जयराम बिडारी, जेठ १७,काठमाडौँ । साहित्यिक क्षेत्रमा विशेष गरी कथा लेखनमा सक्रिय सर्जकहरूको समूहले समकालीन कथाहरुको विवेचना गर्ने क्रममा कथाकार केदार सङ्केतको कथासङ्ग्रह 'अन्तिम साँझ' माथि परिचर्चा सम्पन्न गरिएको छ ।
मिलाप पब्लिकेशनद्वारा हालसालै प्रकाशन गरिएको सङ्केतको कथासङ्ग्रह 'अन्तिम साँझ' रमेश विकल साहित्य प्रतिष्ठानको सहकार्यमा आरुबारी बौद्धमा एक विशेष कार्यक्रमको आयोजना गरि परिचर्चा गरिएको छ ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै रचना द्वैमासिक साहित्यिक पत्रिकाका समपादक प्रतीक घिमिरेद्वारा आमन्त्रित अभ्यागतलाई स्वागत गरेसँगै औपचारिक सत्र सुरु भएको थियो । सोही क्रममा रमेश विकल साहित्य प्रतिष्ठानका सचिव आलोक चालिसेद्वारा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार एवं साहित्यकार श्रीराम सिंह बस्नेतले कृतिको समग्र समीक्षा गर्दै 'अन्तिम साँझ' भित्र फरक शैली, धार र यौन मनोविज्ञानका विषयहरू समेटिएको बताए । सङ्ग्रहभित्रका 'डा.राहुलको धन्दा' र ‘हनी विथ रम’ जस्ता रचनाहरूमा अपराध प्रवृत्तिको मनोविज्ञान, युद्ध साहित्य र प्रयोगधर्मिताको सुन्दर मिश्रण रहेको उनको कथन थियो । बस्नेतले कतिपय कथाहरू मदनमणि दीक्षितका ग्याँस चेम्बर जत्तिकै शक्तिशाली र सार्थक रहेको टिप्पणी गरे । कथामा प्रयुक्त 'रासिजा' र 'हिमार' जस्ता अफगानी स्थानीय लवजका शब्दहरूले कथाको प्रयोगधर्मितालाई अझ बलियो बनाएको उनको भनाइ थियो । 'मायामा जातीयताको महत्त्व हुन्न' भन्ने प्रसङ्गलाई समर्थन गर्दै उनले मानव-मानवबीच जातीय विभेद रहन नहुने विचार व्यक्त गरे । कतिपय कथाका शीर्षकहरूलाई अझै ओजपूर्ण बनाउन सकिने र सम्पादन पक्षलाई थप सबल बनाउनुपर्ने सुझाव दिँदै बस्नेतले कृतिको सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा भौतिक रूपमा उपस्थित हुन नसके पनि कथाकार केदार सङ्केतले प्रविधिमार्फत आफ्नो लेखकीय सन्देश सम्प्रेषण गरेका थिए । लेखकले आफ्ना भावना र विचार सिर्जनाका माध्यमबाटै अभिव्यक्त गर्ने हुनाले धेरै बोलिरहनु नपर्ने धारणा व्यक्त गरे । सार्वजनिक सम्पत्तिका रूपमा पाठकमाझ समर्पित भइसकेको 'अन्तिम साँझ' माथि विद्वतजन, समीक्षक र पाठकहरूबाट प्राप्त हुने वस्तुपरक प्रतिक्रियाले नै आफ्नो आगामी लेखन यात्रालाई मार्गनिर्देश गर्ने विचार सङ्केतले व्यक्त गर्दै परिचर्चामा समुपस्थित सवैमा आभार व्यक्त गरे ।
'अन्तिम साँझ' माथि केन्द्रित रही घनीभूत छलफल गर्ने क्रममा कथा साहित्यमा सुपरिचित मन्दिरा मधुश्रीले कथासङ्ग्रह भित्रको ‘सिङ्गापुरे सारी’ को बहुआयामिक पक्ष र विषयवस्तु माथि प्रकाश पारिन् । उनले कथामा आञ्चलिकताको सुन्दर प्रयोग र सांस्कृतिक जनजीवनका जीवन्त विषयवस्तुको उठानले कथालाई न्याय गरेको दर्शाउँदै सङ्केतको लेखन कर्मले निरन्तरता पाइराखोस् भन्ने शुभकामना व्यक्त गरिन् । यसैगरी ग्याब्रियले कथासङ्ग्रका कथाकार हरिश कल्पितले सुन्दर ढङ्गले बुनिएको अनि रहस्यले भरिएको कथा ‘फ्रेडको घरको त्यो छायाँ’ माथि प्रकाश पर्दै रहस्योद्घाटनबिना कथा टुङ्गिएको बताउँदै कौतुहलको पर्दाफास हुन सकेको भए कथा अझै सफल अनि पाठकहरु सन्तुष्ट हुने विचार व्यक्त गरे ।
'सम्बन्धको जगेर्ना’मा समीक्षक प्रमोद प्याकुरेल भन्छन् कथामा ‘के खोज्छस् भक्त देवता’ अनि मायामा डुबेपछि जातकों अर्थ हुन्न जस्ता सशक्त वाक्य संरचनाले कथालाई मजबुत बनाएको बताए । उनले कथामा सङ्केतले सम्बन्धको महत्त्वलाई निकै सार्थक रूपमा उजागर गरिएको बताउँदै यद्यपि, सम्पादनको पक्षमा अझ बढी ध्यान दिन सकेको भए कृतिले सबलता प्राप्त गर्ने औंल्याए ।
कार्यक्रमका सहजकर्ता एवं समीक्षक दीपक लोहनीले अनुसार 'अन्तिम साँझ' माथि प्रकाश पार्दै अफगानी रणमैदान लेखेर चर्चा बटुलेका केदार युद्धको परिवेश चित्रणमा सफल कारिगर रहेको बताए । पीडा, र आफ्नी पत्नीको मृत्युमा पनि युद्धको छायाँमा परेर ज्यादती भोग्नुभन्दा आफ्नी पत्नीको मृत्युमा पनि खुशी मान्नुपर्ने परिवेशलाई कारुणिक पाटोलाई जीवन्त रुपमा प्रस्तुत गर्ने शील्प संयोजन कथाको बलियो पक्ष रहेको बताए । लेखकको यो लेखन शैलीलाई नारायण ढकाल र ध्रुवचन्द्र गौतम जस्ता समकालीन लेखकहरूसँग तुलना गर्न सकिने उल्लेख गरे ।
सोही क्रममा डा.भीमबहादुर श्रेष्ठले सुनकोशी नदी र सुनुवारहरूको सभ्यताको पर्यायवाचीका रूपमा रहेको ‘सुनकोशी नदीको कथा’आएको बताए । कथ्य आधारमा कोरिएको मुन्धुम सभ्यतालाई उजागर गर्दै खुवालुङ, संस्कृति र प्रकृतिपूजक हिसाबले पर्यावरणमा परेको प्रभावलाई यसले निकै कुशलतापूर्वक प्रस्तुत गरेको उल्लेख गर्दै महत्वाकांक्षाको उडान हुँदाहुँदै पनि यथार्थको धरातलमा उभिनै पर्ने सन्देश दिएको बताए । कार्यक्रममा भौतिक रुपमा उपस्थित हुन असमर्थ रहेका कुमार काफ्लेले प्रविधिको प्रयोग मार्फत ‘शान्तिको खोजी’ कथामाथि प्रकाश पार्दै विज्ञान र दर्शनको फरक पाटोलाई स्पष्ट रूपमा उठान गरेको बताउँदै जसलाई समाजशास्त्रीय दृष्टिकोणले अत्यन्तै सार्थक कथा मानिएको बताए ।
यसैगरी डा.पवित्रा अधिकारीले सर्जकहरूबीच विचार-विमर्श, कृति परिचर्चा तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले सुरु गरिएको यस्ता कार्यक्रममा स्रष्टा तथा समीक्षक र समालेचकहरुको साझा थलोको रुपमा विकास भइरहेकोमा सन्तोष व्यक्त गरिन् । विशेष गरी केदार सङ्केतकृत कथा सङ्ग्रह 'अन्तिम साँझ' भित्र समेटिएको कथा ‘उर्मिला उर्फ रोनी’ बारे बोल्दै सङ्केतको बाल कथा लेखनको क्षमतालाई प्रष्ट पार्दै घनीभूत छलफल गरिन् ।
सोही अवसरमा ‘म्यान्सभित्र पहिचानको मृत्यु’ कथा माथि बोल्दै विश्व कुईकेलले पहिचानको मृत्यु र मान्छेको अस्तित्वको सङ्कटलाई यस कथाले बेजोड रुपमा उठाएको बताए । जहाँ 'मान्छेको जाति बाहेक अन्य जातियताको गुन्जायस रहँदैन' भन्ने मूल मर्म प्रस्तुत गरिएको बताए । उनले कथा निकै रोचक र पाठकका लागि सङ्ग्रहणीय रहेको बताए ।
कार्यक्रमको सुखद समापनको अवसरमा समीक्षा पुस्तिका रमेश विकल साहित्य प्रतिष्ठानका ज्येष्ठ सदस्य रामप्रसाद पौडेललाई हस्तान्तरण गरिएको थियो भने सहभागी समीक्षकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । उपस्थित स्रष्टाहरूले लेखकका लागि यस्तो रचनात्मक, निष्पक्ष आलोचना र आत्मसमीक्षा सधैँ एउटा 'मन्दिर' जत्तिकै पवित्र र आवश्यक रहने निष्कर्ष निकाल्दै कार्यक्रमको विसर्जन गरिएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com