केही शब्दहरू, चीजहरू, वा विषयहरू परिभाषित गर्न गाह्रो हुन्छ । जस्तै प्रेम, मित्रता र जीवन । यी शब्दहरूको कुनै सार्वभौम परिभाषा नै छैन । कठिन हुँदा हुँदै पनि यस लेखमा हामी मानव जीवनका विशेषताहरू बारे कुरा गर्नेछौ ।
जीवनलाई परिभाषित गर्नु लामो समयदेखि वैज्ञानिक र दार्शनिकहरूका लागि पनि चुनौतीपूर्ण रही आएको छ । किनभने जीवन एक प्रक्रिया हो, पदार्थ होइन त्यसैले यो ठोस नभई जटिल छ ।
जीवविज्ञानमा, जीवनका विभिन्न अस्तित्वहरूलाई प्रायः खुला प्रणालीको रूपमा सोचिन्छ जसले Homeostasis कायम राख्छ, कोषहरू मिलेर बनेको हुन्छ, जीवन चक्र हुन्छ ,यो आफ्नो वातावरणमा अनुकूलन गर्न सक्छ, उत्तेजनाहरूमा प्रतिक्रिया दिन सक्छ, प्रजनन् गर्न सक्छ, र धेरै पुस्ताहरूमा विकसित हुन सक्छ ।
अब कुरा गरौ मानव जीवन, यसका पक्षहरू, उद्देश्य र अर्थपूर्ण र सफलता बारेमा । केही दार्शनिकहरू र विज्ञहरूले केही सटीक परिभाषाहरू दिएका छन् जुन धेरै हदसम्म सही छन् । यद्यपि, चुरो विषय के पनि हो भने, हरेक परिस्थिति वा हरेक व्यक्तिको लागि त्यो नै सत्य नहुन सक्छ ।
जीवन एउटा क्यानभास हो जसमा तपाईंले आफ्ना सपनाहरू भर्नुहुन्छ । हिँड्नु नै जीवन हो, अर्थात् जीवन एउटा यात्रा हो, सिक्नु नै जीवन हो, जीवन एउटा संघर्ष हो । वास्तवमा जीवन यी सबै हुन्, या यो यी सबैको संग्रह हो ।
घरबारविहीन, बेरोजगार व्यक्ति र उसको परिवारको लागि, जीवनको अर्थ दिनको दुई छाक, शरीर ढाक्ने लुगा र भोलिपल्ट फेरि उही काम गर्नु भन्दा बढी केही होइन । रोगबाट पीडित वा मृत्युको संघारमा रहेको व्यक्तिको लागि जीवन भनेको सास फेर्न जारी राख्नु र चाँडै निको हुनु हो वा कुनै अवस्थामा पिडा बाट मुक्ति का लागि मृत्यु पनि जीवन हुनसक्छ ।
आधारभूत आवश्यकताहरू पूरा हुने सामान्य मानिसका लागि जीवन भनेको सपना देख्नु र ती आवश्यकताहरू पूरा गर्न दृढ संकल्प र संघर्ष गर्नु हो ।
जबकि, जससँग पहिले नै सबै कुरा छ, राम्रो व्यवसाय, बंगला, कार र बैंक ब्यालेन्स, उसको लागि जीवन सजिलो र रमाइलो हुन्छ र आनन्द नै जीवन हो ।
कतिपय मानिसहरू सबै कुरा छोडेर सन्यासमा जीवन खोज्छन् । सांसारिक सुख मोह र भौतिकवाद भन्दा पर बाँकी भविष्य खोज्छन् ।
जीवनको परिभाषा हरेक व्यक्ति र हरेक परिस्थितिका लागि फरक–फरक हुन्छ; एउटै व्यक्तिले फरक–फरक परिस्थितिमा फरक फरक जीवनको अनुभव गर्छ र सोही अनुरुप जीवनलाई फरक दृष्टिकोणबाट परिभाषित पनि गर्छ ।
जीवन हरेक दिन अप्रत्याशित, अद्भुत र अकल्पनीय हुन्छ । जीवन हाम्रो सोच, बुझाइ र विश्वासमा पनि निर्भर गर्दछ । हामी जे सोच्छौं त्यही बन्छौं र हाम्रो जीवन पनि त्यस्तै बन्छ ।
जीवनको अर्थ सचेत हुनु वा चेतनशील हुनु पनि हो । आफ्नो क्षमता अनुसार संसारलाई केही दिन जीवन बाँच्नु हो । अझ् भन्ने हो भने जीवन बोध हो । आफ्नो जन्मलाई अर्थपूर्ण बनाउनु भनेको केही न केही योगदान दिनु हो, त्याग गर्नु हो, समर्पणभाव राख्नु हो, अरुका लागि थोरै मात्र भएपनि स्रोत, शक्ति र सामर्थर्य उपयोग गर्नु हो । साँचो अर्थमा त्याग, समर्पण र निष्ठाभाव जीवनको एउटा महत्वपूर्ण पाटो हो । आफ्नो जन्मलाई खेर जान नदिनु सही रुपमा मानव जीवन बाँच्नु हो ।
जीवनमा सन्तुलनको सारै ठूलो महत्व छ । सन्तुलित जीवन सरसपूर्ण जीवन हो । बाल्यकालमा हामी सबैले मुखमा चम्चा र गुच्चा प्रयोग गरेर खेलिने दौड (मार्बल रेस) मा भाग लिएको हुनुपर्छ । त्यसमा जो पहिले अन्तिम रेखामा पुग्छ उसले जित्दैन, तर जसले चम्चाबाट गुच्चा नखसाइ पहिले अन्तिम रेखासम्म पुग्छ उही विजेता ठहरिन्छ । त्यसैले परिवार, स्वास्थ्य, सम्बन्ध र समाजसँगै पद, प्रतिष्ठा र पैसाको सन्तुलन अत्यावश्यक छ । सन्तुलित जीवन सफल जीवन हो ।
जापानी लेखक हेक्टर गार्सिया र फ्रान्सिस मिरालेको बेस्ट सेलर ‘इकिगाई’ ले सार्थक अनि उद्देश्यपूर्ण जीवनप्रति रुचिभाव जगाउँदछ, ‘पर्पस’ मा ‘प्लेजर’ खोज्न सिकाउँदछ । यो नै सन्तुलित जीवन पनि हो ।
पुस्तकमा दक्षिणी जापानको ओकिनावा टापुका बासिन्दाहरुको जीवनशैलीको विस्तृत व्याख्या गरिएको छ । संसारकै सबैभन्दा स्वस्थ्य र सबैभन्दा दीर्घजीवीहरु बसोबास गर्ने शहरका रुपमा ओकिनावा कहलिएको छ । ‘लञ्जेभिटी अफ ह्युमन लाइफ’ ओकिनावाको सर्वोच्च, सङ्लो र सग्लो परिचय हो । अनि, ओकिनावाले केवल आयुलाई लम्ब्याउने मात्र होइन अर्थपूर्ण बनाउने कला पनि सिकाउँछ । हो, जीवनलाई कसरी बुझ्ने कसरी अर्थपूर्ण बनाउने अनि कसरी उद्देश्य प्रेरित गर्ने भनेर सिकाउने ओकिनावा असली मेन्टर हो । वास्तवमा मलाई त पुस्तक पढेर रित्याएपछि लाग्यो ओकिनावा नै इकिगाई पो रहेछ !
इकिगाई भन्छ, जब हामी २० वर्ष पुग्छौं, त्यसबेलादेखि हाम्रा न्यूरोनहरू (मस्तिष्कका मांसपेशी वा स्नायु कोषहरू) परिपक्व हुन थाल्छन् । बौद्धिक व्यायाम, जिज्ञासा र सिक्ने इच्छा जस्ता कुराहरूका कारण, न्यूरोन्सको परिपक्वताको प्रक्रिया सुस्त हुन्छ जसले हामीलाई सकारात्मक दृष्टिकोण र ऊर्जा दिन्छ र हाम्रो आयु बढाउँछ । त्यसैले आफ्नो मन र शरीरलाई सक्रिय राख्नु नै स्वस्थ र लामो जीवनको अचूक मन्त्र हो ।
प्रकृतिको प्रत्येक उत्पादन अद्वितीय छ । हेरकको आफ्नै उपयोगिता छ ।
हामी प्रत्येक व्यक्ति असाधारण काम गर्ने र महान लक्ष्य हासिल गर्ने अदम्य क्षमता राख्दछौं । तर, हामी त्यो महान लक्ष्य हासिल गर्न सक्छौं कि सक्दैनौं भन्ने विषय हामी कस्तो परिस्थितिमा छौं भन्नेमा नभइ त्यस परिस्थितिमा हामी कस्तो निर्णय लिन्छौं भन्नेमा निर्भर गर्दछ ।
आफ्नो इहलीलालाई सफल र सजिलो बनाउन हामीले सामाजिक रहँदै जिम्मेवारीपूर्वक निर्णय लिन समस्या समाधान र समायोजन सीपको विकास गर्न आवश्यक छ । यही नै बाँच्ने वास्तविक तरिका हो । ‘इन फ्याक्ट इन्ट्रेस्टिङ’ इहलीला नै यही हो ।
जीवन सुख र दुःखको संगम हो र प्रकृतिले हामीलाई Survive गर्न सिकाउँछ । जीवन संघर्षहरूको श्रृंखला हो । सकारात्मक परिस्थिति ले दिने खुशी र उपलब्धिहरूसँगै कठिन परिस्थितिले निम्त्याउने प्रतिकूलता र दुःख पनि जीवनको अर्को आयाम हो । अनि दुबै जीवनलाई पृथक तर बिशिष्ट ढंगले आत्मसात् गर्न सक्नु पनि अर्को जीवन हो ।
“याद रखें जो टूट कर बिखरते हैं वही मसीहा बनकर निखरते हैं ।”
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com