Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

शान्ति कामना गर्दै पाथीभरासम्मको साइकल यात्रामा निस्के पर्यटनप्रेमी अरविन्द यादव (भिडियोसहित)

शान्ति कामना गर्दै पाथीभरासम्मको साइकल यात्रामा निस्के पर्यटनप्रेमी अरविन्द यादव (भिडियोसहित)

काठमाडौं । पर्यटनप्रेमी युवा भ्लगर अरविन्द यादव आज बिहान काठमाडौंको गुहेश्वरी मन्दिरदेखि ताप्लेजुङको पाथिभरा देवीको मन्दिरसम्मको साइकल यात्रामा निस्किएका छन् । र, व्यक्तिगत आनन्द त छदैछ त्यसबाहेक उनी मुलुक र आफूजस्तै युवाहरुका लागि केही सन्देश बोकेर साइकल यात्रामा निस्किएका हुन् । पाथीभरा देवीको आर्शिवादले ती मनोकामना सिद्धि हुने विश्वासहित ।  

यादव भन्छन्, ‘नेपाललाई चिनाउने भनेकै पर्यटन हो र हामी जस्ता युवाहरु पयर्टनको माध्यमबाट मुलुकको सेवा गर्न र आफ्नो पनि रोजगारी सिर्जना गर्न सक्छौ भन्ने सन्देश मलाई दिनुछ ।’ उनी थप्छन्, ‘मनमा तनाव वा मानसिक समस्यासँग जुधिरहेका वा त्यस किसिमको विचलनमा रहेका युवाहरुले मुलुककै कुनै पनि भूभाग भ्रमण गर्ने हो भने कुभावहरु नआउने उनी दाबी गर्छन् । यही विषय यात्राहरु र आफ्नो जीवनबाट उनी बुझाउँन चाहन्छन् । भन्छन्, ‘जेमा सकिन्छ यात्रा गरौं, मुलुक डुलौं अरुलाई पनि डुलाऔं यस कामले तनावहरुबाट छुट्कारा मिल्छ, मन शान्ति मिल्छ । मैले पनि आफ्ना तनाव र असफलताहरुबाट उन्मुक्ति लिने काइदा पर्यटन बनाएको छु ।’

त्यस्तै, बातावरण विनाश बढ्दो प्रदुषणका विरुद्ध हरित अर्थतन्त्र र संस्कृति प्रवर्धनका लागि पनि यो साइकल यात्रामा निस्किएको बुल राइडर नेपाल (यादव) बताउँछन् । अनि हरित अर्थतन्त्र प्रवर्धनसँगै बुद्ध भूमि नेपालमा शान्ति, स्थिरता र विकास आवश्यक छ भन्ने सन्देश दिन पनि पाथीभारा माताको दर्शन गर्न साइकलमा निस्किएको उनले धिप्री डटकमलाई जानकारी गराए । 

भ्लगिङ र पर्यटनको सिलसिलामा केही व्यक्ति तथा संस्थासँग सानो सहकार्य गरे पनि मिहेनतकै बलमा ठूलो फड्को मार्न सकिन्छ भन्नेमा उनी विश्वस्त छन् । फुर्सदमा पठाओ गर्छन्, अनौपचारिक रुपमै भएपनि गाइडको काम गर्छन् । प्यासनले डोहोर्याएको पर्यटन तथा भ्लगिङमा परिवारको भने खासै असहयोग छैन उनलाई । भन्छन्, ‘दुव्र्यसनी बनेर नचाहिँदो गफ गरेर बस्नुभन्दा यो त राम्रो काम हो । उद्देश्य सही छ । राम्रो उद्देश्यमा राम्रो कर्म मिसाएपछि फल त अवश्य पाइन्छ । ढिलो चाँडो न हो ।’

