Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
सातौँं वार्षिकोत्सव

साहित्यसुधा नेपालद्वारा तीन व्यक्तित्वलाई सम्मान तथा पुरस्कार समर्पण

साहित्यसुधा नेपालद्वारा तीन व्यक्तित्वलाई सम्मान तथा पुरस्कार समर्पण

काठमाडौं । साहित्यसुधा नेपालले आफ्नो सातौँं वार्षिकोत्सवको अवसरमा आज काठमाडौंमा तीन व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार समर्पण गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा आयोजित कार्यक्रममा प्रा.डा.अञ्जना वस्तीलाई हरिभक्त साहित्यसुधा सम्मान तथा पुरस्कार २०८२, कवि जगन्नाथ आचार्यलाई केवलपुरे किसान साहित्यसुधा सम्मान तथा पुरस्कार २०८२ तथा कवि असीम सागरलाई मनीषा साहित्यसुधा सङ्घर्षशील सम्मान तथा पुरस्कार २०८२ प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार माया ठकुरी, साहित्यसुधा नेपालकी अध्यक्ष कल्पना काफ्लेले बिशिष्ट अतिथिहरुको उपस्थितिमा तीन व्यक्तित्वलाई दोसल्लासहित जनही १५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

DSC09522_11zon.jpg
undefined

कार्यक्रममा सम्मानित व्यक्तित्व त्रयले सम्मान पुरस्कारले हौसला र प्रेरणा मिलेको भन्दै साहित्यसुधा नेपालप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो । सम्मानित व्यक्तिहरु कवि जगन्नाथ आचार्यले केवलपुरे किसानको कविता वाचन गर्नुभएको थियो भने असीम सागरले आफ्नी पत्नीको भूमिकाको प्रशंसा गर्दै उहाँकै लागि रचना गरेको कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तिहरुको जीवनी तथा कृतित्वबारे  साहित्यसुधा नेपालका संरक्षक प्रा.डा.देवी नेपाल तथा कवि तथा साहित्यसुधा नेपालका सल्लहकार कलानिधि दाहालले प्रकाश पार्नुभएको थियो । उहाँहरुले सम्मानित व्यक्तिहरुले नेपाली भाषा र साहित्यको विकासमा खेलेको भूमिकाको चर्चा गर्दै सम्मानले उर्जा थप्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

तीनै जनाको जीवनी तथा कृतित्वमाथि चर्चा गर्ने साहित्यकारहरुले आगामी जीवनमा पनि साहित्यको क्षेत्रमा नयाँ कृतिहरु प्रकाशनका लागि सम्मानले प्रेरणा मिलोस् भनी शुभकामना समेत व्यक्त गर्नुभयो ।

यस्तै, सम्मान तथा पुरस्कार स्थापना गरिएका व्यक्तित्वहरुका तर्फबाट आध्यात्मिक कवि हरिभक्त सिग्देलले आफूले आगामी दिनमा पनि सम्मान तथा पुरस्कारलाई निरन्रतता दिने प्रतिबद्धता व्यक्त गर्दै सम्मानित व्यक्तित्वहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो । जेनजी आन्दोलनको स्मरणमा उहाँले आफ्नो कविता समेत वाचन गर्नुभएको थियो भने केवलपुरे किसानकी छोरी गोमा पौडेलले आफ्ना पिताले रचना गर्नुभएका दुई कविता वाचन गर्नुभएको थियो । ती कविताहरु आज पनि उत्तिकै सान्दर्भिक भएको चर्चा उहाँले गर्नुभएको थियो । त्यस्तै, साहित्यसुधा नेपालकी संस्थापकमध्येकी एक मनिषा प्रसाईं (हाल हङकङ) को कविता पनि वाचन गरिएको थियो ।

DSC09460_11zon.jpg
undefined

कार्यक्रममा बिशिष्ट अतिथिहरुकातर्फबाट डा. तुलसी भट्टराई तथा डा.अभि सुवेदीले मन्तव्य राख्दै सम्मान पुरस्कार प्रापकहरुलाई बधाई शुभकामनासहित नेपाली साहित्यमा उहाँहरुको थप योगदानको अपेक्षा व्यक्त गर्नुभयो । प्रमुख अतिथि साहित्यकार माया ठकुरीले पनि सम्मानितहरुलाई शुभकामनासहित एउटा भजन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमकी सभापति साहित्यसुधा नेपालकी अध्यक्ष कल्पना काफ्लेले प्रत्येक वर्ष संस्थाले साहित्यमा योगदान पुर्याउने स्रष्टाहरुलाई सम्मान गर्दै आएको जानकारी गराउँदै आगामी दिनमा अझ धेरै स्रष्टालाई सम्मान गर्न सक्ने गरी वातावरण तयार गर्दै लाने बताउनुभयो ।

DSC09395_11zon.jpg
undefined

२०७५ सालमा स्थापना भएको साहित्यसुधा नेपालले हालसम्म  ४२ वटा (आजको समेत) कार्यक्रम सम्पन्न गरेको सुनाउँदै काफ्लेले भन्नुभयो, ‘साहित्यसुधा नेपालले केही त गर्छ, केही त गरोस्, केही त गर्नेछ भन्ने लागेर हामीले काम गरेका छौं । हामीलाई यहाँहरु र विभिन्न संघ संस्थाहरुबाट प्राप्त साथ सहयोगप्रति आभार व्यक्त गर्दछौं । तपाईंहरु थाक्नु हुँदैन है भनेर केही संस्थाले प्रायोजन समेत गर्नुभएको छ । त्यसका लागि कृतज्ञता व्यक्त गर्दछु ।’ उहाँले साहित्यसुधा नेपालले आगामी दिनमा पनि विभिन्न कार्यक्रमहरु गर्ने योजना सुनाउँदै तिनमा सबैको सक्रिय सहभागिताको अपेक्षा समेत व्यक्त गर्नुभयो ।

DSC09369_11zon.jpg
undefined

कार्यक्रममा साहित्यसुधा नेपालका उपाध्यक्षले स्वागत मन्तव्य राख्नुभएको थियो । साहित्यसुधा नेपालले ‘साहित्यको सम्वर्द्धन, हाम्रो अभियान’ को परिकल्पना बोकेर आफ्ना साहित्यिक गतिविधिहरु अघि बढाउँदै आएको छ ।

DSC09440_11zon.jpg
undefined

आजको कार्यक्रमको विशेषताको रुपमा प्रमुख अतिथि साहित्यकार माया ठकुरी, कार्यक्रमका सभापति एवम् साहित्यसुधा नेपालकी अध्यक्ष कल्पना काफ्ले र सम्मानित तीनमध्ये एक प्राडा अञ्जना वस्ती गरी तीन महिला रहनुभएको भन्दै  महिला सहभागिता पनि उत्साहप्रद नै रहेको चर्चा समेत गरिएको थियो ।

DSC09421_11zon.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार