काठमाडौं । सदस्य समृद्धिलाई केन्द्रमा राखेर नेचुरल बचत तथा ऋण सहकारी संस्था लि.ले ४ वर्षको रणनीतिक मार्गचित्र भर्खरै निर्दिष्ट गरेको छ । साढे १४ हजार बढी सदस्यहरुको सामाजिक आर्थिक उन्नयनमा नेचुरल साकोस कसरी महत्वपूर्ण साझेदार बन्न सक्छ भनेर भदौको २० देखि २३ गतेसम्म संस्थाका सञ्चालकहरु तथा उच्च व्यवस्थापन विज्ञसहितको सहयोग लिएर दुरगामी महत्वको रणनीति तय गर्न जुटे । तीन दिनको त्यो धुलिखेल बसाइले नेचुरल साकोसका धमनीहरुलाई स्वस्थ्य, सन्तुलित र स्थायित्व प्रदान गर्ने गरी 'डकुमेन्ट' र 'डिरेक्शन' प्रदान गरेको विश्वास संस्थाले लिएको छ ।
‘हामीले बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.(बागमती प्रोस्कून) को प्राविधिक सहकार्यमा रणनीतिक व्यावसायिक योजना (एसबीपी) निर्माण गरेका छौं,’नेचुरल साकोसका व्यवस्थापक घनश्याम नेपालले धिप्री डटकमसँग भन्नुभयो, ‘संस्थागत सुशासन र दिगोपना सुनिश्चित गर्न रणनीतिक योजना निर्माण गरेका हौं ।’
यो रणनीतिक व्यावसायिक योजना निर्माणका क्रममा संस्थाको ‘स्वट अनालिसीस’ मार्फत धेरै विषयलाई मिहिन ढंगले बुझ्ने विश्लेषण गर्ने अनि सामूहिकताको बलमा संस्थाको भविष्य दिशाबोध गर्ने काम गरेको उहाँले उल्लेख गर्नुभयो ।
‘यसले हामीलाई क्ल्यारिटी दिएको छ, ’व्यवस्थापक नेपालले भन्नुभयो, ‘हामीलाई अझ फोकस्ड, बनाएको छ अनि एकताबद्ध रुपमा रणनीतिको ध्येय, परिकल्पना, उद्देश्य र लक्ष्यहरुलाई सामूहिकताको बलमा सिद्धीप्राप्त गर्ने साधन र साध्य दुबै उपलब्ध गराएको छ ।’
व्यवस्थापक नेपालले थप चर्चा गर्नुभयो, ‘‘सदस्यहरुलाई समृद्ध बनाउँदै नेचुरल साकोसको दिगोपना सुनिश्चित गर्नुनै हाम्रो प्राथमिक उद्देश्य (प्राइमरी अब्जेक्टिभ) हो । दीर्घकालीन रणनीतिले निर्देशित गरेका आयामहरुभित्रका अवयवहरुमार्फत त्यो कसरी सम्भव छ वा कसरी हासिल गर्न सकिन्छ भनेर विधिसम्मत्, व्यावहारिक अनि वैज्ञानिक ढंगले हामीले लिपिबद्ध गरेका छौं ।’ उहाँले अगाडि थप्नुभयो,‘यो रणनीतिक दस्तावेजमा प्राण सञ्चार गर्न नेचुरलको सिङ्गो टिम प्रतिबद्ध छ ।’
बागमती प्रोस्कूनले सञ्चालन गरेको कोशिस कार्यक्रममा आवद्ध भएपछि संस्थाले धेरै कुराहरुलाई बुझ्ने, सिक्ने, सुधार्ने र व्यावहारिक कसीमा खरो उतार्ने काम गर्दै आएको व्यवस्थापक नेपालले बताउनुभयो । ‘त्यसै सिलसिलामा अब हामीले दीघर्कालीन रणनीतिक योजना तर्जुमा गरेर नै क्ल्यारिटी अफ कन्सेप्ट र क्ल्यारिटी अफ माइन्ड बनाएर जानुपर्छ भनेर रोडम्याप तयार गरेका हौं,’उहाँले स्पष्ट पार्नुभयो ।
बागमती प्रोस्कूनकै प्राविधिक सहयोगमा नेचुरल साकोसले एसबीपी तयार गरेको हो । भिजन मिसनमा बसेर कसरी काम गर्नुपर्दो रहेछ भनेर रणनीतिक योजनाले सिकाएको उहाँले बताउनुभयो ।
नेचुरल साकोसमा कार्यालय सहायकका रुपमा आवद्ध भई व्यवस्थापन प्रमुखसम्मको ११ वर्ष लामो यात्रा तय गर्नुभएका अनुभवी नेपालले भन्नुभयो, ‘यो एसबीपीले हामीलाई ‘इन्ट्रोस्पेक्ट’ मात्र होइन ‘रेट्रोस्पेक्ट’ गर्न पनि मद्दत गरेको छ ।’ वचनमा विश्वासको लेप लगाउँदै व्यवस्थापन प्रमुख नेपालले धिप्री डटकमसँग भन्नुभयो, ‘संस्थागत सपना हामीले इन्भिजनिङ गरेका छौं । सदस्यहरुको समृद्धिको उक्त योजनाभित्र संस्थागत दिगोपनाको सपना साकार हुँदै गरेको भविष्य हामीले यही एसबीपीमार्फत फरसी गरेका छौं ।’
‘सवल, सुरक्षित र सर्वोत्कृष्ट संस्था’ को परिकल्पना बोकेको उक्त रणनीति व्यावसायिक योजनाले त्यसलाई साकार बनाउन ‘प्रविधिमा आधारित वित्तीय सेवा र युवा पुस्तासमेतको सक्रिय संलग्नतामा सदस्य र समुदाय हित प्रवर्धनका लागि सन्तुष्टि र विश्वसनीयता अभिवृद्धि गर्ने’ ध्येय निर्धारण गरेको छ ।
मिसन र भिजनलाई मटेरियलाइज गर्न नेचुरल साकोसले सदस्य केन्द्रीत क्रियाकलाप, सामुदायिक क्रियाकलाप, संस्थागत विकासका क्रियाकलाप र संस्थागत दिगोपना गरी रणनीतिका ४ वटा आयाम तय गरेको छ । ती प्रत्येक आयामको ६ वटा क्षेत्र तय गरिएका छन् । र, ती प्रत्येक अन्तर्गत विभिन्न क्रियाकलापहरु निर्धारण गरिएको जानकारी व्यवस्थापक नेपालले गराउनुभयो ।
रणनीतिक मार्गचित्रले ४ वर्षमा नेचुरल साकोसको शेयर पुँजी वृद्धि गरेर २९ करोड पुर्याउने तथा बचत निक्षेप ३ अर्ब ५० करोड रुपैयाँ पुर्याउने लक्ष्य निर्धारण गरेको छ । यस्तै, हाल कायम १४ हजार ४ सय बढी सदस्य संख्या बढाएर २५ हजार र कुल सम्पति ४ अर्ब ४१ करोड पुर्याउने लक्ष्य संस्थाले निर्धारण गरेको छ भने संस्थागत पुँजीलाई ५ प्रतिशत कायम गर्ने लक्ष्य लिएको छ ।
यसैगरी, प्रविधिमैत्री सेवामा थप बिस्तार गर्ने, सूचना प्रविधिलाई सबल बनाउने, तालिम र शिक्षालाई प्रभावकारी बनाउँदै हाल कायम मानव संशाधनको ‘प्रडक्टिभीटी’ बढाउने गरी योजना निर्माण गरिएको व्यवस्थापक नेपालले बताउनुभयो ।
संस्थामा युवा र प्रविधिमैत्री पुस्ताको संख्या, संलग्नता र सक्रियता बढाउँदै लाने, जन्मदेखि मृत्युपर्यन्त र त्यसभन्दा अघिदेखिकै आवश्यकताहरुको सम्बोधन गर्न संस्थाका प्रडक्टहरुलाई पोजिसनिङ गर्ने, तिनमा सदस्य सहभागिता र अपनत्व वृद्धि गर्ने, कार्यक्षेत्रको आधारमा सदस्यहरुको अनुपात मिलाउने, राहतका प्याकेजहरुलाई प्रभावकारी बनाउने, जस्ता विषयहरु समेटिएको व्यवस्थापक नेपालले बताउनुभयो ।
व्यवस्थापक नेपालले हाल करिब ७ हजार सदस्य प्रविधिमा प्रत्यक्ष जोडिएको बताउँदै आगामी ४ वर्षभित्र करिब ९० प्रतिशत सदस्य प्रविधिमैत्री बनाउने लक्ष्य एसबीपीले लिएको जानकारी गराउनुभयो ।
कस्ता सदस्यहरुलाई संस्थाले ‘टार्गेट’ गर्ने हो र त्यो समूहको आवश्यकतालाई ‘मिट’ गर्ने वस्तु तथा सेवा विकास गर्न सक्यौं कि सकेनौं भन्ने कुरा एसबीपी निर्माणका क्रममा छलफल भएको भन्दै उहाँले उक्त छलफलले संस्थालाई ठूलो सहयोग मिलेको जिकिर गर्नुभयो । यस्तै, कार्यक्षेत्र भित्रको बढीभन्दा बढी जनसंख्यालाई जोड्दै जाने योजना पनि बुनिएको छ ।
‘सामुदायिक क्रियाकलापहरुलाई जर्बजस्त बनाउने, आधारभूत आवश्यकतासँग जोडेर नेचुरल कसरी जोडिन सक्छ, के योगदान गर्न सक्छ भनेर हामीले योजना बनाएका छौं, ’व्यवस्थापक नेपालले सुनाउनुभयो, ‘हरेक सेवा केन्द्रमा गरिदै आएका सामुदायिक संलग्नता वा सिएसआर (सहकारी सामाजिक उत्तरदायित्व) का गतिविधिहरुलाई पनि सदस्य र समुदायले फिल गर्ने गरी परिचालन गर्ने नीति तय गरेका छौं ।’
सदस्य लाभान्वित हुने सामुदायिक क्रियाकलापमा नेचुरलको सधै साथ सहयोग र सहकार्य रहँदै आएको व्यवस्थापक नेपालले बताउनुभयो । ‘अब हामीले सदस्य सेवा प्रमुख नै राखेर फरक तरिकाले जान खोजिरहेका छौं । यसको उद्देश्य भनेको सदस्यहरुलाई बढीभन्दा बढी सेवा कसरी प्रवाह गर्ने भन्ने नै हो,’ उहाँले भन्नुभयो, ‘सदस्य केन्द्रीत क्रियाकलापहरुमा नै हाम्रो मुख्य जोड हो । समुदाय केन्द्रीत हो । सदस्य समृद्ध बनाउने र संस्था दिगो बनाउने नै मुख्य सपना हो ।’
सदस्य सन्तुष्टि झै कर्मचारी सन्तुष्टिलाई पनि एसबीपीले महत्व दिएको व्यवस्थापक नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग भएका ९१ जना कर्मचारीलाई दक्ष बनाउँदै लान्छौं । समयानुकूल र आवश्यकतामा आधारित तालिम र शिक्षामार्फत प्रडक्टिभीटी बढाउँछौं । सोही अनुसार सेवा सुविधा पनि बढाउँछौं । कर्मचारी सन्तुष्टि पनि संस्थागत सफलताको आधार हो भन्ने हामीले बुझेका छौं ।’
नेचुरलले एसबीपीमा अटाएको अर्को महत्वपूर्ण विषय भनेको लगानीको सुरक्षा र प्रतिफलको सुनिश्चितता हो । सुरक्षित ऋण लगानी, क्षमतामा आधारित ऋण लगानी, उत्पादनमूलक क्षेत्रमा अधिक ऋण लगानी, ससाना ऋण धेरै सदस्यहरुमा लगानी जस्ता मूलभूत विषयहरु अब संस्थाको लगानीको प्राथमिकता हुने व्यवस्थापक नेपालले बताउनुभयो । त्यसैगरी, बहुआम्दानीका श्रोतहरु विकास गर्न सदस्यहरुलाई सम्भावित लगानीका रेडिमेड टेम्प्लेटहरु उपलब्ध गराउने गरी काम अघि बढाउने उहाँले जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘ठूला कर्जाहरुलाई कटौती गर्दै लाने, आयश्रोत बढाउने, ऋणले अझ ऋणी होइन धनी बनाउने गरी योजनामा लगानी गर्ने, सदुपयोगिता जाँच गर्ने, ऋण विश्लेषण गर्ने, आदि कुरामा नभएका कार्यविधिहरु बनाउने र भएकालाई समयसापेक्ष संशोधन गर्दै लाने योजना हामीले कोरेका छौं ।’
नेचुरल साकोसले आकाश डिजिटलको डीएमएस सेवामार्फत कार्यालयका महत्वपूर्ण कागजातहरु व्यवस्थापन गर्दै आएको छ । निकट भविष्यमै अनलाइन मार्फत ऋण माग गर्ने सुविधा उपलब्ध गराउने तयारी रहेको भन्दै व्यवस्थापक नेपालले मुद्दती निक्षेपका आधारमा भने घरबाटै ऋण माग गर्न सक्ने र कार्यालयमा अप्रभु गर्ने काम भैरहेको जानकारी गराउनुभयो । हाल ८ वटा बैंकबाट सिधै नेचुरलको खातामा झन्झटरहित तरिकाले पैसा पठाउन सकिने र सँगै खल्ती, कनेन्ट आइपिसको सुविधा पनि रहँदै आएको उहाँले बताउनुभयो ।
चुनौतीहरुको कुरा गर्दा, सहकारी क्षेत्रकै समग्र छविमा प्रश्न चिन्ह लागेको पूर्णत अस्विकार गर्न सकिन्न । केही सहकारीहरुका कारण समग्र सहकारी क्षेत्रप्रति नै आशंकाहरु बढेका छन् । त्यो चिर्नुपर्छ । सहकारीहरुमा एकरुपता नहुनु, केही बदमासी गरेका सहकारीहरुका कारण छविमा समस्या भएका विषयहरु एसबीपी निर्माणकाा क्रममा प्रशस्त उठेको र तिनलाई केलाइएको उहाँले सुनाउनुभयो ।
कार्यक्षेत्रभित्रका सहकारीहरुमा सदस्य सेवामा भन्दा ब्याजदरमा व्याप्त अस्वस्थ्य प्रतिस्पर्धालाई नेचुरल साकोसले चुनौतीका रुपमा विश्लेषण गरेको उहाँले बताउनुभयो । यी आशंकाहरु हटाउन सदस्य शिक्षा र बिस्तारित मञ्चहरुको व्यापकता पाउने उहाँले सुनाउनुभयो ।
छविकै कुरा गर्दा, ब्राण्डिङमा अब नेचुरलको जोड हुने व्यवस्थापक नेपालले उल्लेख गर्नुभयो । ‘अब हाम्रो कामनै ब्राण्डिङमा हो’ उहाँले हाँस्दै भन्नुभयो, ‘एउटा भनेको समुदायस्तरमा चियापसलमा बसेर कुरा गर्दा नेचुरल साकोसका बारेमा दुई चारवटा राम्रा कुराहरु सदस्य र सम्भावित सदस्यले गर्ने वातावरण निर्माण पहिलो हो । असली ब्राण्ड भनेको त्यो हो र अर्को भनेको स्तरीकरण कार्यक्रममार्फत पनि ब्राण्ड लिने विषयमा हामी गम्भीर छौं ।
छुट्टिने बेलामा व्यवस्थापक नेपालले पुनः प्रतिबद्धता व्यक्त गर्नुभयो, ‘मुलुककमा व्याप्त प्रतिकूलताकाबीच सम्भावनाहरु सँगाल्दै सदस्य र समुदायमा आशाको सञ्चार गर्ने क्षेत्रमध्ये संविधानले नै चिनेको सहकारी क्षेत्र नै हो भन्ने प्रमाणित गर्न पनि हामीले सुशासन, दिगोपना, व्यावसायिकता र संस्थागत वृद्धिमा ठोस काम गर्नै पर्ने भएकाले प्रारम्भिक संस्थाको रुपमा हाम्रो भूमिकालाई प्रमाणित गर्न पनि यो रणनीतिक योजना अपरिहार्य थियो त्यसैले समयमै बनाएर अब हामी यसलाई मटेरियलाइज गर्न लागिपर्नेछौं ।’
नेचुरल साकोसले निर्माण सम्पन्न गरेको २०८२/८३ देखि २०८५/८६ सम्मको एसबीपीलाई अब बस्ने संस्थाको सञ्चालक समितिले अनुमोदन गरे लगत्तै कार्यान्वयनमा जाने व्यवस्थापक नेपालले धिप्री डटकमलाई जानकारी गराउनुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com