Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
राष्ट्रिय सहकारी बैंक निर्वाचन २०८३

पौड्याल र घिमिरेको प्रतिबद्धताहरुको पोयो फुकाउदा

पौड्याल र घिमिरेको प्रतिबद्धताहरुको पोयो फुकाउदा

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन अन्तर्गत बागमती प्रदेश सञ्चालक सदस्य छान्न भोलि मतदान हुँदैछ । बाँकी छ प्रदेशबाट सञ्चालकहरु तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु सर्वसम्मत निर्वाचित हुँदा बागमती प्रदेशमा मात्रै मतदान हुने भएको हो । सबैभन्दा बढी मतदाता रहेको र यही प्रदेशबाट निर्वाचित हुने अभियानकर्मी नै बैंकको भावी अध्यक्ष बन्ने प्रवल सम्भावनाबीच पनि यहाँ दुई आकांक्षीहरु डा.परितोष पौड्यालरामशरण शर्मा घिमिरेबीच प्रतिस्पर्धा हुन लागेको हो ।

एउटै राजनीतिक दलमा आस्था राख्नेहरुबीच पनि सहमतिको प्रयास सार्थक नहुँदा परिस्थिति मतदानबाटै निर्वाचित गर्नुपर्ने अवस्थामा धकेलिएको हो । यसबीच दुबै प्रतिस्पर्धीले आफू विजयी हुने स्वाभाविक दाबी गरेका छन् । दुबैले औपचारिक र अनौपचारिक भेटघाट, मतदाताहरुसँग मतको अनुनयविनय गर्ने कामले केही दिनदेखि तीब्रता पाएको छ । चुनाव लक्षित प्रतिबद्धताहरु पनि दुबै उम्मेदवारले सावर्जनिक गरेका छन् । प्रतिबद्धताहरु केवल चुनावी घोषणा पत्रमात्र होइनन्, यी त वाचापत्र हुन्, योजना हुन, संकल्प हुन् र एजेण्डा हुन् । त्यति मात्र कहाँ हो र चुनावमा गरिएका घोषणाहरु समस्याहरु हुन् र तिनको निदानको मार्गचित्र पनि हुन् । त्यसैले केवल चुनावमा मतदाता आकर्षित गर्न मात्र नभइ विजय पश्चात पनि नेतृत्वको सफलताको मापन गर्न पनि प्रतिबद्धताहरुलाई आधार मान्ने गरिन्छ । मुलुकको सहकारी अभियान अन्तर्गत वित्तीय पक्षका दृष्टिकोणले सर्वोच्च महत्व राख्ने निकाय राष्ट्रिय सहकारी बैंकको अध्यक्ष पदका प्रबल दाबेदार पौड्याल र घिमिरेले निर्वाचनका बेला जारी गरेका प्रतिबद्धताहरुको विश्लेषण यहाँ गरिएको छ ।

डा. पौड्यालले ९ गते ९ प्रतिबद्धता शीर्षक दिएर ९ वटा बुँदामा आफूले गर्ने कामहरुको फेहरिस्त प्रस्तुत गर्नुभएको छ । अर्कोतर्फ, घिमिरेले ‘मेरो उम्मेदवारी किन ?’ भनेर १० बुँदामा वाचाहरु प्रस्तुत गर्नुभएको छ ।

दुबैका प्रतिबद्धतामा पारदर्शिता शब्द अटाएको छ । घिमिरेले सहकार्य र एकताको विषय प्रतिबद्धतामा उठाउनुभएको छ जुन कुरा डा. पौड्यालको प्रतिबद्धतामा समेटिएको देखिएन । अर्कोतर्फ, घिमिरेले समस्या समाधानमा प्रभावकारी भूमिका भनेर बुँदा नं ४ मा उल्लेख गरेपनि के कस्ता समाधान भन्ने कहीकतै खुलाइएको छैन । अर्कोतर्फ, पौड्यालको प्रतिबद्धतामा समस्याग्रस्त तथा समस्याउन्मुख सहकारीहरुलाई सहजीकरण गर्दै समाधानमुखी नीति अवलम्बन गर्ने विषय बुँदा नं ७ मा समेटिएको छ । समस्याग्रस्त सहकारी र समस्याउन्मुख सहकारीहरु जस्ता बिकाउ शब्द पौड्यालको प्रतिबताभित्र परेपनि यी विषयहरुमा घिमिरे बोल्नुभएको छैन प्रतिबद्धतामा ।

त्यस्तै, कर्मचारीको सशक्तिकरण र वृत्तिविकासको विषयमा डा.पौडेलले बुँदा नं ८ मा उल्लेख गरेर बैंकको मानवसंशाधनलाई पनि आफ्नो पक्षमा पार्ने कोशिस गर्नुभएको छ भने घिमिरेको प्रतिबद्धतामा यो विषय सोझै प्रवेश नगरेपनि बुँदा नं ६ मा रहेको संस्थागत विकास शीर्षकले छुन खोजेको देखिन्छ । वित्तीय स्थायित्व र सुदृढीकरणको विषयमा पौड्यालको प्रतिबद्धताको बुँदा नं २ ले बोलेको छ भने घिमिरेको प्रतिबद्धताले यो विषयमा सोझै केही बोलेको छैन । यस्तै, सदस्य संघ संस्थाहरुलाई तालिम, शिक्षा लगायत क्षमता विकासका विषयमा पौड्यालले वाचापत्रको बुँदा नं ६ मार्फत वाचा गर्नुभएको छ । तर, घिमिरेले यी विषयमा सोझै केही उल्लेख गर्नुभएको छैन ।

यस्तै, डा. पौड्यालले आफ्नो वाचापत्रको बुँदा नं ४ मा युवा तथा नवप्रवर्तनमा केन्द्रित अभियानको एकदमै समसामयिक विषय उठाउनुभएको छ । सहकारी अभियानले खोजेको युवा सहभागिता र नवप्रवर्तनमा उहाँले जोड दिनुभएको छ जुन कुरा घिमिरेको वाचापत्रमा मिसिङ छ । यस्तै, शब्दकै कुरा गर्ने हो भने सुशासन शब्द पौड्यालको वाचापत्रमा रहेपनि घिमिरेको वाचापत्रमा देखिदैन ।
घिमिरेको प्रतिबद्धतामा प्रविधिको कुरा प्रत्यक्ष रुपमा अटाएको देखिदैन । यद्यपि, उहाँले आधुनिक र गुणस्तरीय सेवा विस्तार भनेर समेट्न खोज्नुभएको छ । तर, पौड्यालले भने सहकारी बैंकिङको डिजिटल रुपान्तरण भनेर राख्नुभएको छ ।

अर्को, महत्वपपूर्ण विषय भनेको सहकारीमा स्वनियमनको सैद्धान्तिक आधारशिलामा डा.पौडेलको वाचापत्रको बुँदा नं ९ ले बोलेको छ भने यो विषयमा घिमिरेको प्रतिबद्धता अक्षरमा देखिएको छैन । 
समग्रमा हेर्दा, डा पौड्याल र घिमिरेका क्रमशः ९ र १० बुँदे वाचापत्रहरु समसामयिक नै देखिन्छन् । मिहिन ढंगले विश्लेषण गर्ने भने डा.पौड्यालका घोषणाहरु अलिबढी निर्दिष्ट, ठोस र स्पेसिफिक देखिन्छन् भने घिमिरेका वाचाहरु अ्याब्स्ट्रयाक्ट र जेनेरल देखिन्छन् । पौड्यालले समयको पदचाप समाउँदै सहकारीभित्रका आवश्यकताहरुलाई पहिचान गरेर अलिक वस्तुनिष्ठ तरिकाले समेट्नुभएको छ भने घिमिरेको प्रतिबद्धताहरुमा मिहिनेत कम देखिन्छ, सिर्जनशीलता र समयबोधको अभाव पाइन्छ । 

हुनत्, प्रतिबद्धताहरु कार्यसम्पादनको कसीमा के कति खरो उत्रन्छन्, तिनको व्यावहारिक कार्यान्वयन कसरी गरिन्छ भन्ने महत्वपूर्ण विषय छ तर पनि सरोकारवाला, सदस्यहरु र सञ्चारमाध्यमहरुले भोलिका दिनमा मूल्याङ्कन गर्दा आधार लिने विषयमध्येको प्रमुख भनेको चुनावी प्रतिबद्धताहरु नै भएकाले यसलाई शुरुवाती सफलता नभन्न सकिन्न ।  

 डा.परितोष पौड्यालका ९ बुँदे प्रतिबद्धता

१.सहकारी मैत्री नीति, ऐन, नियमावली संशोधन तथा स्थिरताका लागि पहल गर्ने
२..वित्तीय स्थायित्व तथा सुदृढीकरण
३.पारदर्शिता तथा सुशासन
४..युवा तथा नवप्रवर्तनमा केन्द्रित अभियान
५.सहकारी बैंकिङको डिजिटल रुपान्तरण
६. सदस्य संघ संस्था केन्द्रित प्रभावकारी बैंकिङ सेवा तथा शिक्षा, तालिम, क्षमता विकासका कार्यक्रम संचालन गर्ने
७.समस्याग्रस्त तथा समस्याउन्मुख सहकारीलाई सहजीकरण गर्दै समाधानमुखी नीति अवलम्बन गर्ने
८. कर्मचारीहरुको सशक्तीकरण तथा वृत्तिविकासको प्रत्याभूति गर्ने
९. स्वनियमनको मर्म आत्मासाथ गर्दै एकद्वार नियामक निकायमा जोड दिने

 रामशरण शर्मा घिमिरेका १० बुँदे प्रतिवद्धता

१. सदस्यहरुको हकहित, समस्या र सुझावलाई प्राथमिकताका साथ उठाउन गर्नेछु ।
२. बैंकको पारदर्शिता, सुशासन र उत्तरदायिालाई सुद्ध बनाउन सक्रिय भूमिका निर्वाह गर्नेछु ।
३. बैंकको सेवा(सुविधा, पहुँच र प्रविधि सुधारका लागि निरन्तर आवाज उठाउनेछु ।
४. युवा महिला तथा सबै सदस्यको सहभागिता वृद्धि गर्न विशेष पहल गर्नेछु ।
५. सहकारीमा पारदर्शी सेवा र सुशासनका लागि आवश्यक कदम चाल्नेछु ।
६. सहकारी मूल्य, मान्यता र सिद्धान्तको पालना गर्दै संस्थाको गरिमा र विश्वसनीनतालाई अझ सशक्त रूपमा कायम राख्नेछु ।
७. बैंक व्यवस्थापन र सदस्यबीचको सुमधुर सम्बन्ध र सहकार्यलाई उच्च स्तरमा कायम राख्नेछु ।
८. बैंक व्यवस्थापन र सदस्यबीचको सुमधुर सम्बन्ध र सहकार्यलाई उच्च स्तरमा कायम राख्नेछु ।
९. तपाईहरूको अपार विश्वासलाई सम्मान गर्दै सधैँ इमानदारी, निष्पक्षता र जिम्मेवारीपूर्वक काम गर्ने परिपाटी कायम राख्नेछु ।
१०.सबै सदस्यहरूको हकहित संरक्षण गर्दै राष्ट्रिय सहकारी बैंकको सर्वाङ्गीण विकासका लागि प्रतिबद्धता र निरन्तर प्रयास कायम राख्नेछु।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार