Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

मलाई त सहकारीको कार्यक्रममा जानै डर लाग्छ: नगरप्रमुख श्रेष्ठ

मलाई त सहकारीको कार्यक्रममा जानै डर लाग्छ: नगरप्रमुख श्रेष्ठ

काठमाडौं । मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले सहकारीहरुको कार्यक्रममा सहभागी हुन अचेल आफूलाई डर लाग्ने गरेको बताउनुभएको छ । पछिल्लो समय सहकारीहरुमा व्याप्त वित्तीय र सुशासन संकटप्रति इंगित गर्दै उहाँले सबै कुरा बुझेर मात्र सहभागी हुने गरेको बताउनुभयो । आफ्नै नगरपालिकाभित्रका थुप्रै सहकारीहरु समस्यामा परेको, स्थानीय भनिएकाहरुले सञ्चालन गरेको सहकारीमा पनि समस्या रहेको र अडिट रिपोर्ट राम्रो तर भित्र संस्था खोक्रो हुने गरेको भन्दै यी सबै कारण आमन्त्रण गरिएका कार्यक्रमहरुमा पनि सबै बुझेर अनि निक्कै सोचविचार गरेर मात्र सहभागी हुने गरेको उहाँले स्पष्ट पार्नुभयो । 

थिमि नगरपालिका ४, शंखधर चोकस्थित सिद्धार्थ साकोसले कुशे औंसी तथा बुबाको मुख हेर्ने पर्बको अवसरमा हिजो आयोजना गरेको ज्येष्ठ पुरुष सदस्यहरुलाई सगुन तथा पोषण वितरण कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठले भन्नुभयो, ‘म आजकल धेरै कार्यक्रममा जान्न । फेरि, सहकारीको कार्यक्रममा त मैले त्यो सहकारीको स्टेटस के छ, त्यो सहकारी कस्तो अवस्थामा छ, त्यो नहेरी जाँदै जान्नँ । पैसै दिन नसक्ने सहकारीको कार्यक्रममा गएर के गर्ने ? त्यहाँ त मेयर आएको छ भनेर राम्रो भनिन्छ । म गयो भने नराम्रोलाई पनि राम्रो भन्ठानिन्छ । त्यसकारण यो सहकारीले मलाई निमन्त्रणा गरेको छ, के छ यसको अवस्था भनेर नसोधी नबुझी जाँदै जान्नँ ।’

स्थानीयले सञ्चालन गरेको सहकारीहरुमा समेत समस्या आएको भन्दै उहाँले भन्नुभयो, ‘हामीकहाँ भएका धेरै सहकारीहरु, स्थानीयले सञ्चालन गरेका सहकारीहरु पनि संकटमा छन् । यो कुरा चाहिँ हाम्रो बाजे, ठूलोबुबाहरु बुझ्नुहोला । पैसा राख्ने बेला जहाँ पायो त्यही नराख्नुहोला । नबुझीकन ब्याज अलिकति बढी छ भने पनि नराख्नुहोस् ।’ यद्यपि, आफू सहभागी सिद्धार्थ बचत तथा ऋण सहकारी भने त्यस्तो नभएको भन्दै उहाँले सबैलाई आश्वस्त पार्नुभयो ।

‘र, हामीकहाँ सिद्धार्थ जस्तो धेरै राम्रा सहकारीहरु पनि छन्, ’नगरप्रमुख श्रेष्ठले भन्नुभयो, ‘बुझेर राख्नुहोस् । व्यक्तिको अनुहार हेरेर होइन, रिपोर्ट हेरेर राख्नुपर्ने भैसकेको छ ।’ उहाँले आजकल अडिट रिपोर्ट पनि नक्कली बनाउने गरिएको भन्दै त्यस्तो काम गर्ने अडिटरलाई समेत कारवाही गरिने चेतावनी दिनुभयो । 

नगरप्रमुख श्रेष्ठले भन्नुभयो, ‘मलाई त सहकारीको कार्यक्रममा जानै डरलाग्छ । रिपोर्ट चाहिँ राम्रो लेखेर ल्याउँछ, भित्र चाहिँ संस्था खोक्रो भैसकेको हुन्छ । दुई चारवटा हाम्रै लोकल मान्छेका सहकारीहरु छन्, अब त्यो नगरपालिकालाई बुझाएको रिपोर्ट हेर्यो भने सबै ठीक छ । तर, त्यसको अडिटर पनि कानुनी कारवाहीको दायरामा पर्छ । खराब सहकारीलाई पनि राम्रो भनेर रिपोर्ट दिने अडिटरलाई कारवाही हुन्छ । अहिले त्यस्ता तीन चार जना अडिटरलाई स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढेको छ । अडिटरले त्यस्तो काम गर्नु हुँदैन ।’

भित्र खोक्रो, पेपरमा राम्रो देखाएर जनतालाई भ्रममा पार्न नहुने उहाँको भनाइ थियो । ‘त्यसकारण हामीले मिहेनत गरेको पैसा सहकारीमा राख्ने हो भने राम्रो सहकारीमा राख्न पनि बुबाआमा दाजुभाइ दिदीबहिनीलाई अनुरोध गर्दछु, ’उहाँले सचेत तुल्याउनुभयो ।

नगरप्रमुख श्रेष्ठले सहभागिताका हिसाबले ज्येष्ठ नागरिकहरुलाई सगुन वितरण कार्यक्रम सानै भएपनि महत्वपूर्ण भएको भन्दै आयोजक सिद्धार्थ साकोसलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा ५८ जना जेष्ठ सदस्यलाई  सगुन तथा पोषण  वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार