Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थप

नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थप

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व-पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थप गरेको छ। तेस्रोपटक थपिएको म्याद सकिँदा सडक निर्माण ७० प्रतिशत मात्रै पूरा भएपछि विसं २०८३ साउन ७ गतेसम्मका लागि सडकको म्याद थप गरिएको हो।

नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले आयोजनाको चौथो पटक म्याद थपिएको बताए। ‘चौथोपटक थप भएको म्याद अन्तिम हो,’ उहाँले भन्नुभयो, ‘निर्माण कम्पनीले यस अवधिमा सडक निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएकाले म्याद थप गरिएको हो।’

हालसम्म पूर्वीखण्डमा दाउन्ने बाहेकका सबै ठाउँमा कालोपत्रको काम सकिएको जानकारी दिँदै उहाँले बाँकी काम पनि एकवर्षभित्र सकिने बताउनुभयो ।

‘पछिल्लो समय निर्माण कम्पनीले सडक विस्तारमा तीव्रता दिएको छ,’ उहाँले भन्नुभयो, ‘अहिले जनशक्ति दाउन्ने सडकको ढलान गर्न र बाँकी रहेका दुई वटा पुल निर्माण गर्न केन्द्रित भएका छन्।’

थप गरिएको समयमा पूर्वी खण्डको करिब ६५ किलोमिटर चार लेन सडक, सडकको बीचमा रहने डिभाइडर, साढे १७ किलोमिटर सर्भिस लेनको काम सकिने खनालको भनाइ छ।

गैँडाकोटको नारायणी नदीको पुलसँग जोडिने करिब एक सय मिटर सडक कालोपत्र गर्न बाँकी छ। उक्त सडकको किनारमा ग्याबिन राखेर माटो भर्ने काम सकिएको छ। ‘अब गैँडाकोटको बाँकी रहेको ठाउँमा सब बेस, बेस कोर्ष सकिन्छ र कालोपत्रले नारायणीको पुललाई जोड्नेछौँ,’ उहाँले भन्नुभयो, ‘त्यस्तै गैँडाकोटकै जयश्रीको ठूलो पुल दसैँ अगाडि सञ्चालन गर्नेगरी काम भइरहेको छ।’

निर्माण कम्पनीले सात वर्ष अगाडि नेपाल सरकारसँग ४२ महिनाभित्र सडक विस्तार पूरा गर्ने सम्झौता गरी विसं २०७५ साल माघ २४ गतेदेखि काम सुरु गरेको थियो। कूल ११४ किलोमिटर सडकमध्ये पूर्वी खण्ड (गैँडाकोट-दाउन्ने) ६५ किलोमिटरको लागत रु नौ अर्ब १३ करोड १८ लाख ९५ हजार तथा पश्चिम खण्ड-दाउन्ने-बुटवल) ४९ किलोमिटरको लागत रु सात अर्ब ८६ करोड ३४ लाख गरी जम्मा रु १६ अर्ब ९९ करोड ५२ लाख रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार