काठमाडौं । साहित्यकार धीरेन्द्र प्रेमर्षिले नेपाल सरकार संस्कृति मन्त्रालयको व्यवस्थापनमा प्रदान गरिने यस वर्षका धेरैजसो पुरस्कार सुयोग्य पात्रहरूमा गएको भन्दै त्यसका लागि मन्त्रालयलाई साधुवाद भन्नुभएको छ ।
सामाजिक सञ्जालमा पोष्ट गर्दै उहाँले यो पटकको मन्त्रालयबाट विभिन्न शीर्षकका पुरस्कारहरु योग्य व्यक्तित्वमा गएको भन्दै उक्त कारण पुरस्कारले आफ्नो गरिमा स्थापित गरेको उल्लेख गर्नुभएको छ । पुरस्कारमा समावेशिताको झल्को कम देखिनु विचारणीय पक्ष भएपनि योग्य व्यक्तिहरुले पुरस्कार प्राप्त गर्नु नै समावेश भएका र हुनेहरुको वास्तविक सम्मान ठहर्ने उल्लेख गर्नुभएको छ ।
पुरस्कारका लागि निवेदन दिने परिपाटीप्रति असहमति जनाउँदै उहाँले यो पटक निवेदन नदिएका व्यक्तित्वहरूलाई पनि पुरस्कृत गरिएको सन्दर्भले खुसी मिलेको र यही मान्यतामा अडिग आफू जस्ता सर्जकलाई समेत सरकारी पुरस्कारप्रति आशावादी बनाएको विचार व्यक्त गर्नुभएको छ ।
प्रेमर्षिले पोष्ट गर्नुभएको छ, 'हालको समयमा विभिन्न शीर्षिकका पुरस्कारहरू डा. देवी नेपाल, डा. रामप्रसाद ज्ञवाली, डा. लक्ष्मणप्रसाद गौतम, मुकेश मल्ल, प्रा. डा. वीणा पौडेल, मानबहादुर विश्वकर्मा, अमृत योञ्जन तामाङ, सोझो गाउँले, श्याम साह, नर्मदेश्वरी सत्याल, विमला तुम्खेवा, शीतल गिरी, विपिन किरण, डा. निलम कार्की 'निहारिका' जस्ता व्यक्तित्वमा जानु भनेको पुरस्कारले आफ्नो गरिमा स्थापित गर्नु पनि हो। पुरस्कारमा समावेशिता अपेक्षाकृत कम देखिनु अवश्य विचारणीय कुरा हो। तर यसरी योग्य व्यक्तित्वहरूमा पुरस्कार गएपछि नै समावेश भएका र हुने व्यक्तिहरूको पनि वास्तविक सम्मान हुने ठहर्छ।'
उहाँले अगाडि लेख्नुभएको छ, 'अझ डा. रामप्रसाद ज्ञवालीले लेख्नुभएअनुसार निवेदन नदिएका व्यक्तित्वहरूलाई पनि पुरस्कृत गरिएको सन्दर्भले यही परिपाटी निरन्तर रहिरहे पुरस्कारका लागि निवेदन नदिने मान्यतामा अडिग हामीजस्ता सर्जकलाई समेत सरकारी पुरस्कारप्रति पनि आशावादी बनाउँदो रहेछ। सम्पूर्ण पुरस्कृत व्यक्तित्वहरूमा हार्दिक बधाई। संस्कृति मन्त्रालयलाई बाटो समाउन खोजेकोमा अनेकानेक साधुवाद।'
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार ३२ गते बुधबार ९ वटा पुरस्कार प्रदान गरेको थियो । मन्त्रालयले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, महाकवि देवकोटा पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, शताब्दी पुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार, युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार, योगमाया राष्ट्रिय पुरस्कार र आदिकवि भानुभक्त राष्ट्रिय पुरस्कार वितरण गरिएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com