Nov 22 2026 | २०८३, मंसिर ६ गते

Nov 22 2026 | २०८३, मंसिर ६ गते

Follow us

संस्थागत सुशासनलाई प्राथमिकीकरण गर्दै चाइना ट्रेड बहुउद्देश्यीय सहकारीको १९औँ वार्षिक साधारण सभा सम्पन्न

संस्थागत सुशासनलाई प्राथमिकीकरण गर्दै चाइना ट्रेड बहुउद्देश्यीय सहकारीको १९औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । खिचापोखरी, न्यूरोडस्थित चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा काठमाडौंको बबरमहलमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित गरेको छ ।

संस्थाका कार्यवाहक अध्यक्ष अमरेश चन्द्र बैदारको सभापतित्व तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संस्थाको वित्तीय अवस्था, उपलब्धि र आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो ।

सञ्चालक समितिको वार्षिक प्रतिवेदनअनुसार संस्थामा आर्थिक वर्ष २०८२/०८३ को अन्त्यसम्म १ हजार ९७५ जना शेयर सदस्य आबद्ध छन् । संस्थाको कुल शेयर पुँजी करिब ८ करोड रुपैयाँ, निक्षेप संकलन ७५ करोड रुपैयाँभन्दा बढी र कुल कर्जा लगानी करिब ३९ करोड रुपैयाँ पुगेको छ ।

२९ जना संस्थापक सदस्यबाट सुरु भएको संस्था हाल २०औँ वर्षमा प्रवेश गरेको छ । संस्थाले खिचापोखरी, न्यूरोडस्थित आफ्नै आधुनिक तथा सुविधासम्पन्न भवनबाट सदस्यलाई प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।

संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) अनुसारको लेखा प्रणाली कार्यान्वयनमा ल्याएको छ। साथै, प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, राष्ट्रिय सहकारी नियमन प्राधिकरण तथा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी नियामकीय निर्देशन पालना गर्दै संस्थागत सुशासनलाई प्राथमिकता दिएको प्रतिवेदनमा उल्लेख छ ।

वित्तीय कारोबारसँगै संस्थाले सामाजिक उत्तरदायित्व र सदस्य सशक्तीकरणका कार्यक्रमलाई समेत निरन्तरता दिएको छ । संस्थाले रक्तदान कार्यक्रम, ४० वर्षमाथिका पुरुष सदस्यका लागि निःशुल्क प्रोस्टेट क्यान्सर परीक्षण शिविर, शेयर सदस्यको सहभागितामा पदयात्रा, वार्षिक मनोरञ्जन तथा सहभोज कार्यक्रम र मानव सेवा आश्रममा आश्रितलाई भोजन गराउने कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

त्यसैगरी, साना तथा मझौला व्यवसायी सदस्यको व्यावसायिक प्रवर्द्धनका लागि ‘CHITCOL Digital Catalyst’ डिजिटल मार्केटिङ तालिमसमेत सञ्चालन गरिएको थियो ।

साधारण सभाले कार्यवाहक अध्यक्ष बैदारद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक कृष्णबहादुर बस्नेतद्वारा प्रस्तुत लेखा सुपरिवेक्षण प्रतिवेदन तथा कोषाध्यक्ष कृष्णबहादुर गुभाजुद्वारा प्रस्तुत बाह्य लेखापरीक्षण प्रतिवेदन अनुमोदन गरेको छ ।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार श्रेष्ठद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम, अनुमानित बजेट तथा लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव पनि पारित गरिएको छ ।

सभाले संस्थाको नाममा रहेको सम्पत्ति तथा गैरबैंकिङ सम्पत्ति बिक्री, निष्क्रिय सदस्य र भाखा नाघेको ऋण व्यवस्थापन, अन्य सहकारी संस्थालाई एकीकरण गर्ने तथा बहुउद्देश्यीय प्रकृतिका व्यवसाय सञ्चालनको सम्भाव्यता अध्ययनलगायत विशेष प्रस्तावसमेत पारित गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले चुनौतीपूर्ण आर्थिक परिस्थितिका बाबजुद चाइना ट्रेड बहुउद्देश्यीय सहकारीले सदस्य संख्या, शेयर पुँजी र बचतमा उल्लेखनीय वृद्धि गर्न सफल भएको बताउनुभयो ।

उहाँले सामाजिक उत्तरदायित्व निर्वाह, एनएफआरएस प्रणालीको कार्यान्वयन र नियामकीय अनुशासन कायम गर्दै सदस्यको विश्वास जित्न संस्था सफल भएको उल्लेख गर्दै यसको कार्यशैली अन्य सहकारीका लागि पनि अनुकरणीय रहेको बताउनुभयो ।

त्यसैगरी, काठमाडौं महानगरपालिका–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले चाइना ट्रेड बहुउद्देश्यीय सहकारी न्यूरोड क्षेत्रको एउटा वित्तीय संस्था मात्र नभई स्थानीय विकासको साझेदार, उद्यमशीलताको प्रवर्द्धक र समृद्धिको सहयात्रीका रूपमा स्थापित भएको बताउनुभयो ।

सभामा वरिष्ठ सहकारी विज्ञ कुबेर निरौलाले ‘सफल सहकारीका लागि सदस्यको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार श्रेष्ठले संस्थाको २०औँ वर्षको यात्रामा साथ र विश्वास प्रदान गर्ने शेयर सदस्य, नियामक निकाय, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति तथा व्यवस्थापन समूहप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले आगामी दिनमा डिजिटल सेवालाई थप परिष्कृत गर्दै सदस्यकेन्द्रित कार्यक्रममार्फत ‘सदस्य समर्पित अग्रणी सहकारी’ बन्ने परिकल्पना साकार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, आर्थिक सशक्तीकरण र नवप्रवर्तनमार्फत सदस्यको समृद्धिमा योगदान पुर्‍याउने संस्थाको ध्येयलाई थप प्रभावकारी रूपमा अघि बढाइने उहाँले बताउनुभयो ।

WhatsApp Image 2026-11-21 at 11.05.48.jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार