काठमाडौं । साउन महिना-नेपालको बचत तथा ऋण सहकारी अभियानको शीर्षस्थ संघ नेफ्स्कूनको जन्म महिना हो । २०४५ साउन ३२ गते नेफ्स्कूनको स्थापना भएको थियो जसको अगुवाई भोजराज घिमिरेले गर्नुभएको थियो । पूर्व गृहमन्त्री घिमिरेको नेतृत्वमा आजको नेफ्स्कूनको जग बसेको थियो । पञ्चायती शासनकालमा दरबारसँग नजिक घिमिरेले बचत ऋण सहकारीहरुको केन्द्रीय संघको आवश्यकता बोध गरी त्यसको स्थापनार्थ चालेको कदमलाई दरबारले मौन स्वीकृति जनाएको थियो । दरबारबाट ठूलो विरोध आउने जस्तो नदेखेपछि तत्कालीन साझा केन्द्रका अध्यक्ष घिमिरेले बचत ऋण सहकारीहरुको केन्द्रीय संघ गठनमा तत्परता देखाउनुभएको थियो । २०४५ साल साउन ३२ गते घिमिरेकै पहलमा बचत समूह राष्ट्रिय संघ तदर्थ समिति गठन भएको दिनलाई नेफ्स्कूनले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । स्थापनाको दृष्टिकोणले नेफ्स्कून मुलुककै जेठो सहकारी संघ पनि हो ।
तर, पछि दुःखद संयोग कस्तो पर्यो भने जुन महिनामा घिमिरेको अध्यक्षतामा नेफ्स्कूनको जन्म भयो त्यही महिना उहाँले जीवन गुमाउनुभयो । तसर्थ नेफ्स्कूनको स्थापना महिना नचाहँदा नचाहँदै पनि भोजराज घिमिरेको स्वर्गारोहण महिना बन्यो ।
घिमिरेको निधन २०७३ साल साउन १७ गते (२ दिनअघि) सोमबार बिहान ३ः ५० मा भएको थियो । ब्रोङ्काईटिस र निमोनियले ग्रसित घिमिरेको स्वास्थ्यमा सुधार हुन नसकेपछि साउन १६ गते आइतबार चाबहिल ओम अस्पतालबाट पशुपतिनाथ स्थित घाटे बैद्यकोमा लगिएको थियो । घिमिरेको सोमबार बिहान ८ बजे पशुपतिको आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । घिमिरेप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न सहकारीकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । बचतको माध्यमद्वारा राष्ट्रिय पुँजी निर्माणको लहर सुरु गर्ने नेपालको बचत तथा ऋण सहकारी अभियानका प्रणेता घिमिरेको जन्म वि.स. १९८६ माघ १५ गते रामेछापको बाबियाखर्कमा भएको थियो ।
२०४५ साल श्रावण ३२ गते बचत समूह राष्ट्रिय संघ तदर्थ समितिका रुपमा स्थापित नेफ्स्कूनको विधिवत् दर्ता भने २०४८ सालको सहकारी ऐन जारी भएपनि २०५० साल भाद्र २९ गते सहकारी विभागमा भएको थियो । राष्ट्रिय बचत तथा ऋण संघ नेपालका रुपमा हालको नेफ्स्कून दर्ता गर्दा सहकारी विभागका रजिष्ट्रार शंकरराज जोशी हुनुहुन्थ्यो । दर्ता गर्दा आबद्ध सदस्य समूहहरुमध्ये करिब ४७ वटा बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति सहित २०५० साल भाद्र १९ गते तत्कालिन संघ सञ्चालन समितिका अध्यक्ष भोजराज घिमिरेको सभापतित्वमा संघ दर्ता गर्ने प्रक्रिया सहितको बैठक बसेको थियो जसमा सहकारी विभागका तत्कालिन रजिष्ट्रार शंकरराज जोशी र महिला सहकारी संस्थाका अध्यक्ष रोहिणी जोशी आमन्त्रितका रुपमा उपस्थित हुनुहुन्थ्यो ।
२०५० साल भाद्र १९ गते को बैठकमा उपस्थित ४७ वटा बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुको हस्ताक्षर सहितको निर्णयले नेपालको बचत तथा ऋण सहकारी अभियानको छाता संगठन नेफ्स्कूनको जग बसेको इतिहास छ । ३८औं स्थापना दिवसको संघारमा रहेको नेफ्स्कूनको आधारशिला तयार गर्ने मुख्य पात्र भोजराज घिमिरे हुनुहुन्थ्यो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com