काठमाडौं । ‘मर्जरले हामी धुमिल भयौं । त्यो तीतो सत्य थियो । सहकारी अभियानमा लागेका र नेतृत्वमा बसेका केहीका कारण हामी बहकियौं । साँच्चै भन्ने हो भने हामी केही स्वार्थी पनि भयौं । बहकियौं पनि । तर, डिमर्जपछि हामीले त्यो धुलो टक्टक्याउँदैछौं । यो आर्थिक वर्षभित्र सबै धुलो टक्टक्याएर संस्था सुकिलो बनाइसक्छौं । यो कुराले होइन वित्तीय अवस्थाले प्रमाणित गर्दछ ।’
काठमाडौं महानगरपालिका ६ बौद्धमा अवस्थित आमा बचत तथा ऋण सहकारी संस्था लि.को स्थापनाकालदेखिका सदस्य एवम् हाल दोस्रो इनिङ् व्यवस्थापक बनेका सुजन लामिछानेले हिजो मध्यान्ह धिप्री डटकमसँग आफ्नै कार्यकक्षामा विगतको पोको फुकाए ।
‘मर्ज गरेर बन्न गएको संस्था झनै बिग्रियौं, ’उनमा स्वीकारोक्ति भाव झल्कन्थ्यो, ‘ तर डिमर्जपछि सदस्यहरुको विश्वास झनै बढेको छ । उहाँहरुले आफ्नै अगाडि आफैले चिनेजानेका सञ्चालकहरु पाउँदा अनि मिहेनती कर्मचारीहरु पाउँदा खुसी हुनुभएको छ । त्यो विश्वास र खुसी हालै सम्पन्न वार्षिक साधारणसभामा क्रममा पनि छचल्किएको थियो । मर्जमा जाँदा को कताको सञ्चालक समिति धेरै नचिनेका के कता भन्ने उहाँहरुलाई थियो अब भने ढुक्क हुनुभएको छ ।’
र, ४ वर्षअघिको त्यो घटनाबाट सम्पूर्ण आमा साकोसको टीमले अविष्मरणीय शिक्षा लिएको छ । बिर्सन नसकिने सिकाइ भएको छ । व्यवस्थापक लामिछानेले हामीलाई आश्वस्त पारे ।
सामान्तया मर्ज गर्ने भनेको संस्था झनै सपार्न, आयातन फराकिलो बनाउन र सुदूर सम्भावनाहरु खोज्न हो तर त्यस मामिलामा आमा साकोस चुकेको थियो । केही अभियन्ताहरुको बहकाउमा परेको थियो । तर, अब सप्रिएको व्यवस्थापक लामिछानेले सुनाए ।
ओखलढुङ्गा स्थायी घर भएका लामिछाने आमा साकोसको स्थापनाकालदेखि जोडिएका हुन् । मर्ज हुनुपूर्व उनी आमा साकोसमा ४ वर्ष व्यवस्थापक थिए । मर्ज हुने बेलामा विदेशीए तर पनि उनको साइनो तोडिएको थिएन । र, फर्केर आएपछि डिमर्ज भएको संस्थाको पुनः व्यवस्थापकीय जिम्मेवारी सम्हाले । उनले २०७९ मंसिरदेखि दोस्रो इनिङ सम्होलका हुन् । आफू विदेश भएपनि सबै प्रक्रियासँग भर्चुअल्ली निकट रहेका उनले भने, 'मर्ज के किन कसका लागि कसरी भन्ने कुरामा हामीले ध्यान पुर्याउन सकेनौं । अरुको कुरा सुन्दा समस्या भयो । त्यसले ठूलो सिकाइ भएको छ । अब हामी थप सर्तक, सजग र सबल भएका छौं । यस्ता अवरोहले नै आरोहको मार्ग प्रशस्त गर्छ भन्ने लाग्छ । हामी अहिले आरोहणको दिशामा छौं ।'
काठमाडौंको बौद्ध जस्तो बजारमा आमा साकोस अवस्थित भएपनि समुदाय र सदस्य केन्द्रित भएको भन्दै उनले संस्था नेफ्स्कून, प्रोस्कून, कास्कून, राष्ट्रिय सहकारी बैंक, प्रदेश सहकारी संघ लगायतका निकायमा आवद्ध भएको जानकारी गराए । हालै मात्र आमा साकोस नेफ्स्कूनले सञ्चालन गरेको 'स्क्यान' कार्यक्रममा समेत आवद्ध भएको छ ।
नियमित (अनसाइट तथा अफसाइट) जोखिम परीक्षण तथा मूल्याङकन, अनुगमन र सुपरिवेक्षणको दायरामा प्रवेश गरी स्तरीकृत, दिगो अनि व्यावसायिक साकोस बनाउने उद्देश्यले छाता संघको कार्यक्रममा जोडिएको लामिछाने तर्क गर्छन् ।
वित्तीय रुपमा आमा साकोस अहिले सही बाटोमा सुधारोन्मुख हिसाबले सक्रियताका साथ अघि बढेको व्यवस्थापक लामिछानेले जानकारी गराए । उनले भने, ‘हामी अहिले साढे १५ करोड हाराहारीको कुल सम्पत्तिको अवस्थामा छौं, २५ प्रतिशत भन्दा बेसी तरलता छ । यस्तै, १ करोड ४ लाख रुपैयाँ शेयर पुँजी छ भने १३ करोड २५ लाख रुपैयाँ कुल बचत रहेको छ । साढे १२ करोड ऋण लगानी छ भने संस्थागत पुँजी १ करोड ५ लाख रहेको छ । सदस्य संख्याका दृष्टिकोणले ३ हजार बढी सदस्य भएपनि कतिपय निस्क्रिय रहेकोले हामी त्यो संख्या घटाएर सक्रिय सदस्यहरु मात्रै राख्ने र बाँकी नयाँ थप्ने योजनामा छौं । हामीसँग पछिल्लो चरणमा महिला सदस्यको संख्या बढ्दो छ । र, यो खुसीको कुरा पनि हो । २ सय २७ जना वालबचतकर्ता पनि हामी साथै हुनुहुन्छ ।’ र, डिमर्ज हुँदा बोेकेको दायित्व केही बाँकी रहेको र सो यो आर्थिक वर्षभित्र सकिने पनि उनले दाबी गरे ।
उनले भने डिमर्ज भएर आउँदा हाम्रो ब्यालेन्स सीट ७ करोड २८ लाखको थियो भने उक्त आर्थिक वर्ष क्लोज गर्दा हामी ९ करोड ३५ लाखमा थियौं । त्यसपछिको पूर्ण आर्थिक वर्षभित्र हाम्रो कुल सम्पत्ति १३ करोड ४० लाख बढी पुर्यायौं । अब यो वर्ष १७ करोड ८२ लाख कुल सम्पत्ति पुर्याउने लक्ष्य छ । हामीलाई लाग्छ, त्यो पूरा गर्न असहज हुँदैन । यो नै हाम्रो साकोसको सुकिलोपनाको सबुत हो ।’
सदस्यहरुकै सुखदुःखमा साथी बन्दै आएको आमा साकोसले उनीहरुको माग र आवश्यकता सम्बोधन गर्ने गरी बचत तथा ऋणका प्रडक्टहरु डिजाइन गरेको जनाएको छ । व्यवस्थापक लामिछाने भन्छन्, ‘हामीले व्यावसायिक ऋण, कृषि ऋण, शैक्षिक ऋण, घरजग्गा खरिद ऋण आदि उपलब्ध गराउँदै आएका छौं । बिना धितो (समूह जमानी) मा प्रति सदस्य ५ लाख रुपैयाँसम्म ऋण सुविधा उपलब्ध गराउँदै आएको आमा साकोसले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको २०८२ जेठ ९ गतेको मापदण्ड अनुसार ३ लाख रुपैयाँ कायम गरेका छौं ।’
सुरक्षित ऋण लगानी नै मुख्य चुनौती भएको उनी स्वीकार्छन् । जेनजी आन्दोलन र राजनीतिक अस्थिरताका कारण व्यवसाय र उद्यमका क्षेत्रमा अघि बढ्न सदस्यहरु हिच्किचाइरहेका कारण लगानीका विकल्पहरु खोज्नुपर्ने अवस्थामा अन्य सहकारीहरु सरह आमा साकोस पनि रहेको उनले स्वीकारे ।
७ कर्मचारी रहेको साकोसमा ११ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति रहेको छ । सञ्चालकहरु सबै स्थानीय जिम्मेवार व्यक्तिहरु अनि सहकारी बुझेका कारण काम गर्न सहज भएको भन्दै उनले व्यवस्थापन र बोर्डको केमेष्ट्री कसिलो रहेको बताए । लामिछानेले भने, ‘सहकारी राम्ररी बुझेको र पछिल्लो मर्ज डिमर्जको घटनाले पनि परिपक्क बनाउँदै लगेको सञ्चालक समितिले व्यवस्थापनको काममा अहस्तक्षेपकारी नीति अवलम्बन गरेको छ । त्यसले मेरो व्यवस्थापन टीमलाई काम गर्न सहज भएको छ ।’
सहकारी अभियन्ता भनाउँदाहरुले नै बाटो बिराएका कारण पनि सहकारीमा समस्या आएको व्यवस्थापक लामिछानेको अनुभव बोल्दछ । सदस्यको बचत व्यक्तिगत प्रयोजनमा खर्च गर्ने र अभियन्ता भनेर हिड्नेहरुले गर्दा समस्या आएको उनी बताउँछन् । आफूले गल्ती नगर्दा पनि अन्य सहकारीहरुले गल्ती गर्दा त्यसको अपजस आइलाग्ने संक्रमणको सिकार हुनुपर्ने अवस्थाप्रति पनि उनी दुःखेसो गर्छन् । यसले गर्दा सबै सहकारीहरुलाई हेर्ने दृष्टिकोण एउटै भएको भन्दै सदस्य र सरोकारवालाहरुले यसमा सही र गलत राम्ररी खुट्याउनुपर्ने सुझाउँछन् ।
२१ वर्षदेखि नै सहकारी क्षेत्रमा त्यो पनि व्यवस्थापन प्रमुख भएर काम गरेका लामिछाने भन्छन्,‘ विदेशको अनुभव पनि गरियो र अघाइयो पनि अब नेपालमै सहकारी क्षेत्रमै लाग्ने हो । यो क्षेत्रमा निक्कै सुधार आवश्यक छ, यसको साख बढाउनुपर्ने छ र हामी जस्ता केही बुझेका, सिकेका अनि साँच्चिकै लगनका साथ लागेका सहकारी व्यवस्थापकहरुले आफूले सकेको राम्रो गर्दा समग्र अभियानलाई नै राम्रो योगदान हुन्छ ।’
र,छुट्टिने बेला उनले पुनः इतिहासै कोट्याएर धिप्रीलाई सुनाए, 'सबै मर्जर राम्रै हुन्छन् र सबै डिमर्ज नराम्रो नै हुन्छ भन्ने हामीले गलत प्रमाणित गरेका छौं । हाम्रो डिमर्जले हामीलाई डिरेल हुनबाट जोगायो । हामी सही समयमा मोडियौं । अत्यन्त खुसी छौं ।'
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com