Nov 22 2026 | २०८३, मंसिर ६ गते

Nov 22 2026 | २०८३, मंसिर ६ गते

Follow us
एसियामा सबैभन्दा उच्च

धार्मिक आस्था र अध्यात्मले ज्येष्ठ नागरिकको जीवनस्तर उकास्ने: अध्ययन निष्कर्ष

धार्मिक आस्था र अध्यात्मले ज्येष्ठ नागरिकको जीवनस्तर उकास्ने: अध्ययन निष्कर्ष

धार्मिकताभन्दा आध्यात्मिकता अझ प्रभावकारी

एजेन्सी। धार्मिक एवम् आध्यात्मिक आस्था राख्ने, धार्मिक वा आध्यात्मिक स्वभावका ज्येष्ठ नागरिकहरूको जीवनस्तर त्यसप्रकारको आस्था नराख्नेहरूको तुलनामा राम्रो हुने एक अध्ययनले देखाएको छ । ५ हजारभन्दा बढी व्यक्तिमा गरिएको अध्ययनको विश्लेषणबाट यस्तो निष्कर्ष निकालिएको हो ।

इटालीको पादुआ विश्वविद्यालयका जनस्वास्थ्य अनुसन्धानकर्ताहरूले सन् १९९२ देखि २०२४ सम्म विश्वभर प्रकाशित २१ वटा अध्ययनहरूको तथ्याङ्कलाई संयोजन गरी विश्लेषण सार्वजनिक गरेका हुन् । धार्मिकता, आध्यात्मिकता र जीवन सन्तुष्टि तथा गुणस्तरीय जीवनबीचको सम्बन्धबारे गरिएको उक्त बृहत् समीक्षा मा ६० देखि १०४ वर्ष उमेर समूहका ५ हजार ६ सय ६४ जना सहभागी थिए । जसमा १ हजार ५ सय ६१ पुरुष, २ हजार ५ सय ३ महिला र लिंग नखुलाइएका १ हजार ६ सय जना समावेश थिए ।

बिहीबार 'प्लस एजिङ एन्ड हेल्थ' जर्नलमा प्रकाशित उक्त अध्ययनले आस्था र गुणस्तरीय जीवन तथा जीवन सन्तुष्टिबीच मध्यम सकारात्मक सम्बन्ध रहेको देखाएको छ । अध्ययनमा समेटिएकामध्ये १० वटा एसिया, ७ वटा अमेरिका, ३ वटा युरोप र १ वटा अफ्रिकामा गरिएका थिए ।

अध्ययन अनुसार आस्था र गुणस्तरीय जीवनबीचको सम्बन्ध एसियामा सबैभन्दा उच्च देखिएको छ । त्यसपछि क्रमशः अफ्रिका र अमेरिकामा यो सम्बन्ध बलियो छ भने युरोपमा सबैभन्दा कमजोर देखिएको छ । अध्ययनकी सह लेखिका अलेसान्द्रा बुजाले सीएनएनसँग कुरा गर्दै युरोपमा धर्मनिरपेक्षताको प्रभाव बढी भएकाले त्यहाँ यस्तो सम्बन्ध कमजोर देखिएको हुनसक्ने बताइन् ।

सन् २०२५ को प्यू रिसर्च सेन्टरको प्रतिवेदन अनुसार विश्वका सबैभन्दा धार्मिक देशहरू मुख्यतया मध्यपूर्व, दक्षिण तथा दक्षिणपूर्वी एसिया, सब सहारा अफ्रिका र ल्याटिन अमेरिकामा छन् । बङ्गलादेश, इन्डोनेसिया, श्रीलङ्का, ट्युनिसिया र केन्याका ९० प्रतिशतभन्दा बढी वयस्कहरूले धर्मलाई निकै महत्त्वपूर्ण मान्छन्, जबकि अमेरिकामा ३८ प्रतिशत र बेलायतमा २० प्रतिशतले मात्र धर्मलाई महत्त्वपूर्ण ठान्छन् । विश्वभर ५० वर्षभन्दा माथिका व्यक्तिहरू युवा पुस्ताको तुलनामा बढी धार्मिक हुने गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वभर ज्येष्ठ नागरिकको जनसङ्ख्या तीव्र गतिमा बढिरहेको छ । सन् २०७० को दशकको अन्त्यसम्ममा ६५ वर्ष र सोभन्दा माथिका मानिसहरूको सङ्ख्या २ अर्ब २० करोड पुग्ने अनुमान छ, जुन विश्वको बाल जनसङ्ख्याभन्दा बढी हुनेछ ।

अनुसन्धानकर्ताहरूका अनुसार आस्थाले मानसिक स्वास्थ्यका साथै सामाजिक अन्तरक्रिया, भावनात्मक सहयोग र संज्ञानात्मक सक्रियता प्रदान गर्छ, जसले जीवन सन्तुष्टि बढाउन र मृत्युदर घटाउन समेत मद्दत गर्छ । बदलिँदो जनसाङ्ख्यिक अवस्थालाई मध्यनजर गर्दै ज्येष्ठ नागरिकको स्याहार जेरियाट्रिक केयर० मा धर्म र अध्यात्मलाई समावेश गर्दा विश्वभरका वृद्धवृद्धालाई फाइदा पुग्ने उनीहरूको सुझाव छ ।

युनिभर्सिटी कलेज लन्डनका प्राध्यापक पल हिग्स भन्छन्, 'उमेर ढल्किँदै जाँदा व्यक्तिलाई जीवनको अर्थ प्रदान गर्न आध्यात्मिकता र धार्मिकताले खेल्ने सकारात्मक भूमिकालाई यस अध्ययनले उजागर गरेको छ ।'

बेलायतको थिङ्क ट्याङ्क 'थियोस' की निर्देशक चाइन म्याकडोनाल्डले बिरामी पर्दा, शोकको घडीमा र बुढ्यौलीका चुनौतीहरू सामना गर्दा धार्मिक समुदायले मित्रता, व्यावहारिक सहयोग र अपनत्व प्रदान गर्ने बताइन् । व्यक्तिवादी पश्चिमा समाजमा एक्लोपन र सामाजिक अलगाव बढ्दै गइरहेका बेला 'राम्रोसँग बुढ्यौली बिताउनु' को अर्थबारे पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले सन् २०२३ मा एक्लोपनलाई विश्वव्यापी स्वास्थ्य चुनौतीका रूपमा घोषणा गरेको थियो । १४२ देशमा गरिएको सर्वेक्षणमा १७ प्रतिशत ज्येष्ठ नागरिकले एक्लोपन महसुस गर्ने गरेको पाइएको थियो । एक्लोपनले मानसिक स्वास्थ्य कमजोर बनाउने, रोग प्रतिरोधात्मक क्षमता घटाउने र उच्च रक्तचाप तथा मस्तिष्कघातको जोखिम बढाउने गर्छ ।

पछिल्लो अध्ययनले जीवनको गुणस्तर सुधार्न धार्मिकता ९रिलिजियोसिटी० भन्दा आध्यात्मिकता अझ बढी प्रभावकारी रहेको देखाएको छ । आध्यात्मिकता नितान्त निजी विषय भएकाले यसले सामाजिक सञ्जालभन्दा पनि 'जीवनको अर्थु खोज्न' मद्दत गर्ने सह लेखिका बुजा बताउँछिन् । 'अवकाशप्राप्त जीवनमा कामबाहेक जीवनको अर्को अर्थ भेट्टाउन सकियो भने जीवन सन्तुष्टि र गुणस्तर कायम राख्न सकिन्छ, 'उनले भनिन् ।

यसअघि फेब्रुअरीमा प्रकाशित एक अध्ययनले आध्यात्मिक विश्वास वा धार्मिक अभ्यास गर्ने व्यक्तिहरू मदिरा, लागूपदार्थ वा धूम्रपानको कुलतमा फस्ने सम्भावना कम हुने र कुलतबाट बाहिर निस्कन बढी सफल हुने देखाएको थियो । त्यस्तै, सन् २०२२ को अर्को अध्ययनले धार्मिक गतिविधिमा सक्रिय अफ्रिकी अमेरिकी वयस्कहरूको मुटुको स्वास्थ्य राम्रो हुने देखाएको थियो ।

यद्यपि, आस्थाले नै जीविकोपार्जनमा सुधार ल्याउँछ भन्ने ठोकुवा गर्न नसकिने अनुसन्धानकर्ताहरूले स्पष्ट पारेका छन् । विश्वका विभिन्न स्थान र धार्मिक अभ्यासमा रहेको विविधताका कारण यस अध्ययनको नतिजालाई सावधानीपूर्वक लिनुपर्ने र आगामी दिनमा अझ स्तरीय मापदण्ड अपनाएर थप अनुसन्धान गर्नुपर्ने उनीहरूको निष्कर्ष छ ।
(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार