काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ किसिगालचोक स्थित चिनारी बचत तथा ऋण सहकारी संस्था लि.लाई बजारमा चल्ने सहकारीप्रतिको नकारात्मक हल्लाले कुनै प्रभाव पारेको छैन । पारोस् पनि कसरी, सदस्यहरुसँग विश्वासको साइनो बलियोसँग जो जोडिएको छ । ‘कम्युनिटी बेस्ड भएकाले हामीलाई सहकारीप्रतिका बजार हल्लाले खासै छुदैन । सदस्य मैत्री बचत ऋण सहकारीको पहिचान बनाएकाले हामी ढुक्क छौं, ’असार अन्त्यको व्यस्तताकाबीच धिप्री डटकमसँग कुरा गर्दै प्रमुख कार्यकारी अधिकृत रवि प्रसाद सिग्देलले भन्नुभयो, ‘अनि भाखा नाघेको ऋण पनि उठाउन समस्या हुँदैन । असारमा हाम्रो भाखा नाघेको ऋण ५ प्रतिशत भन्दा कम नै हुन्छ ।’ कार्यालयमा उहाँ फोनमा अनि 'फिजिकल' दुबै रुपमा सदस्यहरुसँग धमाधम समन्वय गर्दै हुनुहुन्थ्यो ।
लामो समयदेखि नेफ्स्कूनले सञ्चालन गर्दै आएको जोखिममा आधारित साकोस सुपरिवेक्षण (कर्ब्स) कार्यक्रममा आवद्ध साकोस यसै वर्षदेखि पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोवेशन) मा ‘इनरोल’ भई स्तरीकृत साकोस बनाउने अभियानमा जुटेको छ । सोही कारण पनि कर्ब्ससँगै प्रोवेशनक सूचकहरुमा विशेष ख्याल राख्दै आएको छ । ‘हामी यसै वर्षदेखि प्रोवेशनमा पनि आबद्ध भएका छौं, सिईओ सिग्देलले भन्नुभयो, ‘लामो समय कर्ब्समा बस्यौं अब भने ब्राण्ड नलिई भएन भनेर गत भदौंमा सञ्चालक समितिले निर्णय गरेपछि प्रोवेशनमा आवद्ध भएका हौं ।’
स्तरीकरण कार्यक्रमले साकोसको छवि विस्तामा उल्लेख्य भूमिका निर्वाह गर्छ भन्ने कुरा नेफ्स्कूनको सञ्चालक भैसक्नुभएका चिनारी साकोसका अध्यक्ष न्हुछे नारायण श्रेष्ठलाई ज्ञात नहुने कुरै भएन । सोही कारण पनि सञ्चालक समितिलाई प्रोवेशनमा जाने विषयमा कन्भिन्स गर्न त्यति कठिनाई भएन भनेर सहजै विश्वास गर्न सकिन्छ ।
सदस्यहरु सबै गाउँठाउँकै, लामोसमयदेखि चिनेका दौतरीसम्बन्धहरु भएका कारण पारिवारिक वातावरणको आभाष चिनारी साकोसमा रहेको भान गर्न सकिन्थ्यो । साकोसमा भेट हुनुभएका कोषाध्यक्ष, सचिव शिवहरी श्रेष्ठ, अन्य सदस्य र कर्मचारीबीचको सम्बन्धले यसको स्पष्ट झल्को दिन्थ्यो पनि । सदस्यले विश्वास गरेपछि बाहिरी कुराहरुले सहकारीलाई खासै असर गर्दैन भन्ने प्रमाणको रुपमा अघि बढिरहेको संस्था सहकारीहरुमाझ बेग्लै 'चिनारी' स्थापित गर्ने दिशामा बिस्तारै तर लामो यात्रामा रहेको आभाष मिल्छ ।
त्यसको एउटा प्रमुख कारणमध्ये हो– साकोसको नेतृत्वमा रहनुभएका कानुन र सहकारी क्षेत्रका वेत्ता-न्हुछे नारायण श्रेष्ठ । सहकारीलाई आक्रामक रुपले कारोबार, सदस्य र कार्यक्षेत्र बढाएर लानुभन्दा पनि संयमताका साथ नीति, विधि र प्रविधिका आधारमा सुशासित ढंगले अघि बढाउनुपर्ने सोच उहाँको पाइन्छ । त्यही सोचलाई चिनारी साकोसले 'इन्भिजन' पनि गरेको देखिन्छ । स्थापनाकालदेखि नै साकोसमा आवद्ध श्रेष्ठ साकोसको लगातार दोस्रो कार्यकाल अध्यक्ष हुनुहुन्छ ।
अनि, साकोसका प्रमुख कार्यकारी अधिकृत सिग्देल पनि संस्थापक सदस्य हुनुुहून्छ र विगतमै ४ वर्ष व्यवस्थापकीय नेतृत्व समेत गरिसकेको अनुभव समेट्नुभएको छ । सिग्देल गत मंसिरमा पुनः सिईओ नियुक्त हुनुभएको हो । यस्तै, अन्य कर्मचारीहरु 'टर्न ओभर' पनि कम रहेको छ । चिनारी साकोसको पहिलो व्यवस्थापक भने महिला हुनुहुन्थ्यो–कृष्णदेवी श्रेष्ठ जो पुरानो सदस्यमध्येमै पर्नुहुन्छ । यसले गर्दा पनि चिनारी साकोस भित्रका सम्बन्धहरु प्रगाढतामा परिणत भैरहकेको अनुभूति हुन्छ । सम्बन्धको यही ‘स्पिरिट’ का कारण चिनारी साकोसको यात्रा अविच्छिन्न रहनेमा कुनै आशंका देखिदैन ।
असार २७ गते शुक्रबार धिप्री डटकम ‘अर्ली अफिस आवर’ मा पुग्दा अध्यक्ष श्रेष्ठ बिहानीको आफ्नो नित्यजसो साकोसको स्वयंसेवी सेवा सकेर चाबहिलस्थित लफर्म पुगिसक्नुभएको रहेछ । सिईओ सिग्देलले जानकारी गराउनुभयो, ‘अध्यक्षज्यू बिहान दुई घन्टा बढी बसेर अहिले त कार्यालय पुगिसक्नुभयो होला । उहाँ प्रायः बिहान आउनुहुन्छ सबै विषय जानकारी लिएर आफूले गर्नुपर्ने काम गरेर अनि कार्यालय जानुहुन्छ ।’ मृदुभाषी स्वभावका अध्यक्ष श्रेष्ठले फोनमै भएपनि धिप्री डटकमलाई आतिथ्यता प्रदान गर्नुभयो भने भौतिक रुपमा चिनारी साकोसका कोषाध्यक्ष, सचिव, सिईओ लगायत सबै कर्मचारीहरुले ।
२०६६ सालमा स्थापना भएको साकोसले समुदायमा आधारित सदस्यमैत्री सेवासँगै सहकारी मूल्य, मान्यता र सिद्धान्तमा आधारित रही संख्यात्मक वृद्धि भन्दा गुणात्मक सेवामा जोड दिदैं आएको छ । साकोसले सदस्य सेवाका इन्द्रेणी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । कुल बचतमा नियमित बचतको हिस्सा करिब ४० प्रतिशत रहको छ भने विगतमा बुझाईमा स्पष्टता नभएका विषयहरुपनि हाल कार्यान्वयनमा लगेर विधिसम्मत् बनाइएको व्यवस्थापनले जनाएको छ । सामूहिक जमानीमा २ लाख सम्म ऋण सुविधा उपलब्ध गराउँदै आएको साकोसले परियोजनाका सबै पक्षको मिहिन विश्लेषण पश्चात धितोमा ५० लाख सम्म उपलब्ध गराएको छ ।
७ सदस्यीय सञ्चालक समिति (९ बनाउने तयारी) र ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिसँगै विभिन्न उपसमितिहरु क्रियाशील छन् । गोकर्णेश्वर नगरपालिकासँगै बुढानिलकण्ठ नगरपालिकाको वडा नं ११ र १२ कार्यक्षेत्र रहेको साकोसमा हाल २७०४ (१३७२ महिलासहित) सदस्य रहनुभएको छ भने ५ सय बाल बचकर्ता छन् । १० जना कर्मचारी (३ महिला) कार्यरत छन् । ४ वटा लघुवित्त समूह समेत सञ्चालनमा छ । करिब ४० करोड कुल सम्पत्ति रहेको साकोसमा ३ करोड २ लाख शेयर पुँजी छ भने २७ करोड बढी लगानीमा रहेको ऋण छ । कुल बचत २९ करोड रुपैयाँ रहेको छ भने तरलता करिब २१ प्रतिशत छ ।
चिनारी साकोसले कृषि, व्यवसाय र उद्यममा संलग्न सदस्यहरुको उत्पादनको बजारीकरणका लागि सहजीकरण गर्ने उद्देश्यका साथ 'चिनारी नियमित हाटबजार कार्यक्रम' समेत सञ्चालन गर्दै आएको छ । यसैगरी, सामाजिक उत्तरदायित्वका कामहरुमार्फत बृहत्तर समुदायसँग पनि सुमधुर सम्बन्ध चिनारी साकोसले गाँसेको छ । यसले पनि सदस्यहरुमा संस्थाप्रति विश्वास बढ्न गएको छ । आकार र आयातनमा तुलनात्मक हिसाबले विशाल नदेखिएपनि चिनारी साकोसले सदस्य सन्तुष्टि र सेवाका हिसाबले आफूलाई प्रभावी साबित गर्दै आएको छ ।
शुक्रबारको भेटमा एउटा रोचक जानकारी पनि पाइयो । चिनारी साकोसमा बजारप्रतिनिधिबाट रोजगारी सुरु गर्नुभएका ऋण अधिकृत एवम् प्रशासन प्रमुख कृष्ण श्रेष्ठ उत्कृष्ट कार्यसम्पादनको बलमा सदस्य र सञ्चालकसमितिको विश्वास जित्दै अब सिईओ बन्ने तयारीका समेत हुनुहुँदोरहेछ । सहकारीमा कर्मचारी टिक्दैनन भन्नेका लागि यो उदाहारण पनि हो । स्थानीय बैंकहरुबाट 'अफर' आउँदा पनि नगएको बताउने श्रेष्ठ अब सिईओ बन्ने दौडमा हुनहुन्छ ।
सञ्चालक समितिले उहाँलाई नेतृत्वका लागि तयार रहन हरतरहले तिखारिरहेको छ । उक्त कुरा हालका सिईओ सिग्देलले पनि बताउँदै श्रेष्ठको दक्षता अभिवृद्धिका लागि जिम्मेवारीहरु पनि सोही अनुरुप प्रदान गरिएको जानकारी गराउनुभयो । विदेश र अन्य संस्थाहरुको प्रलोभन त्यागेर चिनारीमार्फत नै चिनारी बनाउने अभियानमा रहनुभएका ३३ वर्षीय युवा कृष्ण श्रेष्ठको कथा पनि कम्ताको रोचक रहेन ।
श्रेष्ठले सुनाउनुभयो, ‘अब यही चिनारी साकोसमै रहेर आफ्नो चिनारीलाई पनि बिस्तारित गर्ने योजनामा छु ।' श्रेष्ठले भन्नुभयो, ‘लगनशीलता, सदस्यको विश्वास र इमानदारीका कारण यहाँ सम्म आइपुगेको छु, समयले साथ दिएमा र यही रुपमा काम गरेमा सिईओ पनि पक्कै बन्नेछु ।’ साथै उहाँले सदस्यहरुले चिनारी साकोसलाई विश्वास गरेकोमा कृतज्ञता समेत व्यक्त गर्नुभयो ।
भर्खरै (जेठ १३ गते) १६औं स्थापना दिवस मनाएको साकोसको आगामी असोज ६ गते आयोजना हुने १७औं वार्षिक साधारण सभाले ४ वर्षका लागि नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति निर्वाचित गर्नेछ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com