पाथीभरा मन्दिर पुग्न १० दिन लाग्ने अनुमान उनले गरेका छन् । तर, खर्च व्यवस्थापन उनी आफैले गर्दैछन् । उनलाई कुनै आर्थिक सहयोग प्राप्त भएको छैन । ३५ हजार रुपैयाँ पर्ने साइकल उनलाई विगतमा स्काउटमा सँगै काम गरेका राजकुमार सिंखडाले यो यात्रा अवधिको लागि सहयोग गरेका छन् । बस त्यत्ति हो । तैपनि उनले आँट गरे । भन्छन्, ‘म मितव्ययी छु । मन्दिरमा पनि सुतिदिन्छु, मलाई ठूलो हुनुपर्दैन जहाँ जे भट्यो त्यहीमा एड्जष्ट हुन्छु । फेरि राम्रो उद्देश्य लिएर हिड्दा साथ सहयोग पाइन्छ । मनकारीहरु ठाउँठाउँमा भेटिनुहुन्छ । म ठाउँ ठाउँमा पुग्दै भ्लगहरु बनाए पनि पनि मानिसहरुलाई आफ्नो यात्रा बारे बताइरहेको हुन्छु । धेरैले थोरै थोरै सहयोग गर्दा पनि आनन्द लाग्छ । कुनै संस्थागत सहकार्य वा ठूलो सहयोग छैन । कतिपयले खानपिन वा बसोबासको लागि सहयोग गर्नुहुन्छ ।’ 

भलै उनले आर्थिक रुपमा कमाएको थोरै छ, तर पनि उनी आशावादी छन् । उनको फेसबुक पेजमा ४३ हजार फलोअर्स छन् । उनलाई बुल राइडर नेपाल भनेर धेरैले चिन्छन् । पर्यटनसँग प्रत्यक्ष जोडिएको बाइक राइडिङ उनको अर्को प्यासन हो । विगतमा उनले भारतदेखि नेपालका धेरै ठाउँहरुमा बाइक राइड गरिसकेका छन् । तिनै यात्राहरुले थुप्रै सुमधुर सम्बन्धहरु गाँसिएका छन् । ती अविष्मरणीय सम्बन्धहरु नै सफलताका लागि आवश्यक खुट्किला भएको उनी बताउँछन् । ‘अब म गाइडको लाइसेन्स पनि लिन्छु, ’ यादव भन्छन्, ‘जहाँ जहाँ जान्छु सकेसम्म राम्रा भ्लगहरु बनाउँछु र विदेशीहरुलाई नेपाल असली रुपमा चिनाउने प्रयत्नमा लाग्छु । पर्यटन मेरो प्यासन हो ।’

क्यामेरा त परै जाओस् राम्रो फोटोभिडियो खिच्ने मोबाइलसम्म नभएका उनी आफ्नो जे जस्तो मोबाइल छ त्यसैलाई प्रयोग गरेर भ्लगहरु बनाइ पोष्ट गर्छन् । ‘अहिले दुःख गर्यो भनेन पछि सुख पाइन्छ, ’ उनी आशावादी छन् ।

सर्लाही स्थायी घर भई हाल तिलगंगामा सपरिवार बस्दै आएका छन् । विगतमा व्यवसायमा हात हालेका उनले असफलताहरु चाखे । पारिवारिक वातावरण पनि बलियो छैन । घरको जेठो छोरो हुन् त्यही भएर प्लस टु सकेपछि पढाइलाई निरन्तरता दिनसकेनन् । घरप्रतिको जिम्मेवारीको भारीले थिच्यो । मनमा छटपटीहरु भए । हुनत् बुबाले काम गरेर उनीसहित एक भाइ, बहिनी र आमाको पेट पालिरहनुभएको थियो र छ पनि तर उनलाई पढाइको बोझ परिवारमा थप्न मन लागेन र व्यवसायमा हात हाले । कोभिड १९ भित्रिएसँगैको बन्दाबन्दीले व्यवसाय मारमा पर्यो । उनको राम्रै लगानी डुब्यो तर पनि हरेर खाएनन् । भन्छन्, ‘काम गर्दै जाने हो । पर्यटन क्षेत्रको प्यासनलाई नै प्रोफेशन बनाउँछु । नेपालप्रतिको अगाध मायाले नै मलाई टिकाउँछ ।’

DSC09878_11zon.jpg
हरियो हाफ ज्याकेटमा यादव

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार