Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
प्रतिनिधिसभा सदस्य निर्वाचन

बढाइयो सुरक्षा चुनौती सतर्कता

बढाइयो सुरक्षा चुनौती सतर्कता

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राखी सुरक्षा सतर्कता बढाइएको छ । आसन्न निर्वाचनका सम्भावित सुरक्षा चुनौतीहरु आँकलन गरी तीनलाई केन्द्रमा राखेर सतर्कता बढाइएको गृह मन्त्रालयले जनाएको छ । विशेषतः राजनीतिक दलका प्रतिस्पर्धीहरुबीचको सम्भावित विवाद तथा झडप, नवयुवा र राजनीतिक दलबिच हुन सक्ने विवाद र खुला सिमानाका कारण उत्पन्न हुन सक्ने परिस्थितिलाई मुख्य सुरक्षा चुनौती आँकलन गरी रणनीति निर्माण गरिएको गृहले जनाएको छ ।
चुनावी सरगर्मी बढ्दै जाँदा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबिच हुने चुनावी कार्यक्रम, उम्मेदवारको आवतजावत र अन्य कुनै पनि सुरक्षा चुनौती नहोस् भनी सुरक्षा निकायको परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले निर्वाचनका उम्मेदवारको सुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा निकायको परिचालन गरिएको जनाएको छ । नेपाल प्रहरीले पनि उम्मेदवार विशेष सुरक्षाका लागि जिल्ला सुरक्षा समितिमार्फत् विशेष टोली नै परिचालन गरिएको जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग संयुक्त तथा छुट्टाछुट्टै रूपमा परिचालन गरिएको छ । सरकारले गृह सचिवको नेतृत्वमा केन्द्रीय सुरक्षा कमान्ड गठन गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको नेतृत्वमा गठित केन्द्रीय कमान्ड पोस्टमा चार वटै सुरक्षा निकायका अधिकारीहरू सम्मिलित छन् ।

उक्त कमान्ड पोस्ट केन्द्रीय सुरक्षा समितिको निर्देशनमा सञ्चालन हुनेछ । यसका अतिरिक्त चार वटै सुरक्षा निकायले आफ्ना कार्यालयमा कमान्ड पोस्टहरू राखेर काम थालिसकेका छन् । ७७ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा पनि सुरक्षा संयन्त्रलाई सक्रिय पारिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार