प्रस्तावना
वित्तीय सहकारी क्षेत्रमा पछिल्लो तीन दशकमा भित्रिएका विकृतिहरुको ‘एकीकृत प्याकेज’ सरोकारवालाहरुको समसामयिक चिन्ताको विषय बनेको छ । विकृतीका प्रमुख श्रोतमा सहकारीका मुख्य सरोकारवाला पक्ष नै रहेका छन् । विकृती भित्र्याने सहकारीमा बचत तथा ऋणको कारोवार गर्ने साथै वित्तीय कारोवारमा केन्द्रित बहुउद्देश्यीय, कृषि वा अन्य नाममा सञ्चालित सहकारी समेत रहेका छन् । सहकारीका विकृतीमा मूलतः विभिन्न प्रलोभन मार्फत संकलन गरिएको बचत रकम दुरुपयोग, निजी उपभोग तथा मनोरञ्जन, ठगी, अनुत्पादक क्षेत्रमा लगानी, निजी व्यापार वा व्यवसाय र आफन्त तथा नातागोताका नाममा लगानी नै प्रमुख रुपमा रहेको देखिएको छ । विभिन्न पक्षहरुबाट श्रृजित सहकारी विकृतीको दोषरोपणका श्रृंखला कायम रहेका बेला पीडित बचतकर्ता थप अन्यौलमा रहेका देखिन्छन् । बढ्दै गएको वित्तीय कारोवार समयमै नियमन तथा सुपरिवेक्षण गर्न नसक्दा र कस्तो संस्थामा बचत राख्ने भन्ने सन्दर्भमा बचतकर्ता सचेत नहुँदा सहकारीको बचत फिर्ता सम्बन्धी विषयले सरोकारवालामात्र नभएर समग्र जनतालाई समेत पिरोल्दै आएको छ ।
पछिल्ला केही बर्षमा बचतकर्ताको बचत फिर्ता गर्न असमर्थ देखिएका सहकारी मुलतः सहकारी मुल्य, मान्यता, सिद्धान्त र उद्धेश्य प्राप्तीमा प्रारम्भदेखि नै सञ्चालन नभएका संस्था हुन् भन्ने कुरामा द्विविधि छैन । क्रोनिक रुपमा प्रलोभन देखाई बचत संकलन गरी व्यक्तिगत तवरबाट सञ्चालित सहकारीमा विभिन्न प्रकारका चूनौती देखिएका हुन् । सहकारीका बचत रकम दुरुपयोगका लक्षण देखिएको पनि तीन दशक पुरा भईसकेको छ । पछिल्लो समयमा सहकारीका समस्या र विकृतीको आयतन बढ्दै गएको कुरा सार्वजनिक भएकै विषय हो । २०५० सालको दशकदेखि सहकारीको वित्तीय कारोवारमा वृद्धि भएसंगै बढेका वेथिती यथासमयमा नियमन तथा सुपरिवेक्षणका माध्यमले नियमित तथा नियन्त्रण गर्नुपर्ने विषय क्रमशः न्यून प्राथमिकतामै राखिएको र यही सुपरिवेक्षकीय अन्तराल (Gap) र फेला परेका विकृति समेत विभिन्न अनुत्तरदायी प्रवृत्ती र प्रलोभनले 'रुटओभर' गरेको कुरा सहकारीमा भएका वेथिती जाँचवुझ आयोग, २०८२ को प्रतिवेदनले उजार गरेको छ । यस प्रसंगमा समस्याग्रस्त र संकटग्रस्त सहकारीका बचतकर्ताको बचत रकम फिर्ता सम्बन्धि विषयको विश्लेषण सहित सहकारी समस्याको स्थायी बन्ध्याकरणका वहुआयामिक उपायको चर्चा गर्नु यस लेखको उद्देश्य रहेको छ ।
सहकारी समस्याको प्रवृत्ती
कतिपय सहकारीमा लामो समयदेखि कार्यकारी सञ्चालक/अध्यक्षबाट सदस्यको बचत रकम दुरूपयोग एवम् ठगी, सहकारीको नियामकीय र सुपरिबेक्षकीय कार्यमा सहकारी विभागको कार्यसम्पादनको अवस्था कमजोर, सहकारी मूल्य, मान्यता, सिद्धान्त र कानून पालनामा सहकारीका सञ्चालकको कमजोरी तथा लापरवाही, आवश्यकता अध्ययन नगरी दर्ता भएका ठूलो संख्याका सहकारीका कारणले सहकारीविच बढ्दो अस्वस्थ प्रतिस्पर्धा, कमजोर सहकारी साक्षरता, सहकारीमा जिम्मेवार सदस्यको सट्टा स्वार्थी, लोभी, अल्पकालीन लाभग्राही, प्रलोभनमा लोभिने र अनुत्तरदायी व्यक्तिहरुको सहभागीता, अधिकाँश ठूला सहकारी ऋणी सदस्यको नियन्त्रणमा, साधारण सभा नगर्ने वा विधिपूर्वक नगर्ने बढ्दो प्रवृत्ती, संस्थाको लगानी सञ्चालक वा निजका घरपरिवार वा आफन्त संलग्न निजी कम्पनीमा प्रवाह, अधिकाँश सहकारीको लगानी घरजग्गा व्यावसायमा केन्द्रित, विगतमा भएका कतिपय अनुगमन प्रतिवेदन कार्यान्वयन र कारवाही गर्न सहकारी विभागको उदासिनता, बढ्दो सुशासकीय सङ्कट, अपारदर्सिता र गैरसदस्यसंगको वित्तीय कारोवारका कारणले सम्पत्ती शुद्धिकरणको सम्भावना, सहकारीको दर्ता, सम्पत्ती खरिद, कार्यक्षेत्र तथा सेवाकेन्द्र विस्तार, संस्था अनुगमन, आदिका क्रममा विकृति, पूँजीकोषको सिमाभन्दा बढी ऋण लगानी, व्याज पूँजीकरण, व्याजदरमा विभेद, चर्को व्याज तथा सेवाशुल्क, समदरमा ऋणको व्याज निर्धारण, सिमिति व्यक्तिमा अपारदर्सि ऋण लगानी केन्द्रिकरण, विधि, कानून, प्रकृया र आवश्यक कागजपत्रको व्यवस्था र धितोविना ठूलो रकमको ऋण लगानी, बढ्दो अपारदर्सिता (वेभसाईट, बार्षिक प्रतिबेदन प्रकाशन, वित्तीय विबरणको अनुसूची, सामाजिक सञ्जाल), आदि प्रकारका सहकारी समस्याका प्रवृत्ती देखा परेका छन् ।
बचतकर्ताको रकम फिर्तामा समस्या, सदस्यको सम्पत्ति जोखिममा पर्नु, ऋण असुली कमजोर हुनु, संस्थाको सम्पत्ति र दायित्वबीच असन्तुलन बढ्नु तथा कतिपय संस्थाको अस्तित्व नै संकटमा पर्नु सहकारी विकृतीले निम्त्याएका परिणाम हुन्। इमानदार सहकारी संस्थामाथि समेत अविश्वास बढ्नु, सहकारी अभियानको विश्वसनीयता कमजोर हुनु र सदस्यीय सहकारिताको मूल अवधारणामाथि नै प्रश्न उठ्नु सहकारी समस्याका अप्रत्यक्ष परिणाम हुन् । तसर्थ, सहकारी संकटमा परेपछि मात्र नियमन गर्ने होइन, संकट आउनुअघि जोखिम पहिचान गरी हस्तक्षेप गर्नसक्ने नियमन आवश्यक छ। सहकारी समस्यालाई समयमै स्थायी ढंगले समाधान गर्न नसकेमा समस्याको पुनरावृत्ती हुनसक्ने सम्भावना रहन्छ ।
सहकारी क्षेत्रमा २०५० सालको दशकदेखि शुरु भएका विभिन्न प्रकारका समस्या अध्ययन गरी सुझाव पेश गर्न धेरैपटक आयोग, कार्यदल तथा समिति गठन भई पेश भएका सुझाव तथा सिफारिसका साथै धेरै पटक सरकारको वार्षिक वजेट तथा कार्यक्रम र नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा उल्लेख भएको नीतिगत व्यवस्था कार्यान्वयन यथोचित रुपमा हुन नसक्नाले पनि समस्यामा कमी आउन सकेन। मूलतः सबै सिफारिस र नीतिगत व्यवस्थामा बढ्दो रुपमा रहेको सहकारी वित्तीय कारोवारको प्रुडेन्सियल नियमन र प्रभावकारी सुपरिवेक्षण संयन्त्रको विकास गर्ने सम्बन्धी सुझाव रहेको देखिन्छ ।
सहकारीका बचतकर्ताको बचत फिर्ताको पृष्ठभूमि
पछिल्ला केही बर्षमा नेपालका कतिपय सहकारीको मूल समस्या सञ्चालक वा निजका आफन्त, साथिभाईका निजी रियल स्टेट कम्पनी, होटल तथा रिसोर्ट, अस्पताल, विद्यालय तथा कलेज, हवाई सेवा तथा यातायातका कम्पनी, टेलिभिजन/एफ.एम., मिडिया हाउस, कन्सल्टेन्सि कम्पनी, हाईड्रो कम्पनी, ईन्भेष्टमेन्ट कम्पनी, आदिमा गरेको लगानीको वजार मूल्यमा आएको गिरावट हो; साथै गिरावट आएको मुल्यमा समेत त्यस्ता सम्पत्ती विक्ने सहज अवस्था देखिँदैन । कतिपय सहकारीको ऋण लगानी अवास्तविक वा फिक्टिसियस मात्र नभई ऋण लगानीको डकुमेन्टेसन र कानूनी प्रकृया समेत पूरा नभएको समेत पाईएको छ । कतिपय समस्यामूलक सहकारीमा काल्पनिक सदस्य वा ऋणी, नक्कली धितो, काल्पनिक धितो मूल्यांकन, काल्पनिक ऋण लगानी, काल्पनिक र अपर्याप्त कागजात वा प्रकृया समेत देखापरेका छन् । सम्पत्ती र दायित्वको असन्तुलन देखा परी सहकारीको बचत फिर्तामा जटिलता उत्पन्न हुनुका कारणहरुमा कमजोर वा खराव वा अपुग धितो, विनाधितो ठूलो रकम ऋण लगानी, सम्पत्तीको बजार मूल्यमा आएको गिरावट, ऋण लगानी गर्दा आम्दानी र नगद प्रवाहको वेवास्ता, बचत र ऋण लगानी अवधीवीचको असन्तुलन, अनुत्पादक क्षेत्रमा ऋण लगानी, निश्चित व्यक्तिमा कर्जाको केन्द्रिकरण, आदि रहेको छ ।
कतिपय सहकारीका सञ्चालक फरार छन्, कतिपय सहकारीका सञ्चालक वा कार्यकारी प्रमुख हिरासतमा रहेका छन्, संस्थाको ऋण लगानी तिनै सञ्चालकको एकल स्वामित्व भएका कम्पनी वा व्यवसायमा गरिएको छ, जसको धितो जमानत भरपर्दो रहेको देखिँदैन । सञ्चालक बाहेकका व्यक्तिलाई गरिएका ऋण लगानी समेत सन्तोषजनक रुपमा असुलउपर भएको पाईदैन । समस्याग्रस्त र संकटग्रस्त सहकारीको सबै बचत रकम फिर्ता गर्न त्यस सहकारीको ऋण लगानी, रिजर्भ कोष र संस्थाको स्थिर सम्पत्ती आदिले धान्न नसक्ने व्यहोरा पनि संसदीय छानवीन समितिको प्रतिवेदनले औंल्याएको छ । यस अवस्थामा बचत फिर्ता गर्ने कार्य सरोकारवालाहरुको चिन्ताको विषय बनेको हो।
सहकारीका बचतकर्ताको बचत फिर्ताको कानूनी व्यवस्था
सहकारी ऐन, २०७४ (पहिलो संशोधन) को दफा १०३ज. को उपदफा २ खण्ड ङ मा निश्चित अवधी तोकी बचतकर्ताको बचत रकम फिर्ता गर्न आदेश दिने, खण्ड छ मा सो आदेश वमोजिम बचत फिर्ता गर्न असहयोग गरेमा त्यसो गर्ने सञ्चालक वा कर्मचारी वा सहकारीको सम्पत्ती अपचलन गर्ने वा दुरुपयोगकर्ताको चल अचल सम्पत्ती सम्पत्ती रोक्का गर्ने, विदेशयात्रा प्रतिवन्ध लगाउने, खण्ड ज मा कानून वमोजिम कारवाहीका लागि नेपाल प्रहरीलाई लेखी पठाउने अधिकार प्राधिकरणलाई दिईएको छ ।
सहकारी ऐन, २०७४ (पहिलो संशोधन) को दफा १०४ वमोजिम समस्याग्रस्त घोषणा भएका सहकारीका हकमा दफा १०५ वमोजिम गठीत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले दफा १०६ को खण्ड छ, ज र ठ वमोजिम समस्याग्रस्त सहकारीको नाममा रहेको वा धितोमा रहेको सम्पत्ती लिलाम विक्रि गरी वा असुलउपर गरी खण्ड ञ र ढ वमोजिम बचतकर्ताको बचत फिर्ता गर्ने व्यवस्था रहेको छ । ऐनको दफा १०५ वमोजिम नेपाल सरकारले वा प्रदेश सरकार वा स्थानीय तहले गठन गर्ने समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीलाई आफ्नो जिम्मामा दिई विधि र कानूनी प्रकृया पूरा गरी सहकारीका बचतकर्ताको बचत रकम फिर्ता गर्ने व्यवस्था रहेको छ । ऐनको दफा १०८क. को उपदफा १ वमोजिम समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्दा रु.५ लाखसम्मको बचत रकमलाई पहिलो प्राथमिकतामा राख्ने व्यवस्था रहेको छ ।
समितिले सोही व्यवस्थाका आधारमा समस्याग्रस्त सहकारीबाट ऋण असुली, धितो वापतको सम्पत्ती लिलामी र संस्थाको सम्पत्ती विक्रि आदिबाट रु.५ हजारदेखि रु.१ लाखसम्मको बचत रकम फिर्ता गर्दै आएको छ । उपदफा २ मा प्रतिसदस्य रु.५ लाखभन्दा बढी रकमको बचत फिर्ता गर्दा मापदण्ड वमोजिम समानुपातिक रुपमा फिर्ता गर्ने व्यवस्था उल्लेख भएको छ । ऐनको दफा १०८ख.मा नेपाल सरकारबाट प्राप्त रकम, सम्बन्धित संस्थाबाट शोभर्ना वापत फिर्ता भएको रकम र अन्य श्रोतबाट प्राप्त रकमबाट समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत रकम फिर्ता गर्न एक चक्रिय कोषको व्यवस्था समेत गरिएको छ ।
समस्याग्रस्त घोषणा नभएका सहकारीबाट बचत फिर्ता
समस्याग्रस्त घोषणा नभएका तर बचत फिर्ता गर्न असमर्थ, सञ्चालकहरु सम्पर्कमा नभएका, संस्था नियमित सञ्चालनमा नरहेका, विनाधितो वा कमसल धितोमा लगानी गरिएका ऋण लगानीबाट असुली कमजोर रहेका कारणले नगद प्रवाह कमजोर भएका सहकारीबाट बचत फिर्ता गर्ने कार्य थप जटिल रहेको देखिन्छ । सहकारीले बचत फिर्ता नगर्दैमा वा फिर्ता गर्न असमर्थ हुँदैमा संस्था स्वतः समस्याग्रस्त घोषणा हुँदैन । सहकारी समस्याग्रस्त घोषणा हुन लामो र जटिल कानूनी प्रकृया र समय व्यतित गर्नुपर्ने हुन्छ ।
समस्याग्रस्त घोषणा नभएका सहकारीका बचतकर्ताले सुरुमा संस्थासमक्ष लिखित रूपमा बचत फिर्ताको माग गर्नुपर्छ । संस्थाले माग सम्बोधन नगरेमा सहकारीको कार्यक्षेत्र र नियमनको अधिकारअनुसार सम्बन्धित रजिस्ट्रार, स्थानीय तह, प्रदेश वा राष्ट्रिय सहकारी नियमन प्राधिकरणसमक्ष उजुरी दिन सकिन्छ । सहकारी ऐन अनुसार बचत फिर्ता गर्न नसकेका जुनसुकै सहकारीका बचतकर्ताले प्राधिकरणमा उजुरी दिने व्यवस्था पनि रहेको छ । यस्तो अवस्थामा प्राधिकरणले सम्बन्धित सहकारीलाई बचत फिर्ताको निर्देशन दिने व्यवस्था रहेको छ ।
सहकारीको बचत फिर्ता पाउने प्रक्रिया संस्थाको वित्तीय क्षमता वा नगद प्रवाहको स्थितीमा निर्भर हुन्छ । बचतकर्ताले आफ्नो रकमको प्रमाण सुरक्षित राख्ने, संस्थाको अवस्था बुझ्ने, सम्बन्धित नियामक निकायमा उजुरी गर्ने र मागदाबीका लागि जारी गरिएका सूचनाको समयसीमा पालना गर्नु आवश्यक छ । कानुनी व्यवस्था भए पनि संस्थाको सम्पत्ति तथा ऋण असुलीबाट पर्याप्त रकम जुट्न नसकेमा बचत फिर्तामा ढिलाइ हुनसक्छ । त्यसैले बचतकर्ताले आफ्नो दाबी आधिकारिक रूपमा दर्ता गराउनु र त्यसको अवस्थाबारे नियमित जानकारी लिनु महत्वपूर्ण हुन्छ ।
सहकारीको बचत फिर्ताका सम्बन्धमा केही अन्तर्राष्ट्रिय उदाहरण
केही मुलुकमा सहकारी संकट देखापर्दा पहिल्यै बनेको ‘निक्षेप सुरक्षाकोष (Deposit Insurance)’ बाट फिर्ता गरिएको छ भने संकट चरम अवस्थामा पुगेका बखत सरकारले ग्यारेन्टी, अस्थायी तरलता सहायता (Short-term Liquidity Facility), मर्जर र बेलआउट दिएका उदाहरणहरू पनि छन्। अमेरिकामा सन् २००८-२०१० मा Mortgage-Backed Securities मा लगानी गरेका ५ वटा ठूला सहकारी संकटमा पुगे। त्यसपश्चात त्याहाँको एक संघीय स्वायत्त एजेन्सी National Credit Union Administration (NCUA) ले ती सहकारीलाई संरक्षकत्वमा लियो र लिक्वीडिसन गर्यो । साधारण बचतकर्तालाई सरकारले सिधै पैसा नदिई NCUSIF (National Credit Union Share Insurance Fund) बाट भुक्तानी गरियो। घाटा पूर्ति गर्न सबै स्वस्थ क्रेडिट युनियनमाथि Special Assessment/प्रिमियम लगाइयो। पछि दोषी बैंकहरूमाथि मुद्दा हालेर पैसा उठाइयो। क्रेडिट युनियनहरूले नै तिरेको बीमा प्रिमियमबाट उठेको पैसा NCUA लाई अमेरिकी ट्रेजरीबाट आपतकालीन ऋण लिने अधिकार थियो, तर अन्तिम घाटा सरकारले नभई सहकारी प्रणालीले नै बेहोर्यो।
भारतमा सन् २०१९-२०२२ मा पञ्जाब एण्ड महाराष्ट्र को-अपरेटिभ (PMC) बैंकले HDIL नामक एकै कम्पनीलाई करिब भा.रु. ६,५०० करोड (कुल सम्पत्तिको ७३%) ऋण प्रवाह गरेपश्चात संकट शुरु भएको थियो। संकटको प्रभाव अन्य २१ वटा सहकारी बैंकमा फैलिएपश्चात बचतकर्ताको बचत फिर्तामा लामो समय लाग्ने हुँदा मोराटोरियम लागेको ९० दिनभित्रै बचतकर्तालाई प्रति व्यक्ति अधिकतम रु.५ लाखसम्म अन्तरिम भुक्तानी गर्ने व्यवस्था बनाइयो। PMC लाई २५ जनवरी २०२२ मा Unity Small Finance Bank मा गाभियो। भा.रु. ५ लाख भन्दा माथिको रकमलाई भने किस्ताबन्दीमा १० वर्षसम्ममा फिर्ता गर्ने योजना बनाइयो।
पोल्यान्डमा Credit Union प्रणालीलाई Cooperative Savings and Credit Union (CSCU) भनिन्छ। पोल्यान्डमा सन् २०१४–२०१७ बीच ११ वटा असफल Credit Union का निक्षेपकर्तालाई पोल्यान्डको Bank Guarantee Fund (BFG) ले रकम भुक्तानी गरेको थियो। BFG को स्रोतमा Credit Union तथा Bank को Guarantee Funds, BFG को आफ्नै Funds, Banks बाट संकलित Protection Funds, आवश्यक परे State Budget Loan/Subsidy, National Bank of Poland बाट Short-Term Loan समेत हुनसक्ने व्यवस्था छ।
न्युजिल्याण्डमा सरकारले विश्व वित्तीय संकट (२००८-२०११) का बेला सहकारीमा समेत देखा परेको संकट समाधान गर्न सिधै बेलआउट गरेको थियो । यसक्रममा सरकारले नै प्रतिव्यक्ति १० लाख न्युजिल्याण्ड डलरसम्म सिधै डुवेका सहकारीका बचतकर्तालाई रकम भुक्तानी गरिदियो। पछि ती सहकारीका सम्पत्ति बेचेर केही असुली गरियो, तर ठूलो घाटा सरकारले नै बेहोर्यो।
आयरल्याण्डमा बैंक, बिल्डिङ सोसाइटी र क्रेडिट युनियन सबैलाई संकट परेका बखत एउटै Deposit Guarantee Scheme (DGS) ले सुरक्षा दिन्छ। कुनै सहकारी संकटमा गएपछि लिक्विडेटर नियुक्त गरिन्छ । तत्पश्चात DGS आफै सकृय भई बचतकर्ताको रकम फिर्ता दिन्छ । संकटमा गएका बचतकर्ताले निवेदन दिनुपर्दैन, चेकबाट २० कार्यदिनभित्र भुक्तानी हुन्छ। बचत फिर्ताको श्रोत सरकारको ढुकुटी नभई सबै वित्तीय संस्थाहरूले तिरेको DGS Levy हो।
बेलायतमा Financial Services Compensation Scheme (FSCS) मोडलबाट पीडित सहकारीका बचतकर्तालाई सुरक्षा दिने गरिन्छ । यो कोष वित्तीय सेवा उद्योगले तिरेको Levy बाट बनेको हुन्छ । सहकारी संकटमा परेपश्चात यो कोष स्वतः सकृय हुने गर्दछ र भुक्तानी Automatic हुन्छ।
दक्षिण कोरियाका केही सहकारी सन २०२१-२३ मा रियल स्टेट कर्जामा केन्द्रित भई किर्ते कागजात र अपर्याप्त जमानत समेत धितो राखी सिमित व्यक्तिलाई ठूलो रकमको ऋण लगानी गरेकोमा रियल स्टेट क्षेत्रमा आएको मन्दिजन्य प्रभावका कारण संकटमा परेका थिए । समस्या समाधानका लागि सरकारको गृह एवम् अर्थ मन्त्रालय र केन्द्रिय बैंक मिलेर टास्कफोर्स बनाए । देशका ५ ठूला र सरकारी वाणिज्य बैंकहरुलाई सहकारीका बचतकर्ताको विश्वास आर्जन गर्ने उद्देश्यले तरलता व्याकअप राख्न लगाईयो । संस्थाका नकाउने सम्पत्ती वेचविखन गराईयो । सहकारी मर्जरलाई तीव्रता दिईयो । ऋणको सिमा, पुँजीकोषको पर्यात्पता, तरलताको अनिवार्यता लगायतका प्रुडेन्सियल व्यवस्थामा कडाई गरियो । सञ्चालक समितिको कार्यकाल तोकियो । सुपरिवेक्षणलाई एकद्वार प्रणालीबाट प्रभावकारी बनाइयो । यसप्रकारले हाल सहकारी समस्या समाधानमा कोरियाली सरकार अघि बढेको देखिन्छ ।
लिथुआनियामा सन् २०१७ मा पाँचवटा Credit Union असफल भए तर Deposit Insurance Compensation को रूपमा बचतकर्तालाई रकम भुक्तानी भयो। भूक्तानीको रकमको स्रोतका रुपमा Credit Institutions ले Deposit Insurance Fund मा Contribution गरेका थिए। साथै असफल Financial Institutions बाट सम्पत्ति/दाबी असुली पनि भयो। असफल Credit Union बाट पनि केही रकम रिकभर गरिएको थियो। Lithuania को Deposit Insurance Institution ले Ministry of Finance लाई तिर्नुपर्ने समयमै पूर्ण रूपमा चुक्ता गर्यो। त्यसैले यो मोडेलमा सरकारले निक्षेप विमाकोषलाई गरेको अस्थाई फाईनान्सिङको रकम र केही सम्पत्ती वेचविखनबाट आएको रकमबाट समस्यामा परेका बचतकर्ताको बचत रकम फिर्ता गरिएको थियो ।
समस्याग्रस्त वा संकटग्रस्त सहकारीको बचत फिर्ताका सम्बन्धमा केही अन्तर्राष्ट्रिय उदाहरण अध्ययन गर्दा पूर्वसावधानीका साथ बनाईएका संरचना (Institutional Arrangement) र विभिन्न प्रकारका उद्देश्यले खडा गरिएका कोष (Revolving Fund, Deposit Insurance Fund, Deposit Guarantee Scheme, Cooperative Rescue Fund, Liquidity Management Fund, etc) को जोगाडलाई संकटमोचनको आधारका रुपमा लिने गरेको देखिन्छ ।
सहकारी समस्याको स्थायी बन्ध्याकरणका बहुआयाम
- डाईग्नोस्टिक प्रोफाईल वा अभिलेख: सहकारीको समस्याको गहिराई, संख्या, कारोवार, प्रकृती, भार, ग्राभिटि, प्रभाव, आदिको यथार्थ विबरण तथा तथ्यांक लामो समयदेखि प्रतिक्षाको विषय बन्दै आएको छ । सहकारीको समस्याको प्रोपर डाईग्नोसिस हुन आवश्यक छ । लामो समयदेखि सहकारी समस्या स्वस्थानीको कथाझैं एकपछि अर्कोले साभार वा वाचन गर्दै आएको तथ्यहीन संकटको चाङ बनेको छ । कतिवटा सहकारी उच्च जोखिम वा संकटमा छन्, कतिवटा सामान्य जटिलतामा रहेका छन्, कतिवटा सहकारी सामान्य अवस्थामा छन् भन्ने कुरा तथ्यमा स्थापित नभएसम्म सहकारीको समस्या निवारण सरोकारवालाको जागिर खाने अर्को सनातन श्रृंखला बनिरहनेछ ।
डाईग्नोस्टिक अध्ययनले सहकारीको कति रकम देश बाहिर समेत अवैध तरिकाले गएको हुनसक्ने, कति रकम रियल स्टेटमा डिभ्यालु भएको छ अर्थात बचत फिर्ता गर्न संस्थाको सम्पत्तीले कति अनुपातमा मात्र भरथेग गर्नसक्छ, कति रकम सञ्चालक वा कार्यकारी प्रमुखले मनोरञ्जन र लक्जरीमा डिस्पोज गरे, कुन कुन कारोवार परिस्थितीजन्य कारणले समस्यामा अड्किए, वास्तविक दोषी को को हो, कुन कुन सहकारी जिवित हुनसक्छन् र कुन कुन सहकारी अवसानको संघारमा छन् भन्ने लगायतका विषयको सत्यतथ्य विबरण सतहमा ल्याउनेछ । डाईग्नोस्टिक अध्ययनले सहकारी जटिलताको कारण र कारकका साथै जटिलताको प्रकृती र गहिराई पत्ता लाग्नेछ । यसपश्चात बनाईने सहकारी नीति तथा कार्यक्रम परिणाममुखी हुनसक्छ ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा बचत फिर्ता लगायतका विषयमा करीव १००० वटा सहकारीविरुद्ध परेको उजुरी र पीडित बचतकर्तासंग सम्बन्धित महासंघमा करीव ६४५ वटा सहकारीका हजारौं बचतकर्ता आवद्ध भएका विबरणलाई आधार मान्दा पनि सहकारी जटिलता गहन र गहिरो रहेको देखिन्छ । तर यसप्रकारका सहकारीको यथार्थ विबरण र समस्याको गहिराईको आधिरकारिक अवस्था अज्ञात नै छ । यही विषयको तथ्यगत दर्पण तयार पार्न डाईग्नोष्टिक स्टडी आवश्यक परेको हो ।
- 4 Rs (Recovery, Refund, Restructure and Regulation): यो उपाय सहकारी समस्याको अल्पकालीन तर निकै प्रभावकारी उपाय हो । जटिल प्रकृतीका सहकारीका ऋणीहरुबाट कानून वमोजिम ऋण असुलउपर गर्ने (Recovery); उक्त रकमबाट बचतकर्ताको बचत फिर्ता गर्ने (Refund); ठूलो र अव्यवस्थितका साथै नियमनको दायरामा रहन नसक्ने सहकारीलाई मापदण्ड वमोजिम मर्ज वा बचतकर्ताको बचत फिर्ता गराई खारेजी प्रकृयामा लगी सहकारीको संख्यामा उल्लेख्य कटौती गर्ने (Restructure) र बाँकी सहकारीलाई Prudential Regulation र प्रभावकारी सुपरिवेक्षणका माध्यमले भविष्यमा संकट वा जोखिम व्यहोर्नु नपर्ने वातावरण श्रृजना गर्ने कार्य सम्पन्न गर्न आवश्यक छ। निजी तवरबाट सञ्चालित, सहकारीको मूल्य, मान्यता र सिद्धान्त वमोजिम सञ्चालन हुन नसक्ने, क्रोनिक समस्याबाट गुज्रेको र कुनै उपायबाट सञ्चालन हुने सम्भावना नरहेका असहकारी प्रकृतीका सहकारीलाई विधिवत रुपमा सिस्टमबाट हटाई सहकारीको स्थायी बोझ घटाउँदै लैजानुपर्दछ । रुपान्तरणका लागि यसप्रकारको पुनरसंरचना आवश्यक मात्र नभई अनिवार्य रहेको छ ।
- छरितो संरचना निर्माण: सहकारी क्षेत्रमा देखा परेका क्रोनिक र बहुआयामिक समस्याको दिगो समाधानका लागि समस्याको प्रोपर डाईग्नोसिस र छरिएर रहेका टुक्रे जिम्मेवारीका रेगुलेटरी निकायहरुको कन्सोलिडेसन सहितको छरितो संरचना निर्माण गर्न आवश्यक देखिएको छ । सहकारी क्षेत्रको दिगो र प्रभावकारी समाधानका लागि हालको बहुनियमनको अवस्थाबाट प्रस्थान गर्नुपर्दछ । प्रायः एकै प्रकृतिको वित्तीय कारोवार गर्ने संस्थाहरुको बहुनयिमन आफैंमा जटिलताको श्रोत बन्नसक्छ । देशभरकै साना वा ठूला वित्तीय कारोवार गर्ने र जुनसुकै कार्यक्षेत्र भएका सहकारीको दर्ता अभिलेखीकरण गरी सञ्चालन इजाजतपत्र प्रदान गर्ने, राष्ट्रिय सहकारी नीति निर्माण गर्ने र नियमन तथा सुपरिवेक्षण राष्ट्रिय सहकारी नियमन प्राधिकरणको एकद्वार प्रणालीबाटै हुन आवश्यक देखिन्छ । त्यसैगरी सहकारीको प्रोपर डाईग्नोष्टिक स्टडी गरी यथार्थ अभिलेखका आधारमा जटिल र संकटपूर्ण सहकारीलाई विधिवत रुपमा समस्याग्रस्त घोषण गरी बचत फिर्ता सहित विसर्जन/अवतरण/खारेज गर्ने वा सञ्चालन हुनसक्ने सहकारी सञ्चालनको वातावरण बनाउने जिम्मेवारी दिनेगरी मुलुकभरमा एकद्वार प्रणालीबाट सञ्चालन हुने अर्धन्यायिक अधिकार सहितको संघीयस्तरको राष्ट्रिय सहकारी समस्या समाधान प्राधिकरण गठन गर्न सकिन्छ ।
समाधान प्राधिकरणले देशभरका अन्य तहका सरकारले समेत गठन गरेका समस्या समाधान समितिहरुलाई प्रातिस्थापन गरी वित्तीय सहकारी संकटको अवस्थाको डाईग्नोष्टिक अध्ययन गरी उपचारात्मक अवतरण वा विसर्जन/अवसान व्यवस्थापन गर्नेछ । यस प्राधिकरणले सहकारी संघसंस्थाको खराव ऋण असुलीका लागि गठन गरिएको कर्जा असुली न्यायाधीकरणलाई समेत प्रतिस्थापन गर्नेछ । समाधान प्राधिकरणलाई सम्पत्ती व्यवस्थापन कम्पनीको जिम्मेवारी समेत दिईनु वाञ्छनीय हुने देखिन्छ । समग्रमा, सहकारी क्षेत्रमा राष्ट्रिय सहकारी नियमन प्राधिकरण र राष्ट्रिय सहकारी समस्या समाधान प्राधिकरण गरी दुईवटा प्राधिकरण रहनेछन् । समस्या र विषय अलग अलग भएका कारणले दुवै प्राधिकरणको उद्देश्य, काम कर्तव्य तथा जिम्मेवारी र कार्यक्षेत्र समेत अलग अलग तोकिनु पर्दछ ।
समाधान प्राधिकरणले खारेजी सम्भावित सहकारी पहिचान गर्दा निष्कृय, अत्यन्त कमजोर, असहकारी (नीजि रुपमा सञ्चालित), लगातार नियामकीय परिपालना नगर्ने र गर्ने सम्भावना नभएका, निस्कृय सम्पत्ती बढ्दै गएका, लगातार घाटा सहित ऋण असुली असन्तोषजनक रहेका, पछिल्लो ३ बर्षमा साधारण सभा र लेखापरिक्षण गर्न असफल रहेको विषयलाई आधार मानी सम्बन्धित सहकारीलाई स्थलगत समष्टिगत अनुगमन वा प्रुडेन्सियल अडिट गरी वास्तविक र रियलटाईम सम्पत्ती तथा दायित्वको मुल्यांकन गर्ने, सञ्चालक वा ठूला बचतकर्तालाई संस्था सञ्चालनको विकल्प पेश गर्न लगाउने, स्वैच्छिक वा अनिवार्य मर्जरको विकल्प खोज्ने र सबै विकल्प असफल भएमा खारेजी प्रकृयामा लैजाने मापदण्ड बनाउन आवश्यक देखिएको छ ।
- समस्याग्रस्त सहकारीमा बचतकर्ताको नियन्त्रण: सहकारी ऐनको व्यवस्था अनुसार समस्याग्रस्त सहकारीका रु.५ लाखसम्मको बचत रकम कानूनी प्रकृया पुरा गरी फिर्ता गर्ने कार्य यथासमयमा पूरा हुन सकेमा रु.५ लाखभन्दा बढी रकमको बचतकर्ताहरु एकापसमा मिलेर समस्याग्रस्त सहकारी संस्था सञ्चालनको व्यवस्था गर्नु उपयुक्त हुने देखिन्छ । सहकारीका बचतकर्ता स्वयं संस्थाका सदस्य समेत रहने हुँदा बचतकर्ताले चाहेमा संस्था सञ्चालन हुने सम्भावना देखिन्छ । तर यो विषयको पुर्वशर्त नै संस्थाको लगानी र सम्पत्तीको गुणस्तर रहेको छ । ठूला बचतकर्ताद्वारा संस्था सञ्चालन सम्बन्धी मापदण्ड तर्जुमा गर्ने र सो कार्यको अनुगमन गर्ने कार्य प्राधिकरणले गर्नु उपयुक्त हुने देखिन्छ। सदस्य सचेतना र सदस्य सकृयताका साथै संस्थामा सदस्यको पहुँच सहज भएका सहकारीमा विकृतीको आयतन पनि सांघुरो रहेका कुरा धेरै संस्थाको उदाहरणबाट पनि पुष्टि भएको विषय हो ।
- वैदेशिक सहायता परिचालन: विनाधितो तथा अपुग धितो वा कमसल धितोमा गरिएको खराव ऋण लगानी, कानूनी विधि तथा प्रकृयाको वेवास्ता गरी गरिएको ऋण लगानी, संस्थाको आफ्नै नामको सम्पत्तीको अभाव, सञ्चालकको पलायन, सञ्चालक र निजको कानूनी दायित्व रहेका एकाघरपरिवारका नाममा समेत कुनै सम्पत्ती तथा जायजेथा फेला नपरेका, सहकारी सञ्चालनका लागि तरलता र नगदप्रवाहको संकट लगायतका जटिलताबाट गुज्रिएका र बचतकर्ताहरु एकत्र भई समेत संस्था सञ्चालन हुनसक्ने अवस्था नभएका समस्याग्रस्त सहकारीका सञ्चालक वा जिम्मेवार व्यक्तिलाई कानूनी कारवाही जारी नै राखी बचतकर्ताको बचत रकम फिर्ता लिने अन्तिम उपाय स्वरुप अप्रत्यक्ष रुपमा वैदेशिक सहायता परिचालन समेत एउटा विकल्प हुनसक्छ । यद्यपी, अन्य कुनै पनि मुलुकमा यसप्रकारको अभ्यास भएको पाईएन ।
- सहकारीका सदस्य नै अन्तिम जिम्मेवार: सहकारी यसका सदस्यको स्वामित्व, सञ्चालन र नियन्त्रणमा रहनुपर्ने संस्था हो । सहकारीमा बचत राख्दा न्यूनतम सहकारी साक्षरता समेत प्राप्त नगरी, सहकारीका सञ्चालक तथा व्यवस्थापकका बारेमा परिचित नभई, व्याज वा उपहार वा छुट वा प्रिमियमको प्रलोभनमा परी बचत गर्नेहरुको लोड वा मानसिक यातना सहकारीसंग असम्बन्धित जनताले समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बोक्नुपरेको छ । तुलनात्मक रुपमा सदस्यहरु सकृय र सचेत रहेका सहकारी सापेक्षिक रुपमा सुरक्षित र सहज अवस्थामा रहेका पाईन्छन् । सदस्य वा बचतकर्ताका नाममा कारोवारी व्यक्तिहरु बचतमा कमिसन वा प्रिमियम, व्याजको प्रलोभन, चिट्ठाको लोभ, दोब्बर भुक्तानीको आशा र सुन/चाँदीका गहना तथा सिक्का उपहार आदिलाई लक्ष्य बनाएका व्यक्तिहरु बढी सहकारी ठगीमा परेको पाईएको छ । यो गम्भिर विषयको निदानका लागि सहकारीका सबै सरोकारवाला पक्ष चनाखो र सचेत भई सहकारी शिक्षामार्फत यसका सदस्यलाई नै अन्तिम जिम्मेवार बनाउने संस्कृतीको विकास गर्नु अति आवश्यक देखिएको छ । सामान्यतयाः सहकारीमा अति ठूला वित्तीय कारोवार गरिँदैन; सदस्य वेगरका र संस्थाको कार्यक्षेत्र बाहिरका व्यक्तिसंग वित्तीय कारोवार गरिँदैन भन्ने विश्व्व्यापी मान्यतामा सहकारीमा बाह्य नियमन तथा कसिलो सुपरिवेक्षणको कल्पना नगरिएको हो । सहकारीमा सदस्य वा ऋणी वा बचतकर्ता नै सहकारीका अन्तिम वा पूर्णरुपले जिम्मेवार हुने प्रणाली विकास गर्न आवश्यक देखिएको छ । तसर्थ, सहकारी क्षेत्रलाई सहकारीतामै फर्काएर स्वनियमनमा सञ्चालन हुने र सहकारीका समस्या सतहमा सार्वजनिक गर्न नपाईने कानूनी तथा सास्कृतिक चेतना विकास हुन आवश्यक देखिन्छ ।
- सञ्चालक नै सहकारी समस्याको केन्द्रविन्दुः रेगुलेटरी ग्याप वा मौजुदा नियामकीय असक्षमताले श्रृजना गरेको वेथिती र धमिलो अवस्थालाई केही टाठाबाठाले सहकारीको मूल्य, मान्यता, सिद्धान्त, विधि, पद्वती र कानूनी व्यवस्थाको समेत अवज्ञा गरी वा गराई सहकारीका नाममा निजी वित्तीय व्यवसायका रुपमा सहकारी गठन गरे वा संस्था खरिद समेत गरे वा कार्यक्षेत्र र सेवाकेन्द्र थप गरे वा गराए वा नयाँ संस्था दर्ता गराए । यसप्रकारका गलत कृयाकलापले वास्तविक सहकारी ओझेलमा पर्दै गए । जनतामा रहेको सहकारी अज्ञानता र प्रलोभनको फाईदा उठाउन उच्चदरको व्याजको लालसा दिई सहकारीका नाममा बचत संकलन गरी त्यसको व्यक्तिगत लाभ उठाउने प्रयत्नको परिणाम नै हालको सहकारी जटिलता हो । संस्थाको बचत दोहनको अभिष्ट राखेका सिमित सञ्चालकका ठग आचरण रियल स्टेटमा आएको मन्दिसंगै संकटमा पर्यो र बचतकर्ता क्रमशः पीडित हुँदै गए ।
समग्रमा, कतिपय संस्थामा हालिमुहाली गर्ने एक वा केही सञ्चालक सहकारी विकृतीका प्रमुख जिम्मेवार हुन् । अरु विषय यसका सहायक मात्र हुन् । यसर्थमा, विभिन्न समयमा ठगी वा हिनाविनाको आरोपमा थुनामा रहेका वा लुकेर स्वदेश वा विदेशमा समेत पलायन भएका जिम्मेवार सञ्चालकलाई केन्द्रमा राखेर सम्बन्धित सहकारीको ऋण लगानी वा अकुत ठगीको विषयको डाईग्नोसिस गर्न आवश्यक देखिन्छ । देश बाहिर पलायन भएका सहकारी ठगीका मुख्य अभियुक्तहरुलाई देशमा फीर्ता ल्याई बचत फीर्ता गर्ने कार्यमा मुख्य जिम्मेवार बनाउने, सहकारीको ठूलो रकम विभिन्न माध्यम र तरीकाबाट विदेश पलायन भएको सम्भावनाका सन्दर्भमा नेपाल राष्ट्र बैंक, सेन्ट्रल इन्भेस्टिगेसन व्युरो र सम्पत्ती शुद्धिकरण विभाग मार्फत अनुसन्धान गर्ने, सहकारी ठगीमा प्रहरी हिरासतमा रहेका व्यक्तिहरुलाई एकबर्ष अवधी प्रदान गरी बचत फीर्तामा मुख्य जिम्मेवार बनाउन आवश्यक देखिन्छ । यी व्यक्तिलाई प्राधिकरणमा दैनिक हाजिर भई बचत फीर्ता सम्बन्धी कार्यप्रगती पेश गर्ने र देशबाहिर पलायन हुन नसक्ने व्यवस्था मिलाउन सकेमा सहकारी ठगीका जिम्मेवार व्यक्तिलाई नै सहकारीको बचत फिर्तामा उत्तरदायी बनाउन सकिन्छ ।
- समस्याग्रस्त सहकारीको हिसाव फरफारकः विभिन्न जटिलताका कारणले सहकारीका ऋण असुली, सम्पत्ती वेचविखन र बचत फिर्ता गर्ने कार्य कठीन देखिएको छ । समस्याग्रस्त सहकारी फरफारक गर्न प्रत्येक समस्याग्रस्त सहकारीका लागि वित्तीयविज्ञ, सहकारीविज्ञ, CIB प्रतिनिधि, Chartered Accountant र सुरक्षाकर्मी समेत सम्मिलित व्यवस्थापन समूह गठन गर्ने सुझाव नेपाल राष्ट्र बैंकले २०८१ सालमै सहकारी सम्बन्धी संसदीय छानवीन समितिलाई बुझाएको थियो । कालान्तरमा सो व्यवस्था सहकारी ऐनमा समेत समेटिएको छ । यसरी व्यवस्थापन समूह गठन नभएसम्म समष्टिगत रुपमा समस्याग्रस्त सहकारीको हरहिसाव फरफारक जटिल हुनेगर्छ । व्यवस्थापन समूहलाई समस्याग्रस्त सहकारीको पछिल्लो दुई दशकयताका सञ्चालक र कार्यकारी प्रमुखलाई समेत नियन्त्रणमा लिई निजहरुको नाममा रहेका चल अचल सम्पत्ती जोसुकैको नामबाट खरिद एवम् जोसुकैका नाममा विक्रि तथा हस्तान्तरण र नामसारी गरेको, पछिल्लो दुई दशकयताका सम्बन्ध विच्छेद गरी सम्पत्ती हस्तान्तरण र नामसारी गरेको भए सो लगायतका सम्पत्ती छानवीन गर्ने, अभियुक्तलाई नियन्त्रणमा लिने लगायतका अधिकार प्रदान गर्नुपर्दछ ।
