Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
'अहिंसा महोत्सव नेपाल २०८२' काठमाडौंमा शुरु

अबको भविष्य 'भेजिटेरियन' पद्धति हो : डा.प्रकाश शरण महत (भिडियोसहित)

अबको भविष्य 'भेजिटेरियन' पद्धति हो : डा.प्रकाश शरण महत (भिडियोसहित)

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व मन्त्री डा.प्रकाश शरण महतले अबको भविष्य 'भेजिटेरियन' पद्धति भएको बताउनुभएको छ । नेपाल शाकाहारी संघले आजबाट काठमाडौंमा आयोजना गरेको ३ दिवसीय अहिंसा महोत्सव नेपाल २०८२ को उद्घाटन गर्दै उहाँले अब धेरै मानिसहरुले शाकाहारी जीवन पद्धतिलाई अंगाल्न थालेको बताउनुभएको छ । यस्तो जीवनशैली मार्फत अहिंसा र करुणाको मार्गमा लाग्न सबैलाई अभिप्रेरित गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । शाकाहारी सिधै अहिंसासँग जोडिएको बताउँदै उहाँले जति शाकाहारीको संख्या बढ्दै जान्छ त्यति नै अहिंसात्मक जीवन पद्धति बढ्दै जाने बताउनुभयो । पछिल्लो समय मानिसहरुले प्रकृति संरक्षण र दिगो विकासका जल्दाबल्दा विषयका कारण पनि शाकाहारी पद्धति अपनाउन थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, अबको भविष्य भेजिटेरियन पद्धति हो । र यहीमार्फत अहिंसा र करुणाको भावनाले व्यापकता पाउनेछ ।

शाकाहारी अभियान आफ्नो मनसँग जोडिएको विषयवस्तु भएको बताउँदै पूर्व अर्थ, परराष्ट्र एवम् उर्जा तथा जलस्रोत मन्त्री भैसक्नुभएका डा.महतले भन्नुभयो, 'म पनि शाकाहारी हुँ ।' शाकाहारी जीवन शैलीमार्फत अहिंसाप्रेमी बन्न सकिने बताउँदै उहाँले भन्नुभयो, 'अहिंसा आवश्यक छ तर त्यो प्राप्त गर्न चुनौतीपूर्ण छ ।' तर, यो उद्देश्यप्रति निरन्तर लागिरहने हो भने सम्भव नहुने कुरा नभएको उहाँले बताउनुभयो । तीन दिने सम्मेलनले अहिंसाको अवधारणा विस्तार गर्न महत्वपूर्ण हुने विश्वास प्रमुख अतिथि डा.महतले व्यक्त गर्नुभयो ।

मानिसभित्रको हिंसक प्रवृत्ति नास गर्न जरुरी रहेको बताउँदै डा.महतले त्यसका लागि पनि शाकाहारी जीवन पद्धति अगाल्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 'हामीले पशुबली तथा मांसहारी जीवन पद्धति जति कम गर्न सक्छौं उति शान्तिपूर्ण र अहिंसात्मक समाज निर्माण गर्न मद्दत पुग्छ भन्ने मलाई लाग्छ, 'उहाँले भन्नुभयो, 'विश्व भौतिकवादको पछि दौडिरहेको समयमा हामीसँग चुनौती पनि छन् । हामी जति भौतिकवादी उन्नतिमा मात्र आफूलाई केन्द्रीत गर्छौं हिंसा स्वाभाविक रुपमा यसमा अन्तर्निहित हुन्छ ।'  यसका लागि निरन्तर अहिंसाको पक्षमा लाग्नुपर्ने र वकालत गर्नुपर्ने भन्दै राजनीतिक दलहरुलाई पनि यसतर्फत यो अभियानले ध्यानाकर्षण गराउनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो । 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार