बागलुङ, असोज २८, २०८२ । चारतारे युवा क्लब, सिवाईसी नेपालले आफ्नो ३४औं वार्षिक साधारणसभा तथा वार्षिकोत्सवको दोस्रो चरण मंगलबार बागलुङ बजारमा सम्पन्न गरेको छ । २०४९ साल असोज २६ गते स्थापना भएको संस्थाले आफ्नो वार्षिकोत्सवलाई यस वर्ष चरणबद्ध रूपमा मनाउँदै आएको थियो । पहिलो चरणमा मिति २०८२ असोज २६ गते संस्था स्थापना स्थल बागलुङ नगरपालिका–९, तित्याङ अदुवावारीमा कार्यक्रम सम्पन्न गरिएको थियो भने दोस्रो चरण बागलुङ बजारमा आयोजना गरिएको हो ।

कार्यक्रमका क्रममा संस्थाले आफ्नो ३४ वर्षको यात्राको समीक्षा, विगतका उपलब्धि तथा आगामी योजना सार्वजनिक गर्दै आगामी दिनमा संस्थाको सामाजिक उत्तरदायित्व र सेवा विस्तारमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रम संस्थाका संरक्षक वरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमका क्रममा बोल्दै शर्माले सिवाईसी नेपालले विगत तीन दशकभन्दा बढीको यात्रामा सामाजिक परिवर्तन, आत्मनिर्भरता र सहकार्यको संस्कृतिलाई मजबुत बनाउँदै आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, सिवाईसी नेपालले महिला, युवादेखि समुदायसम्मको सहभागितालाई संस्थागत विकाससँग जोड्दै, समाजमा सकारात्मक परिवर्तनको आधार तयार गरेको छ । आगामी वर्षहरूमा पनि संस्थाले पारदर्शिता, जवाफदेहिता र नवीन सोचका साथ अघि बढ्नुपर्ने हुन्छ ।'

साधारण सभा तथा वार्षिकोत्सव कार्यक्रममा संस्थाका सचिव विरबहादुर किसानले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । त्यस्तै, संस्थाका कोषाध्यक्ष विमला गुरुङले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक प्रतिवेदन र आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । दुवै प्रतिवेदनमाथि सभामा विस्तृत छलफल भई सर्वसम्मतिले पारित गरिएको थियो ।

साधारण सभामा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०८१/०८२ मा सिवाईसी नेपालले उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । प्रतिवेदन अनुसार, गत आर्थिक वर्षमा रु. १,९९,३०,९६० आम्दानीको लक्ष्य राखिएकोमा रु. १,९५,४५,४९७ आम्दानी गर्न सफल भएको छ, जसले ९८.०६ प्रतिशत प्रगति दर्शाउँछ । त्यस्तै, खर्चतर्फ रु. १,९५,९०,००० प्रस्तावित गरिएकोमा रु. १,४५,८१,६०८ खर्च भई ७४.४३ प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उक्त अवधिमा संस्थाले रु. ४९,६३,८८९ बराबरको बचत गर्न सफल भएको र सो बचत रकममध्ये रु. १२,४०,९७२.२० सरकारलाई आयकरका रूपमा बुझाइएको संस्थाले जनाएको छ । प्रतिवेदनमा संस्थाको आर्थिक व्यवस्थापन, पारदर्शिता र आन्तरिक नियन्त्रण प्रणाली सुदृढ रहेको उल्लेख गर्दै आगामी वर्षमा आन्तरिक स्रोत परिचालन र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाइने जानकारी दिइएको छ ।

कार्यक्रमका अवसरमा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले संस्थाको ३४ वर्षे यात्रालाई स्मरण गर्दै संस्थाको मूलमन्त्र र सिद्धान्तप्रति आस्था दोहोर्याउनुभएको थियो । उहाँले भन्नुभयो, ‘सामाजिक एकता, आजको आवश्यकता’ भन्ने हाम्रो स्थापनाकालीन नाराले नै हामीलाई हरेक उतार–चढाव पार गर्दै अघि बढ्ने ऊर्जा प्रदान गरेको छ । जनताको सहभागिता, आफ्नै स्रोतमा आधारित कार्यक्रम, पारदर्शिता र उत्तरदायित्व नै आज सिवाईसी नेपालको पहिचान बनेको छ ।'

अध्यक्ष पौडेलले थप भन्नुभयो, “आज जब हामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमसहित यो वार्षिक प्रतिवेदन प्रस्तुत गर्दैछौं, हामी विगतका अनुभवहरूलाई भविष्यप्रतिको प्रेरणा र मार्गदर्शनका रूपमा ग्रहण गरेका छौं । सामाजिक रूपान्तरणलाई आत्मनिर्भर मार्गबाट अघि बढाउने हाम्रो प्रतिबद्धता अझ दृढ बनेको छ ।” उहाँले संस्थाको सफल यात्रा सबै संस्थापक, सदस्य, कर्मचारी, शुभेच्छुक र सरोकारवालाहरूको सामूहिक प्रतिबद्धता र निरन्तर प्रयत्नकै परिणाम भएको भन्दै सबैप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा ब्रहमकुमारी ईश्वरीय विश्वविद्यालय लभ्लीहिल पोखराका प्रमुख सुधा दिदिबाट सहभागिहरुलाई तनाव व्यवस्थापन सम्वन्धि प्रशिक्षण समेत प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाका सहसचिव तथा वडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, पूर्व सल्लाहाकार जगदिशचन्द्र उपाध्याय, सदस्यहरुको तर्फबाट डा.रामवहादुर के.सी., नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङका उपसभापति राजेन्द्र आचार्य, नेपाल दलित संघका जिल्ला अध्यक्ष तारा वहादुर विश्वकर्मा, संस्थाका सदस्य तथा जैमीनी नगरपालिका वडा नं. १ का अध्यक्ष विष्णुप्रसाद आचार्य लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, उपाध्यक्ष लक्ष्मण खड्काको स्वागत र सचिव विरवहादुर किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com