- बचत विमाकोषः अन्य देशका उदाहरण हेर्दा समेत सहकारीको वित्तीय कारोवारमा समस्या उत्पन्न हुनसक्ने पूर्वअनुमान गरी विभिन्न प्रकारका जोखिम व्यवस्थापन कोषहरु बनाइएका र समस्या पर्दा त्यसै कोषबाट समाधान निकालिएको पाईन्छ । नेपालमा पनि बैंक तथा वित्तीय संस्थाका निक्षेपकर्ताकोझैं सहकारीका रु.५ लाखसम्मको निक्षेप विमा अनिवार्य गर्नुपर्ने नीतिगत व्यवस्था गर्न आवश्यक छ । तर यसप्रकारको वीमाको पूर्वशर्त सहकारीमा वलियो नियामक र व्यावसायिक आचरण भएका सहकारी हुन्।
- सहकारी सम्बन्धी विशेष इजलासः सहकारी सम्बन्धी मुद्दाले विभिन्न तहका अदालतमा चाँडो प्राथमिकता नपाउनाले सहकारीका ऋण असुली, सम्पत्ती वेचविखन, अंशवण्डा, हकदावी लगायतका कानूनी झमेलामा लामो समय, श्रम र लागत खर्च हुने गरेका छन् । केही समययता, यसप्रकारका मुद्दालाई अग्राधिकार दिने सम्बन्धमा केही चरणका छलफल भएतापनी यसले मूर्तरुप लिनसकेको देखिँदैन । तसर्थ, सहकारीको बचतकर्ताको बचत रकम फिर्तामा समेत सहकारी सम्बन्धि कानूनी मूद्दाका निर्क्यौल सहकारी सम्बन्धी विशेष इजलास मार्फत यथासमयमै हुनुले पनि सकारात्मक प्रभाव पार्ने देखिएको छ ।
निष्कर्ष
हालको सहकारी जटिलता कतिपय सहकारीका केही सञ्चालकको चांडै र सजिलै धनी हुने मनशाय सहितको गलत नियत वा उद्देश्य, मौजुदा नियामक निकायको गम्भिर कमजोरी र सदस्यहरुको अनभिज्ञता सहितको वित्तीय प्रलोभनको प्याकेज हो । यो जटिलताले श्रृजना गरेको अवस्थालाई क्रमशः समाधान गर्दै दिर्घकालका लागि स्वच्छ, स्वस्थ र दिगो सहकारी क्षेत्र विकास गर्न राष्ट्रिय स्तरको दुईवटा संरचना बनाउन उपयुक्त हुने देखिन्छ। पहिलो, सहकारीका रुपमा रहेका वा रहनसक्ने सहकारीलाई इजाजतपत्र प्रदान गरी प्रुडेन्सियल नियमन र सुपरिवेक्षणका माध्यमले नियमन प्राधिकरण मार्फत व्यवस्थित गरेर र दोश्रो, सहकारीका निक्षेपकर्ताको बचत फिर्ताको माध्यमवाट असहकारीलाई समाधान प्राधिकरण मार्फत सिस्टमबाट विलय गराउन आवश्यक देखिन्छ । सहकारी समस्याको दिगो समाधान निकाल्न ढिलाई भएमा कुनै न कुनै ढंगले यसको पुनरावृत्तीको सम्भावना रहन्छ । हालको टालटुले वा अस्थायी समाधान अर्को चरणको संकट वा विष्फोटको विउ बन्नसक्छ । यसका लागि सहकारीका सबै सरोकारवालामा ईच्छाशक्ति, समस्या समाधानको चेत, सहकारी समस्याको प्रभावको बस्तुपरक मूल्यांकन वा ज्ञान र त्यही वमोजिमको समाधानका कार्यक्रम पनि हुन आवश्यक छ ।
सहकारीको बचतकर्ताको बचत फिर्ताको जिम्मेवारी त्यस सहकारीका सञ्चालकको नै हो । बचत फिर्ताको श्रोत सहकारीको सम्पत्ती वा ऋण लगानी नै हो । बचतकर्ताको बचत रकमको दुरुपयोग गर्ने व्यक्ति नै सजाएँ र तिरोभरोको जिम्मेवार हो । यसको भार अन्यत्र समायोजन गर्न वा बोकाउन मिल्दैन । सहकारीको बचत फिर्ताको जिम्मेवारी पूरा नगरी सम्बन्धित पदाधिकारी वा जिम्मेवार व्यक्तिले कुनै पनि प्रकारको उन्मुक्ति पाउनु हुँदैन । सरकारले बचत फिर्ता कार्यक्रमको सहजीकरण र अनुगमन गर्नुपर्दछ । अन्य देशका उदाहरण अध्ययन गर्दा समेत हाम्रोजस्तो मुलुकले पनि समस्याग्रस्त वा संकटग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने भार राष्ट्रिय ढुकुटीबाट वहन गर्नसक्ने अवस्था देखिँदैन । सहकारी समस्याको सही जरो पत्ता लगाई प्रमुख कारकलाई नै समाधानमा जिम्मेवार नवनाउने हो भने भविष्यमा समेत जथाभावी जोखिम लिने र निजी लाभको केन्द्र बनाउने प्रथाले निरन्तरता पाउनसक्छ । सहकारी समस्याको स्थायी वन्ध्याकरण आजको राष्ट्रिय मुद्दा बनिसकेको हुँदा थप ठगी वा क्षतिबाट बच्न माथि छलफल गरिएका विषयमा अविलम्ब केन्द्रित हुनुपर्ने देखिएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com