काठमाडौं । कागेश्वरी मनोहरा नगरबासीले आधारभूत स्वास्थ्य सेवाका लागि अब अन्यत्र अस्पताल धाउनु नपर्ने भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाले ३ वटा स्वास्थ्य चौकीमा सुविधासम्पन्न भौतिक पूर्वाधार एवम् दक्ष स्वास्थ्यकर्मीहरुसहितको प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएसँगै चर्को शुल्क तिरेर टाढाका निजी अस्पतालमा स्वास्थ्य परीक्षण गराउनुपर्ने नगरबासीहरुको बाध्यता अन्त्य भएकोे दाबी नगरपालिकाले गरेको छ ।
नगरपालिकाको वडा नम्बर २ स्थित आलापोट स्वास्थ्य चौकी, वडा नम्बर ५ स्थित डाँछी स्वास्थ्य चौकी र वडा नम्बर ९ स्थित गोठाटार स्वास्थ्य चौकीमा हिजोबाट अत्याधुनिक प्रयोगशाला संचालनमा ल्याएको हो । ती वडासँगै छिमेकका वडाबासीहरुका लागि पनि अब सबै प्रकारका स्वास्थ्य परीक्षण गर्न नजिककै स्वास्थ्य संस्थाहरुमा सम्भव भएको हो ।
नगरपालिकाद्वारा सञ्चालित कागेश्वरी मनोहरा नगर अस्पतालको विस्तारित सेवा अन्तर्गत पहिलो चरणमा तीन वटा स्वास्थ्य चौकीको स्तरोन्नतिसँगै अत्याधुनिक प्रयोगशाला सेवा शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख उपेन्द्र कार्कीले भन्नुभयो, ‘नगरबासीहरुले टाढा र महंगो निजी अस्पताल जानुपर्ने बाध्यता अन्त्य भएको छ । अब यही उपचार सम्भव हुन्छ, अन्यत्र जानुपर्दैन भन्ने विश्वास हामीले नगरबासीहरुलाई दिलाउन सक्नुपर्छ ।’
हाम्रो योजना यिनलाई सुविधा सम्पन्न र दक्ष स्वास्थ्यकर्मीहरुसहितको मिनी अस्पतालमा परिणत गर्ने हो । यद्यपि, त्यसका लागि पहिलो शर्त नागरिकहरुको विश्वास आर्जन गर्नु हो, नगरप्रमुख कार्कीले भन्नुभयो, ‘यसमा स्वास्थ्यकर्मीहरुदेखि जनप्रतिनिधिहरु र अन्य सरोकारवालाहरुको सक्रिय, सद्भावपूर्ण र समन्वयात्मक भूमिका नगरपालिकाले अपेक्षा गरेको छ ।’
स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, पूर्वाधार विकास जस्ता अत्यावश्यक क्षेत्रमा नगरबासीहरुलाई गुनासो नगर्ने गरी सेवा प्रवाह गर्ने योजना अनुरुप नै नगरपालिकाले रणनीतिक योजनासहित काम गरिरहेको नगर प्रमुख कार्कीले बताउनुभयो । नगरबासीहरुलाई यो कुरा जानकारी गराउने, सेवामा गुणस्तरीयता थप्दै जाने कुरा अब सबैको प्राथमिकता बन्नुपर्नेमा उहाँको जोड थियो । खासगरी आधारभूत तहका नागरिकहरुलाई सर्वसुलभ, गुणस्तरीय अनि विश्वसनीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ नगर अस्पतालसँगै सबै वडाका स्वास्थ्य चौकीहरुको पनि स्तरोन्नति गर्दै लगेको उहाँले बताउनुभयो ।
‘सरकार नसक्नेहरुका लागि हो । सरकार पहुँच नपुगेका, पिछडिएका जनताको लागि हो, ’नगर प्रमुख कार्कीले भन्नुभयो, ‘हामीले त्यसरी पिधँमा परेकाहरु नगरबासीहरुको सेवा र सहजताको लागि काम गरेका छौं ।’
उहाँले थप्नुभयो, ‘सुविधा बढायौं, अब विश्वास बढाऔं ।’ सेवाग्राहीहरुको संख्या बढ्यो, विश्वास बढ्यो भने यी स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको भौतिक तथा जनशक्ति विकासका लागि स्रोत सुनिश्चित गर्न कुनै समस्या नहुने पनि नगर प्रमुख कार्कीले बताउनुभयो । निर्वाचनका समयमा नगरबासीहरुसमक्ष गरेका प्रतिबद्धताहरु क्रमशः पूरा गर्दै लाने सन्दर्भमा आजका यी सुरुवातहरु महत्वपूर्ण उपलब्धिहरु भएको दाबी उहाँले गर्नुभयो ।
कार्यक्रममा नगर उप प्रमुख शान्ता थापाले अब आधारभूत जाँच परीक्षणका लागि तीन वटै वडा र आसपासका नगरबासीहरुले नगर अस्पतालसम्म पनि जान नपर्ने अवस्था बनेको भन्दै त्यसका लागि खटिने स्वास्थ्यकर्मीहरुदेखि जनप्रतिनिधिहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । सबै स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरुले अहोरात्र खटिएर सेवा प्रवाह गरेकोमा प्रशंसा गर्दै उप प्रमुख थापाले घरदैलोमा स्वास्थ सेवा पुर्याउने योजना कार्यान्वयनमा लगिदैं गएको दाबी गर्नुभयो ।
कागेश्वरी मनोहरा नगर अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेलले नगर अस्पतालको स्तरोन्नतिसँगै अब स्वास्थ्य चौकीहरुको पनि स्तरोन्नति एवम् सेवा विस्तार हुँदै गएकोले नगरबासीहरुले अब ढुक्क भएर ती स्थानबाट सहज, सर्वसुलभ र गुणस्तरीय सेवा लिन सक्ने दाबी प्रस्तुत गर्नुभयो । उहाँले तीन वटै स्वास्थ्य चौकीहरुलाई एकीकृत प्रणालीमा आबद्ध गराइएको भन्दै सीसीटीभीबाट प्रत्यक्ष अभौतिक अनुगमनदेखि नियमित भौतिक अनुगमन तथा रिपोर्टिङको व्यवस्था मिलाइएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नगर अस्पताललाई मेडिसीटी, ग्राण्डी आदि अस्पतालले जस्तो स्वास्थ्य सुविधा उपलब्ध गराउने गरी विकास गरेका छौं, जसका कारण नगरबासीहरुको विश्वास पनि बढेको छ । अब स्वास्थ्य चौकीहरुको पनि विकास त्यसैगरी गर्दै लान्छौं हामी ।’
यसैगरी, तीन वटै वडा र छिमेकका जनप्रतिनिधिहरु तथा स्वास्थ्य चौकी प्रमुखहरुले बिस्तारित सेवाका कारण स्थानीयस्तरमै गुणस्तरीय, सहज, सर्वसुलभ स्वास्थ्योपचार सम्भव भएको बताउनुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com