काठमाडौं । पूर्वीय दर्शनका अध्येता एवम् विद्धानहरुले पशुपतिनाथ मन्दिरको महत्वलाई अझ विराट एवम् विश्वव्यापी बनाउन थप गहन अध्ययन, अनुसन्धान र प्रकाशनमा जोड दिनुपर्ने बताउनुभएको छ । पशुपतिनाथ मन्दिरको पूजा अर्चना पद्धति एवम् परम्पराका सम्बन्धमा पनि दुविधा र आशंकाहरु नरहने गरी पुस्तकहरु प्रकाशन गर्नुपर्ने उहाँले सुझाउनुभएको छ ।
श्रीपशुपति अर्चना सुव्यवस्था प्रतिष्ठानले वर्तमान परिस्थितिमा सनातन वैदिक संस्कृति–सम्पदाको संरक्षण प्रवद्र्धनमा संस्थाले निर्वाह गर्नुपर्ने भूमिका र काम कर्तव्य विषयमा रायसुझाव मार्गनिर्देशन तथा परामर्श लिन आज आयोजना गरेको आन्तरिक विचार संगोष्ठीमा सहभागी विद्धतजनहरुले पशुपतिनाथ साहित्यको प्रकाशनको टड्कारो आवश्यकता औंल्याउनुभएको हो ।
कार्यक्रममा पूर्वीय दर्शनका विद्वान्, तन्त्र र योगका साधक एवम् नेपाल संस्कृत विश्वविद्यालयका प्रथम शिक्षाध्यक्ष प्रा.डा.विद्यानाथ उपाध्याय भट्टले पशुपतिनाथ मन्दिरको पूजा परम्पराका सम्बन्धमा कपितय विरोधाभाषहरु रहेको भन्दै तिनलाई चिर्नुपर्ने बताउनुभयो । त्यसका लागि पशुपतिनाथको पूजा अर्चना पद्धति बारे हालसम्म उपलब्ध सामाग्रीहरु संकलन गरिनुपर्ने र तिनकै आधारमा नयाँ पुस्तक प्रकाशन गरिनुपर्ने उहाँको भनाइ थियो । ‘राष्ट्रिय अभिलेखालयदेखि व्यक्तिहरुसँग भएका प्रकाशन र सामाग्रीहरु संकलन गरेर सबैलाई उपयुक्त हुने अर्चना पद्धतिको पुस्तक प्रकाशन गर्नुपर्छ, ’उहाँले सुझाव राख्नुभयो । यस्तै, पशुपतिनाथका सम्बन्धका कतिपय महत्वपूर्ण अभिलेखहरु संरक्षण गर्नुपर्ने उहाँले बताउनुभयो । बुद्ध विहार हो पशुपति भन्ने जस्तो गलत प्रचार अहिले भैरहेको भन्दै त्यस्ता कुराहरु पनि प्रकाशनहरुमार्फत चिर्नुपर्नेमा डा.भट्टको जोड थियो ।
कार्यक्रममा प्रा.डा.दीर्घराज घिमिरेले पशुपतिनाथको पूजा पद्धतिका सम्बन्धमा सबैलाई बुझाउने गरी प्रकाशनहरु गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले पूजा मात्र भनेर नहुने भन्दै परम्परा र विधिहरु पनि समयसंगत र शास्त्रसंगत हुनुपर्नेमा जोड दिनुभयो । ‘यद्यपि, हामीले यो पनि बिर्सनुहुँदैन कि कुनैपनि परम्पराहरु अखण्ड हुँदैनन् । मर्यादा अनुसारको पद्धति भने हुनुपर्छ, ’ उहाँले भन्नुभयो । उहाँले वैदिक पुजा पद्धति र अवैदिक पुजा पद्धतिका बारेमा पनि सबैलाई स्पष्ट पार्नुपर्ने धारणा राख्नुभयो । पशुपतिनाथमा वि.स. १९७५ अघि कस्तो पूजा परम्परा थियो भन्ने विषयमा पनि अध्ययन र खोजी हुनुपर्ने घिमिरेको भनाइ थियो ।
प्रा.डा.ऋषिराम पोखरेलले समयमै गर्नुपर्ने कुरालाई थाती राख्न नहुने भन्दै पशुपतिनाथको महत्वलाई पनि थप उजागर गर्न ढिला गर्न नहुने सुझाव राख्नुभयो । मुलुक सञ्चालकहरु सही हुँदा धेरै काम सम्भव भएको दृष्टान्त प्रस्तुत गर्दै उहाँले पशुपति क्षेत्र विकास कोषमा रहेर काम गरेका धेरैजसो पदाधिकारीहरु केवल भत्ता खाने, स्वार्थमा लिप्त हुने र भ्रष्ट हुने गरेको बताउनुभयो ।
गुठी संस्थानका अध्यक्ष समेत रहनुभएका पशुपतिनाथ मन्दिरका जानकार डा.गोविन्द टण्डनले पशुपतिनाथको साहित्य लेखिनुपर्ने बताउनुभयो । पशुपतिनाथ मन्दिर बारे नेपाल संस्कृत विश्वविद्यालय तथा वाल्मीकि विद्यापीठका गुरुहरुबाट अध्ययन अनुसन्धान तथा पुस्तकहरु प्रकाशन हुनुपर्ने भएपनि त्यसो हुन नसकेको उहाँले बताउनुभयो । ‘विश्वविद्यालयका शिक्षकहरुको पढाएर मात्रै जीवन बित्छ भने त्यस्तो देश कहिल्यै बन्दैन ।’ संस्कृत विश्वविद्यालयको उदाहरण दिदैं उहाँले बार्षिक बजेटको अधिकांश हिस्सा कर्मचारीको तलब सुविधामा खर्च भएको तर अनुसन्धान र खोजमा निक्कै कम हुने गरेको भन्दै यसले गर्दा विद्धानहरु नजन्मने चिन्ता व्यक्त गर्नुभयो ।
पशुपतिनाथ मन्दिरकै विषयमा विद्यावारिधि गर्नुभएका एवम् पुस्तक प्रकाशन गर्नुभएका डा टण्डनले भन्नुभयो, ‘जबसम्म पशुपतिनाथ मन्दिरको साहित्य लेखिदैन, तबसम्म हामी समृद्ध बन्दैनौं ।’ पशुपतिनाथ अध्ययन अनुसन्धानमा युवा पुस्ताको अभिरुचि जागृत गराउनुपर्नेमा उहाँले जोड दिनुभयो । पशुपतिनाथको महिमाका सम्बन्धमा अंग्रेजीमा पनि पुस्तकहरु प्रकाशन आवश्यक भएको उहाँको भनाइ थियो । ‘युवाहरुलाई भगवान पशुपतिनाथ बुझाउनुपर्छ । तर हामीले पुस्तान्तरण र हस्तान्तरण गर्न सकेका छैनौं, ’ डा.टण्डनले भन्नुभयो, ‘ र, जे गर्ने हो चाँडो गरौं । समय रहँदै गरौं ।’
संगोष्ठीमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा.कुलप्रसाद कोइरालाले हाम्रा सनातन वैदिक परम्पराहरुलाई आधुनिक शिक्षासँग मेला खाने गरी व्यावहारिक बनाउनुपर्ने बताउनुभयो । कतिपय कुराहरु सच्याउनु र सुधार्नुपर्ने पनि उहाँले बताउनुभयो । ‘हामीले सिकाउने काम मात्र भयो, पढाउने काम मात्र भयो तर व्यावहारिक बनाउन सकेका छैनौं । रहस्य बुझाउन सकेनौं । अनि, कतिपय कुराहरु सच्याउनुपनि पर्नेछ यो नै अहिलेको आवश्यकता हो, ’उहाँले भन्नुभयो ।’ हाम्रा संस्कार, संस्कृति र पद्धतिको रक्षा गरेर पनि आधुनिक र भौतिक ज्ञानसँग मिल्दो शिक्षा आवश्यक भएको उहाँले बताउनुभयो ।
यस्तै, प्राध्यापक डा.विनु बाबा अर्यालले पशुपतिनाथ मन्दिरको पूजा पद्धतिबारे सबैलाई जानकारी आवश्यक भएको बताउनुभयो । ‘पशुपतिनाथको महिमा र गरिमा कसरी बचाउने आज हाम्रो मुल चिन्ता यही हो, ’अर्यालले भन्नुभयो, ‘हाम्रो सनातन धर्म संस्कृति संस्कार मासिदै गएको छ । यो गहिरो चिन्ताको विषय हो । बिधर्मीहरु जताततै हावी हुँदैछन् ।’ उहाँले हाम्रा सनातन परम्पराहरु, वेद, पशुपतिनाथसँगै अन्य सम्पदा र संस्कृतिबारे विद्यार्थीहरुलाई अनिवार्य पढाइनुपर्ने सुझाव राख्नुभयो ।
प्रा.डा.दिनेशराज पन्तले प्रतिष्ठानको उद्देश्यलाई केन्द्रमा राखेर हालसम्म भए गरेका कामहरुको मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो । साथै उहाँले सबै तहका सरकारमार्फत आर्थिक सहयोग जुटाएर अध्ययन अनुसन्धान तथा प्रकाशनको काम अझ बढी गर्ने प्रतिष्ठानको तर्फ ध्यान जानुपर्ने सुझाव राख्नुभयो ।
संगोष्ठीको अध्यक्षता गर्नुभएका प्रा.देवीप्रसाद चापागाईंले आजको कार्यक्रम पनि एक हिसाबले पशुपतिको अर्चना नै भएको बताउँदै प्राप्त सुझावहरु दस्तावेजीकरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘आजको संगोष्ठीबाट प्राप्त सल्लाह सुझावबाट हामी साँच्चिनै अभिप्रेरित भएका छौं । यसलाई हामी दस्तावेजीकरण गर्नेछौं ।’
पशुपतिनाथ मन्दिरको अर्चनालाई सुव्यवस्थित पार्ने तथा यसको महत्ता र गरिमा उजागर गर्ने उद्देश्यका साथ २०६६ सालमा स्थापित प्रतिष्ठानले हालसम्म ५ वटा पुस्तक प्रकाशन गरिसकेको छ । प्रतिष्ठानमा हाल करिब ८० जना आजीवन सदस्य छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com