काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्र सञ्चालनमा रहेका केही सहकारी संस्थाहरूले काठमाडौँ महानगरपालिका सहकारी ऐन तथा सो अन्तर्गत बनेका नियम, विनियम विपरीतका कार्यहरू गरेको/गराएको पाइएकाले, कानूनतः कसुर मानिने स्पष्ट पार्दै त्यस्ता कार्यहरू नगर्न/नगराउन सबै सहकारी संस्थाहरूलाई निर्देशन जारी गरेको छ। महानगरपालिकाले आज एक सूचना जारी गरी प्रचलित ऐन कानुन विपरित कार्य गरे कारबाही हुने जनाएको छ । काठमाडौं महानगरले सहकारी ऐन अन्तर्गतका कसुर नगर्ने/नगराउने सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित गरी सहकारी संघ संस्थाहरुलाई ध्यानाकर्षण गराएको हो ।
महानगरपालिकाले देहायका कुनै कार्य गरेमा काठमाडौं महानगरपालिका सहकारी ऐन अन्तर्गत कसुर गरेको मानिनेछ :
(क) दर्ता नगरी वा खारेज भएको संस्था सञ्चालन गरेमा, वा कुनै व्यक्ति, फर्म वा कम्पनीले आफ्नो नाममा "सहकारी" शब्द वा सो शब्दको अङ्ग्रेजी रूपान्तरण राखी कुनै कारोवार, व्यवसाय वा सेवा प्रवाह गरेमा ।
(ख) सदस्यको बचत यस ऐन तथा यस अन्तर्गत बनेका नियम, विनियम बमोजिम वाहेक अन्य प्रयोजनमा प्रयोग गरेमा ।
(ग) तोकिएकोभन्दा वढी रकम ऋण प्रदान गर्दा जमानत वा सुरक्षण नराखी ऋण प्रवाह गरेमा ।
(घ) समितिका सदस्य, व्यवस्थापक वा कर्मचारीले संस्थाको सम्पत्ति, वचत वा सेयर रकम हिनामिना गरेमा ।
(ङ) ऋण असुल हुन नसक्ने गरी समितिका सदस्य, निजका नातेदार वा अन्य व्यक्ति/कर्मचारीलाई ऋण दिई हिनामिना गरेमा ।
(च) समितिका सदस्यहरूले एक्लै वा मिलेमतोमा संस्थाको सेयर वा वचत रकम आफूखुसी परिचालन गरी संस्थालाई हानि-नोक्सानी पुऱ्याएमा ।
(छ) भुट्टा वा गलत विवरण पेश गरी कर्जा लिएमा, कमजोर धितो राखी ऋण लिएको वा हिनामिना गरेमा ।
(ज) ऐन तथा नियम विपरीत लगानी गरेमा वा लगानी गर्ने उद्देश्यले रकम उठाएमा ।
(झ) कृत्रिम व्यवसाय खडा गरी ऋण लिएमा वा दिएमा ।
(ञ) धितोको अस्वाभाविक रूपमा वढी मूल्याङ्कन गरी ऋण लिएमा वा दिएमा ।
(ट) झुट्टा विवरणका आधारमा परियोजनाको लागत बढाई बढी ऋण लिएमा वा दिएमा ।
(ठ) एक पटक दिएको सुरक्षण फुकुवा नभई वा सोको मूल्यभन्दा वढी हुने गरी सोही सुरक्षण अन्यत्र राखी पुनः ऋण लिएमा वा दिएमा ।
(ड) ऋण लिएको प्रयोजन वाहेक अन्यत्र प्रयोग गरेमा वा गराएमा ।
(ढ) कागजात वा खातामा लेखिएको विवरण हटाउने, फेरवदल गर्ने, झुट्टा विवरण तयार गर्ने, मिति/अङ्क परिवर्तन गर्ने, जालसाजी गर्ने जस्ता कार्य गरेमा ।
(ण) धितोस्वरूप राखिने सम्पत्तिको मूल्याङ्कन गर्दा गलत मूल्याङ्कन गरी संस्थालाई हानि पुऱ्याएमा ।
(त) संस्थालाई हानि पुऱ्याउने उद्देश्यले अवैध लाभ लिन/दिन, उपहार, चन्दा, कम मूल्यमा सेवा/वस्तु आदानप्रदान गर्ने वा गलत लिखत तयार गर्ने कार्य गरेमा ।
(थ) लेखापरीक्षण गर्दा झुट्टा प्रतिवेदन तयार गर्ने वा हानि हुने गरी लेखापरीक्षण गरेमा ।
(द) काठमाडौँ महानगरपालिका सहकारी ऐन को दफा ७९ वमोजिम अन्य कुनै कसुर गरेमा ।
सजायः कामपा सहकारी ऐनको दफा ७९ वमोजिम कसुर गरेमा कानून अनुसार सजाय हुनेछ ।
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com