Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
समाचार विश्लेषण

बिरामी महासंघमा ‘डाक्टर’ को प्रवेश, अब होला त उपचार ?

बिरामी महासंघमा ‘डाक्टर’ को प्रवेश, अब होला त उपचार ?

काठमाडौं । २०८२ चैत १ गते देखि लागू हुने गरी राष्ट्रिय सहकारी महासंघ व्यवस्थापकीय व्यासाशनमा आगामी ४ वर्षका लागि डा.बाबुकाजी थापा बस्नुभएको छ । व्यवस्थापकीय अस्थिरता, सञ्चालकीय अन्योल, ब्यालेन्ससीट डेफिसिट, स्रोतको संकुचन, मानव संशाधनको मनोबल, अभियानको अपेक्षा, समयको माग र सहकारी क्षेत्रको वस्तुगत यथार्थ, आदिको शल्यक्रिया गर्ने हो भने मुलुकको सहकारी अभियानको शीर्ष निकाय महासंघ यतिबेला बिरामी छ भन्दा अत्युक्ति हुँदैन ।सञ्चालक समिति र व्यवस्थापन दुबै महासंघ  बिरामी भएको विषय अन्यथा हो भन्दैनन् ।

त्यही बिरामी महासंघको महाप्रबन्धक (जीएम) बन्न आइपुग्नुभएको छ डाक्टर थापा । उहाँ मेडिकल डाक्टर नभएपनि सहकारी, कृषि, वित्त र समग्र अर्थतन्त्रको विषयमा सैद्धान्तिक, प्राविधिक र व्यावहारिक ज्ञान भएका जानिफकार भएकाले समयमै महासंघका रोगहरुको ‘डायगनोसिस’ गरी सही उपचार सम्भव हुन्छ भन्ने बलियो विश्वास महासंघ सञ्चालक समिति र स्वयं व्यवस्थापन प्रमुखको पाइन्छ । 

नवनियुक्त महाप्रबन्धक थापाले धिप्री डटकमसँग भन्नुभयो, ‘महासंघसँग हाललाई समस्यामा देखिएपनि त्यो भन्दा बढी सम्भावना नै सम्भावना भएको ठाउँ छ । काम गर्न सकिन्छ, मुलुकको सहकारी अभियानलाई केही योगदान गर्न सकिन्छ भनेर नै म यहाँ आएको हुँ । मसँग त्यो ल्याकत छ ।’

महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेल पनि थापाको नियुक्तिले महासंघको स्थिरता र दिगोपनाको द्वार खोल्नेमा विश्वस्त हुनुहुन्छ । थापाको विज्ञता, अनुभव र आँटले उहाँलाई सफलत बनाउने बताउँदै त्यसमा सञ्चालक समिति सधैं साथ रहनेमा आश्वस्त तुल्याउनुहुन्छ । पोखरेल भन्नुहुन्छ, ‘सम्पूर्ण सञ्चालक समिति उहाँलाई एकढिक्का भएर साथ दिनेछ । उहाँको विज्ञता, अनुभव र पहुँचले छोटो समयमा महासंघको वित्तीय अवस्था सुधार मात्र होइन, अभियानको वास्तवमै मुली बन्नेछ । उहाँ जत्तिको व्यक्ति महाप्रबन्धक पाउँदा महासंघ एकदमै आशावादी छ ।’

पोखरेलले भन्नुभयो, ‘महासंघमा महाप्रबन्धक खाली थियो । ओपन भेकेन्सीमा उहाँसहित ७ नजाको निवेदन पर्यो । एकजना अन्तवार्ताका लागि अयोग्य हुनुभयो, कागजात पुगने । ६ जनाबीचमा प्रतिस्पर्धा हुँदा उहाँ अब्बल ठहरिनुभयो ।’

पोखरेलले भन्नुभयो, ‘मार्किङमा सबैभन्दा बढी नम्बर उहाँको आयो । उहाँ नियुक्त हुनुभएको केही दिन मात्र भएको छ यसबीचमा पनि हामीलाई साँच्चिकै योग्य व्यक्ति छानिएको फिल भएको छ । दुईवटामा मास्टर्स अनि पीएचडी । सहकारी क्षेत्रसँग नजिक हुनुभएको र २५ वर्ष कृषि विकास बैंकको उच्च व्यवस्थापनको अनुभव । लघुवित्त क्षेत्रको पनि राम्रो अनुभव छ । एनजिओ आइएनजीओसँग पनि हामीलाई सहकार्य र समन्वय गर्न सजिलो हुने र अन्तर्राष्ट्यि सम्बन्ध पनि नजिक पार्न सक्ने व्यक्ति भनेर पदपूर्ति उपसमितिले सिफारिश गर्यो । बोर्डले २ जना बैकल्पिसहित उहाँलाई एक नम्बरमा निर्णय गर्यो । सहकारी, र लघुवित्तका समस्याहरुबारे नजिक रहनुभएका उहाँले महासंघलाई लीड गर्न सक्छु भन्ने आत्मविश्वास प्रदर्शन गर्नुभयो । त्यो पनि यस्तो बेलामा जो कोहीले जिम्मेवारी लिन पनि खोज्दैन ।’

650715317_2177141769777369_7359008631228087586_n.jpg
undefined

महासंघ उपाध्यक्ष खेमबहादुर पाठक भन्नुहुन्छ, ‘सहकारी, कृषि, वित्त, अर्थतन्त्रसँगै व्यवस्थापन कौशल समेत भएका थापाको नियुक्तिले महासंघको व्यवस्थापनलाई दिगो र व्यावसायिक बनाउने कुरामा दुईमत नै छैन । उहाँ अहिलेसम्मको महासंघका जीएममध्ये सबैभन्दा क्वालिफाइड र दक्ष हो भन्नेमा दुइमत नै छैन । महासंघले महाप्रबन्धका लागि दुई पटक विज्ञापन गरेपछि बल्ल नियुक्ति सम्भव भएको अवस्था हो ।’ 

महासंघका अर्का उपाध्यक्ष डीबी बस्नेत पनि त्यस्तै विश्वस्त देखिनुहुन्छ महासंघको भविष्यका बारेमा । ‘हामीसँग भएका फेडेरेशनहरुमध्ये सबैभन्दा राम्रो स्थिति महासंघको छ, ’बस्नेतले भन्नुभयो, ‘सम्भावना त्यस्तै धेरै छ । खाली सक्रिय सञ्चालक समिति र सही व्यवस्थापकीय नेतृत्व आवश्यक छ । मलाई लाग्छ नयाँ जीएममा त्यो पोटेन्सियल प्रशस्त छ । हामी विश्वस्त छौं अब महासंघ बौरिन्छ ।’ 

बस्नेतले थप्नुभयो, 'महाप्रबन्धक नियुक्तिको विषयमा राम्रो रेस्पोन्स आएको छ, नकारात्मक टिप्पणीहरु छैनन् । अभियानले निकट रुपमा नचिनेको कारण पनि र निक्कै अर्ली हुन्छ भनेर पनि होला । फेरि उहाँको पोलिटिकल एक्स्पोजर पनि त्यति देखिदैन । प्रोफेशनल व्यक्ति भन्ने छ ।’

रोग लाग्दैमा उपचार नै हुँदैन वा ठूलै क्षति भइहाल्छ भन्ने होइन । कस्ता कस्ता रोग लागेका व्यक्ति त समयमै उपचार पाएर तङ्ग्रिएको अवस्था छ भने कुनै एउटा संस्थालाई केही रोग लाग्दैमा त्यसको भविष्य कल्पेर आँसु झारिहाल्नुपर्ने अवस्था हुँदैन । महासंघको सन्दर्भमा पनि रोगको ‘एक्युटनेश’ को ‘म्याग्निच्युड’ मापन आवश्यक छ । त्यसका लागि डाक्टर चाहिन्छ । के साँच्चिकै थापा त्यो डाक्टर बन्न सक्नुहुन्छ त ? 

अध्यक्ष पोखरेल भन्नुहुन्छ, ‘प्रतिस्पर्धाबाट पनि उहाँ अब्बल ठहरिनुभयो । सबैभन्दा बढी अंक ल्याउनुभयो । उहाँसहित ३ जनाको नाम निकालेका थियौं । पहिलो नम्बरमा पर्नुभएका उहाँको प्रस्तुतिकरण राम्रो थियो । पदपूर्ति उपसमितिको सुझावको आधारमा महासंघको गत फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत रुपमा थापालाई महाप्रबन्धक निुयक्त गर्ने निर्णय गरेको हो । उहाँले अवश्य महासंघलाई वित्तीय रुपमा सक्षम बनाउनुहुनेछ र सम्पूर्ण व्यवस्थापनको लीड गर्नुहुनेछ ।’

थापा भन्नुहुन्छ, ‘मैले महासंघको वित्तीय अवस्था बुझेको छु, त्यसको समाधानको उपाय मसँग छ । सँगै अब यसलाई व्यवस्थापनको मुलीको रुपमा कसरी अगाडि बढाउनुपर्छ भन्ने भिजन पनि छ । सबै साथीहरुसँग निरन्तर सहकार्य र समन्वयका आधारमा सामूहिकताको बलमा अगाडि बढ्छौं । पोजेटिभ भाइभका साथ काम गर्नुपर्छ । त्यसमा बोर्डको साथ रहनेमा विश्वस्त छु ।’

पदपूर्ति उपसमितिका संयोजक उपाध्यक्ष पाठक अब महासंघ व्यवस्थापन स्थिर हुने दाबी गर्नुहुन्छ । ‘कृषि विकास बैंकको तर्फबाट साना किसान बैंकको बोर्डमा समेत बसेर ३ वर्ष काम गर्नुभएका थापा अनुशासित, इमानदार, लगनशील र केही गरौं भन्ने भावनाको व्यक्ति पाइयो । उहाँको प्रस्तुतीकरणबाट यी विषयहरु स्पष्ट भए ।’

राजनीति थापाको चासो नभएकोले विश्वास थप बलियो भएको पाठकले बताउनुभयो । ‘महाप्रबन्धक थापा राजनीति नगर्ने र केवल जागिर खाने नभइ आफ्नो र आवद्ध संस्थाको समेत इमेज बढाउने सोच भएको व्यक्ति भएकाले पनि हामी बढी नै आशावादी छौं । उहाँ हाइली प्रोफेशनल व्यक्ति हो । ‘सरकारसँग समन्वयदेखि डोनरहरुसँग सहकार्यमा पनि उहाँ जत्तिको प्रोफाइल र पर्सनालिटी भएको व्यक्ति आवश्यक देखियो महासंघलाई, ’पाठकको प्रतिक्रिया थियो, ‘उहाँले बोर्डको स्वभाव बुझेर काम गर्ने र जस्तो छ त्यस्तै बोर्डबाट काम लिनसक्ने क्षमता राख्नुहुन्छ भन्ने छ ।’ 

हुनपनि हो । काम गरेर देखाउने ठाउँ हो महासंघ । अहिले केही अवस्था बिग्रिएको छ । यस्तै संस्थामा आएर हो क्षमता भएको व्यक्तिले आफ्नो सक्षमता पुष्टि गर्ने । यो कुरामा महासंघ बोर्ड नै आशावादी भएको टोन केही सञ्चालकहरुसँग कुरा गर्दा आउथ्यो । सोही कारण महाप्रबन्धक थापालाई सेवा सुविधासमेत बढाएर प्रदान गरिएको छ । कार्यवाहक अध्यक्ष पोखरेलले भन्नुभयो, ‘महासंघले उपलब्ध गराएको भन्दा ३ गुना बढी सेवासुविधा उहाँले खाइपाइ आउनुभएको थियो । तर उहाँले विदेशमा भन्दा स्वदेशमै बसेर, त्यो पनि सहकारी क्षेत्रमा काम गरेर आफ्नो प्रतिष्ठा उचो बनाउने गरी आउनुभएको छ । उहाँको योग्यता, अनुभव र योजनालाई आधार मानेर केही सुविधा थप गरेर करारमा नियुक्त गरेका हौं ।’

कमजोर बोर्ड, अस्थिर व्यवस्थापन 
महासंघमा वर्तमान सञ्चालक समिति निर्वाचित भएपछिको ३ वर्ष पनि नपुग्दै अध्यक्षको राजीनामा आएको छ । अब के कसरी अघि बढ्ने भन्ने अन्योल छ । सञ्चालकहरुको मत विभाजित छ । एउटा समूह पूरै समितिको निर्वाचन गर्नुपर्ने अडानमा छ अर्को समूह अध्यक्षको मात्र । व्यवस्थापनमा पनि अस्थिरताले डेरा जमाएको छ । नयाँ सञ्चालक समिति निर्वाचित भैसकेपछि व्यवस्थापकीय नेतृत्वमा भएको यो चौथौं परिवतर्न हो । महासंघको २०८० पुसमा सम्पन्न महासंघको ३१ औं वार्षिक साधारणसभाले ओमदेवी मल्लको नेतृत्वमा वर्तमान सञ्चालक समिति निर्वाचित गरेको थियो । तर, सञ्चालक समितिसँग विवाद बढेपछि महाप्रबन्धक चित्राकुमारी थामसुहाङ सुब्बाले २०८१ माघदेखि लागू हुनेगरी राजिनामा दिनुभएको थियो । 

सुब्बाको राजिनामासँगै महासंघभित्रै तेस्रो बरियतामा रहेका सुरेश थापालाई महाप्रबन्धक नियुक्त गरिएको थियो । थापाको नियुक्तीसँगै दोस्रो बरियतामा रहेका नायव महाप्रबन्धक बाबुल खनालले उच्च अदालत पाटनमा रिट दायर गर्नुभएको थियो ।

अदालतबाट मुद्दा दायर गरेपछि बिदामा बस्नुभएका खनाल रिट खारेज भएसँगै महासंघबाट राजिनामा दिएर अवकास लिनुभयो । थापाले ६ महिना नपुग्दै राजिनामा गर्नुभयो । त्यसपछि, महासंघकै बरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारीलाई कामु महाप्रबन्धकको जिम्मेवारी दिइयो । उहाँले ६ महिना बढी महासंघ व्यवस्थापनको नेतृत्व गर्नुभयो र अहिले खुला प्रतिस्पर्धाका माध्यमबाट महासंघ बाहिरको व्यक्तिलाई महाप्रबन्धक नियुक्त गरिएको छ । महासंघले खोजेको व्यवस्थापकीय बागडोर आन्तरिक जनशक्तिबाट थेगिने अवस्था नरहेको स्पष्ट छ । सोही कारण अहिले बाहिरबाट अनुभवी र ओजिलो व्यक्ति ल्याइएको सञ्चालकहरु बताउँछन् । यसले आन्तरिक रुपमा पनि कर्मचारीहरुमाझ काम गर्ने वातावरण विकास गर्ने उनीहरु बताउँछन् । 

पदपूर्ति उपसमिति संयोजक पाठक अब भने महासंघ व्यवस्थापनले स्थिरताको बाटो समात्ने विश्वास व्यक्त गर्नुहुन्छ ।

‘सस्टेन’ हुन्छ महासंघ !
महासंघलाई चाहिएको श्रोत हो । सरकारले बजेटमा कैंची चलाउँदै गरेको समयमा कसरी सस्टेन गराउने भन्ने नै अहिले महासंघको मुख्य काँडो हो । त्यो काँडो पन्छाउने उपाय आफूसँग भएको राष्ट्रिय अन्तर्राष्ट्रिय दातृ निकायहरुसँग समन्वयको अनुभवी महाप्रबन्धक थापा बताउनुहुन्छ । 

‘हामी कसरी सस्टेन हुने भनेर खोजिरहेका छौं तर राष्ट्रिय अन्तर्राष्ट्रिय दातृ निकायहरु कसरी गाउँगाउँसम्म प्रभावकारी रुपमा काम गर्ने भनेर उपयुक्त माध्यमको खोजीमा छन्, उहाँले भन्नुभयो, ‘यस्तो बेला तालमेल मिलाउन सकियो भने धेरै काम गर्न सकिन्छ । मसँग त्यो क्षमता छ, कृषि विकास बैंकमा बस्दा पनि थुप्रै दातृ निकायहरुसँगको समन्वयमा काम गरेकाले त्यसको सदुपयोग गर्न सकिनेमा विश्वस्त छु । खाली यति हो कि हामीले हाम्रो भूमिका र प्रभावकारिता जस्टिफाइ गर्न सक्नुपर्छ । त्यसो हुँदा काम गर्न प्रशस्त सकिन्छ ।’

थापाले प्रष्ट्याउनुभयो, ‘गरिबी निवारणदेखि जलवायु परिवर्तन, महिला सशक्तिकरण, वित्तीय साक्षरता, लगायतका यावत क्षेत्रमा गाउँ गाउँमा कसरी पुग्ने भनेर विभिन्न मुलुकका दातृ निकायहरु प्रभावकारी माध्यम खोज्दैछन् तर यता हामी कसरी सस्टेन कसरी हुने भनेर टोलाइरहेका छौं । दातृ निकायहरु सही र उपयुक्त माध्यमको खोजीमा रहेको अवस्थामा महासंघ त्यो खोजी बन्न सक्ने बलियो सम्भावना छ ।’ उहाँले फेरि जोड दिनुभयो, ‘हामीले उद्देश्य, रणनीति र अप्रोच सही राख्यौं भने श्रोतको अभाव हुँदैन ।’

धिप्री डटकमसँगको कुराकानीमा महासंघका कार्यवाहक अध्यक्ष पनि महाप्रबन्धक थापाबाट औधी नै आशावादी सुनिनुभयो । पोखरेलले भन्नुभयो, ‘त्यस्तो सम्भावनाको संकेतहरु दुई चारदिनमै हामीले देखिइसकेका छौं । अहिले केही नभनौं आगामी दिनमा तपाईंहरुले थाहा पाइहाल्नुहुन्छ । हामी बिस्तारै दातृ निकायहरुसँग सम्झौता गरेर अघि बढ्नेछौं ।’ सहकारीको विषयमा यथार्थ भन्दा अफवाहहरु फैलाइएको भन्दै थापाले यस क्षेत्रमार्फत मुलुकको कायापलट गर्न सकिने बताउनुभयो ।

सहकारीमा राजनीति र स्वार्थको द्धन्द
सहकारी क्षेत्रमा राजनीतिक हस्तक्षेपको कुरा कसैबाट छिपेको छैन । बोर्ड र व्यवस्थापनबीच द्धन्दको प्रमुख कारक पनि राजनीतिक हस्तक्षेप नै बन्दै आएको छ । प्रारम्भिक संस्थादेखि महासंघसम्म त्यही हुँदै आएको छ । तर, नवनियुक्त महाप्रबन्धक त्यसलाई सकारात्मक रुपमा हेर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘विभिन्न राजनीतिक दलको उद्देश्य पनि आम जनताको हितमा काम गर्नु हो । सबैले जनताको लागि न काम गर्ने हो । त्यसो हुँदा त त्यसले असर गर्दैन । तर, हामी कर्मचारी काम गर्न आएका हौं, राजनीति हाम्रो चासो होइन ।’

सञ्चालक समितिका निर्णयहरु कार्यान्वयन गर्ने र व्यवस्थापनको एउटै आवाज बनाउने कुरामा आफू लाग्ने थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘महासंघका सदस्य र अभियानको हितमा हुने विषयलाई अघि बढाउने र अहितकर विषय जो जसले भने पनि वा ल्याए पनि त्यो अस्विकृत हुन्छ । त्यसमा म स्पष्ट छु । अभियानको हितमा, जनताको हितमा भएका कुरा जोसुकैले ल्याएपनि सुनिन्छ र त्यस्तो छैन भने जोसुकैले भने पनि सुनिदैंन ।’

व्यवहारिकताको कसीमा जाँदा कतिपय विषयहरु आपसी सहमति, छलफल, विमर्शका आधारमा पनि समाधान गर्ने कोशिस आफ्नो रहने उहाँले बताउनुभयो ।

विगतमा कार्यवाहक जीएमको जिम्मेवारीमा रहनुभएका गोपीकृष्ण भण्डारीले अति भएपछि सामाजिक सञ्जालमा गर्नुभएका ‘सारकाष्टिक’ पोष्टहरुले पनि त्यसलाई छर्लङ्ग पार्छ । सामान्यतया सोझो प्रवृत्तिको भण्डारीले असह्रय भएपछि नै फेसबुकमार्फत रोष प्रकट गर्नुभएको उहाँलाई नजिकबाट चिन्नेजान्नेहरु बताउँछन् ।

भण्डारी भन्नुहुन्छ, ‘व्यक्तिगत स्वार्थ र अवसर अनि पदलोलुप कर्मचारीहरुबाट उहाँ कति बच्न सक्नुहुन्छ त्यसमा पनि नयाँ जीएमको सफलता भर पर्छ । राजनीतिक रुपले पनि आवश्यकता भन्दा बढी एक्टिभ कर्मचारीहरु उहाँका लागि अर्को चुनौती हो । एक दुई महिनामै उहाँको पर्फमेन्स थाहा भैहाल्छ ।’

सञ्चालक समिति निर्णय प्रक्रियामा मात्र सहभागी हुने र कार्यान्वयन पाटोमा सर्तक भएर सावधानीपूर्वक हेर्ने हो भने ठीक हुन्छ अन्यथा कठिन भएको भण्डारी बताउनुहुन्छ । स्वार्थ प्रेरित कर्मचारीहरुबाट बच्नुपर्ने चुनौती नयाँ जीएमलाई छ । व्यवस्थापनको नेतृत्व जीएमले गर्नुपर्यो । स्वाभाविक रुपले कर्मचारीहरु भिन्न भिन्न प्रवृत्ति र विचारधाराका छन्, सबैलाई मिलाएर लाने कुरा आफैमा चुनौतीपूर्ण छ । प्रत्येक कर्मचारीलाई बोलाएर कुराहरु गर्ने, धारणा खोज्ने, कर्मचारीहरुबीचनै खेल्ने गर्दा समस्या आएको भण्डारीले उल्लेख गर्नुभयो ।

हुन पनि हो, संस्थाको विविविधानलाई अक्षरशः मानेर जाने विषयमा 'नो इफ नो बट' को नीति अंगिकार गर्दा मात्र नयाँ महाप्रबन्धक सफल हुने देखिन्छ । बोल्ड डिसिजन र स्टेपहरु नचाल्ने हो भने बोर्डको चंगुलमा पर्ने सम्भावना रहेको भण्डारीको भनाइ छ । 

महाप्रबन्धक थापा यी विषयमा जानकार रहेको बताउँदै भन्नु्हुन्छ, ‘मलाई केही लिनुपनि छैन, दिनुपनि छैन । राजनीति पनि गर्नुछैन । हामी कर्मचारी काम गर्नका लागि हौं नकि राजनीति गर्न । विशुद्ध प्रोफेशनल तरिकाले अभियान र यसका माध्यमबाट पिँधमा परेका नागरिकहरुको हितको लागि केही योगदान गर्न सकिन्छ कि भनेर जोडिएको हुँ । अब यो उमेरमा कुनै किसिमको कलंक मलाई बोक्नुछैन । मुख्य कुरा आत्मसन्तुष्टिको लागि म आएको हुँ । केही गरेर देखाउँछु ।’ 

सामूहिकताको आधारमा काम गर्नुपर्छ भनेर आफूले कर्मचारी साथीहरुसँगको मिटिङमा पनि भनेको भन्दै उहाँले सफलताको राज पनि सामूहितका भाव भएको उल्लेख गर्नुभयो ।

दुबै लीडरशीप चेञ्जको सन्देश जानु आवश्यक
महासंघलाई अझ सशक्त रुपमा अघि लान बोर्ड र व्यवस्थापन दुबैमा लीडरशीप परिवर्तन भएको सन्देश जानुपर्ने धारणा उपाध्यक्ष डीबी बस्नेत राख्नुहुन्छ । जसमा अर्का उपाध्यक्ष पाठकसँगै अन्य धेरै सञ्चालकहरु सहमत हुनुहुन्छ । बस्नेतले भन्नुभयो, ‘महासंघमा अब दुबै लिडरशीप चेञ्ज भएको सन्देश जानुपर्छ । त्यसका लागि संशोधित विनियमको आधारमा १७ सदस्यीय सञ्चालक समिति निर्वाचत गर्नुपर्ने हुन्छ ।’ 

बस्नेतले भन्नुभयो, ‘महासंघमा जीए आउनुभयो, अब नयाँ लीडरशीप आउनुपर्छ । त्यो भयो भने काम गर्न वेभलेन्थ पनि मिल्छ । संशोधित विनियमअनुसार फ्रेस म्यान्डेट लिएर आएको नेतृत्वसँग जीएमले काम गर्ने हो भने निक्कै चाँडै महासंघ तन्दुरुस्त हुन्छ । त्यसले सहकारी अभियानमा सकारात्मक सन्देश सञ्चार गर्छ । त्यसमा दुईमत नै छैन ।’

कार्यकाल भरि बस्न होइन निकास दिन, पोलिटिकल हिसाबले एकलौटी भयो भन्ने विषय आदि समेतलाई दृष्टिगत गरी समितिको नयाँ निर्वाचन हुँदा समस्या सम्बोधन हुने उपाध्यक्षद्वय लगायतको मत छ । खाली विशेष साधारणसभा गर्ने कि अबको नियमित साधारणसभालाई नै केही महिनाअघि गर्ने भन्ने कुरा मात्र भएको उहाँहरुले बताउनुभयो । यद्यपि, कार्यवाहक अध्यक्ष पोखरेल भने वर्तमान सञ्चालक समितले पूरै कार्यकाल काम गर्न पाउनुपर्ने र त्यही नै कानूनसम्मत हुने दाबी गर्नुहुन्छ । तर, सबैको सल्लाहमा, सदस्यहरुको समेत रायसल्लाहका आधारमा जे निर्णय हुन्छ त्यो सबैले स्वीकार्नुपर्ने पोखरेल बताउनुहुन्छ ।

थापाको सहकारी साइनो
आफ्नो सहकारी अनुभवबारे थापाले सुनाउनुभयो, ‘हाईस्कूलमा कषि पढेँ, कृषिमै बीएस्सी सकेँ, सहकारीको जन्मभूमि चितवनको शारदानगर नजिक (शारदानगर र गुञ्जनगरको बीच) जन्मे अनि हुर्केँबढेँ, आमाबुबाहरु समूहमा बचत गर्ने कुरा देखे बुझेको थिएँ, र जब कृषि विकास बैंकमा कृषि कर्जा अधिकृतको रुपमा जागिरे भएँ त्यहाँ पनि तत्कालीन साझा संस्था हेर्ने जिम्मा मेरो थियो । पछि, साना किसान अभियानसँग पनि ३ वर्ष जोडिएँ । त्यसले गर्दा सहकारी अभियानबारे जान्न बुझ्न सहज भयो । यो क्षेत्रको महत्व बुझ्ने अवसर पाएँ ।’

उहाँले थप्नुभयो, ‘कृषि विकास बैंकबाट अवकाश लिएपछि केही समय बंगलादेशमा काम गरेँ त्यहीबीचमा महासंघमा विज्ञापन खुल्यो । ठीकै लाग्यो र सहकारी क्षेत्रसँग जोडिएर केही योगदान गर्न सकिन्छ भन्ने लागेर त्यही रहँदै अप्लाई गरे अनि आएर अन्तवार्ता  र प्रस्तुतिकरण दिएपछि छनौट पनि भएँ । खासमा मुलुकमै केही गरौं भन्ने सोचले पनि यो भूमिका मैले स्वीकार गरेको हुँ ।’ कुनै पनि पदसँग चुनौती पनि आउँछन् र सम्भावना पनि ।  तर आफूले महासंघमा चुनौती कम अवसर ज्यादा   देखेको उहाँले बताउनुभयो । 

केही दिनअघि जिल्ला बचत संघहरुका अध्यक्षहरुको सञ्जाल अध्यक्ष फोरमले पनि महाप्रबन्धक थापालाई 'बलियो खम्बा' बन्न आग्रह गरेका थिए । बिशेषण बलियो ले धेरै अर्थ पनि राख्दछ । कमजोर बन्दा मूल्य चुकाउनुपर्ने हुन्छ । त्यही भएर थापाले साँच्चिकै बलियो बन्नुपर्नेछ । 

सार्वजनिक प्रशासन र समाजशास्त्रमा स्नातकोत्तर थापाले कृषि विकास बैंकमा २५ वर्ष सेवा गर्दै उप-महाप्रबन्धक पदबाट सन् २०२५ मा अवकाश लिनुभएको थियो । वित्त तथा विकाससम्बन्धी विभिन्न संस्थामा समेत नेतृत्व तथा परामर्शदाताको अनुभव उहाँसँग रहेको छ । त्यही अनुभव उहाँको सम्पत्ति हो जसको बुतामा थापा नयाँ भूमिकामा पनि सफल हुन्छु भन्ने दाबी प्रस्तुत गर्नुहुन्छ ।

अनुभव, क्षमता र साहस
यो विश्लेषणमा अनुभवले केवल अविधको कुरा गर्छ । दीर्घ अवधि आफैमा एउटा सकारात्मक पक्ष हो । क्षमतासँग पनि अनुभव गाँसिन्छ । कार्यसम्पादन उच्च रहेकाहरु क्षमतावान् अनुभवी हुन् भने साहसले सही समयमा सही निर्णय गर्न सक्ने आँटलाई जनाउँछ । यी तीनवटै कुराको सम्मिश्रणले सफलता मिल्दछ । थापाको हकमा क्षमता र साहसको सहारा बढी हुने भयो प्रत्यक्ष अनुभवको तुलनामा । सहकारीकै विषयमा प्रत्यक्ष अनुभवका लागि उहाँलाई केही समय लाग्छ । तर, त्यो समय किन छैन भने महासंघले पनि चाँडै रिजल्ट खोजेको छ भने मुलुककै सहकारी अभियानले पनि ।

प्राविधिक हिसाबले थापा डाक्टर नै हो । वित्तीय विश्लेषणमा गहिरो र फराकिलो अनुभव उहाँका स्ट्रेन्थ हुन् भने सहकरी अभियानको अनुभवको भने कमी देखिन्छ । अर्को भनेको अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा काम गर्नुभएका उहाँमा यथेष्ट एक्स्पोजर पाइन्छ । त्यसको सदुपयोगमार्फत महासंघलाई बिजनेश ल्याउन सक्नुभयो भने त्यसले एउटा स्थायित्वको आधारशिला तयार पार्ने बरिष्ठ उपाध्यक्ष बस्नेत बताउनुहुन्छ । उहाँ आफैं पनि भन्नुहुन्छ, महासंघको अन्तर्राष्ट्रिय सम्बन्धलाई मजबुत बनाउने छु ।’

उपाध्यक्ष बस्नेत भन्नुहुन्छ , ‘सुधार गर्न चाहने हो भने सबैभन्दा सजिलो महासंघमा छ । यसको नेटवर्क छ, सरकारको थोरबहुत सहयोग छ, सञ्चालन खर्च कम छ । कर्मचारीको दायित्व मात्र हो त्यो पनि प्रोभिजन नगरेर हो । प्रदेशको कार्यक्रम पनि छ, आइएलओको पनि अब चाँडै सम्झौता हुँदैछ, तालिम चलिरहेका छन् तथा पुस्तक बिक्री आदिबाट थोरबहुत आम्दानी भएकै छ । सदस्यता शुल्कको पनि छ । अब  गरिबी निवारणसँगै फाइनान्सियल लिट्ेसीको कार्यक्रम मात्र दाताहरुबाट ल्याउने हो भने थप राम्रो गर्न सकिन्छ ।’ 

बलियो शैक्षिक योग्यता, लामो र स्निग्ध पेशागत अनुभव, प्राविधिक दक्षता, एक्स्पोजर, आदि उहाँक सवल पक्ष देखिन्छ । महासंघले पहिलो पटक विद्यावारिधि गरेको जीएम पाएको छ । यो सबैभन्दा विषय नभए पनि ठूला विषयहरुमध्येको एक भने अवश्य हो । शैक्षिक योग्यता र त्यसमा पनि सम्बद्ध क्षेत्रको प्राविधिक विषयको सैद्धान्तिक ज्ञान आधारभूत ज्ञान हो भने कृषि विकास बैंकको उच्च पदमा गरेको लामो अनुभवले व्यावहारिकताको कसीमा पनि उहाँ खरो उत्रिसक्ने देखिन्छ । खाली बाँकी भनेको आफ्नो सैद्धान्तिक र व्यावहारिक ज्ञानलाई सहकारी क्षेत्रका सैद्धान्तिक र व्यावहारिक पाटासँग अन्तरघुलित गराएर सफल बनाउनु हो ।

व्यवस्थापनको वृत्ति विकासमा रुकावट !
महासंघ व्यवस्थापनमा किचलो अझै बाँकी छन् । कर्मचारीहरुको वृत्ति विकास रोकिएको गुनासो हुँदै आएको छ । निर्वतमान कार्यवाहक महाप्रबन्धक गोपीकृष्ण भण्डारी उमेरहदका कारण आगामी साउनको पहिलो साताबाटै अवकाशमा जाँदैहुनुहुन्छ । 

विगतमा ६० वर्षे उमेरहद रहेको महासंघमा कार्यविधि संशोधन गरेर ५८ मा झारिएपछि भण्डारी सोही कारण अब यो आर्थिक वर्षान्तसँगै बिदा हुने तरखरमा हुनुहुन्छ । यद्यपि, कर्मचारीको उमेरहद पुनः ६० नै कायम गर्ने विषयमा वर्कआउट भएर उपसमिति बनाई ड्राफ्टनै तयार गर्न लगाएपनि अन्तिममा साधारणसभामा नलगिएको कर्मचारीहरु बताउँदछन् । तर, उपसमितिले त्यसम वर्कआउट नै गर्न नपाएको भन्दै कार्यवाहक अध्यक्ष पोखरेल बताउनुहुन्छ ।  

जहाँसम्म भण्डारीको विषय छ, उहाँले महासंघ अफ्ठेरोमा पर्दा व्यवस्थापनको बागडोर पनि सम्हाल्नुभयो, अनुभव पनि भएको र महासंघलाई अहित हुने काम नगरेका कारण पनि डिजर्भिङ’ हुनुहुन्छ भन्ने आवाजहरु पनि मुखरित भएका छन् । भण्डारी आफैंले पनि धिप्री डटकमसँग प्रश्न गर्नुभयो, ‘८/९ वर्षसम्म एउटै पदमा किन राखियो ? अफ्ठेरो पर्दा करिब ७  महिना महासंघ व्यवस्थापनको जिम्मा पनि लिएँ, अहित हुने काम गरेको छैन, अनुभवन पनि छ तर अरुको बढुवा हुँदा मेरो चाहिँ किन नहुने ? महासंघमा अझै दुई वटा डिजिएम पद रिक्त छन् । यदि कुनै विशेष निर्णय भएन भने भण्डारी बरिष्ठ कै रुपमा अवकाश पाउँदैहुनुहुन्छ ।

हुनत् एउटा जीवन्त संस्थामा त्यति हुनुपनि पर्छ । सक्सेसफूल समाधान त नेतृत्वले गर्ने हो । त्यही कौशल व्यवस्थापनको नेतृत्वमा पनि आवश्यक पर्छ । कार्यवाहक अध्यक्ष पोखरेलले स्पष्ट पार्नुभयो, ‘कर्मचारीका जायज मुद्दामा महासंघ गम्भीर छ । यसैले उठेका यावत विषयमा अध्ययन गर्न फागुन ३० गतेको बोर्ड बैठकले उपाध्यक्ष डीबी बस्नेतको संयोजकत्वमा कार्यदल बनाएको छ । बढुवाले के कस्तो आर्थिक व्ययभार पर्छ, आन्तरिक बढुवा गर्दा संघको आवश्यकता पूरा गर्छ गर्दैन, सँगै गोल्डेन हयान्डसेक पनि उठेको छ त्यो पन आवश्यक छ कि छैन भन्ने सबै विस्तृत अध्ययन गरी प्रतिवेदन बुझाउने टीओआर कार्यदललाई दिइएको छ । त्यसको सिफारिशको आधारमा महासंघ अघि बढ्छ ।’ उहाँले रिक्त दुई डिजिएमको लागि पनि अब ओपन भेकेन्सी खुल्ने जानकारी गराउनुभयो ।

00000000000000
अब केही दिनमा ६९औं राष्ट्रिय सहकारी दिवस आउँदैछ । त्यस्तै, मुलुकमा सरकार पनि परिवर्तन भएको छ, राजनीतिले नयाँ कोर्ष लिएको छ । विश्व अर्थतन्त्रले युद्धको असर भोगिरहेको अवस्थामा मुलुकको सहकारी क्षेत्रको आवश्यकता झनै खट्किएको छ । साना तथा मझौला उद्यमहरुको प्रर्वधन, नयाँ सीपहरुसँग सदस्यहरुलाई जोड्ने र समस्यामा परेका नागरिकहरुलाई सहकारीमै आवद्ध गराएर सामाजिक आर्थिक अवस्था सुधार गर्ने गुरुत्तर दायित्व सहकारी क्षेत्रको काँधमा आएको छ । चुनौतीहरुको चाङमा यी केवल ‘क्लिशे’ होइनन् अवसर पनि हुन् । अब हेर्न बाँकी छ, महासंघको व्यवस्थापकीय मूली ले यी विषयहरुको सम्बोधनमा के कस्ता रणनीतिहरु पहिल्याउनुहुनेछ । तिनै रणनीति र कार्यनीतिहरुले नै बिरामी महासंघलाई प्राज्ञिक डाक्टरको दक्षताको मलहमले निको पार्छ कि पार्दैन भन्ने निर्क्यौल गर्नेछ । बाँकी समयको गर्भमा !

652716639_122115611313196578_2985758255851792825_n.jpg
undefined


प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार