Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
११४ औं जन्म जयन्ती

साहित्यमार्फत युगलाई सम्बोधन गर्न सफल सिद्धिचरण श्रेष्ठ लाई सम्झिइँदै आज

साहित्यमार्फत युगलाई सम्बोधन गर्न सफल सिद्धिचरण श्रेष्ठ लाई सम्झिइँदै आज

काठमाडौं । आज जेठ ९ गते युगकवि सिद्धिचरण श्रेष्ठको ११४ औं जन्म जयन्ती । उहाँको जन्मभूमि ओखलढुंगा सहित देशका विभिन्न भागामा आज विविध कार्यक्रम गरी मनाइँदै छ।

ओखलढुंगा जिल्लाका तत्कालीन मालअड्डाका हाकिम (खरिदार) तथा सुमति उपन्यासका लेखक बुबा विष्णुचरण श्रेष्ठ र आमा नीरकुमारीका एक मात्र छोराका रूपमा उहाँको जन्म ओखलढुंगा बजारमा १९६९ ल जेठ ९ गते भएको थियो। नेपाली साहित्यमा युगकवि सिद्धिचरण श्रेष्ठको विशिष्ट स्थान छ। 

स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रुपमा चिनिनुहुन्छ । युगकवि श्रेष्ठले कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रा संस्मरण लगायतका विधामा कलम चलाउनुभएको थियो ।  उहाँको  ‘मेरो प्यारो ओखलढुङ्गा’, ‘निर्झर’, ‘भीमसेन थापा’, ‘जूनकीरी’ लगायतका रचनाहरु चर्चित छन् । उहाँको कविता सङ्ग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ लगायत, खण्डकाव्यहरु ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँशु’ लगायतका कृति छन्।

उहाँका कवितामा देशप्रेम भरिएको छ। कवितामा जति प्रकृतिको उपासना र आराधना पाइन्छ, त्यति नै राजनीतिक चेतना र वेदनाको सहज धारा–प्रवाह जीवन्त छ। उहाँको कवितामा विरोधाभाष छैन सामाञ्जस्य छ। प्रकृतिको अत्यन्त सरल चित्रण गर्नु तथा समाजलाई उठ्ने चेतना दिनु उहाँको लेखनको शैली रहेको थियो।

नेपाली साहित्य समाजमा जनचेतना र जागरणको उजागर गर्ने सिद्धिचरण प्रकृति कवि, मानवतावादी कवि प्रगतिचिन्तन कवि, रोमान्टिक कवि, सामाजिक यथार्थवादी तथा युगकविका रूपमा अमर हुनुहुन्छ । नेपाली काव्यसाधनामा नवीन आयाम र चमत्कारी शैली शिल्पका धरोहर युगकविको योगदान उहाँका समकालीनहरूभन्दा धेरै पृथक् छ। सिद्धिचरण श्रेष्ठले आधुनिक नेपाली भाषासाहित्यको प्रवर्धनमा ऐतिहासिक योगदान पुर्‍याएका छन्।

सिद्धिचरणले संवत् १९९० सालमा भुइँचालो कविता लेखनबाट आफ्नो साहित्यिकयात्रा आरम्भ गर्नुभएको हो । राष्ट्र, राष्ट्रियता एवं जन्मभूमिप्रतिको स्नेहपूर्ण भक्तिभाव उजागर गर्न उहाँको चम्कन युवक चम्क कविताले राष्ट्रबोधको बारेमा राम्रो सन्देश–प्रवाह गरेको छ।

नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखरपुरुष गणेशमान सिंहलाई गणेशमान बनाउन सिद्धिचरणको ठूलो भूमिका रहेको तथ्य स्वयं सिंहले समेत स्वीकार गर्नुभएको थियो ।  कहिले हुलाक टिकट त कहिले सालिकमा सिद्धिचरण मुस्काइरहेको ओखलढुंगालगायत नेपालका धेरै ठाँउमा पाइन्छ, ओखलढुंगाको गाम्नाटारमा उहाँको नाममा क्याम्पस तथा उच्च माविसमेत रहेको छ।

युगलाई कवितामार्फत सम्बोधन गर्न सफल युगकविको निधन विसं २०४९ सालमा भएको थियो ।

युगकवि जन्मजयन्ती विशेष समारोहमा सहभागी हुन युगकविका सुपुत्र एवम् युगकवि सिद्धिचरण प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठ, प्रा.डा. देवी नेपाल, युगकवि सिद्धिचरणका कवितामा स्वच्छन्दतावाद विषयमा विद्यावारिधि गर्नुहुने डा. फणीन्द्रराज निरौला ओखलढुङ्गा पुग्नुभएको छ भने विशेष दिनको पूर्व सन्ध्यामा श्रद्धाञ्जली सभा समेत आयोजना गरिएको थियो ।

499677381_23916866494603434_1893561727201623544_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार