काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विज्ञ सदस्यमा नियुक्त डा.रमेश चौलागाईंले सहकारी क्षेत्रमा आफ्नो लामो अनुभवको सही मूल्याङ्कन भएको बताउनुभएको छ । मन्त्रिपरिषद्ले प्राधिकरणको विज्ञ सदस्यमा नियुक्त गरेको विषयमा धिप्री डटकमसँगको संक्षिप्त प्रतिक्रियामा चौलागाईंले भन्नुभयो, ‘सहकारी क्षेत्रमा मेरो लामो अनुभवको सही मूल्याङ्कन भएको छ । नेपाल राष्ट्र बैंकको प्रतिनिधिको रुपमा सहकारीहरुको अनुगमनमा संलग्न भएदेखि यस क्षेत्रका जल्दाबल्दा मुद्दाहरुमा निरन्तर लेख्दै र विभिन्न फोरमहरुमा बोल्दै आएको विषयको कदर भएको छ । सँगै ज्ञान र अनुभवलाई व्यावहारिक अनुभव र परीक्षण गर्ने बेला अब भने आएको छ ।’
२०८२ साउन २६ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चौलागाईंलाई ४ वर्षका लागि प्राधिकरणको विज्ञ सदस्य नियुक्त गर्ने निर्णय गरेको थियो । हिजो लेख्दै बोल्दै आएको कुराहरुलाई व्यावहारिक परीक्षण गर्ने (कार्यान्वयन गर्ने) जिम्मेवारीसँगै चुनौती नियुक्तिले थपिएको उहाँले बताउनुभयो । ‘पक्कै यो गहन जिम्मेवारीसँगै चुनौती पनि हो, ‘चौलागाईंले भन्नुभयो, ‘हिजो बोल्ने र लेख्ने मात्र गर्दथेँ अब परीक्षण नै गर्ने मौका प्राप्त भएको छ । तर यसमा खरो उत्रन म कुनै कसर बाँकी राख्ने छैन ।’ उहाँले अगाडि भन्नुभयो, ‘हिजो आफैले सिर्जना गरेका (औंल्याइदिएका) प्रश्नहरुको उत्तर दिने ठाउँमा पुगेको छु । गहन जिम्मेवारी प्राप्त भएको छ जसलाई निर्वाह गर्न सक्षम छु ।’
उहाँले प्राधिकरणको विज्ञ सदस्यको रुपमा आफूले कुशलतापूर्वक भूमिका निर्वाह गर्न सक्ने विश्वाससहित नेपाल सरकारले जिम्मेवारी प्रदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो एक्जिक्युटिभ भूमिका हो ।’
अब चाँडै नियुक्तिको औपचारिक जानकारी (पत्र) प्राप्त भएपछि काम शुरु गर्ने जानकारी उहाँले गराउनुभयो । हाल नेपाल राष्ट्र बैंकका उप निर्देशक चौलागाईंले नयाँ नियुक्तिसँगै बैंकबाट बेतलबी काजमा प्राधिकरणमा रहेर काम गर्ने बताउनुभयो । नेपाल सरकारको नियुक्ति भएकाले अहिलेको सेवालाई असर नगर्ने गरी कानूनतः उपलब्ध तरिकाले नयाँ जिम्मेवारी बहन गर्ने उहाँले उल्लेख गर्नुभयो ।
त्यसैगरी, चौलागाईंले नेपाल सरकारले अब आफूलाई औपचारिक रुपमा सहकारी विज्ञ भनेको भन्दै प्रसन्नता पनि व्यक्त गर्नुभयो । ‘सहकारी अभियानका साथीभाइहरुले विज्ञ भन्दै आउनुभएको थियो, ’ उहाँले भन्नुभयो, ‘अब त औपचारिक रुपमै सरकारी विज्ञ भएको छु । नेपाल सरकारबाट विज्ञको भूमिका र जिम्मेवारी प्राप्त भएको छ ।’
अब कसरी अगाडि बढ्नुहुन्छ सहकारी क्षेत्रका समस्याहरु समाधान गर्ने दिशामा भन्ने प्रश्नमा चौलागाईंले भन्नुभयो, ‘सहकारी अभियान र सरकार एउटै डुङ्गामा छौं । हामी मिलेर सहकारी क्षेत्रलाई सुदृढ, सबल र दिगो बनाउनुपर्छ । सहकारीको अपरिहार्यतालाई व्यावहारिक रुपमा पुष्टि गर्ने साझा दायित्व हो ।’
सहकारी क्षेत्रमा पछिल्लो समय तपाई अलि बढी क्रिटीकल देखिनुभएको थियो भन्ने धिप्री डटकमको प्रश्नमा चौलागाईले भन्नुभयो, ‘मेरो अध्ययन, अनुसन्धान र विश्लेषणले देखेको कुरा नचपाई लेखेको अनि सार्वजनिक फोरमहरुमा व्यक्त गरेको हुँ । यद्यपि, ती मेरा नितान्त व्यक्तिगत अभिव्यक्तिहरु थिए । तर, अब मैले एक्लै होइन, प्राधिकरणको संञ्चालक एवम् विज्ञ सदस्यको रुपमा सामूहिकताका आधारमा अघि बढ्नुपर्छ । हिजोको पिक्चर फरक थियो, अबको पिक्चर फरक हुनेछ ।’
अब रेगुलेटोरी भूमिकाबाट अभियानलाई हेनुपर्ने आफ्नो जिम्मेवारी आएको उहाँले बताउनुभयो । ‘प्रचलित ऐन कानूनको आधारमा अघि बढ्नुपर्छ । हामीले काम गर्ने मुख्य आधार नै त्यही हो, ’ चौलागाईंले भन्नुभयो, ‘अहिले सहकारी क्षेत्रका लागि जे जति ऐन कानून निर्देशन तथा मापदण्डहरु छन्, तिनले साँच्चिकै अभियानलाई अफ्ठेरो परेको छ छैन निर्क्यौल गर्ने र छलफलका माध्यमबाट निकास निकाल्ने प्रयासमा मैले सकारात्मक भूमिका निर्वाह गर्नेछु ।’
लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा प्राधिकरणका अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि गठित समितिले सिफारिश गरेका तीन जनामध्ये सरकारले चौलागाईंलाई नियुक्त गरेको हो ।
समितिले विज्ञ सदस्यका लागि चौलागाईँसँगै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल उपाध्याय र कानुन व्यवसायी शहदेव बस्नेतको नाम सिफारिश गरेको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com