Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
साझा प्रकाशनको ‘विशेष पुस्तक प्रदर्शनी, २०८२’

'केन्द्रीय कार्यालयबाट मात्रै १५ लाख रुपैयाँको पुस्तक बिक्री हुने विश्वास लिएका छौं'

'केन्द्रीय कार्यालयबाट मात्रै १५ लाख रुपैयाँको पुस्तक बिक्री हुने विश्वास लिएका छौं'

पुल्चोक, ललितपुर । पठन संस्कृति विकासमा टेवा पुर्याउने उद्देश्यसहित साझा प्रकाशनले आफ्नो केन्द्रीय कार्यालय पुल्चोकसहित देशभरका बिक्रीकक्षहरुमा ‘विशेष पुस्तक प्रदर्शनी, २०८२’ आयोजना गरेको छ ।

२०८२ भदौं २० गतेदेखि शुरु भई असोज ३ गतेसम्म चल्ने प्रदर्शनीमा राखिएका पुस्तकहरुमा साझाले २० देखि ५० प्रतिशतसम्म छुट सुविधा उपलब्ध गराएको छ । २०७८ साल अघिका ‘गरिमा’ मासिक पत्रिकाका अङ्कहरुमा भने ८० प्रतिशतसम्म छुटको व्यवस्था साझाले गरेको छ । बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म जारी प्रदर्शनीमा करिब ४ हजार पुस्तक रहेको साझाले जनाएको छ । तीमध्ये करिब ५ सय मात्रै बाहिरी प्रकाशन गृहका पुस्तक छन् ।

खासगरी चाडवाडको मुखमा प्रदर्शनी राखिएकोले राम्रै बिक्री हुने अपेक्षा साझाले गरेको छ । अझ अपेक्षा भन्दा पनि विश्वासनै साझाले लिएको छ । साझाका एक कर्मचारीले भन्नुभयो, ‘अघिल्ला वर्षका अनुभवको आधारमा हामीले यो पटक पनि राम्रै बिक्री हुने ठानेका छौं । अघिल्ला वर्षमा पनि हामीले केन्द्रीय कार्यालयमै मात्र १५ दिनमा करिब १२ लाखको बिक्री गरेका थियौं । केन्द्रीय कार्यालयबाटमात्रै यो पटक १५ लाख रुपैयाँको पुस्तक बिक्री हुने विश्वास हामीले लिएका छौं ।’ 

DSC05631_11zon.jpg
बिक्रीका लागि राखिएका पुस्तकहरु

पहिलो दिनमै करिब ५० हजार रुपैयाँ माथिको बिक्री भएको जानकारी गराउँदै साझाले यो पटकको लक्ष्य पनि हासिल हुने जनाएको छ । साझाको नयाँ भवनमा दुई तलामा पुस्तक प्रदर्शनी राखिएको छ ।
निक्कै पुरानादेखि तात्तातो प्रकाशन भएका पुस्तकहरु समेत प्रदर्शनीमा राखिएका छन् । त्यस्तै, १ रुपैयाँ २५ पैसा मूल्यको कमलमणि दीक्षितको सम्पादन तथा भूमिका रहेको कवि हरिदासको ध्रुवचरितदेखि सबैभन्दा महंगो २८ सय रुपैयाँको संस्कृत–अंग्रेजी–नेपाली शब्दकोश पनि प्रदर्शनीमा बिक्रीका लागि राखिएको साझाले जनाएको छ ।

साझाले  २०४० सालभित्र प्रकाशित पुस्तकहरुमा ५० प्रतिशत, २०५० सालभित्र प्रकाशित पुस्तकहरु ४० प्रतिशत, २०५१ सालपछि प्रकाशित पुस्तकहरुमा ३० प्रतिशत, सबै किसिमका शब्दकोशहरुमा २५ प्रतिशत तथा अन्य पुस्तकहरुमा पनि २० देखि ३० प्रतिशतसम्म छुट सुविधा उपलब्ध गराएको छ ।

प्रर्दशनीस्थलमा भेटिनुभएका साझा प्रकाशन सञ्चालक समितिका अध्यक्ष शेखर गिरीले भन्नुभयो, ‘हामी आएको ६ महिना ११ दिन भयो । यो ६ महिनामा हामीले पुरानो र नयाँ गरेर हामीले ४० वटा जति पुस्तक छापिसकेका छौं । भोलिमात्रै नयाँ पुस्तकहरु छापिएर आउँछन् र तिनलाई पनि राख्छौं । अरु १० वटा पाइपलाइनमा छन् ।'

अध्यक्ष गिरीले सुनाउनुभयो, 'हाम्रो प्रयास नयाँ वर्षमा पनि एउटा पुस्तक प्रदर्शनी आयोजना गर्न सकियोस् भन्ने हो ।' साझाले निकट भविष्यमा सातै प्रदेशका केन्द्रहरुमा पुस्तक प्रदर्शनी गर्ने योजना समेत बनाएको उहाँले उल्लेख गर्नुभयो ।

DSC05647_11zon.jpg
प्रदर्शनी अवलोकन गर्दै मानव अधिकारकर्मी गौरी प्रधान

उत्साहित छ साझा
यो पटकको पुस्तक प्रदर्शनीका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनबाट सबै वडातहसम्म साझाका पुस्तकहरु पुर्याउनसहयोग गर्ने आश्वासन प्राप्त भएका कारण साझा प्रफुल्ल छ । 

साझाका अध्यक्ष गिरीले भन्नुभयो, ‘ सबै वडाका विद्यालय तथा क्याम्पसहरुलाई पुस्तक प्रदर्शनी अवलोकन गर्न  महानगरले पत्राचार गरिसकेको छ । त्यही हिसाबले विद्यार्थीहरुलाई उपयोगी तथा सबै विधाका पुस्तकहरु समेटिने गरी प्याकेज बनाउने काम साझाले गर्नेछ ।’ उहाँले भन्नुभयो, ‘बालसाहित्यका १० वटा सबै प्रकारका पुस्तकहरुको एउटा सेट बनायौं भने त्यो बालबालिकाहरुका लागि किनौं किनौं लाग्ने हुन्छ, हामी त्यसरी नै पुस्तकहरु उपलब्ध गराउने तयारीमा छौ । मानौं छुटसहित १ हजार रुपैयाँको एउटा प्याकेज (सेट) बनाउने सोचमा हामी छौं ।’ उहाँले थप प्रष्ट पार्नुभयो, ‘८ कक्षासम्मका विद्यार्थीहरुका लागि एउटा सेट, १० सम्मका लाई अर्को र प्लस टुलाई अर्को टार्गेट गरेर हामी पुस्तकहरुको सेट बनाउँछौं ।’

सबै विद्यालयहरुलाई पुस्तकालय स्थापना तथा सञ्चालनका लागि सरकारले उपलब्ध गराएको बजेट पनि सदुपयोग हुने विश्वास नगरपालिका तथा साझाको रहेको छ । ‘विद्यालयतहसम्म पठन संस्कृतिलाई जोड्ने सेतु साझाका पुस्तकहरु बन्ने विश्वास हामी दुबैले लिएका छौं र त्यही अनुसार हाम्रा प्रकाशनहरुलाई हामी तयार पनि गर्छौं, ’अध्यक्ष गिरीले विश्वास व्यक्त गर्नुभयो, ‘साझाको काम व्यवसायसँगै अरुले नछाप्ने कृतिहरु पनि छाप्नुपर्ने हुन्छ । त्यो दायित्वबाट विमुख हुन हामी मिल्दैन ।’

DSC05669_11zon.jpg
साझा अध्यक्ष शेखर गिरीसँगै कर्मचारीहरु

आवश्यक पर्दा बालसाहित्यका अन्य प्रकाशन गृहका पुस्तकहरु पनि केही समावेश गर्न सकिने साझाले जनाएको छ । साझासँग हाल बालसाहित्य सम्बन्धी डेढ सयबढी आफ्नै प्रकाशन छन् । पुस्तक प्रदर्शनी साझाको 'रिचुअल' नै हो । प्रत्येक वर्ष प्रदर्शनी गर्दै आएको छ साझाले । चाडवाड (दशैं) केन्द्रित पुस्तक प्रदर्शनी आयोजना गर्न लागेको भने करिब १० वर्ष भयो ।

यसबाहेक नेपाल प्रज्ञा प्रतिष्ठानमै सालमै दुई तीन पटक वृहत् पुस्तक प्रदर्शनी गर्दै आएको साझाका एक कर्मचारीले बताउनुभयो । एक दशकअघिको कुरा सनाउँदै उहाँले भन्नुभयो, ‘नेपालभरका सबै प्रकाशनहरुलाई आग्रह गरेर वृहत् रुपमा प्रदर्शनी गर्दथ्यौं तर पछिल्लो समय त्यसरी गर्न नसकेको अवस्था छ ।’ 

सँगै, ललितपुर महानगरपालिकाले साझा प्रकाशनलाई नगरको गौरवको परियोजनामा राखेर महत्व प्रदान गरेको छ । त्यसैअनुसार साझालाई पुनर्जीवित तुल्याउन महानगरले आर्थिकदेखि हर किसिमको सहयोग उपलब्ध गराउँदै आएका कारण पनि विगतमा मुर्छित साझा 'रिभाइटलाइज' हुनेमा आशावादी छ । 

DSC05641_11zon.jpg
प्रदर्शनीमा पुस्तक छान्दै अवलोकनकर्ता

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार