काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको नगर सभाले नयाँ आर्थिक वर्ष २०८२/८३ को को नीति तथा कार्यक्रम एवम् बजेट सर्वसम्मत पारित गरेको छ । आज असार ३२ गते बसेको १२औं नगर सभाको दोस्रो बैठकले असार १० गते नगर प्रमुख उपेन्द्र कार्कीले पेश गर्नुभएको वार्षिक नीति तथा कार्यक्रम २०८२, नगर उप प्रमुख शान्ता थापाले पेश गर्नुभएको विनियोजन विधेयक २०८२, आर्थिक विधेयक २०८२ र बजेट वक्तव्य २०८२, तथा ७ बुँदे संकल्प प्रस्तावसहित सर्वसम्मत स्वीकृत गरेको हो । नगर सभामा प्रस्तुत सबै प्रस्तावहरु उपर घनीभूत छलफलपछि सर्वसम्मत रूपमा पारित भएका हुन्।
नगरपालिकाले भोलिबाट शुरु हुने नयाँ आर्थिक बर्ष २०८२ र ८३ का लागि कूल ३ अर्ब १५ करोड, ७५ लाख रुपैयाँको बजेट प्रस्तुत पारित गरेको हो । आर्थिक वर्ष ०८२ र ०८३ का लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण संरक्षण, महिला सशक्तिकरण, प्रविधि तथा सामाजिक समावेशीकरणजस्ता विविध क्षेत्रमा प्रभावकारी र दिगो विकासका लागि बहुआयामिक नीतिहरू अवलम्बन गर्ने घोषणा समावेश गरी वार्षिक नीति तथा कार्यक्रम पेश भएको थियो ।
संकल्प-प्रस्ताव
१. शुद्ध खानेपानी वितरण, संस्कार सहितको गुणस्तरीय शिक्षा, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सुविधा, उद्यमशिलता प्रवर्द्धन, खेलकुद नगरीको विकास, व्यवस्थित वस्ती विकास, प्रविधि मैत्री र सुशासन सहितको नगरपालिका संचालन कार्यलाई उच्च प्राथमिकतामा राखी परिणाममुखी ढंगले प्रभावकारी रुपमा संचालन गर्ने ।
२. देशभरबाट यस नगरपालिकामा बसाइँसराइ गरी आउने क्रममा तीव्ररुपमा वस्ती बढी रहेको सन्दर्भमा अव्यवस्थित वस्ती विकासको सट्टा व्यवस्थित वस्ती विकासका कार्यक्रमलाई विभिन्न शहरी विकासका आयोजना, एक वडा एक नमूना वस्ती विकास कार्यक्रम, जग्गा प्लानिंग र खण्डिकरणका कार्यहरुलाई तोकिएको मापदण्ड पालना गरी मात्र संचालन गर्ने गरी सुधारका कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गरिनेछ ।
३. संघ तथा प्रदेश सरकारसंगको समन्वय र सहकार्यमा मनोहरा तथा वागमती नदीको स्वच्छता कायम गर्ने र नदि कोरिडोर निर्माण कार्यलाई प्रभावकारी रुपमा संचालन गरिनेछ ।
४. युवा, महिला तथा गृहिणी र परम्परागत रुपमा आफ्नो पेशा व्यवसाय संचालन गर्दै आएका शिल्पी समूहलाई उद्यमशीलता कार्यक्रम, स्टार्ट अप फण्ड परिचालन क्षमता अभिवृद्धि, प्रविधि हस्तान्तरण र बजारीकरणको सुनिश्चिता सहितको रोजगार मूलक कार्यक्रमहरुलाई प्राथमिकता साथ् संचालन गरिनेछ ।
५. नगरपालिकाको आन्तरिक आय वृद्धि गर्न करको दरलाई नबढाई दायरा बढाएर राजनैतिक दल, टोल विकास समिति र सम्वद्ध अन्य सरोकारवाला चेम्बर्स अफ कमर्श, उद्योग वाणीज्य संघ, कर कार्यालय र सुरक्षा निकायहरुसंग आवश्यक समन्वय गरी, व्यवसाय दर्ता तथा नवीकरण, घर वहाल कर, दहत्तर वहत्तर, जग्गा कित्ताकाट सिफारिस लगायतका क्षेत्रबाट सरल सहज र चुहावट रहित ढंगले राजश्व संकलन र वृद्धिका कार्यक्रमहरु संचालन गर्ने । राजश्व संकलनमा चुहावट नियन्त्रणका लागि प्रभावकारी अनुगमन कार्यक्रम संचालन गर्ने ।
६. पूर्वाधार विकासका कार्यक्रमलाइ गुणस्तरीय ढंगले समयमै सम्पन्न गर्नेगरी कार्यतालिका बमोजिम सम्पन्न गर्न विशेष पहल गर्ने । संघ र प्रदेश सरकारबाट यस नगरपालिका भित्रको पूर्वाधार निर्माण लगायतको क्षेत्रमा विनियोजित रकम समेत पूर्णरुपमा कार्यान्वयन गरी समयमै गुणस्तरीय ढंगले सम्पन्न गर्न आगामी आर्थिक वर्षको शुरुबाटै निरन्तर समन्वय गरेर अगाडी बढ्ने ।
७. यस नगरपालिकाको सेवा प्रवाहलाई सहज, सरल र छरितो रुपमा सम्पन्न गर्न शुरु गरिएको एकिकृत सेवा केन्द्र संचालनलाई थप प्रभावकारीरुपमा संचालन गर्दै सेवा संचालन पारदर्शी र गुणस्तरीय ढंगले सुशासनको प्रत्याभूति सहित संचालनको सुनिश्चिता गर्ने । यस क्रममा नगरपालिका अन्तर्गतका विषयगत शाखाहरुको सेवा प्रवाहलाई प्रभावकारी र परिणाममुखी बनाउन विषयगत समितिहरुलाई थप सक्रिय बनाउने । यसक्रममा आवश्यकता अनुरुप विषयगत समितिहरुको पुनरसंरचना समेत गर्ने ।
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com