Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायको समर्थन

अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायको समर्थन

काठमाडौं । जटिल अवस्थामा गठन भएको नयाँ अन्तरिक सरकारलाई अन्तराष्ट्रिय समुदायको साथ र समर्थन प्राप्त हुने क्रम जारी । संयुक्त राष्ट्रय संघ, छिमेकी भारत, चीन, अमेरिका, बेलायत लगायत महत्वपूर्ण निकाय तथा मुलुकहरुबाट प्रधानमन्त्री सुशीला कार्कीलाई औपचारिक बधाई शुभकामनासँगै साथ, समर्थन र सहकार्यको प्रतिवद्धता व्यक्त भएका छन् । उनीहरुले प्रधानमन्त्री कार्कीसँगै परिस्थितिलाई थप प्रतिकूल हुन नदिन संविधानको संरक्षकको रुपमा राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेना प्रमुखअशोकराज सिग्देलको पनि प्रशंसा गरेका छन् ।

जेनजी आन्दोलनपछि बनेको राजनीतिक सहमतिको प्रशंसा गर्दै अमेरिकी दूतावासले राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको भूमिकालाई सराहना गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति र युवा नेताहरूको प्रशंसा गर्दछौँ, यद्यपि यो दुखद समयमा हामी नेपालसँग शोकमा साथ छौँ ।’

दूतावासले नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देलको योगदानलाई पनि उल्लेख गर्दै शान्तिपूर्ण संक्रमण र नागरिक सरकार पुनर्स्थापनामा उनले खेलेको भूमिकाको सम्मान गरेको छ ।

अमेरिकी दूतावासले अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा आफू नेपालसँग सहकार्य गर्न तत्पर रहेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले सेप्टेम्बर १२ मा नेपालको प्रधानमन्त्रीको शपथ लिएकी कार्कीलाई बधाई दिँदै यस्तो टिप्पणी गरेका हुन्।

यसैगरी, चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले सेप्टेम्बर १२ मा नेपालको प्रधानमन्त्रीको शपथ लिएकी कार्कीलाई बधाई दिएका छन् । उनले भने, ‘चीन र नेपालबिच लामो समयदेखिको मित्रता छ। चीनले सधैँझैँ नेपालका जनताले स्वतन्त्र रूपमा रोजेको विकासको मार्गलाई सम्मान गर्दछ। हामी शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई अगाडि बढाउन, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग बढाउन र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न नेपालसँग काम गर्न तयार छौँ।’

यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुशीला कार्की प्रधानमन्त्री नियुक्त भए लगत्तै नेपाली भाषामै बधाई दिएका थिए ।

उनले सामाजिक सञ्जाल एक्समा शनिबार भनेका थिए, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ ।’

हिजो मणिपुरमा आयोजित कार्यक्रममा पनि मोदीले शुभकामनासहित नेपालसँग मिलेर अघि बढिरहेको भन्दै समर्थनभाव व्यक्त गरेका थिए । उनले भने, नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार सम्हाल्नुभएकोमा म आज १४० करोड भारतवासीहरूको तर्फबाट श्रीमती सुशीलाजीलाई हार्दिक बधाई व्यक्त गर्दछु। उहाँले नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नुहुनेछ भन्ने मलाई विश्वास छ। नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीलाजीको आगमन महिला सशक्तिकरणको एक उत्कृष्ट उदाहरण हो। म आज नेपालको प्रत्येक व्यक्तिको प्रशंसा गर्दछु जसले यस्तो अस्थिर वातावरणमा पनि लोकतान्त्रिक मूल्यमान्यतालाई सर्वोच्चमा राख्यो।

साथीहरू, नेपालमा भएको घटनाक्रममा अर्को एक विशेष कुरा छ जसमा मानिसहरूले ध्यान दिएका छैनन्। पछिल्ला दुई(तीन दिनदेखि, नेपालका युवा युवतीहरू धेरै कडा परिश्रम र शुद्धताको भावनाका साथ नेपालका सडकहरू सफा गर्दै र रंग लगाउँदै गरेको देखिन्छन्। मैले सोशल मीडियामा उनीहरूको तस्बिरहरू पनि देखेको छु। उनीहरूको यो सकारात्मक सोच, यो सकारात्मक काम प्रेरणादायी मात्र नभई नेपालको नवोदयको स्पष्ट संकेत पनि हो। म नेपालको उसको उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दछु। 

संयुक्त राष्ट्र संघले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिप्रति खुसी व्यक्त गर्दै नेपाली जनतालाई बधाइ दिएको छ।

यस्तै, संयुक्त राष्ट्र संघको नेपालस्थित आवासीय समन्वयकर्ता हान्ना सिंगर हाम्डीले एक सन्देश जारी गरी यस संवेदनशील समयमा मुलुकको नेतृत्व ग्रहण गर्न पुगेकामा कार्कीलाई सफलताको शुभकामना पनि दिएकी थिइन् ।

उनले यस संक्रमणमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति जनरल अशोक सिग्देल, र जेनजेड युवा नेताहरूले महत्त्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा पनि गरेकी छन्।

‘नेपालका जनताको स्थायित्व, मानव अधिकार र दिगो विकासतर्फको यात्राको लागि संयुक्त राष्ट्र संघ सरकारसँग संयुक्त राष्ट्र संघको टोलीमार्फत सहकार्य गर्न प्रतिबद्ध रहेको’ विज्ञप्तिमा उल्लेख छ। 

संयुक्त अधिराज्य बेलायतले पनि नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको विषय महत्त्वपूर्ण कदम रहेको बताएको छ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै नेपालस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रतिक्रिया दिएको थियो ।

बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जबाफदेहिता र समावेशी शासनका लागि नेपाली आकांक्षी समर्थन गर्ने जनाएको छ ।

त्यस्तै, निर्वासित तिब्बती धर्मगुरु दलाई लामाले नवनिवयुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई चीनका राष्ट्रपति सी चिनफिङभन्दा पहिले बधाई दिएका थिए । निर्वासित तिब्बतीहरूको ‘केन्द्रीय तिब्बती प्रशासन’को आधिकारिक वेबसाइटमा कार्कीलाई शुभकामना दिदै दलाई लामाले भनेका थिए, ‘नेपालको यो चुनौतीपूर्ण समयमा नेपाली जनताको आशा र चाहाना पूरा गर्न सफलताको शुभकामना व्यक्त गर्दछु ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार