने काममा नगरपालिका लागिपरेको देखिन्थ्यो । यसमा स्थानीय प्रहरीको सहयोग र सक्रियता पनि राम्रै रहेको ज्ञवालीले बताउनुभयो ।
सहकारी शिक्षा र साक्षरता अभावका कारण यस्तो समस्या आइपरेको पालिकको ठम्याइ छ । त्यही भएर सहकारीहरुलाई सहजीकरण गरी सक्षमता अभिवृद्धिका कामहरुलाई बैंकसँग मिलेर आगामी वर्ष पनि निरन्रतता दिने योजना ज्ञवाली र धमलाले सुनाउनुभयो ।
त्यसपछि, सँगै रहनुभएका धमलाजीसँग पनि मैले बुझ्ने कोशिस गरेँ । बैंकको जोरपाटी शाखा अन्तर्गत पर्ने ४ वटा नगरपालिकासँग सहकार्यका आधारमा स्थानीय सहकारीहरुको सक्षमता अभिवृद्धिमा जोडिने योजना उहाँले सुनाउनुभयो । जसमध्ये कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकासँग विभिन्न कार्यक्रमहरु भैसकेको र निकट भविष्यमै बाँकी २ सँग पनि सहकार्य गर्ने योजना युवावयी धमलाले स्फूर्तिका साथ सुनाउनुभयो ।
‘शंखरापुर नगरपालिकासँग यो आर्थिक वर्षमा हालसम्म ६ वटा कार्यक्रम गरिसक्यौं, ’धमलाजीले भन्नुभयो, ‘कागेश्वरी मनोहरासँग मिलेर अघिल्लो वर्ष हामीले यहाँका सहकारीहरुको प्रोफाइल निर्माणसँगै यो वर्ष ४ वटा तालिम सञ्चालन गर्यौं । अब चाँडै मेलम्ची नगरपालिकासँग पनि सम्झौता गरेर काम गर्ने तयारी भएको छ । त्यसैगरी गोकर्णेश्वरमा पनि बिस्तारै काम गर्ने तयारीमा छौं ।’
स्थानीय तहका सहकारी शाखाहरुसँग समन्वय गरेर सहकारी साक्षरता, वित्तीय साक्षरता, बचत तथा ऋण लगानी, सञ्चालक तथा व्यवस्थापनको क्षमता अभिवृद्धि लगायत आवश्यक तालिमहरु सञ्चालनका लागि साझेदारी सम्झौता तथा प्राविधिक सहायता उपलब्ध गराउने बैंकको रणनीति अन्तर्गत यी कामहरु भएको धमलाले बतउनुभयो ।
राष्ट्रिय सहकारी बैंकसँगको सम्झौताअनुरुप नगरपालिकाभित्रका ३० वटा सहकारीको प्रोफाइल तयार भएको र त्यसको निचोडका रुपमा प्राप्त विषयहरु समेटी तत्तत् सहकारीहरुलाई सुधारका लागि ९ बुँदे सामूहिक प्रतिबद्धता गराइएको जानकारी शाखा प्रमुख ज्ञवालीले गराउनुभयो । त्यसकै आधारमा स्थानीय तहले समय समयमा अनुगमन गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।
प्रोफाइल निर्माणका क्रममा बैंकले सहजीकरणका लागि उपलब्ध सबै कानूनहरु (संघीय, प्रादेशिक र स्थानीय सहकारी ऐन, नियमावलीहरु) अधिनस्थ वित्तीय तथा गैरवित्तीय समेत गरेर ५४ वटा सूचकहरुको आधारमा सहकारीहरुको अवस्था विश्लेषण गरि निष्कर्षहरु पालिकालाई हस्तान्तरण गरेको धमलाजीले बताउनुभयो । त्यसैका आधारमा सबल पक्ष र सुधार गर्नुपर्ने पक्षहरुको साङ्गोपाङ्ग अध्ययन निचोडसहित तिनै संस्थाहरुलाई राखेर प्रतिबद्धता गराइएको उहाँले उल्लेख गर्नुभयो ।
सहकारी बैंकसँगको नगरपालिकाको सहकार्यबाट दुबै निकाय उत्साहित देखिन्थे । दुबै जनाले भन्नभुयो, ‘राष्ट्रिय सहकारी बैंकसँगको सहकार्यले दुबै निकायलाई फाइदा पुगेको साझा बुझाइ हो । यो एक खालको विन–विन को अवस्था हो । यसले सहकारीहरुको सबलीकरणमा उल्लेख्य योगदान पुग्ने विश्वास हामीले लिएका छौं ।’
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com