काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले बुधबारदेखि शुक्र अस्त हुने जनाएको छ। चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतबार दिउँसो १ः१७ बजे पूर्वमा उदय हुने समितिले जनाएको छ।
यस अवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य गर्न नहुने जनाइएको छ। तर नित्यकर्म, पूजापाठ, जप, हवन, तर्पण, नित्य दान आदि नैमित्तिक कम, न्वारन, पास्नी, श्राद्ध, मासिक काम भने गर्न हुन्छ। काम्य कर्म विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सव आदि गर्नु हुँदैन।
शास्त्रीय मान्यताअनुसार बृहस्पति देवताका गुरु हुन् भने दैत्यका गुरु शुक्राचार्य हुन्। हिन्दुधर्म अनुसार प्रत्येक वर्ष शुक्र र बृहस्पति अस्त हुने सनातन विद्वत् परिषद् नेपालका सदस्य पण्डित बालमुकुन्द देवकोटा बताउँछन्। वर्षको एक समयमा घुम्दै जाने क्रममा शुक्र ग्रह पृथ्वी नजिक पुगेपछि सूर्यको प्रकाशले शुक्र ग्रहको प्रकाशलाई ओझेलमा पार्नुलाई शुक्र अस्त भनिन्छ।
ज्योतिषीय मान्यताअनुसार शुक्र अस्त हुने डेढ दिनअघि र उदाएको डेढ दिनसम्म विभिन्न धार्मिक क्रियाकलाप गर्नु हुँदैन । धार्मिक मान्यताअनुसार नित्य, नैमित्तिक र काम्य गरी तीन प्रकारका कर्म हुन्छन् । नित्य कर्ममा स्नान, ध्यान, जपतप, पूजापाठ आदि कर्म पर्दछन्।
नैमित्तिक कार्यमा बच्चाको न्वारान, पास्नी, मृत्यु संस्कार तथा श्राद्ध, मासिक तर्पण, जन्मोत्सव जस्ता कर्म पर्दछन्। काम्य कर्ममा जुराएर र हेराएर गर्ने प्रकृतिका कार्य जस्तै नयाँ गृह निर्माण आरम्भ, नवगृह प्रवेश, नयाँ व्रतको आरम्भ, नयाँ मन्दिर निर्माण, मूर्ति स्थापना, सप्ताह, नवाहआदि अनुष्ठान र व्रतबन्ध–विवाह आदि संस्कारहरू पर्दछन्।
प्रत्येक काम्य कर्मका फलदाता नै गुरु र शुक्र हुन्। वृहस्पति र शुक्र अस्त भएका बेलामा पोखरी इनार खन्न, मन्दिर बनाउन, पहिलो पटक कपाल क्षौर गर्न, तीर्थ यात्रामा जान, देव प्रतिष्ठा गर्न, कान छेदन गर्न, व्रतबन्ध, विवाह गर्न, दिक्षा दिन, मन्त्र सुन्न काम्योद्देश्यले वृषोत्सर्ग गर्न पनि नमिल्ने मान्यता छ।
साथै बगैंचा कुवाको निर्माण, गृहारम्भ, चान्द्रायण व्रत, तुलादान, व्रतको सुरु र समापन, विद्यारम्भ संस्कार, कहिल्लै नगरिएको देवताको दर्शन, अग्निहोत्र, सप्ताह पुराण, देव स्थापन, प्राण प्रतिष्ठा, सन्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, विशेष परीक्षा आदि कर्मलाई शास्त्रले निषेध गर्ने मान्यता छ।
शुक्रको दशा चलिरहेका व्यक्तिलाई शुक्रले जुन फल जति प्रदान गर्नुपर्ने हो सो प्राप्त नहुनसक्ने स्थिति पनि रहन्छ। अस्त भएको वेलामा शुक्र निर्वल हुने हुँदा विवाह, व्रतबन्ध आदि शुभकर्म गर्नु हुँदैन भनी शास्त्रले निर्देश गरेको छ। कुवा, बगैंचा, गृहारम्भ, गृहप्रवेश, देवताको मूर्ति प्राण प्रतिष्ठा, व्रत प्रतिष्ठा, व्रतको आरम्भ, वधूप्रवेश, महादान, सोम यज्ञ, अष्टका श्राद्ध, गोदान ९केशान्तककर्म०, नवान्न भक्षण, प्रथमपटक उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, देवताको प्रतिष्ठा, दीक्षा मन्त्र ग्रहण, व्रतबन्ध, विवाह, मुण्डन, पहिलो पटक तीर्थ यात्रा, सन्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, विशेष परीक्षा आदि कुरा त्याज्य बताइएको छ।
यसैगरी यस अवसरमा गयाश्राद्ध र गोदावरीको यात्रा भने गर्दा हुन्छ भन्ने वायुपुराणले बताएको छ।
न त्यक्तव्यं गयाश्राद्धं सिंहस्थे च वृहस्पतौ।
अधिमासे सिंहगुरावस्ते च गुरुशुक्रयोः।
तीर्थयात्रा न कर्तव्या गयां गोदावरीं विना।।
अर्थात् गुरु शुक्रको अस्तमा गयाश्राद्ध र गोदावरी यात्राबाहेक अन्य यात्रा नगर्नू भनिएको छ। यस अवसरमा अनिष्टफल भोग्नुपर्ने कुरा मुहूर्तचिन्तामणि पीयूषधारा टीकामा उल्लेख गरिएको छ।
यसैगरी नित्य कर्मअन्तर्गत पर्ने श्राद्ध, वार्षिकी, लिँदै आएका व्रत उपासना पनि रोकिदैनन्। यसैगरी नैमित्तिक कर्मअन्तर्गत आइपर्ने नामकरण, औध्र्वदेहिक कर्म, अत्यावश्यक कर्म, ग्रहशान्ति, रोग शान्ति आदि कर्म गर्न सकिन्छ । शान्ति कर्मका निम्ति पनि छुट दिएको पाइन्छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com