काठमाडौं । 'हामी आज जसरी मिलेर अघि बढिरहेका छौं, यसैगरी मिल्दै अघि बढ्यौं भने कागेश्वरी मनोहरा नगरपालिकालाई समृद्ध नगरपालिका बनाउन सकिन्छ । यसमा दुईमत छैन । यो प्रमाणित पनि हुनेछ । हाम्रा दुई मुख्य बाटाका समस्या समधान भएकाले हामीलाई अहिले आनन्दानुभूति भएको छ । हिजो नगरप्रमुख र उप्रमुखलाई हिलो बाटोमा लानुपर्दथ्यो तर अहिले हामीलाई गाली नखुवाउने गरी काम भएको छ । यसमा हामीले सन्तुष्टि लिनैपर्छ । यसैगरी, हाम्रो नगरका विभिन्न समस्याहरु पनि क्रमशः समाधान हुँदै गएका छन् । आज हामी नगरपालिकाको आफ्नै सुविधासम्पन्न घरको हलमा नगरसभा गरिरहेका छौं । हो, यसैगरी हामी अगाडि बढ्दै गयौं भने कागेश्वरी मनोहरा नगरपालिकालाई समृद्ध नगरपालिका बनाउन हामीलाई कठिन छैन् ।'
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका नगरसभाको असार १० गते मंगलबार सम्पन्न बाह्रौं अधिवेशनको क्रममा एक नगरसभा सदस्यले पोडियमबाट यसो भनिरहँदा नजिकै रहनुभएका नगर प्रमुख उपेन्द्र कार्की टाउको हल्लाएर स्वीकृतिभाव जनाइरहनुभएको थियो । सँगै रहनुभएकी उप प्रमुख शान्ता थापाको मुहारमा पनि मौन स्वीकृतिभाव झल्कन्थ्यो । यस्तै, प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलासहित नगरसभा सदस्यहरुमा पनि अव्यक्त प्रसन्नता थियो । अधिकांश वक्ताहरुको भनाइको निचोड थियो जनअपेक्षाहरु सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । कार्यान्वयनमा विशेष जोड दिनुपर्छ । एकभावले काम गर्नुपर्छ ।
सभामा अर्का एक नगरसभा सदस्यले भन्नुभयो, 'हाम्रो नगरपालिकालाई कसरी अगाडि बढाउने भन्ने विषयमा हामी सबैको साझा सोच आवश्यक छ ।'
कतिपय स्थानीय तहले आन्तरिक कलहका कारण नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न नसकेको, प्रस्तुत गरेको नगरसभामा पनि विरोधका बाक्ला आवाजहरु सुनिएको समाचारहरु प्रकाशन प्रसारण भैरहेको सन्दर्भमा कागेश्वरी मनोहरा नगरपालिकाको नगरसभा भने तुलनात्मक रुपमा शान्त, सौम्य र गम्भीर थियो । आलोचनाका स्वरहरु थिएनन् नै भने पनि हुन्छ । लिटरेचरमा जस्तो क्रिटिकल अप्रिशिएसनका आवाजहरु केही थिए तर प्रस्तुतीको शैलीमा शिष्टता र भद्रता देखिन्थ्यो । उदाहरणका लागि, कृषि र उद्यमशीलताको विषय उठाउँदै एक नगरसभा सदस्यले बजारीकरणको मुख्य समस्या कसरी सम्बोधन गर्ने भन्ने विषयमा नीति, कार्यक्रम थप भिजनरी बन्न सक्थ्यो भन्ने संभावना दर्शाउनुभयो ।
त्यस्तै, सभामा लेखा समितिका तर्फबाट केही मननयोग्य सुझावहरु प्रस्तुत भएका थिए । ती सुझावहरुप्रति पनि नगरप्रमुख कार्कीले मुन्टो हल्लाएर स्वीकारोक्ति जनाउनुभयो । अनि, लगत्तै ती विषयमा ध्यानाकर्षण भएको जानकारी समेत गराउन भ्याउनुभयो । यसले गर्दा पनि नगरसभाका सिरियस इस्यूहरुमा उहाँको पनि भावभङ्गि सिरियसनेश देखिन्थ्यो ।
हालसम्म ४४ करोड ९९ लाख बढी (चालु आवको हालसम्मको ११ करोड) बेरुजु रहेको भन्दै उक्त रकम फछर्यौट गरिनुपर्ने सुझाव लेखा समितिका तर्फबाट राखिएको थियो । सार्वजनिक खर्चलाई मितव्ययी, पारदर्शी र प्रभावकारी बनाउनुपर्ने तर्फ ध्यान जानुपर्ने लेखा समितिको सुझाव रहेको थियो । यद्यपि, गत वर्षभन्दा पुँजीगत खर्चमा सक्षमता वृद्धि भएको जानकारी गराइएको थियो । चालुतर्फ ५४.६ प्रतिशत खर्च भएको र पुँजीगततर्फ २६.७१ प्रतिशत र वित्तीय तर्फ गरेर कुल ३७.१ प्रतिशत भएको (असार मसान्तसम्म गरी करिब ४२ प्रतिशत पुग्ने) भन्दै यो रेसियो ५० प्रतिशत नघाउन नसिकएको जानकारी गराइएको थियो ।
पुँजीगत खर्च बढाउने र चालु खर्च कम गर्नेतर्फ विशेष ध्यान पुर्याउनुपर्ने सुझाव लेखा समितिको थियो । यसैगरी, सुशासन र आर्थिक पारदर्शीताका लागि कार्यविधि निर्माण गरेरमात्रै खर्च गर्ने, बेरुजु फरफारक हुने वातावरण निर्माण गर्न राय सुझाव पेश गरिएको थियो । लक्ष्यानुसार राजश्व असुलीमा जोड दिनुपर्ने, वार्षिक खरिद योजना निर्माण गरेर मात्र पुँजीगत खर्च गर्ने परिपाटी विकास गर्नुपर्ने, कार्यविधि बनाएर मात्र खर्च तथा अन्य कामहरु गर्नुपर्ने सुझाव लेखा समितिका तर्फबाट नगरसभामा राखिएको थियो ।
सभामा नगर प्रमुख उपेन्द्र कार्कीले बेरुजु आउनै नदिने गरी आन्तरिक नियन्त्रण प्रणालीलाई थप व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बेरुजु असुल उपर गर्न लेखा समितिले सुझाएका विषयहरुमा ध्यान दिई फरफारक गराउन विशेष पहल गरिने बताउनुभयो । नगर प्रमुख कार्कीले नगरसभामा भन्नभुयो, अनुत्पादक खर्च कटौती गरी चालु खर्चमा मितव्ययीता र पारदर्शीता कायम गरिने छ । । कार्यालयको खर्चमा मितव्ययीता र पारदर्शीता कायम गर्न सबै विषय र क्षेत्र समेट्ने गरी आन्तरिक नियन्त्रण निर्देशिका तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गरिने विश्वास नगरप्रमुख कार्कीले नगरसभालाई दिलाउनुभयो । सभामा विभिन्न समितिका संयोजकहरुले आफ्नो प्रतिवेदनसहित राय, सल्लाह र सुझाव पेश गर्नुभएको थियो ।
हिजो नगरपालिकाले आर्थिक बर्ष २०८२/८३ का लागि कुल ३ अर्ब १५ करोड ७५ लाख रुपियाँको बजेट र नीति थता कार्यक्रम प्रस्तुत गरेको थियो । नगरसभाको बाह्रौं अधिबेशनमा उप प्रमुख शान्ता थापाको तर्फबाट वडा नम्बर १ का अध्यक्ष मकुन्द प्रसाद गजुरेलले बजेट प्रस्तुत गर्नुभएको थियो ।
नगरपालिकाको बजेटको स्रोत मध्ये संघीय सरकारबाट प्राप्त हुने अनुदान (वित्तीय समानिकरण, सशर्त, समपुरक, बिशेष) ६२ करोड, ४३ लाख, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान ७ करोड, ३९ लाख १७ हजार, संघीय राजस्व बाँडफाँड (मुल्य अभिवृद्धि कर, अन्तशुल्क, आदि) १३ करोड, ७७ लाख, ८० हजार ९ सय ८३, प्रदेश सवारी साधन कर ७ करोड, ५ लाख ३२ हजार ७ सय ३७, घर जग्गा रजिस्ट्रेसन ९० करोड, ७५ लाख, विज्ञापन ५० लाख, वन रोयल्टी ५० लाख, नदीजन्य खानी३ करोड, कबाडी निकासी कर १ करोड ५० लाख, आन्तरिक श्रोत (मालपोत, घरबहाल कर, ब्यबसाय कर, सिफारिस शुल्क, दस्तुर जरीवान, सेवा शुल्कको आदी) १ अर्ब २५ करोड, ८४ लाख ८४ हजार २ सय ८० र जनसहभागिता ३ करोड रहेको छ ।
नगरपालिकाले स्वास्थ्य शाखालाई १० करोड रकम छुट्टयाएको छ भने, मुलपानी नगर अस्पताललाई ६ करोड, ५०(५० लागत सहभागिता सिसिटिभी, सडक बत्ती १ करोड ५० लाख, युवा, खेलकुद पूर्वाधार एवं कार्यक्रमका लागि २ करोड, होम्स्टे कार्यक्रमका लागि ७५ लाख छुट्याएको छ । यस्तै, शहरी सुरक्षा कार्यक्रम (सिसिटिभी र ट्राफिक लाइट) ७ करोड ५० लाख, शहरी सुरक्षा कार्यक्रम (सडक बत्ती) ४ करोड रकम विनियोजन गरिएको जानकारी गराइएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com